तोडफोड र आगजनी गर्नेहरूप्रति जेनजीका अगुवाहरू किन मौन !
- असार ४, २०८३
गोरखापत्र नेपाली जनताको मुख्य र साझा पत्रिका हो । यस पत्रिका देश र जनताको ढुकढुकी या स्वरबाट सिञ्चित हुनुपर्छ । यो सरकारी पत्रिका हो । सरकार नेपाली जनताको हो । पत्रिकामा देश र जनता, सबै राजनीतिक दलको विचार र सरकारको निर्णय समेटिनुपर्छ । सरकारको नेतृत्व बहुमतको आधारमा कुनै दलले शासन गर्छ । गोरखापत्र कुनै एक राजनीतिक दलको पत्रिका होइन† कुनै एक राजनीतिक दलको मुखपत्र बनाउनु हुँदैन । यो पत्रिकामा सरकारी निर्णय र गतिविधि छाप्नु या प्रचार गर्ने साधन बनाउनु अन्यथा होइन । तर, ठुलो दल या सत्तारूढ दलको नाउँमा पत्रिकालाई एउटा पार्टीको प्रचार गर्ने साधन बनाउनु उचित होइन । यो प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत छ । असार ३ गतेको गोरखापत्रमा ‘रास्वपा प्रथम महाधिवेशन ः देशव्यापी सङ्गठन विस्तार’ र ५ गतेको गोरखापत्रमा ‘रास्वपाको महाधिवेशन तयारी तीव्र’ शीर्षकका समाचारहरू अघिल्लो पृष्ठमा महत्व दिएर छापिए ।
गोरखापत्रले राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह या समापन समारोहको समाचार छापिएको भए अन्यथा हुँदैन । तर, महाधिवेशनको तयारी र सङ्गठन विस्तारको समाचार छापेर सरकारी पत्रिकालाई रास्वपाले प्रचार गर्ने माध्यम बनायो । मञ्चको तयारी र महाधिवेशनको निम्ति विभिन्न समिति, उपसमिति गठन भएको समाचार पनि छापियो । गोरखापत्रले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा वडा, पालिका, जिल्ला तथा प्रदेश तहमा भएको नेतृत्व चयन आदिको समाचारलाई महत्व दिएर छाप्यो । एउटा सत्तारूढ पार्टीको साङ्गठनिक संरचना, अधिवेशनको तयारीलगायत गतिविधि छापिने हो भने अरू पार्टीको पनि छाप्नुपर्छ† अरू पार्टीको महाधिवेशन, सम्मेलन, भक्तपुरदेखि काठमाडौँसम्म भएको जुलुस र सभाको समाचार नछाप्ने गोरखापत्रले सत्तारूढ दलको सङ्गठन विस्तारको समाचार छापेर सरकारले पक्षपात गर्नुहुँदैनथ्यो । देशको भूमि मिचेको विरोधमा जुलुस गर्दा सरकार दमन गर्छ । देशघाती र जनविरोधी असमान सन्धि–सम्झौताको विरोध गर्दा सरकार प्रतिकार गर्छ । अमेरिकालगायतका साम्राज्यवादी देशको आक्रमणको विरूद्ध प्रदर्शन गर्दा सरकार जेलनेल ठोक्छ । देश र जनताको विषयमा आन्दोलन गर्दा सरकारले साथ दिनुपर्ने हो† समर्थन गर्नुपर्ने हो ।
गोरखापत्रले देश र जनताको आवश्यकताबारे लेख र विचार लेख्नुपर्ने हो । गोरखापत्र रास्वपाको पत्रिका होइन । पत्रिकाले सरकारको गतिविधि र निर्णय छापेर जनतालाई सुसूचित पार्न सक्छ । गोरखापत्रलाई जनताको साझा पत्रिका बनाइनुपर्छ । ठुला राजनीतिक दलको गतिविधि छापेर साना दलको गतिविधि नछाप्नु के विभेद होइन ? लोकतन्त्र भनेको एक दलको तन्त्र होइन । गणतन्त्र भनेको कुनै एक दलको मनपरी होइन । यसबारे गोरखापत्रका सम्पादकमण्डल र संवाददाताहरूले सोचविचार गर्नुपर्छ । सत्ता आफ्नो हातमा छ भनेर या बहुमतको नाउँमा मनपरी गर्न पाइँदैन† मनपरी गर्नु लोकतन्त्र होइन ।
विगतमा पनि विशेषतः सत्तारूढ दलको सङ्गठन प्रचार गर्ने साधनको रूपमा गोरखापत्रलाई उपयोग गरिएको थियो । सरकारी पत्रिकाले त कुन कुन गाउँ–ठाउँमा बिजुली पुगेको छैन† कुन कुन बस्तीमा स्वास्थ्य केन्द्र, खानेपानी, सिँचाइ, बाटोघाटो, स्कूल–कलेज पुगेको छैन, त्यसबारे सचेतनामूलक लेख या विचार लेखेर जनतालाई सुसूचित पार्नुपर्छ । काम मामको व्यवस्थाको निम्ति कुन कुन जिल्ला, नगर र गाउँमा के कस्ता उद्योग कारखाना खोलेर जनताका आधारभूत आवश्यकता पूर्ति गर्न सकिन्छ ? देशलाई साक्षर नेपाल बनाउन सरकारले शिक्षा क्षेत्रमा के–कस्ता अभियान छेड्नुपर्छ भन्नेबारे लेख, विचार लेख्नुपर्छ । महँगी नियन्त्रण, भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती अन्त्य गर्नेतर्फ विभिन्न विचारोत्तेजक लेख लेखेर सरकारको ध्यानाकर्षण गर्ने, जनतालाई देशभक्त र जागरूक बनाउनेतर्फ गोरखापत्र परिवारको ध्यान पुग्नुपर्छ । गोरखापत्रले एउटा पार्टीको बखान गर्ने होइन । यसतर्फ सरकार र गोरखापत्र परिवारको ध्यान पुगोस् ।
Leave a Reply