भर्खरै :

अगुवा कि हगुवा ?

अगुवा कि हगुवा ?

मुहानै धमिलो छ, दोष नदीलाई के दिनु ?
आफैँले आगो बालेर, धुवाँलाई दोष कति दिनु ?
आफ्नै हातले बाटो छेकेर, गन्तव्य खोज्दै हिँड्नु,
आफैँले घाउ कोट्याएर, पीडालाई दोष कति दिनु ?
चुरोटको धुवाँसँगै भविष्य उडाउने हामी,
रक्सीको गिलाससँगै संस्कार भुलाउने हामी ।
घरभित्र झूटको खेती, बाहिर धर्मको भाषण,
कमजोरलाई थिच्दै हिँड्ने कस्तो यो शासन ?
जग नै कमजोर राखी, महलको सपना देख्छौँ,
भित्तामा चिरा पर्दा, हावालाई दोष दिन्छौँ ।
घरभित्र आगो सल्काई, छानो बचाउन खोज्छौँ ,
आफ्नै भूलको खरानीमा, नयाँ बिहान खोज्छौँ ।
भोटको च्याँखे थाप्दै, नैतिकता बेचे,
अगुवा नै हगुवा भएपछि, कसले नियम लेखे ?
किताबमा ‘सत्य बोल’ भन्छन्, गुरुका मीठा पाठ,
बाहिर निस्कँदा झूटै बोल्छन् —कस्तो उल्टो बाटोघाट ।
विद्यार्थीले किताब होइन, गुरुकै चाल सिक्छ,
बोलीभन्दा व्यवहार ठुलो—त्यही पाठ मनमा बस्छ ।
आफैँ नियम मिच्नेहरू, नियमकै भाषण गर्छन्,
आफैँ बाटो बिगार्नेहरू, यात्रुलाई बाटो देखाउँछन् ।
ठुलाबडाले कुकर्म गरे पनि छाती फुलाएर हिँड्छन्,
नयाँ पुस्ता गल्तीहरूलाई सजिलै पछ्याउँछन् ¤
जहिल्यै पुरानै धुन र तालमा अड्किरहन्छ जो,
युग फेरियो तर चेत फेर्न मान्दैन कहिल्यै को ।
समयको बेग थुनेर, बार्दलीमा एक्लै बस्छ,
नयाँपनको हुरी चल्दा, आफैँ किनार लाग्छ ।
पर्दाका नायक, मञ्चका ठुला ठेकेदार,
आफ्नै छायाले छोप्छन् नयाँ पुस्ताको संसार ।
ऐना फुटाएर अनुहार सफा हुँदैन,सत्य लुकाएर इतिहास मेटिँदैन ।
हामीले लुकाएका साना दाग, पुस्ताको अनुहारमा देखिनेछन् ।
दोष समय र जमानाको होइन, हामीले रोपेको बीउ हो,
आज त्यसको छायामा हाम्रै पुस्ता उभिएको छ ।
हामीले हाँसेर टारेका हल्का गल्तीहरू,
भोलि उनीहरूका लागि बन्छन् वैध अधिकार !
अब पछुताएर बन्ने केही छैन, दोष गनेर मात्र भोलि सुध्रिँदैन ।
बिगार्ने हात आफैँ हो, सुधार्ने अरू कोही छैन !
भोलिको पुस्तालाई दोष दिनुअघि,आज आफ्नो चाल बदलौँ
भविष्य उनीहरूले होइन, हामीले छोडेको बाटोले बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *