नेपाली भूमि फिर्ता गराउन परिपक्व कूटनीति खोइ ?
- जेष्ठ ५, २०८३
विश्वको भू–राजनीतिक परिदृश्यलाई नयाँ स्वरूप दिने एक महत्वपूर्ण कदमको रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक वर्षभन्दा कम समयको अन्तरालमा चिनियाँ नेता सी चिनफिङसँग दोस्रो भेटवार्ताका लागि चीन भ्रमण गरिरहनुभएको छ । उहाँ मे १९ को साँझ पेइचिङ पुग्नुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई निकै न्यानो र भव्य स्वागत गरिएको छ, चिनियाँ विदेशमन्त्री वाङ यीसहितको टोलीले औपचारिक स्वागत गर्नुभएको छ । यो उच्चस्तरीय भ्रमण रुस र चीनका लागि मात्र नभई विश्वकै लागि अत्यन्तै महत्वपूर्ण छ । प्रवक्ता दिमित्री पेस्कोभका अनुसार यस कूटनीतिक भ्रमणबाट रुसले निकै उच्च अपेक्षा राखेको छ । दुई नेताबिचको शिखर सम्मेलनको मुख्य आकर्षण ‘बहुध्रुवीय विश्व’ को स्थापना र ‘नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध’ सम्बन्धी ऐतिहासिक घोषणापत्र जारी गर्नुहुनेछ, जसले परम्परागत विश्वशक्ति संरचनाका विरुद्ध एकताबद्ध मोर्चाको सङ्केत गर्नेछ ।
दुई विशाल छिमेकी देशबिचको यस रणनीतिक साझेदारीको प्रगाढता भ्रमणको क्रममा हस्ताक्षर गरिने करिब ४० वटा द्विपक्षीय सम्झौताबाट स्पष्ट हुन्छ । छलफलको प्रमुख केन्द्रविन्दु ‘पावर अफ साइबेरिया २’ (Power of Siberia 2) आयोजना रहनेछ, जसमा दुवै नेताहरूले ऊर्जा पूर्वाधार पहलको विस्तृत समीक्षा गर्ने लक्ष्य राखेका छन् । रुसी र चिनियाँ व्यापार अब लगभग पूर्ण रूपमा रुबल र युआनमा रूपान्तरण भइसकेको तथ्यले यो आर्थिक सहयोगलाई थप बल पु¥याएको छ । पश्चिमी मुद्राहरूबाट टाढा रहेर, दुवै राष्ट्रले यस्तो व्यापारिक वातावरण सिर्जना गरेका छन्, जसलाई उनीहरूले तेस्रो देशहरूको प्रभाव र विश्वव्यापी वित्तीय बजारको अस्थिरताबाट सुरक्षित रहेको दाबी गर्छन् ।
यस भ्रमणको लागि राष्ट्रपति पुटिनले चिनियाँ जनतासम्म पुग्न आधुनिक शैली अपनाउनुभएको छ । स्थानीय छापा माध्यममा परम्परागतरूपमा लेख प्रकाशित गर्नुको सट्टा, उहाँले आफ्नो सहकार्यको सन्देश प्रवाह गर्न चिनियाँ नागरिकहरूका लागि एक व्यक्तिगत भिडियो सन्देश रेकर्ड गर्नुभएको छ । सो सन्देशमा पुटिनले मस्को र पेइचिङ कुनै पनि अन्य देशको विरुद्धमा उभिन नभई शान्ति र विश्वव्यापी समृद्धिका लागि मिलेर काम गर्न चाहेको बताउनुभएको छ । त्यस्तै उहाँका अनुसार –यही भावनाका साथ मस्को र पेइचिङले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रका सिद्धान्तहरूलाई पूर्णरूपमा रक्षा गर्नका लागि प्रयासहरू समन्वय गरिरहेका छन् ।
रुसी राष्ट्रपति पुटिनलाई विदेशमन्त्री सर्गेई लाभरोभ, उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाक र अर्थमन्त्री एन्टोन सिलुआनोभलगायतका उच्च अधिकारी र व्यवसायीहरूको ठुलो प्रतिनिधिमण्डलले साथ दिइरहेको छ, जसले यस वार्ताको व्यापकतालाई झल्काउँछ । पेइचिङमा राष्ट्रपति पुटिनको कूटनीतिक व्यस्तता बढ्दो छ, राजकीय भ्रमणको समापन पत्रकार सम्मेलनको समय कार्यतालिका टुङ्गो लाग्न बाँकी नै छ तर पुटिनको भ्रमणले एकध्रुवीय विश्व रहेको मान्यता भत्किने र बहुध्रुवीय विश्वको अवधारणा मजबुत हुने अनुमान विश्वभर गरिएको छ ।
Leave a Reply