नाकाबन्दीका बिच क्युवाका स्वास्थ्य चमत्कारहरू
- जेष्ठ २१, २०८३
जीवन जगत्लाई हेर्ने अनेकौँ दृष्टिकोण व्यक्तिको चिन्तनमा भर पर्दछ । कसैले जीवनलाई गतिशील देख्छन् त कसैले जीवनमा जडता देख्छन् । जडता र गतिशीलता जीवनका फरक आयामहरू हुन् । कवि विकल प्रजापति जीवनका यिनै आयामहरूलाई रातो चस्मा लगाएर हेर्दै छन् । उनको हेराइमा जीवन अदम्य छ । जीवन साहस हो, जीवन आशा हो, जीवन सङ्घर्ष र विजयको चक्र हो ।
विगत ४७÷४८ सालदेखि लेखिएका आफ्ना रचनाहरूलाई सङ्कलन गरेर कवि विकल प्रगतिवादी लेखन धारामा जोडिएका छन् । उनीभित्रको रक्तिम दृष्टि र आभायुक्त शब्दभाव ‘रातो चस्मा’ को मूल आधार हो । समाजका विकृति विसङ्गतिप्रतिको व्यङ्ग्यसँगै वर्गीय चेतनाको जगमा उनका रचनाहरू उभिएका छन् ।
कवि गोपालप्रसाद रिमालको क्रान्तिकारी कविता ‘आमाको सपना’ कै प्रत्युत्तरका रूपमा ‘मेरो सम्झना प्रजातन्त्रमा’ शीर्षक दिएर कवि विकलले २०४६ सालको जनआन्दोलनलाई यसरी सम्झेका छन् ः
त्यो बिहान, त्यो रात
आँखासामु नाचिरहेछ
जुन दिन मान्छेदेखि घृणा गर्ने मान्छेलाई
मान्छे बन्न सिकाएथ्यो …..
………………………….
चार मेरा साथीहरूले बलिदान गरिसकेछन्
त्यसैले पो त नयाँ बिहानी आयो ।
मैले आँगनीमै स्वागत गरेँ
साथीहरूले पनि स्वागत गरे
सबले स्वागत गरे
कति वर्षदेखि प्रतिक्षामा थिएँ
कसरी आउँछ हेरिरहेको थिएँ
त्यो त रगतसँगै बगेर पो आयो
लासमाथि चढेर आयो । (पृ.६२)
जीवनका विसङ्गतिहरूलाई चिरेर आशाका रेखा कोर्नु र जीवनलाई हेर्ने हेराइमा क्रान्तिचेत राख्न सक्नु नै ‘रातो चस्मा’ को विशेषता हो । कथित कम्युनिस्ट भनाउँदा दलहरूको विसङ्गतिलाई सङ्केत गर्दै कतै बाटो नै भुल्यौ कि ? भन्दै कविले लेखेका छन् ः
दुःखको कुरो मित्र
अवरसरवादीहरूसँगै हातेमालो गरी हिँड्दा
धोकेबाजसँग मिलेर संशोधनवादी भएर हिँड्दा
सच्चा मित्रलाई सानो र ठुलोको भेदभाव गर्दा
माक्र्स र लेनिनको झण्डामुनि
विचारको कुपोषणले ग्रस्त भई
जन्मदिने माटोको आत्मबोध नहुँदा
मलाई बडो दुःख लाग्छ ।
………………………….
कतै तिमीले
हाम्रो मूल बाटो नै त भुलेनौ ?
रगतले हस्ताक्षर गरेको वाचा बन्धन
मूल गन्तव्य नै चुक्यौ कि ? (पृ.४८–४९)
राजनैतिक चेतले भरिएका कवि विकलका कविताहरू बेथितिप्रति बढी लक्षित गरेर २०४६ सालपछिका जति पनि उतारचढावहरू नेपाली राजनीतिमा देखिए, त्यसमाथि व्यङ्ग्य र खबरदारी गर्न कवि चुकेका छैनन् । यसै क्रममा कवि लेख्छन् ः
जो जो चढ्छ मह काढ्न, ऊ झर्न मान्दैन
जो जसले चाटेको छ मह, ऊ छाड्न मान्दैन
अवकाशपछि लाई सञ्चितिको लागि
एक थोपा स्खलन नि मान्दैन
एक दृष्टि हेर्न र एक सास बोल्न नि मान्दैन ।
(मह र वाचा, पृ.४१)
विडम्बना यो देशमा
जनता मापसेमा कारबाही हुँदा
मन्त्रीहरू तारे होटेलमा
होली वाइनको स्लाइन चढाउँछन्
देशको नक्सालाई मापसेको बिल बनाएर
दिनमै भुक्तानी लिन्छन् दिन्छन् । (मापसे, पृ.३३)
राष्ट्रघाती सन्धि सम्झौताहरू गरेर विदेशी दलालहरूको पञ्जामा नाच्न बाध्य कठपुतली सरकारप्रति व्यङ्ग्य गर्दै सचेत जनआक्रोशलाई कठपुतली भूत शीर्षकमा कवि पोख्छन् ः
काट्ने कैँचीले नै हो
र पनि कपाल काट्ने नाऊ
काँगियोलाई नकार्न सक्दैन
प्रत्येक पटक काँगियोले कोरेको गोरेटोमा
उसको कैँची हिँड्दछ ।
काँगियोको इसारामा
औँलाहरू चलाउनुमात्र हो
टाउकोभरिका कपाललाई समेट्न
कैयौँ आँला फिजाएको हुन्छ, काँगियोले ।
…………………………………..
यता बहुमत ग्राहकहरू
चिढिन थालेका छन् नाऊसँग
…………………………….
लाग्छ उसमा रिमोटबाट चल्ने
कठपुतली भूत चढेको छ । (पृ.३९)
भक्तपुर राजनैतिक चेतनाको इतिहास बोकेको जिल्ला हो जसले सिङ्गो देशमा चेतनाको दियो बाल्दै छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिको विश्लेषणमा यो सहर सचेत छ । यसै सहरका सचेत युवा हुन् कवि विकल प्रजापति । अनेकौँ वर्गीय लडाइँका फड्काहरू पार गर्दै आएका भक्तपुरे युवाहरूमा परिवर्तनका निम्ति जोश र चिन्तनयुक्त जाँगर छ । त्यसै चिन्तनमा लामबद्घ भई विरोधमा उत्रिएका उदाहरणहरू धेरै छन् । यहाँ क्षेत्रीय कुरा हैन वर्गीय चेत छ, सिङ्गो विश्वका कामदारवर्गमाथिको दमनको विरोध छ । यसैको सम्झनामा ‘लामो हिँडाइ’ शीर्षकमा कवि लेख्छन् ः
भक्तपुरदेखि काठमाडौँसम्म
चैत्रको लामो हिँडाइ
जीवनको उकालो ओरालो
यो वर्गीय महाउत्सव हो
साथी तिमी नछुट है ।
………………………….
लामो हिँडाइमा……..
अघि बढ मित्र अघि बढ
घामपानीले रोक्नु हुन्न
‘एक्लो’ तिमी अघि बढ
गन्तव्यमा चुक्नु हुन्न । (पृ.३२)
कथित कम्युनिस्ट आन्दोलनको नाममा नेपाली जनताले लामो जनयुद्घलाई झेल्नु प¥यो । छद्मभेषी नेताको चङ्गलमा परेर कम्युनिस्ट आन्दोलनको इतिहासले कालो धब्बा सहनु प¥यो । न्यायालय समेत यसबाट अछुतो रहन सकेन यसै सन्दर्भमा अब झुण्डिने पालो कसको भन्दै कवि लामो कविता लेख्छन् ः
प्रिय कामरेड ¤
बोतलको पानी त तिमीले पनि खाएकै हो
…………………………………………..
जीवन मेरो भाँसिएको भेउ नै भएन
……………………………….
पानीसँग खेल्ने पानीमै मर्छ
आगोसँग खेल्ने आगोमै मर्दोरहेछ
……………………………..
सर्वोच्च अदालत तिम्रै हातमा छ,
हामीले भागबन्डामा छानेका गुलामहरू
पानीमाथि ओभानो हुनु ठीक छैन
त्यसकारण,
तिमीलाई अन्तिम आह्वान गर्दै छु
रिमेम्बर एस्टर्डे । रिमेम्बर एस्टर्डे । (पृ.१०–१३)
विश्वले महामारीको मार खप्दा नेपाल अछुतो रहने कुरै भएन । आणविक युद्घ र जैविक युद्घको प्रभाव नेपाली जनजनको आँगनमा पुगेकै छ । कोरोनाले आक्रान्त समयमा पश्चिमा शक्तिहरूको विरोध गर्दै आशा लाग्दा भावहरूमा उनी लेख्छन् ः
एक्काइसौँ शताब्दीको एक बिहान
जीवाणु युद्घको बाछिटाले
मेरो आँगनमा झुल्केको घाम
र त्यो घाममा खेल्ने अबोध बालकहरू
बेकसूर जलिरहेछन्, किन ?
…………………………….
यो कोरना राक्षसले
छुन सक्दैन शान्तिप्रिय नेपाललाई
किनभने पूर्वबाट नयाँ युगको
उज्यालो देखिसकेको छ
………………………..
स्थान हुनेछैन बाजहरूको नयाँ युगमा….(पृ.१–३)
समग्रमा, ‘रातो चस्मा’ कविभित्रको आशा र सङ्कल्पको सङ्ग्रह हो । प्रगतिवादी चिन्तनले भरिएका शब्दहरू काव्यिक स्वरूपमा उनिएका छन् । कवि विकलले आफ्नो ऊर्जाशील युवा उमेरदेखिका कविताहरूलाई सँगालेर प्रगतिवादी नेपाली साहित्यमा अझ ऊर्जा थप्ने कार्य गरेका छन् । सचेत राजनीतिक व्यक्ति, न्यायालयमा न्याय र निसाफको वकालतमा सरिक न्यायकर्मी कवि विकलका रचनाहरूको रचना गर्भभित्र गहिराइ छ । सरल भाषाशैलीका ऐतिहासिक चिन्तनयुक्त आलेखको प्राप्ति पाठक वर्गका निम्ति हर्षको विषय हो । लेखकीय शब्दमा उल्लेख भएअनुसार कवि विकलले आफ्ना काव्यसरि छोरीहरूको विवाह उत्सवको सुखद क्षणमा छोरीहरूलाई उपहारस्वरूप प्रदान गर्न पुस्तक प्रकाशन गरेको सन्दर्भ जोडेका छन् । काव्यप्रेमीहरूमा यस्तो सन्दर्भले बेग्लै महिमा राख्दछ । सबल र अब्बल छोरीहरू काव्यकृति जत्तिकै तेजिला छन् । सुखद दाम्पत्य जीवनको शुभकामना । कवि विकलका आगामी काव्यकृतिहरूको क्रमिक आगमनको प्रतिक्षासँगै लेखक तथा प्रकाशक सम्पूर्णमा धन्यवाद ¤
Leave a Reply