राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड’ घटना अघि र पछि – २
- भाद्र ७, २०८३
आजभन्दा ९० वर्षअघि अगस्ट १८ गतेको दिन उनको हत्या भयो । फ्रेडरिको गार्सिया लोर्का स्पेनका महान् कवि थिए, नाटककार थिए । सन् १९३६ स्पेनी गृहयुद्ध चलेको एक साता मात्र बितेको थियो । ग्रेनाडा नजिकै जनरल फ्राङ्कोका फासीवादी हत्याराहरूले लोर्काको हत्या गरे ।
लोर्काका हत्याराहरूले एउटा गोलीले उनको आवाज बन्द गर्ने ठानेका थिए । तर, इतिहासले अर्कै कुरा लेख्यो । उनका कविता, नाटक र मानवता अझै जीवित छ । स्पेनी साहित्यका विश्वविख्यात साहित्यकारका रूपमा उनको सौरभ विश्वभरि फैलियो । कालान्तरमा लोर्का फ्राङ्को सरकारले नष्ट गर्न खोजेको फासीवादविरोधी लोकतान्त्रिक भावनाका अमिट प्रतीक बने ।
कविता र नाटकमार्फत लोर्काले प्रेम, मृत्यु, उत्साह र एक्लोपना, दमन र स्वतन्त्रताजस्ता भावनालाई मसिनो गरी केलाए । उनी तानाशाहीका विरोधी थिए । सदा सामाजिक अन्यायविरुद्ध उभिए । शोषण र विभेदविरुद्ध आवाज उठाए । उनी कहिल्यै कुनै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएनन् । तर, उनी प्रतिबद्ध फासीवादविरोधी थिए । आफ्नो समयको सामाजिक व्यवस्थाका कडा आलोचक थिए । उनको लेखनी सधैँ गरिबगुरुवाको आवाज बन्यो । सीमान्त र आहत जनताको आवाज बन्यो । उनको साहित्यले गरिबी, अलगाव, जातिवादको खेदो खन्यो† पुँजीवादी समाजको सासै थुनिने झिलिमिलीलाई उदाङ्गाउने काम ग¥यो ।
सन् १८९८ मा ग्रेनाडाको फुएन्ते भाक्वेरोसमा उनको जन्म भएको थियो । ग्रामीण भेगमा जन्मे पनि उनको परिवार अलि सम्पन्न थियो । त्यही लोर्का सङ्गीत र साहित्यप्रति मुग्ध भए । उनकी आमा एक शिक्षिका थिइन् । आमाले उनलाई सङ्गीत सिक्न उत्साहित गरिन् । उनको कवितामा आउने लय र रूपकहरू सङ्गीतको यही ज्ञानको गहिरो छाप पाइन्छ ।
मेड्रिडमा विद्यार्थी जीवन बिताउँदै गर्दा लोर्का स्पेनका प्रतिभाशाली कवि कलाकारहरूको सङ्गतमा आए । उनको पुस्ता अचम्मैको पुस्ता थियो । साल्भाडोर डाली र फिल्मकार लुइस बुनुअल उनका साथी थिए । सन् १९२० र १९३० को दशकसम्ममा उनको स्पेनबाहिर पनि ख्याति फैलियो । ल्याटिन अमेरिका, फ्रान्स र अमेरिकामा समेत उनको चर्चा चल्यो ।
सन् १९३६ को जुलाई महिनामा जनरल फ्रान्सिस्को फ्राङ्कोको नेतृत्वमा स्पेनमा प्रतिक्रियावादी जर्नेलहरूले सैन्य विद्रोह गरे । त्यसपछि गणतन्त्रवादी, कम्युनिस्ट, समाजवादी, ट्रेड युनियनवादी, बौद्धिकवृत्त र अन्य प्रगतिशील तप्काविरुद्ध स्पेनमा आतङ्कराज चल्यो । चाँडै नै ग्रेनाडा राष्ट्रवादी शक्तिको कब्जामा गयो । हजारौँ मानिसहरूलाई पक्राउ गरियो, धेरैको हत्या गरियो ।
लोर्काको सहानुभूति गणतन्त्रवादीहरूप्रति थियो । किनभने, तिनले फासीवादविरोधी आवाज घन्काउँदै थिए । त्यसैले लोर्का प्रतिक्रियावादीहरूको निसानमा परे । फ्राङ्कोका आउरेबाउरेहरू उनको विचारलाई रुचाउँदैनथे ।
सन् १९३६ अगस्ट १६ गते ग्रेनाडामा उनलाई पक्राउ गरियो । लगत्तै उनलाई भिजनार र अल्फाकारबिच कतै लगियो । मुद्दा नचलाई उनलाई मृत्युदण्ड दिइयो । उनको शरीरलाई कुनै अन्जान चिहानमा गाडियो । आज पनि उनको लास कहाँ छ भन्ने कुरा कसैलाई थाहा छैन ।
तर, लोर्काका शब्दहरू उनको चिहानभन्दा धेरै टाढा पुगे । उनका कविता र नाटक विश्वका दर्जनौँ भाषामा अनुदित भए र मानव जातिकै सांस्कृतिक धरोहरका अङ्ग बने । उनले लेखेका ‘रक्ताम्य विवाह’, ‘येर्मा’ र ‘बेर्नार्डा अल्बाको घर’ जस्ता नाटक आधुनिक थियटरका कालजयी रचना मानिन्छन् । उनका कवितासङ्ग्रहहरू ‘जिप्सी ब्यालेड’ र ‘न्युयोर्कमा कवि’ पनि उत्तिकै चर्चित छन् । उनको कवितासङ्ग्रह ‘इगनासियो सान्चेज मेजियाको पश्चाताप’ लाई विश्वभरि चाखपूर्वक पढिन्छ । यी रचनाले लोर्कालाई २० औँ शताब्दीका महानतम् कविहरूको श्रेणीमा स्थापित गरेका छन् ।
हत्याको ९० वर्षपछि पनि फ्रेडरिको गार्सिया लोर्का आफ्नो साहित्यमार्फत जीवित छन् । उनको हत्या गर्ने तानाशाही व्यवस्था इतिहासको कालकोठरीमा बन्द भयो । तर, त्यो तानाशाहीले मुख थुन्न खोजेका कवि लोर्का अझै लाखौँ पाठकहरूसँग बोलिरहन्छन् ।
लोर्काको जीवनले फासीवादविरुद्ध शक्तिशाली सन्देश दिइरहेको छ । फासीवादको आवरणमा पुँजीवाद कतिसम्म निकृष्ट बन्न सक्छ, यसले संस्कृति, स्वतन्त्रता र मानवीय स्वाभिमानलाई कतिसम्म घृणा गर्न सक्छ भन्ने कुरा लोर्काको जीवनले बताउँछ । उनको हत्या स्पेनी इतिहासको एउटा कालरात्रि हो । तर, उनको काव्य संसार सारा संसारको धरोहर हो ।
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply