भर्खरै :

पढाइको राजनीति – १

पढाइको राजनीति – १

पढ्ने कार्य भनेको आफ्ना आँखाले पाठलाई पछ्याउनु वा (तपाईँ अडियोबुक मन पराउनुहुन्छ भने) आफ्ना कानले सुन्नुभन्दा धेरै माथिको कुरा हो । सही तरिकाले गर्ने हो भने, पढ्नु भनेको लेखक (हरू) सँगको बौद्धिक अन्तरक्रियामार्फत अझ राम्रो बुझाइमा पुग्ने एउटा कला हो । प्रारम्भिक स्तरभन्दा माथि उठेर पढ्नुको अर्थ के हो भनी बुझ्न महत्वपूर्ण छ, किनकि शैक्षिक संस्था बाहिर रहेर आफ्नै बलमा नयाँ कुराहरू सिक्ने योजना बनाउने जोकोहीले पनि पढेर नै अन्तर्दृष्टि प्राप्त गर्नुपर्ने हुन्छ । एआई वा अन्य सङ्क्षिप्त पाटाहरूमा मात्र भर पर्नु पर्याप्त हुँदैन । कोही सतही जानकारी बाहेक अरू केही, अर्थात् वास्तविक अन्तर्दृष्टि प्राप्त गर्न चाहन्छ भने, उसले सही तरिकाले पढ्ने परिश्रम गर्नैपर्छ ।
पढ्ने विषयमा धेरै पुस्तकहरू लेखिएका छन्, जसमा धेरैजसो द्रुत गतिको पढाइसँग सम्बन्धित छन् । तर, सम्भवतः मोर्टिमर जे. एड्लरको ‘हाउ टु रिड अ बुक’ (How to Read a Book) जत्तिको समयको कसीमा खरो उत्रिएको अर्को कुनै पुस्तक छैन । यो अवस्था किन आयो भनी बुझ्न गा¥हो छैन, किनकि एड्लरले एउटा बलियो तर्क प्रस्तुत गरेका छन् – राम्रोसँग पढ्नुको अर्थ लेखकको दृष्टिकोण बुझ्नु हो : उनीहरूले के लेखे र किन लेखे । यो वास्तवमै संसार परिवर्तन गर्ने खालको कुनै अवधारणा होइन र यो पक्कै पनि एड्लरको मस्तिष्कबाट उब्जिएको कुनै मौलिक विचार पनि थिएन । तर, उनले के बुझेका थिए भने इतिहासभरिका महानतम विचारकहरूले यसरी नै पढ्दै आएका थिए, जुन तरिका कम्तीमा संयुक्त राज्य अमेरिकाका विद्यालयहरूले कहिल्यै सिकाएका थिएनन् ।
एड्लरले के बुझ्न असफल भए भने अमेरिकी शिक्षाका सीमाहरू आकस्मिक होइनन् । यी सीमाहरू विद्यालयहरूले पूरा गर्ने अपेक्षा गरिएका सामाजिक कार्यहरूबाटै उत्पन्न हुन्छन् । यसले सावधानीपूर्वक निर्माण गरिएको विश्वदृष्टिकोणमा फिट हुनका लागि वास्तविकतालाई धमिलो पार्ने एउटा वैचारिक उद्देश्य पूरा गर्दछ । त्यसमा देशको इतिहासको वरिपरि एउटा यस्तो भ्रमपूर्ण कथा बुनिन्छ, जसले संयुक्त राज्य अमेरिकालाई तल्लो स्तरका देशहरूको गोलार्धमा न्यायोचित रूपमा प्रभुत्व जमाउने एक असाधारण राष्ट्रका रूपमा प्रस्तुत गर्दछ । निरक्षरता एउटा सङ्कट हो, तर यो एउटा यस्तो प्रणालीगत सङ्कट हो जुन प्रणाली र राज्य दुवैलाई आफ्नो अस्तित्व कायम राख्न आवश्यक पर्छ, जसले (केही गर्छ भने) सही तरिकाले पढ्नुको अर्थ के हो र कसैले प्राप्त गर्न सक्ने जति बढी सीपका साथ कसरी पढ्ने भन्ने कुरा बुझ्नुको महत्वलाई झन् बढाउँछ ।
शिक्षा र विद्यालय सञ्चालन सधैँ राजनीतिक हुन्छन् । जब कुनै शिक्षा बोर्ड वा राज्य वा सङ्घीय व्यवस्थापिकाले सार्वजनिक विद्यालयको पाठ्यक्रम निर्धारण गर्छ, त्यो राजनीतिक हुन्छ, किनभने कानुन निर्माताहरू निर्वाचित हुन्छन् र शिक्षा बोर्डका सदस्यहरू कि त निर्वाचित हुन्छन् वा निर्वाचित अधिकारीहरूद्वारा नियुक्त हुन्छन् । आफ्नै पाठ्यक्रम तय गर्ने निजी विद्यालय र एकेडेमीहरू आफैँमा साना राज्यहरू हुन्, जसले आफ्ना विद्यार्थीहरूमा ती दर्शन, विश्वदृष्टिकोण र विचारधाराहरू भर्ने काम गर्छन्, जुन विद्यालय र विद्यालयको नेतृत्वका लागि आधारभूत हुन्छन् । कुन साहित्यलाई अनिवार्य गर्ने, कुनलाई हटाउने र शिक्षकहरूलाई के पढाउन निषेध गर्ने भन्ने छनोट संस्थाहरूले नै गर्छन् ।
यसको अर्थ विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई पढ्न वा आलोचनात्मक रूपमा सोच्न सिकाउँदैनन् भन्ने तर्क गर्न खोजिएको होइन, तर तिनीहरूले विद्यार्थीहरूलाई एउटा निश्चित स्तरसम्म मात्र पढ्न सिकाउँछन् र तिनीहरूलाई विशिष्ट चीजहरूको बारेमा मात्र आलोचनात्मक रूपमा (जसको गलत अर्थ अक्सर ‘नकारात्मक रूपमा’ भन्ने लाग्छ) सोच्न निर्देशित गर्छन् । विद्यार्थीहरूलाई निश्चित अवधारणाहरू, मानिसहरू, देशहरू, विचारहरू आदिप्रति आक्रामक हुन सिकाइन्छ, तर आफ्नै विवेकले आलोचनात्मक अनुसन्धानकर्ता बन्न सिकाइँदैन ।
यो किन महत्वपूर्ण छ भनी बुझ्नका लागि, हामीले साक्षरता र आलोचनात्मक साक्षरता बिचको भिन्नता छुट्याउन आवश्यक छ । एक साक्षर व्यक्तिले शब्दहरूको अर्थ खोल्न, आधारभूत तर्कहरूलाई सङ्क्षेपमा प्रस्तुत गर्न र आफ्ना दैनिक कार्यहरू पूरा गर्न पर्याप्त निपुणताका साथ सूचनाहरू दोहो¥याउन सक्छ । एक आलोचनात्मक रूपमा साक्षर व्यक्तिले भने अनुमानहरू पहिचान गर्न, प्रमाणहरूको मूल्याङ्कन गर्न, बहुविधागत व्याख्याहरूको तुलना गर्न र पाठले के कुरा व्यक्त नगरी छोडेको छ भनी चिन्न सक्छ । यो सूचना उपभोग गर्नु र त्यसको अनुसन्धान गर्नु बिचको भिन्नता हो ।
धेरैजसो विद्यार्थीहरूलाई इतिहास कसरी सिकाइन्छ भन्ने कुरालाई विचार गर्नुहोस् । तिनीहरूबाट नाम, मिति, घटनाहरू र कहिलेकाहीँ आपसमा बाझिने व्याख्याहरू सिक्ने अपेक्षा गरिन्छ । तर, ऐतिहासिक ज्ञानको उत्पादनकै बारेमा गहिरा प्रश्नहरू सोध्न तिनीहरूलाई विरलै प्रोत्साहित गरिन्छ । किन केही घटनाहरूले पूराका पूरा अध्यायहरू ओगट्छन् जबकि अन्य घटनाहरूले एउटा अनुच्छेद मात्र पाउँछन् ? किन केही पात्रहरूलाई नायकका रूपमा सम्झिइन्छ र अरूलाई बिर्सिन्छ ? किन निश्चित स्पष्टीकरणहरूलाई स्वतः स्पष्ट रूपमा प्रस्तुत गरिन्छ जबकि वैकल्पिक स्पष्टीकरणहरूलाई पूर्ण रूपमा बहिष्कृत गरिन्छ ?
यही ढाँचा इतिहासको शिक्षण बाहिर पनि देखापर्दछ । अर्थशास्त्रमा, विद्यार्थीहरूलाई शक्तिका सिद्धान्तहरू सिकाउनु अघि अक्सर बजारका बारेमा सिकाइन्छ । राजनीति शास्त्रमा, तिनीहरूले ती संस्थाहरूको आलोचना सिक्नु अघि संस्थाहरूको बारेमा सिक्छन् । साहित्यमा, तिनीहरूले पाठभित्रै समाहित सामाजिक अनुमानहरूमाथि प्रश्न उठाउन सिक्नुभन्दा धेरै पहिले नै विषयवस्तु र प्रतीकहरू पहिचान गर्न सिक्छन् ।
पढ्नका लागि सक्रिय संलग्नता आवश्यक पर्छ र पाठकले लेखकका सर्त, तर्क, अनुमान र निष्कर्षहरूलाई निष्पक्ष र सही रूपमा मूल्याङ्कन गर्नु अघि तिनलाई पहिचान गर्नुपर्छ भन्ने कुरा एड्लरले अरू धेरैले भन्दा राम्रोसँग बुझेका थिए । तैपनि, एड्लरले साहित्यलाई धेरै हदसम्म यसरी व्यवहार गर्छन् मानौँ यो पाठक र लेखकबिचको विचारहरूको एक महान् संवादभित्र अवस्थित छ, जहाँ प्राथमिक कार्य प्रत्येक सहभागीले के भन्न खोजिरहेको छ भनी बुझ्नु मात्र हो । यो गलत त होइन तर पढ्नुको उद्देश्य लेखकले के भनिरहेको छ भन्ने कुराका साथसाथै लेखकले त्यो किन लेख्यो भन्ने पनि बुझ्नु हो भने अपर्याप्त छ ।
विचारहरू कतै शून्यबाट आउँदैनन् र पुस्तकहरू केवल मस्तिष्कहरूबिचका संवाद मात्र होइनन् । पुस्तकहरू विशिष्ट सामाजिक परिस्थितिहरूमा, विशिष्ट मानिसहरूद्वारा लेखिएका विशिष्ट समाजका उत्पादन हुन् । कुनै पाठलाई पूर्ण रूपमा बुझ्नका लागि लेखकको तर्क बुझ्नुभन्दा बढी कुराको आवश्यकता पर्दछ । यसका लागि पहिलो कुरा त त्यो तर्क किन उत्पन्न भयो भन्ने कुरा बुझ्न आवश्यक हुन्छ ।
यो एन्टोनियो ग्राम्सीको महान् अन्तर्दृष्टिहरू मध्ये एक थियो : शासकवर्गले आफ्नो स्थान केवल बलको माध्यमबाट मात्र कायम राख्दैन । यसले ग्राम्सीले ‘सांस्कृतिक हेजिमोनी’ (सांस्कृतिक आधिपत्य) भनेको कुरामार्फत शासन गर्दछ, जुन एउटा यस्तो प्रक्रिया हो, जसद्वारा कुनै एक विशिष्ट विश्वदृष्टिकोणलाई साझा समझ (सामान्य ज्ञान) को रूपमा स्वीकार गरिन्छ । प्रभुत्वका सबैभन्दा प्रभावकारी रूपहरू ती हुन् जुन पूर्ण रूपमा प्रभुत्वका रूपमा देखिन नै छोड्छन् । तिनीहरू प्राकृतिक, स्वतःस्पष्ट र प्रश्नरहित बन्छन् । तिनीहरू ती पृष्ठभूमिगत अनुमानहरू बन्छन् जसको माध्यमबाट मानिसहरूले आफूलाई र आफ्नो वरपरको संसारलाई बुझ्दछन् ।
विद्यालयहरू ती सबैभन्दा महत्वपूर्ण संस्थाहरूमध्ये पर्छन् जसको माध्यमबाट यो प्रक्रिया घटित हुन्छ । विद्यार्थीहरूले स्पष्ट राजनीतिक तर्कहरूको सामना गर्नुभन्दा धेरै पहिले नै उनीहरूलाई संसारलाई हेर्ने तरिकाहरू सिकाइन्छ । निश्चित ऐतिहासिक भाष्यहरूलाई जोड दिइन्छ जबकि अन्यलाई बेवास्ता गरिन्छ । निश्चित प्रश्नहरूलाई प्रोत्साहित गरिन्छ भने अन्य प्रश्नहरूलाई अनुपयुक्त, अवास्तविक वा उग्रवादी (कट्टरपन्थी) मानिन्छ । विद्यार्थीहरूले तथ्यका साथै ढाँचाहरू पनि सिक्छन् । उनीहरूलाई कुन स्पष्टीकरणहरू ‘वैध’ हुन् र कुन स्पष्टीकरणहरूलाई गम्भीरतापूर्वक विचार नगरी खारेज गर्न सकिन्छ भन्ने कुरा सिकाइन्छ ।
त्यसैले, हामीले पढ्नुलाई केवल लेखकका विचारहरूसँगको जम्काभेटको रूपमा मात्र बुझ्नु हुँदैन । पढ्नु भनेको विचार र तर्कहरूसँगको जम्काभेट त हो नै, तर यो ती सामाजिक शक्तिहरू र सामान्य परिस्थितिहरूसँगको जम्काभेट पनि हो, जसले ती विचार र तर्कहरू उत्पादन गर्न मद्दत गरे । प्रत्येक पाठले मानव स्वभाव, समाज, नैतिकता, राजनीति र इतिहासका बारेमा आफ्ना अनुमानहरू बोकेको हुन्छ । अक्सर के हुन्छ भने यी अनुमानहरू यति गहिरोसँग समाहित भएका हुन्छन् कि न त लेखकले न त पाठकले नै तिनलाई याद गर्छन् । आलोचनात्मक पढाइको काम भनेको त्यही अदृश्यलाई दृश्यमान बनाउनु हो ।
यस्तै अन्तर्दृष्टि मिसेल फुकोको काममा पनि देखा पर्दछ । आर्थिक शक्ति वा राज्यको जबरजस्तीमा मात्र केन्द्रित हुनुको सट्टा, फुकोले संस्थाहरूले मानिसहरूले आफ्नो बारेमा कसरी सोच्छन् भन्ने कुरालाई कसरी आकार दिन्छन् र आफ्नै व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने तरिकाहरूको परीक्षण गरे । उनको ‘बायोपोलिटिक्स’ (जैवराजनीति) को अवधारणाले ज्ञान, विशेषज्ञता र प्रशासनको प्रणाली मार्फत जनसङ्ख्याको व्यवस्थापनलाई वर्णन गर्दछ । विद्यालय, अस्पताल, कारागार, कार्यस्थल र सरकारी निकायहरूले समाजलाई व्यवस्थित गर्ने मात्र गर्दैनन्, तिनीहरूले विशिष्ट प्रकारका मानिसहरू उत्पादन गर्नमा एक प्रभावशाली भूमिका खेल्छन् ।
पात्र वा नागरिकहरूको यो उत्पादन अनगिन्ती सामान्य अभ्यासहरूमार्फत हुन्छ । विद्यार्थीहरू तालिका पछ्याउन, समयसीमा भित्र काम पूरा गर्न, अधिकारीहरूको आज्ञा पालन गर्न, आफ्ना साथीहरूसँग प्रतिस्पर्धा गर्न र बाह्य रूपमा लादिएका मापदण्डहरू अनुसार आफ्नो मूल्याङ्कन गर्न सिक्छन् । यीमध्ये कुनै पनि अभ्यास आफैँमा दुराशयपूर्ण हुनैपर्छ भन्ने छैन । मुख्य कुरा के हो भने तिनीहरू कहिल्यै पनि तटस्थ हुँदैनन् । प्रत्येक संस्थाले बानी, अपेक्षा र मानदण्डहरू सिर्जना गर्दछ । प्रत्येक शैक्षिक प्रणालीले एक विशिष्ट प्रकारको नागरिकको विकास गर्दछ ।
पढाइको हकमा पनि यही कुरा सत्य हो । लेखकको मुख्य विचार पहिचान गर्न मात्र सिकाइएको व्यक्तिले साक्षरताको एउटा रूप सिकेको हुन्छ । अनुमानहरूमाथि प्रश्न उठाउन, ऐतिहासिक सन्दर्भहरू पहिल्याउन, वैचारिक प्रतिबद्धताहरू चिन्न र आपसमा बाझिने व्याख्याहरूबिच तुलना गर्न सिकेको व्यक्तिले भने साक्षरताको अर्को, धेरै उच्च र बढी पूर्ण रूप सिकेको हुन्छ । यो सीपको खाडल मात्र नभएर, यी दुईबिचको भिन्नता पाठक र लेखकले ज्ञानसँग आफैँलाई कसरी जोड्छन् भन्ने कुरामा निहित हुन्छ ।
यसै कारणले गर्दा, शिक्षामाथिको सङ्घर्ष अन्ततः चेतनाको लागि सङ्घर्ष हो । प्रत्येक समाजलाई आफ्नो पुनरुत्पादन गर्नका लागि कुनै न कुनै विधिको र आफ्नो निरन्तरतालाई लम्ब्याउनका लागि कुनै न कुनै तरिकाको आवश्यकता पर्दछ । यसले मूल्य मान्यता, विश्वास र ज्ञानका रूपहरूलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नैपर्छ । निर्णायक प्रश्न यो हो – शिक्षाले बौद्धिक निर्भरतालाई प्रोत्साहन गर्नेछ कि बौद्धिक स्वायत्ततालाई । के विद्यार्थीहरू सूचनाका निष्क्रिय उपभोक्ता बन्न सिक्नेछन् कि वास्तविकताका आलोचनात्मक अनुसन्धानकर्ता ?
“यस लेखकको भनाइको अर्थ के हो ?” भनी सोध्ने पाठकले मात्र एउटा महत्वपूर्ण पहिलो कदम चालेको हुन्छ । इतिहासको यस घडीमा “यो तर्क किन देखाप¥यो ?” भनी सोध्ने पाठकले दोस्रो कदम चालेको हुन्छ । यी दुवै अझ अगाडि बढ्नुपर्छ । “यस पाठले कुन अनुमानहरूलाई पुनरुत्पादन गर्न मद्दत गर्दछ, यसले शक्तिको कुन सम्बन्धलाई प्रतिबिम्बित गर्दछ, यसले मलाई कुन विश्वदृष्टिकोण स्वीकार गर्न प्रोत्साहित गर्दछ र यो किन महत्वपूर्ण छ ?” भनी सोध्ने पाठकले पूर्ण अर्थमा आलोचनात्मक रूपमा पढ्न सुरु गरेको हुन्छ ।
एक आलोचनात्मक पाठक बन्नुको उद्देश्य शङ्कालु वा निराशावादी हुनु होइन, न त प्रत्येक पाठलाई प्रचारबाजीका रूपमा खारेज गर्नु वा हरेक विचारलाई निहित स्वार्थमा मात्र सीमित गर्नु नै हो । बरु, यो त बुझाइका लागि एकैसाथ दुवै दिशामा गति आवश्यक पर्दछ भन्ने कुरालाई चिन्नु हो । लेखकको तर्क बुझ्नका लागि हामी उनीहरूको संसारभित्र प्रवेश गर्नैपर्छ, तर त्यसका सीमाहरू बुझ्नका लागि हामी त्यो संसारभन्दा बाहिर पनि निस्कनैपर्छ । राम्रो पढाइका लागि सहानुभूति र शङ्का, बोध र आलोचना दुवै आवश्यक पर्छ ।
simplifying socialism बाट अनुदित

Leave a Reply

Your email address will not be published. Required fields are marked *