भर्खरै :

क्युवामाथि हमला गर्न निहुँ खोज्दै अमेरिकी अधिकारीहरू

  • जेष्ठ ६, २०८३
  • डेभिड डिक्याम्प
  • विचार
क्युवामाथि हमला गर्न निहुँ खोज्दै अमेरिकी अधिकारीहरू

क्युवाविरुद्ध युद्ध गर्नका लागि अमेरिकी अधिकारीहरूले बहाना बनाउँदै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवालाई आफ्नो निसानामा राखेको खुला घोषणा गरेको धेरै भएको छैन । अमेरिकी अधिकारीहरू तयारीमा जुटेका छन् ।
गत साता अमेरिकी मिडियाहरूमा आएको खबरअनुसार संरा अमेरिकाको न्याय मन्त्रालयले क्रान्तिका नेता फिडेल क्यास्त्रोका भाइ तथा क्युवाका पूर्वराष्ट्रपति क्यास्त्रोमाथि अभियोग लगाउने तयारी गर्दै छ ।
खबरमा आएअनुसार क्यास्त्रोविरुद्ध क्युवाबाट अमेरिका निर्वासित भएकाहरूको सङ्गठनसँग सम्बन्धित विमानलाई सन् १९९६ मा खसालेको अभियोग लगाउन सक्छ । त्यो घटनामा चार व्यक्ति मारिएका थिए । लागुऔषध तस्करी गरेको निहुँ बनाएर राष्ट्रपति ट्रम्पले क्युवा आसपासका क्षेत्रमा चल्ने डुङ्गाहरूमाथि बमबारी गरिरहेको स्थितिमा पछिल्लो खबर आएको हो । यी बमबारीहरूमा परेर झन्डै २ सय सर्वसाधारण मारिएका छन् । कानुन मन्त्रालयले क्यास्त्रोमाथि अभियोग लगायो भने अमेरिकी सरकारले भेनेजुयलामा जे ग¥यो, क्युवामा पनि त्यही गर्न सक्छ । भेनेजुयली राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गरेजस्तै क्यास्त्रोलाई अपहरण गर्ने सम्भावना छ ।
गत आइतबार ‘एक्जियोस’ मा प्रकाशित रिपोर्टअनुसार अर्को नयाँ बहाना पनि बन्न सक्छ । क्युवाले सैन्य ड्रोनहरू खरिद गरेको घटनालाई निहुँ बनाउन सकिन्छ । रिपोर्टमा केही अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गरिएको छ । ती अधिकारीहरूले क्युवासँग ३०० भन्दा बढी ड्रोन भएको तथा अमेरिकाले तेल नाकाबन्दी चर्काएसँगै र अमेरिकी सैन्य गतिविधि बढेसँगै उसले अझ बढी ड्रोन खरिद गर्न खोजिरहेको ‘खुफिया जानकारी’ लाई निहुँ बनाउन सकिने बताएका थिए ।
क्युवाले ड्रोन खरिद गरेको दाबीलाई ‘अमेरिकाले सैन्य कारबाही गर्ने निहुँ’ बनाउन सकिन्छ भनी रिपोर्ट उल्लेख गर्छ । साथै, ‘ग्वान्टानामोमा रहेको अमेरिकी सैन्य अखडा, सैन्य जलबेडा र हवानाबाट ९० माइल उत्तरमा पर्ने फ्लोरिडाको कि वेस्ट’ माथि ड्रोन आक्रमण गर्ने विषयमा क्युवामा चर्चा चलिरहेको बताइएको छ ।
यो रिपोर्टले अमेरिकी अधिकारीहरूबारे एउटा सत्य उद्घाटित गरेको छ । रिपोर्ट भन्छ – ‘(उनीहरू) क्युवा अमेरिकाको लागि उदाउँदो खतरा हो वा उसले सक्रियतापूर्वक अमेरिकी स्वार्थमाथि आक्रमण गर्ने योजना बुन्दै छ भन्ने विश्वास गर्दैनन्’ । तर, रिपोर्ट दाबी पनि गर्छ – ‘अमेरिकासँग सम्बन्ध चिसिँदै स्थिति आक्रामक बन्यो भने ड्रोन युद्ध गर्ने विषयमा क्युवाली सैन्य अधिकारीहरूबिच छलफल भइरहेको’ अमेरिकी गुप्तचर निकायले सूचना पाएको छ ।
राष्ट्रपति ट्रम्पले पटक–पटक क्युवाविरुद्ध युद्ध गर्ने धम्की दिएका छन् । गत मार्च महिनामा उनले ‘क्युवा हातमा लिने सम्मान प्राप्त’ गर्न सक्ने बताए । अमेरिका र क्युवा अहिले वार्तारत छन् । गत साता अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ का निर्देशक जोन रेटक्लिफले क्युवा भ्रमण गरे । तर, अमेरिकी सरकारले कस्तो सम्झौता स्वीकार गर्नेछ भन्ने स्पष्ट छैन । किनभने, क्युवासम्बन्धी अमेरिकी नीतिको नेतृत्व विदेशमन्त्री मार्को रुबियोले गर्दै छन् । उनले आफूले क्युवामा सत्तापरिवर्तन गर्न चाहेको कुरा यसअघि नै स्पष्ट पारिसकेका छन् ।
(लेखक ‘एन्टिवार डट कम’ का समाचार सम्पादक हुन् ।)
स्रोत : एमआर अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *