भर्खरै :

सम्पदा सौन्दर्यको बाधक र जनधन क्षतिको कारक : भग्नावशेष

  • जेष्ठ ६, २०८३
  • सत्यराम कासिछ्वा
  • विचार
सम्पदा सौन्दर्यको बाधक र जनधन क्षतिको कारक : भग्नावशेष

बाढी, पहिरो, भूक्षय तथा भूकम्प प्राकृतिक प्रकोप हो । यस्ता प्रकोपहरू कुनै पनि मानवद्वारा सिर्जित होइनन् । जसको पूर्ण नियन्त्रण मानवद्वारा हुनै सक्दैन । बरु, त्यसबाट हुने क्षतिहरूलाई भने केही हदसम्म रोकथाम र नियन्त्रण गर्न सकिन्छ । प्राकृतिक प्रकोपले धनी गरिब केही नछुट्याई सबै वर्ग, लिङ्ग र जातिलाई उही समान रूपमा क्षति पु¥याउँछ । मानव सभ्यताको विकासक्रममा मानिसले विभिन्न सांस्कृतिक तथा धार्मिक सम्पदाहरूको निर्माणले पछिल्लो पुस्ताको लागि संस्कार र संस्कृतिको रूपमा विकास हुन्छ । मानिसले लामो समय लगाएर सौन्दर्यको लागि तयार गरेको संरचना सम्पदा वा निर्माणपछि आउने विभिन्न प्राकृतिक प्रकोपले सौन्दर्यलाई कुरूप बनाउने र धनजनको क्षति गर्दछ ।
भूकम्पमा जनधनको क्षति
नेपालको इतिहासमा अभिलिखित वि.सं.१८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्प नेपालमा भएका भूकम्पमध्ये ठुलो र विनाशकारी मानिन्छन् । नेपालको भूकम्पमा परी अभय मल्ल तथा अरि मल्लजस्ता राजा र असङ्ख्य मानिसको मृत्युको साथै मठमन्दिर, धरहरा र विभिन्न सम्पदाहरू ढले । जमिनमा ठुलठुला धाँजा फाँटी पानीका मुहान पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा खोलेका हुन्छन् । विभिन्न भूकम्पले हजारौँ मानिसको ज्यान जानुका साथै लाखौँको घर भत्किन्छ । भूकम्पको कारण हनुमानढोकाभित्रको भण्डारखालमा विभिन्न राजाहरू र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भएको इतिहास छ । नेपालमा भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालगायत विभिन्न ठाउँलाई नराम्रो प्रभाव पारेको छ । नेपालको भूकम्प इतिहासमा सबैभन्दा विनाशकारी वि.सं.१९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ ।
प्राकृतिक प्रकोपको जोखिममा विश्व सम्पदा
सम्पदाहरू विश्व संस्कृतिको दृष्टिले महत्वपूर्ण हुन्छ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहरजस्ता धरोहरहरूलाई आफ्नो सूचीमा सूचिबद्ध गर्ने गर्दछ । सन् २०१३ सम्ममा १६० राष्ट्रका ९८१ क्षेत्रलाई विश्व सम्पदाको रूपमा सूचिकृत गरिएको छ जसमा ७५९ सांस्कृतिक, १९३ प्राकृतिक र २९ मिश्रित रहेका छन् । प्रत्येक सम्पदा क्षेत्र त्यस देशको विशेष सम्पति हुन्छ, जुन त्यो देशमा भए तापनि अन्तर्राष्ट्रिय समुदायको हितमा हुन्छ भनेर आउने पिँढी वा नयाँ पुस्ता तथा मानवताको हितको लागि पनि यस्ता विशेष सम्पदाको संरक्षण गरियोस् भन्ने उद्देश्यबमोजिम विश्व सम्पदामा सूचिकृत गरिएका हुन्छन् । तथापि पूरै विश्व समुदायलाई यस्ता सम्पदाको संरक्षणको जिम्मेवारी रहन्छ । यसैको परिणाम विश्वमा पर्यटन उद्योग विकास र फस्टाएको हुन्छ । युनेस्को सूचीमा रहेका विभिन्न सम्पदाहरू पनि भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिममा रहेको छ ।
सय वर्षपछिको भक्तपुर निर्माणमा मौलिक संरचना
सांस्कृतिक तथा नेपालको रोम सहरको रूपमा परिचित भक्तपुर नगरलाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा सूचिमा सूचीकृत गरेको हो । नेपाल आउने विदेशी पर्यटकहरूमध्ये करिब २५ प्रतिशत विदेशी पर्यटकहरूले भक्तपुर भ्रमण गर्ने गरेको तथ्याङ्क छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले वि.सं. २०५९ मा प्रकाशित गरेको सय वर्षपछिको भक्तपुर नामक पुस्तकमा देशको समृद्धिसहित पर्यटन उद्योगको विकासका लागि खाका परिकल्पना गर्नुभएको छ । जसलाई भक्तपुर नगरपालिकाले पर्यटन उद्योगको विकासका लागि मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गरेको छ । यसैलाई आधार मानेर संविधानसभाले तयार गरेको संविधानअनुसार देशमै पहिलोपटक स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जनसहित कार्यान्वयनमा रहेको छ ।
भक्तपुर नगरपालिकाले आफ्नो मौलिकता बचाई सम्पदाहरूलाई जीवन्त राख्न र पर्यटकीय दृष्टिकोणले उद्योग सञ्चालनको लागि मौलिक नेपाली शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई अनुदानको व्यवस्था नगरपालिकाले गर्दै आएको छ । भक्तपुरको मौलिकता बचाइराख्न पुरानो सहरको सिमाङ्कन गरी यहाँको घरजग्गा स्थानीय जनताबिच मात्रै किनबेच गर्न सकिने नीति निर्माण गरेको थियो तर सर्वोच्च अदालतको आदेशले रोक्यो । यसले सम्पदा संरक्षणसहित देशको पर्यटन उद्योगको विस्तार र देशको समृद्धिलाई रोकेको छ ।
भूकम्पपछि भक्तपुरमा पुनः निर्माण र ख्वप मोडेल
उपत्यकाका भौतिक र अभौतिक सम्पदाहरूको इतिहासले देशको गर्विलो इतिहासलाई उजागर गर्दछ । विभिन्न भूकम्पले क्षति पुगेका भौतिक र अभौतिक सम्पदाहरूको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबै नेपालीको लागि गौरवको विषय हो । भक्तपुरलगायत काठमाडौँ उपत्यकाका मठमन्दिर, पाटीपौवा, सत्तल, पोखरीहरूजस्ता सम्पदाको निर्माण र पुनः निर्माण तथा जीर्णोद्धारमा स्थानीय जनताको सहभागिता मल्लकालको सभ्यतादेखि नै हुँदै आएको हो । वि. सं. २०७२ को भूकम्पले मल्लकालीन तथा विभिन्न शताब्दी पुरानो सांस्कृतिक सम्पदाको पुनः निर्माण तथा जीर्णोद्धारमा स्थानीय जनताको उल्लेख्य सहभागिता नै नयाँ ख्वप मोडेलको रूपमा राष्ट्रिय चर्चा पाएको थियो ।
सम्पदाप्रतिको मोह र आस्था नयाँ पुस्तामा जागृत गराई हस्तान्तरणसहित पर्यटन उद्योगको विकास गर्नु आजको आवश्यकता हो । नेपालका सम्पदाहरू स्थानीय हुँदै विश्वव्यापी मान्यतासँग जोडिएर सम्पदाहरूको विश्वव्यापी प्रचारप्रसारमा सम्बन्धित सरोकारवालाहरूले ध्यान दिई सम्पदा संरक्षणमा स्थानीयहरूको सहभागितालाई प्राथमिकता दिनु महत्वपूर्ण पक्ष हो । यसै कुरालाई मध्यनजर गरेर भक्तपुर नगरपालिकाले सम्पदाहरूको पुनः निर्माण स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फत गरिरहेको छ । जसमा जनताले अपनत्व लिँदा ख्वप मोडेलको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा पाएको छ । २०७२ सालको भूकम्पबाट विश्व सम्पदा क्षेत्रमा मात्रै एक सय ४० सम्पदा क्षतिग्रस्त भएका थिए । तीमध्ये अहिले धेरैजसो पुनर्निर्माण भइसकेका छन् ।
भग्नावशेषको व्यवस्थापनमा भक्तपुर नगरपालिकाको भूमिका
भूकम्पपछि सांस्कृतिक सम्पदाहरूको पुनः निर्माणमा जनताको साथ र सहयोगले भक्तपुर नगरपालिका चर्चाको केन्द्रमा रहेको छ । तर, विडम्बना ¤ सांस्कृतिक सम्पदालाई जीवन्त बनाउने जनताका आवासहरू अझै पनि भग्नावशेष र खण्डहर बनेका छन् । खण्डहर तथा भग्नावशेषले भक्तपुरको सांस्कृतिक सौन्दर्यलाई एकातिर गिज्याइरहेको छ भने अर्कोतिर आन्तरिक तथा बाह्य पर्यटकहरू जोखिम मोलेर भक्तपुर नगरका विभिन्न आकर्षक गल्ली तथा गाईजात्राको प्रदक्षिणा मार्ग यात्रा गर्न विवश छन् । अझ बर्खाको समयमा नियमित वर्षाले भग्नावशेष जुनसुकै बेला पनि भत्किन सक्ने डरत्रास तथा अन्य धनजनको क्षति हुनसक्नेतर्फ सचेत हुन जरुरी छ ।
भूकम्पले भग्नावशेष भएका घर दाजुभाइ तथा दुई छिमेकीबिच साँध सिमाना नमिल्दा स्थानीय टोलवासी र बाह्य तथा आन्तरिक विभिन्न पर्यटकहरूको आवागमनलाई जोखिम र असहज बनाइदिएको छ । यसले थप मानवीय तथा धनजनको क्षति बढाउँछ । स्थानीय वडावासी तथा टोलवासीको सहकार्यमा भक्तपुर नगरपालिकाको नेतृत्व र वडा कार्यालयको समन्वयमा मेलमिलाप नीति तथा वैकल्पिक कानुनी एवं स्थानीयवासीको परामर्शले नगरको भित्री क्षेत्र तथा पर्यटकीय क्षेत्रमा रहेको भूकम्पको भग्नावशेषलाई चाँडोभन्दा चाँडो व्यवस्थापन गर्न जरुरी छ ।
भक्तपुर नगरपालिकाले सांस्कृतिक सम्पदाहरूको पुनः निर्माणमा स्थानीय जनताको साथ र सहयोग लिएझैँ स्थानीय जनताको भग्नावशेष घरहरूको व्यवस्थापनको लागि सम्बन्धित वडा कार्यालयको समन्वयमा घरधनी, जग्गाधनी तथा सरोकारवालाहरू, वडावासी एवं स्थानीयसँग एकआपसमा सहकार्यको लागि आवश्यक सरसल्लाह गर्न जरुरी छ । यसले भूकम्पको भग्नावशेषबाट बर्खायाममा हुने थप धनजनको क्षतिलाई केही हदसम्म भए पनि रोक्न सकिन्छ ।
भक्तपुर नगरको सांस्कृतिक सौन्दर्यलाई थप टेवा पु¥याई भक्तपुरलगायत नेपालको पर्यटन उद्योगको विकासमा सकारात्मक प्रभाव पर्दछ । यसले चाँडोभन्दा चाँडो सय वर्षपछिको भक्तपुरलाई मूर्त रूप दिन सकिन्छ । सम्पदा : मानव विकासको उपहार मानव विकासको क्रममा मानिसहरूले आफूले आर्जन गरेका कला सीप, ज्ञान तथा अनुभव नयाँ पुस्ता वा पिँढीका लागि विभिन्न किसिमका आकर्षक तथा अतुलनीय संरचना मूर्त र अमूर्त दुबै तयार गरेका हुन्छन् । सय वर्षपछि हामीले त्यसलाई सम्पदा भन्छौँ । जसको प्रयोगबाट हजारौँ लाखौँ मानिसहरूले केही न केही सीप र ज्ञान प्राप्त गरेका हुन्छन् । यस्ता मौलिक तथा पुरातात्विक सम्पदामाथि हुने हमला र हस्तक्षेपबारे सबै जनता सचेत हुनुपर्दछ । भूकम्पीय जोखिम न्यून गर्ने प्रविधिसहित पूर्वाधार निर्माण गर्ने सङ्कल्प आजको आवश्यकता हो ।
पूर्वाधार निर्माणस्थल, निर्माण सामग्री, निर्माणमा लाग्ने प्राविधिकहरू र अन्य श्रमिकहरू, निर्माणस्थलमा बस्ने सर्वसाधारण जनतालाई भूकम्पीय जोखिम न्यूनीकरण गर्ने प्रविधिबारे जानकारी दिने व्यवस्थासहित सम्पदा संरक्षणको लागि स्थानीय जनतालाई शिक्षित तुल्याई स्थानीय निकायलाई नै जिम्मेवारी दिनुपर्दछ ।
पुर्खाका धरोहर हजारौँ हजार वर्षसम्म जीवित राख्न नयाँ पुस्तालाई मौलिक संरचनाको सम्पदा संरक्षणबारे पाठ्यपुस्तकमै राखेर अध्ययन अध्यापन गराउन भूकम्पबाट क्षति न्यून हुने प्रविधिको अनुसन्धान हुनु अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष हो । विश्व सम्पदाहरूको संरक्षणबाट राज्यले थुप्रै आर्थिक लाभ लिन सकिन्छ । यसको लागि राज्यले स्थानीय सरकारसँग समन्वय गरेर मौलिक संरक्षणको विशेष कानुन निर्माण र कार्यान्वयन गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *