सरकारका चारओटै निकायलाई कमान्डमा राख्न असक्षम नेका र एमालेको सरकार
- आश्विन १५, २०८३
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्गठनहरू विश्वभरि नै फैलिएका छन् । माकुरोको जालोजस्तै फैलिएको यो गैरसरकारी सङ्गठनले विश्व पुँजीवादकै एउटा हतियारको रूपमा काम गरिरहेको छ । विशेषतः साम्राज्यवादी देशहरूको पृष्ठपोषण गर्न, पुँजीवादको अनुहारमा लागेका रगतका धब्बाहरूको ढाकछोप गर्न र जनतामा भ्रम फैलाउन, राजनीतिप्रति दिग्भ्रमित बनाउन यी सङ्गठनहरू सक्रिय भएका हुन्छन् । क्रान्तिकारी विचार या आमूल परिवर्तनको स्वरलाई दबाउन, निष्क्रिय बनाउन क्रियाशील ती सङ्गठनहरू सामाजिक, राजनीतिक, सांस्कृतिक आन्दोलन र बौद्धिक गतिविधिभित्र छिरेर गलत भाष्य बनाउन जुटिरहेका छन् । यी सङ्गठनहरू जनता र बुद्धिजीवीहरूमाझ मात्र होइन परिवर्तन चाहने राजनीतिक दलहरूभित्र पसेर मन्द विष छर्ने काममा व्यस्त छन् ।
गैरसरकारी सङ्गठनहरू साम्राज्यवादी देशका जालो हुन् । यी सङ्गठनहरू अफ्रिका, ल्याटिन अमेरिकामा मात्र होइन एसियामा पनि असङ्ख्य छन् । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गैरसरकारी सङ्गठनका पदाधिकारीहरू घुसेकै हुन् । अमेरिकी पुँजीबाट सञ्चालित ती सङ्गठनहरू अहिले पनि भित्रभित्र सञ्चालन भइरहेका छन् । गैरसरकारी सङ्गठनका नेतृत्वकारीहरू वर्तमान रास्वपाको सरकारमा रहेकै कारण दलका विभिन्न वर्गीय सङ्गठनलाई राजनीतिबाट अलग्ग गर्ने प्रयास भइरहेको कुरा सबैमा आलै छ । शिक्षकहरूमा कहीँ कतै राजनीतिक रङ्ग मुछिएमा या राजनीतिमा चासो राखेमा शिक्षकबाट निकाल्ने धम्कीसहितको सरकारले निर्देशन जारी गरेको छ । के यो अमेरिकी साम्राज्यवादको दबाब र प्रभावमा काम भएको होइन ?
एकै दिन एकै समयमा एउटै ढाँचामा देशभरिका सरकारी भवनहरूमा तोडफोड गर्ने, लुट्ने र आगजनी गर्ने काम कुनै पनि नेपाली राजनीतिक दलले गर्दैनन्, गर्न सक्दैनन् । जेनजी आन्दोलनभित्र घुसपैठ भएकै हो† घुसपैठ भएर देशको सम्पत्ति ध्वस्त गरेकै हो । संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवनमा आगजनी गर्नेहरू अहिलेसम्म कारबाहीमा परेका छैनन् । यसबारे रास्वपाको नेतृत्वमा बनेको सरकार मौन छ । उनीहरूलाई राम्ररी थाहा छ, जेनजी आन्दोलनभित्र घुसेर आगजनी गर्नेहरू वर्तमान सरकारमा संलग्न छन्† रास्वपा पार्टीमा छन् । यहीँ भएर सरकारले कारबाहीको प्रक्रिया अघि बढाएको देखिँदैन । पहिले गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको छानबिन समितिले भदौ २३ गते चलेको गोली काण्डबारे प्रतिवेदन तयार ग¥यो तर भदौ २४ गते भएको आगजनी प्रकरणको प्रतिवेदन तयार गरेन । यसले पनि स्पष्ट गर्छ, जेनजी आन्दोलनमा अमेरिकाबाट सञ्चालित गैरसरकारी सङ्गठनहरू सक्रिय रहे ।
गैरसरकारी सङ्गठनले समाजको चालक शक्तिलाई जनताको नजरमा ओझेलमा पार्ने काम गर्छ । उनीहरू जनताका अगुवा, क्रियाशील तथा सक्रिय व्यक्तिहरूलाई पैसाको प्रलोभनमा साम्राज्यवादी जालमा फसाउन लागेका हुन्छन् । समाज परिवर्तनको बाटो मोड्ने र क्रान्तिकारी विचारलाई भाँचकुँच गर्नु नै उनीहरूको उद्देश्य हो । संसारकै बलियो सोभियत सङ्घलाई विभाजन गर्नमा यस्तै अन्तर्राष्ट्रिय गैरसरकारी सङ्गठनहरूको ठुलो देन छ । विशेष गरी यस्ता सङ्गठनहरू कम्युनिस्ट या वामशक्ति बलियो भएको देशमा सक्रिय हुन्छन् । देशका बहुमत जनताको सेवामा लागेका कम्युनिस्ट या वामशक्तिलाई कमजोर बनाउन, त्यस सङ्गठनभित्र विवाद चर्काएर कमजोर बनाउन, फुटाउन, आन्दोलनबाट पछि हटाउन, निरास बनाउन उनीहरूले अनेक षड्यन्त्र रचेका हुन्छन् । यस्ता षड्यन्त्रहरू कहाँ कसले चलाइरहेका हुन्छन् भन्ने कुरा समाजका कति मान्छेलाई थाहा हुँदैन । कति व्यक्तिलाई त्यसले खासै कुनै असर पार्दैन भन्ने भ्रम हुन्छ । भित्रभित्रबाट भइरहने यस्तो गतिविधि कुनै दिन विद्रोहको रूपमा देखापरेको हुन्छ या त्यसले देशको दिशालाई अन्यत्र मोडेको हुन्छ या ठुलो दुर्घटना निम्त्याएको हुन्छ । यस्तो घटना एकाएक या आकस्मिक रूपमा हुँदैन । कति राजनीतिक दलका नेताहरू नै आफ्ना कार्यकर्तालाई एनजीओमा जागिर खुवाउन या कुनै प्रोजेक्ट सञ्चालन गर्न जोड दिन्छन् । आफूलाई कम्युनिस्ट भनिने दलका नेताहरू नै दलको काममा भन्दा एनजीओ र आईएनजीओमा व्यस्त हुन्छन् र कमाउ धन्दामा लागेका हुन्छन् ।
यो साम्राज्यवादी देशहरूको सुनियोजित चाल हो । तिनीहरूको सञ्जाल देशभरि फैलिएको हुन्छ । एनजीओ कहाँ कति फैलिएको छ, के काम गर्दै छ भन्ने सही तथ्याङ्क थाहै हुँदैन । त्यस्तो कार्य न सरकारलाई थाहा हुन्छ न त प्रदेश र स्थानीय तहलाई थाहा हुन्छ । यिनीहरूको नेटवर्क जटिल र रहस्यमय हुन्छ । ती सङ्गठनहरू गाउँ गाउँसम्म फैलिएका छन् । यसबारे देशका राजनीतिक दलहरू सचेत हुनुपर्छ । देशका ठुला ठुला दलहरू समयमा सतर्क नहुँदा र आफ्नै दलका नेता, सांसद तथा कार्यकर्ताहरू गैरसरकारी सङ्गठनमा फसे । यो राम्रो सङ्केत होइन । अतः देशका सबै राजनीतिक शक्ति, नागरिक समाज र जनतामा एनजीओको विषयमा स्पष्ट दृष्टिकोण हुनुपर्छ र एनजीओलाई सहज ढङ्गले हेर्नु हुँदैन, भित्र छिर्न दिनु हुँदैन ।
Leave a Reply