“चोर पनि साधु हुने” अवस्था किन ?
- भाद्र ६, २०८३
गत भदौ २३ र २४ गतेको उपद्रोपछि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालको संविधानविपरीत अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरियो । यो काम नेकाबाट राष्ट्रपति भएका रामचन्द्र पौडेलबाट गराइएको हो । त्यतिबेला राष्ट्रपति पौडेलले संविधानविपरीत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्न नसक्ने अडान राखेनन् । यसकारण, आजको यो सङ्कटमा नेका र राष्ट्रपति पौडेल जिम्मेवार हुनु स्वाभाविक हो ।
त्यतिबेला राष्ट्रपति पौडेललाई ‘राष्ट्रपति कार्यालयबाट घिसारेर ल्याउने’ भनी संविधानविपरीत बोलेकाहरूलाई राष्ट्रपति पौडेलले ‘कारबाही गर्नू’ भन्न सकेनन् भने त्यस्ता व्यक्तिहरूलाई राष्ट्रपति स्वयम् साक्षी बनेर मन्त्रीको सपथ खुवाइयो । त्यतिबेला नेका, एमाले, माओवादी सरकारप्रति लक्षित गर्दै ‘गाडीको लस्कर लगाएर अब ट्याँट्याँ र टु टु गर्न पाइन्न, जनताको सरकार आयो’ भनी व्यङ्ग्य गर्नेहरू यतिखेर राणा शासनजस्तै गाडी लस्कर लगाएर सिंहदरबारमा ट्याँट्याँ र टु टु गर्दै सवार भइरहेका छन् ।
गत भदौ २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत देशभरि आगजनी गरिएको बेला सिल्भर लात् हस्पिटलका सञ्चालक अभिषेकराज सिंहसहित सुशीला कार्की, ओम अर्याल बानेश्वरको युरोपेली सङ्घको अग्लो घरमा बिहानदेखि राति अबेरसम्म बसे र धुवाँको मुस्लो हेर्दै विध्वंसको समाचार बनाइरहेको पनि सार्वजनिक भयो । त्यो राति देश जलिरहँदा नेपाली सेनाका एक जर्नेलले अभिषेकराजलाई फोन गरी सुशीला श्रीमान्को खोजी भएको, सेना र प्रहरीको सुरक्षामा तीनैजनालाई घर घर पु¥याइएको, भदौ २६ गते राति ११ बजेतिर कफ्र्युको बेला काठमाडौँ मल्ल होटलअगाडि एकजनासँग सुशीला कार्कीको भेटपछि भदौ २७ गतेलाई उनी अन्तरिम सरकारको प्रममा नियुक्ति हुने सुनिश्चित भएको पनि सार्वजनिक भयो । के यी सबै परिघटनाले भदौ २३ र २४ गतेको उपद्रव प्रायोजित नै भएको पुष्टि हुँदैन र ?
गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनपछि रास्वपाको झन्डै दुईतिहाइको सरकार गठन भयो । यसबारे वरिष्ठ पत्रकार अनिल गिरीले माउन्टेन टेलिभिजनमा खुलासा गरे, “एक लाख नेपाली सेनामध्ये ८० हजारको सङ्ख्या परिचालन गरी रास्वपाका बालेनलाई प्रम बनाउन सक्ने सेनापतिले भदौ २४ गते सिंहदरबार जलाइएको बेला किन निभाउन सकेनन् ?” सन् २०२३ मा श्रीमतीसहित सडक जाममा परेका तत्कालीन कामनपाका प्रमुख बालेनले ‘सिंहदरबार जलाइदिने’ भनी सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसबेला सिल्भर लात् हस्पिटलका सञ्चालक अभिषेकले ‘दमकल पनि नपठाउने’ सञ्जालमा थप गरेको सार्वजनिक भएको थियो । यसले पनि सिंहदरबार जलाउने योजना प्रायोजित विध्वंस भएको पुष्टि हुँदैन र ?
रास्वपाको बालेन सरकार गठन भएको साढे पाँच महिना भयो । यतिबेला सुनसरीमा सामाजिक दङ्गा भड्कियो भने गोली लागेर सुनसरी र सिराहामा चार जना नेपालीको मृत्यु भयो । गत भदौ २३ र २४ गतेको नेका–एमालेको ओली सरकारको गोली र गत साउन महिनामा रास्वपाका बालेन सरकारको गोलीमा के फरक छ र ? यो प्रश्न उठ्नु स्वाभाविक हो । रास्वपा सरकारमा खाना पकाउने ग्यासको अभाव बढ्यो भने भर्खरै बारामा ३ वर्षकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भयो । यो घटना पञ्चायतकालको नमिता र सुनिता कान्ड र नेका–एमाले–माओवादी सरकारको पालाको निर्मला पन्तको बलात्कारपछि हत्याभन्दा थप पीडादायी किन होइन ? तर, ठीक यही बेला रास्वपाको बालेन सरकार निजी भ्रमण भनी गाडी लस्कर लगाउँदै ट्याँ ट्याँ र टु टु गर्दै मुस्ताङ पुगे । संरा अमेरिकी सरकारका एक दूत माइक हर्करसँग युरेनियम खनिजबारे छलफल गर्न मुस्ताङमा बालेनको यो निजी भ्रमण भएको सार्वजनिक भयो । नेका, एमाले, माओवादी, राप्रपा, रास्वपा, मधेस आधारित दलका सरकारहरूले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको हितमा युरेनियम खनिजको निम्ति एमसीसी सम्झौता गरेको थप पुष्टि भएन र ? गत भदौ २३ र २४ गतेको विध्वंस हुनुमा नेका, एमाले र माओवादी पनि जिम्मेवार हुने पुष्टि भएन र ?
Leave a Reply