भर्खरै :

भक्तपुर नगरपालिकाद्वारा महिलाहरूसँग बजेटसम्बन्धी राय सुझाव सङ्कलन

भक्तपुर नगरपालिकाद्वारा महिलाहरूसँग बजेटसम्बन्धी राय सुझाव सङ्कलन

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिकाले आगामी आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने क्रममा महिलाहरूबाट राय सुझाव सङ्कलन ग¥यो । कार्यक्रममा सहभागी महिलाहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक तालिम, उद्यम विकास, सामाजिक सुरक्षा र महिलाहरूको समस्या आदिबारे विभिन्न सुझावहरू दिएका थिए ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले हरेक वर्ष जनतासँग प्रत्यक्ष रूपमा सुझाव सङ्कलन गर्दै आएको बताउनुभयो ।
वडास्तरबाट, नगरपालिकामा आयोजना गरिने भेला र अनलाइन माध्यमबाट समेत नगरवासीहरूबाट सुझाव सङ्कलन गर्ने गरिएको जानकारी दिँदै उहाँले जनप्रतिनिधि र नागरिकबिचको सहभागितामूलक सम्बन्धलाई थप सुदृढ बनाउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमबाट प्राप्त सुझावहरूलाई आगामी बजेट तथा कार्यक्रममा प्राथमिकताको आधारमा समावेश गरिने उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले महिलाहरूले जबसम्म सुरक्षित, सम्मानित र स्वतन्त्र महसुस गर्दैनन्, तबसम्म देशको समग्र विकास र समृद्धिको कल्पना गर्न सकिँदैन भन्दै नगरका समस्याहरूलाई एकैपटक समाधान गर्न नसकिए पनि योजनाबद्ध र चरणबद्ध ढङ्गले दिगो रूपमा समाधान गर्दै लगिने बताउनुभयो ।
कार्यक्रममा उपस्थित महिला प्रतिनिधिहरूले चोरी–डकैती नियन्त्रणका लागि टोल–टोलमा सीसीटीभी जडान गर्नुपने, नसर्ने रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, भक्तपुरको मौलिकता तथा सम्पदा संरक्षणमा विशेष ध्यान दिनुपर्ने, धारा तथा पानीका स्रोतहरूको संरक्षण र व्यवस्थापन गर्नुपर्ने, लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्थानीय टुर गाइडको अभाव भएकाले तालिम सञ्चालन गर्नुपर्ने, खोला किनारमा सुरक्षाका लागि पर्खाल निर्माण गर्नुपर्ने, पिच गर्न बाँकी रहेका सडकहरू कालोपत्रे गर्नुपर्ने, वडा नं. ३ मा आवश्यक स्थानमा शिशु स्याहार केन्द्र स्थापना गर्नुपर्ने, बालमन्दिरका विद्यार्थी तथा विद्यालयको उचित व्यवस्थापन गर्नुपर्ने, रात्रिकालीन प्रहरी गस्ती बढाउनुपर्ने, च्याम्हासिंह क्षेत्रमा पार्किङ व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
उहाँहरूले महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने, महिलाहरूका लागि उद्यमशीलता तथा सीपमूलक तालिमलाई व्यापक बनाउनुपर्ने, बहुउद्देश्यीय भवन निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने, सुत्केरी भेटघाट कार्यक्रममा सुत्केरी आमाहरूलाई उपहारको व्यवस्था गर्नुपर्ने, महिला स्वास्थ्य स्वयम्सेविकाहरूका लागि शैक्षिक भ्रमणको व्यवस्था गर्नुपर्ने, महिलाहरूमा रहेका सीपलाई व्यवसायीकरण गर्न आवश्यक ज्ञान तथा तालिम प्रदान गर्नुपर्ने, मिवाछेँ क्षेत्रका खाल्डाखुल्डी पुर्नुपर्ने, इन्द्रायणीको ढुङ्गेधाराको संरक्षण तथा व्यवस्थापन गर्नुपर्ने, वडा–वडाबाट किसानहरूलाई मल उपलब्ध गराउनुपर्ने, नगरभित्रका स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्नेलगायतका सुझावहरू दिएका थिए ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *