पढाइको राजनीति – २
- असार ६, २०८३
सिंहदरबार सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेति :
भदौ २४ गते करिब ४–५ हजारको सङ्ख्यामा भद्रकालीतर्फबाट आएका प्रदर्शनकारीहरूको भिड हामीलाई धकेल्दै पर्खालसम्म आइपुग्यो । हामीले ग्यास सेल प्रयोग गरी भिडलाई पछि हटाए पनि भिड अझ उग्र बनेपछि टोलीलाई साइडको सानो ढोकाबाट भित्र प्रवेश गराउने निर्णय गर्नुप¥यो ।
अघिल्लो दिनको घटनाका कारण सुरक्षाकर्मीहरूमा केही हिच्किचाहट देखिन्थ्यो र रेडियो सेटबाट अन्य स्थानमा भइरहेको तोडफोड र आगजनीका खबरले मानसिक दबाब बढेको थियो । भिडभित्र “आज सुरक्षाकर्मीले गोली चलाउँदैनन्, अगाडि बढौँ !” जस्ता उत्तेजक कुरा सुनिन्थे, जसले अवस्था संवेदनशील बनाइरहेको थियो ।
दिउँसो करिब ३ः१० बजेसम्म सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ग्यासगन र लाठीचार्ज गरी प्रदर्शनकारीहरूलाई भित्र प्रवेश गर्न नदिने प्रयास ग¥यो । तर, पश्चिम गेटतर्फबाट केही व्यक्तिले एस.एल.आर. हतियार हामीतर्फ तेस्र्याउन थालेपछि अवस्था अत्यन्तै गम्भीर बन्यो । यसैक्रममा भिडले तानिरहेको एक जना महिला प्रहरीलाई देखेर उनलाई उद्धार गर्न अगाडि बढ्दा नजिकैबाट टाउकोमा इँटा प्रहार भई म सामान्य घाइते भएँ ।
नेपाली सेनाको उपस्थिति पनि त्यहाँ थियो । तर, सेनाको आन्तरिक ड्युटी र निर्णय प्रक्रियाबारे म प्रत्यक्ष जानकारी राख्दिनँ । आन्दोलनको स्वरूप हेर्दा, सुरुमा देखिएका युवाहरू पछि हराउँदै गएको र सिंहदरबार जलाउने नियत राखेका, हतियार कक गरेका व्यक्तिहरू अगाडि आएको देखिन्छ । त्यसैले यो आन्दोलनमा योजनाबद्ध घुसपैठ भएको मलाई लाग्छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गण दक्षिणकाली, ललितपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछाने :
भदौ २४ गते सशस्त्र प्रहरी टोलीले १३९ सेल अश्रुग्याँस, ५३ थान ७.६२ मि.मि. ब्ल्याङ्क राउन्ड र ३३
राउन्ड हवाई फायर गरी न्यूनतम बल प्रयोगको सिद्धान्तअनुसार भिड नियन्त्रण कार्य गरेको हो । उक्त दिन ललितपुरमा हातहतियारको प्रयोगबाट कुनै प्रदर्शनकारी घाइते वा मृत्यु भएन ।
उक्त दिन १० जना सशस्त्र प्रहरी कर्मचारी घाइते भए भने मन्त्री क्वार्टर क्षेत्रमा खटिएको राइट कन्ट्रोल भेइकल, एक स्कोर्पियो गाडी तथा सशस्त्र प्रहरीको निजी मोटरसाइकल थान २ जलेर नष्ट भएको थियो । आन्दोलनमा रड तथा घरेलु हतियार बोकेका अपरिचित समूहको उपस्थिति भएकोले घुसपैठ भएको अनुमान गर्न सकिन्छ ।
सशस्त्र प्रहरी बल नं. १८ गण हे.क्वा. नीलबाराही, काठमाडौँका गणपति सशस्त्र प्रहरी उपरीक्षक रोशन घिमिरे :
२०८२ साल भदौ २२ गते जिल्ला सुरक्षा समितिको बैठकमा राष्ट्रिय अनुसन्धान विभागले भदौ २३ गतेको Gen–Z प्रदर्शनमा १५००–२५०० सङ्ख्यामा विद्यार्थीसहित भेला भएर शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको थियो ।
भदौ २३ गते माइतीघर मण्डलाबाट सुरु भएको भेला सुरुमा शान्तिपूर्ण भए पनि बानेश्वर क्षेत्र प्रवेश गरेपछि भिड आक्रामक बन्यो । उक्त प्रदर्शनबाट १०३ जना सशस्त्र प्रहरी घाइते हुनुका साथै भिडले सशस्त्र प्रहरीको एउटा एम्बुलेन्ससमेत तोडफोड ग¥यो ।
२४ गते सशस्त्र प्रहरीले ७९ थान अश्रुग्याँस, २८ ब्ल्याङ्क र १९ हवाई फायर प्रयोग गरी भिड नियन्त्रण प्रयास गरेको थियो । दुवै दिन विभिन्न अपरिचित समूहको घूसपैठ देखिन्थ्यो । संसद् भवन वरपर नेपाली सेनाको तैनाथी रहे पनि अपेक्षाकृत प्रभाव परेन ।
सशस्त्र प्रहरी बल नेपाल नं. २० गण हे.क्वा. (विपद् उद्धार) सिनामङ्गलको गणपति तथा जिल्ला सुरक्षा समिति सदस्य सशस्त्र प्रहरी उपरीक्षक जीवन के.सी. :
२०८२ भदौ २२ गते जिल्ला सुरक्षा समितिको बैठकबाट चारवटै सुरक्षा निकाय सहभागी एकीकृत सुरक्षा योजना बनाई समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था मिलाउने निर्णय भएको थियो ।
भदौ २३ गते बिहान ९ः३० बजेतिर ३००/३५० जनाको शान्तिपूर्ण भिड देखिए पनि एभरेस्ट होटल अगाडि पुग्दा सङ्ख्या बढेर करिब ३००० भन्दा माथि पुगेको थियो । ११ः३० बजेतिर २०/२५ हजारसम्म पुगेको भिड निषेधित क्षेत्रको Barricade तोडेर संसद् भवन वरपर घेराबन्दी गर्दै मोटरसाइकलसहित प्रवेश गर्न खोजेको थियो । नयाँ बानेश्वरस्थित BICC क्षेत्रमा ढुङ्गामुढा, तोडफोड र आगजनी हुन थालेपछि संसद् भवन प्रवेश रोक्न न्यूनतम बल प्रयोगको सिद्धान्तअनुसार अश्रुग्याँस र हवाई फायर गर्नुप¥यो ।
घटनापछि १७ जना नागरिकको मृत्यु, सयौँ प्रदर्शनकारी घाइते तथा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी घाइते भए । मृत्यु र घाइते सबै बल प्रयोगबाट नै भएको भन्ने यकिन तथ्य मेरो जानकारीमा थिएन । APF तर्फबाट INSAS बाट १० राउण्ड र SLR बाट ९ राउण्ड हवाई फायर तथा २६६ सेल अश्रुग्याँस प्रयोग भएको थियो ।
भिडमा घुसपैठ गरेका ध्वंसात्मक समूहका कारण भौतिक क्षति रोक्न कठिन भयो । विभिन्न सरकारी कार्यालय, संवैधानिक आयोग, पार्टी कार्यालय, VIP निवास र सुरक्षा बेसमा आगजनी तथा तोडफोड भयो । मीनभवन सुरक्षा बेस पूर्णक्षति हुनुका साथै हातहतियार लुटपाट भयो । प्रदर्शनमा विभिन्न समूहको योजनाबद्ध घुसपैठ भएको जस्तो लाग्छ तर त्यसको ठोस प्रमाण मसँग छैन । युवामा बढ्दो निराशा, भ्रष्टाचार र सेवा प्रवाहको कमजोरीसँग जोडिएको प्रदर्शनलाई केही तत्वले क्यास गर्दै राज्यलाई अस्थिर बनाउने प्रयास गरेको बुझाइ मेरो छ ।
Leave a Reply