पढाइको राजनीति – २
- असार ६, २०८३
पहिलो दृश्य
(६–७ वर्षका नाति–नातिनाहरू हजुरबुबाको कोठामा ‘सुप्रभात’ (गुड मर्निङ) भन्दै प्रवेश गर्छन् । कुराकानीमा तिनीहरू बढी विदेशी शब्द प्रयोग गर्छन् । तिनीहरूले आफ्ना ५–६ वटा खेल्ने पुतलीहरूलाई हजुरबुबा अगाडि झुकेर ‘ज्यू’ गर्न सिकाउँछन् ।)
हजुरबुबा : लौ आऊ नानीहरू ‘सुप्रभात’ !
सुरुची : ६–७ वर्षकी सुरुचीले (आफ्ना पुतलीहरूको परिचय दिँदै) हजुरबुबा यसको नाम क्यान्डी हो; यिनी सा¥है ज्ञानी केटी हुन्; यिनी ‘क्रिकी’ हुन् । हजुरबा यो सधैँ हाँसिरहने केटो हो; (अर्को दुई पुतलीको परिचय दिंँदै) यसको नाम हो मिस्टर ‘राबित’
(खरायो – लुगा टाई लगाएको केटो) हो र (अर्को घाँघर लगाएकी केटीलाई परिचय दिँंदै) यो मिस ‘राबित’ हुन् । (एक समुन्द्री आठ हात भएको चाक्लो खुट्टे माछालाई देखाउँदै) हजुरबुबा यसको नाम ‘अक्टो’ हो ।
सुवर्ण : (७ वर्षको सुवर्ण अगाडि सर्दै हजुरबुबालाई आफ्नो परिचय दिन्छन्) हजुरबुबा ! मेरो नाम सुवर्ण हो । म र सुरूची अस्तिदेखि एक कक्षामा पुग्यौँ ।
आज हामी हजुरबुबालाई ‘बिहानीको गीत’ सुनाउन चाहन्छौँ हजुरबुबा !
हजुरबुबा : हुन्छ, हुन्छ लौ सुनौँ ! (गीत सुरु हुन्छ)
इन्द्रेणी रङ्गको छ
तिम्रो निर्मल संसार
कमलको फूलझँै
तिम्रो कोमल मुहार
साना साना पाइला हिँडे
ठुला ठुला आशा बोकेर
जगत्लाई उज्यालो
पार्ने तिम्रो हँसाइ,
हृदयमा छापिने
साँचो तिम्रो हेराइ,
तिम्रो खुसीमा नै
मेरो खुसीयाली गाँसिएछ ।
जीवनको बाटोमा
तिमी सधैँ अघि बढ
प्रार्थना छ मेरो,
तिमी सधैँ सुखी रहोस्
जित भए हार,
दुवैलाई स्वीकारेर हिँड
सुख भए पनि
दुःखलाई नबिर्सी राख्नु !
नाच है नानी
जिन्दगीलाई अँगाल्दै बाँच है
नाच है नानी
डम्फूको तिमी तालैमा नाच है !
पिर आए गमले नाच
सुख पाए खुसीले नाच,
नाच है नानी,
जिन्दगीलाई अँगाली बाँच है !…
(दोस्रो दृश्य)
(स्थान – हजुरबुबाकै कोठा, एउटा खाट, ओच्छ्यान, तकिया र लाम्चो पारी मिलाएको सिरक । सुवर्ण र सुरुची र पुतलीहरूको मोटो कागजको सानो खुला बाकस । हजुरबुबा आफ्नै मेचमा बसिरहेका हुन्छन् ।)
सुवर्ण : हजुरबुबा, आज यी पुतलीहरू हाम्रो स्कूलमा भर्ना हुन चाहन्छन्† त्यहाँ पढेर तिनीहरू चन्द्रमा र मङ्गलग्रह जान चाहन्छन् ।
हजुरबुबा : ओहो ! यिनीहरू कसरी चन्द्रमा र मङ्गलग्रहमा पुग्छन् त ?
सुरुची : हजुरबुबा (पुतलीहरूलाई देखाउँंदै) स्कूल पढेपछि अन्तरिक्ष यात्री स्कूलमा पढ्ने भन्छन् । त्यहाँ तिनीहरूलाई गुरूहरू (सरहरू) ले चराजस्तै उड्ने, हिँड्ने सबै सिकाउँछन् ।
हजुरबुबा : आम्मै ! कसरी पुग्छन् ? (हाँस्दै) यिनीहरू कसरी सिक्छन् ? सक्छन् त यिनीहरूले ? कसरी जान्छन् त तिमीहरूको तीनपाङ्ग्रे साइकलमा ? मोटरसाइकल र बसमा ?
सुरुची : हजुरबुबा, अन्तरिक्ष (स्पेस) मा पृथ्वीको आकर्षण शक्ति हुन्न हजुरबुबा । (पुस्तकका छापाहरू देखाउँदै) त्यहाँ जान अर्कै हवाईजहाजको ‘यान’ मा बसेर जान्छन् । यिनीहरूलाई पनि अन्तरिक्ष यात्रुहरूको (यस्तै) पोशाक लगाउन दिन्छन् । त्यस्तै, यानमा बसेर जान्छन् नि, हजुरबुबा यिनीहरू !
हजुरबुबा : अनि ती नानीहरूले के खान्छन् ? के तिनीहरूलाई भोक लाग्दैन ?
सुरुची : हजुरबुबा, यिनीहरूलाई वैज्ञानिकहरूले हामीलाई चाहिने बिस्कुट र झोल पदार्थ मिलाएकै खाना खुवाउँछन् नि !
हजुरबुबा : अनि यिनीहरू कति दिनमा पुग्छन् त चन्द्रमामा ?
सुरुची : चन्द्रमा त नजिकै छ रे हजुरबुबा ! अरू पनि ग्रहहरू छन् आकाशमा ।
हजुरबुबा : ती के के हुन् नानी ? सोम, मङ्गल, बुध, शुक्र, शनि…………
सुरुची : हजुरबुबा, धेरै ग्रहहरू छन् । शनिग्रहमा त एउटा घेराजस्तै हुन्न । स–साना ग्रहहरूको घेरा… । (सुरुचीले सबै ग्रहहरूको परिचय दिन्छिन् ।)
हजुरबुबा : नानीहरू ! अब तिनीहरूलाई भोक लाग्यो होला स्कूलमा खाजा खाने समय भएजस्तै । लौ माथि भान्सामा गएर खाऔँ, हुन्छ ?
दुवैले बोले : हुन्छ हुन्छ, हजुरबुबा ।
(पर्दा खस्छ)
तेस्रो दृश्य
(साँझपख समय । सूर्य भर्खर डुब्दै थियो । कोठामा सुरुची हजुरबुबालाई हात समाउँदै ल्याउँदै छिन् । खाटको पश्चिमतिर सिरकहरू पत्याएर राखेको हुन्छ । एउटी पुतली घाँघर लगाएकी र अर्को हाँसिरहने टाई लगाएको एक केटा पुतली हुन्छ । खाटको तल बस्ने चकटीका आसनहरूमा केही पुतलीहरू हुन्छन् । सुरूची र हजुरबुबा कोठाभित्र पस्नासाथै सुवर्णले र सुरुचीले तालि बजाउँछन् ।)
सुवर्ण : हजुरबुबा ! आज हजुरलाई हाम्रो बैठक (एसेम्बली) मा मुख्य अतिथिको रूपमा स्वागत गर्न पाउँदा हामी सबै अत्यन्त खुसी छौँ । हजुरको आसन यस मञ्चको बिचमा बसिदिनुहोला । (सुवर्णले आसनग्रहण गराउँछन् ।)
सुरुची : मुख्य अतिथि हजुरबुबा, म अहिले हाम्रा साथी सहभागीहरूको परिचय गराउँछु । (मञ्चको घाँघर लगाएकी ठुली पुतलीलाई हातले उठाएर देखाउँंदै) मुख्य अतिथि हजुरबुबा र अन्य सबै सहभागी साथीहरू, यिनी असाध्य असल र सबैलाई मिलाएर राख्ने बहिनीको नाम ‘क्यान्डी’ हो । यिनी र अर्को केटो साथी (हातले उठाएर देखाउँदै) ‘क्रिकी’ हुन् । यिनी सधैँ हाँसिरहन्छन् । यिनीलाई सबै मन पराउँछन् ।
(तल बस्ने एउटा एउटा पुतलीलाई पालै पालो समाउँदै सुरुचीले परिचय दिन्छिन् ।)
सुरुची : मुख्य अतिथि हजुरबुबा, यिनको नाम ‘हेलो किटी’ हो, अङ्ग्रेजीमा । यो म्याउ म्याउ गर्ने बिरालो हो । अर्को टाई लगाएको यो केटोको नाम हो ‘मिस्टर राबित’ । यसको कान खरायोको जस्तो ठुलो र लामो छ । यो पनि सा¥है मिलनसार छ । अर्को हो – ‘मिस राबित’ नेपालीमा हामी यसलाई ‘केटी खरायो’ भन्छौँ । अर्को यो समुद्री माछा हो । यसको आठवटा हात हुन्छ, यसलाई अङ्ग्रेजीमा अक्टोपस भनिन्छ । हामी मायाले यसलाई ‘अक्टा’ मात्रै भन्छौँ । यसले बरोबर आफ्नो रङ्ग बदल्छ भनिन्छ । यी त भए हाम्रा सहभागी साथीहरू !
सुवर्ण : अब म सहभागीहरूको जीवनको उद्देश्यबारे बताउन चाहन्छ । यसबारे हाम्रो सुरुचीलाई बताइदिन अनुरोध गर्दछु ।
सुरुची : मुख्य अतिथि हजुरबुबा र सहभागी साथीहरू, हामी सबैलाई भोक लागेकोले खाजा खानको निम्ति १५ मिनेट बैठकलाई स्थगित गर्न अनुमति माग्दछु । (सबैले ताली बजाउँछन्)
(पर्दा खस्छ)
अन्तिम दृश्य
(कोठामा बत्ती बलिसकेको थियो, मुख्य अतिथि हजुरबुबा र सहभागी सबै साथीहरूले आ–आफ्नो स्थानमा आसन ग्रहण गरिसकेका हुन्छन् )
सुवर्ण : मुख्य अतिथि हजुरबुबा र सहभागी सबै साथीहरू ¤ कहिलेकाहीँ ‘नाटकमा पनि अर्को नाटक’ हुन्छ । हाम्रा बुबा, काका र दाइ र दिदीहरूको पालाको जीवनको उद्देश्य र अहिले हाम्रो जीवनको उद्देश्यमा धेरै फरक देखिएको छ । यसबारे सुरुची बताउनुहुन्छ ।
सुरुची : मुख्य अतिथि हजुरबुबा र साथीहरू ! पहिले हाम्रो कक्षाका नायिका क्यान्डीलाई आमाहरू भन्नुहुन्थ्यो, “हेर नानी, तिमी नर्स भएर, गाउँ, सहर देशकै बिरामी र ज्येष्ठ नागरिकहरूको सेवा गर्नू ।” सधैँ हाँसिरहने साथी क्रिकीका बुबा भन्नुहुन्थ्यो – “हेर बाबू, तिमी ठुलो भएपछि साइकल, मोटरसाइकल, ट्रकदेखि हवाईजहाज र हेलिकप्टरलाई समेत मर्मत गरी जहाँ पनि सेवा गर्न सक्ने मिस्त्री बन्नुपर्छ ।”
टाइमा सजिएका मिस्टर राबितलाई उनको बुबाले छोरोलाई कलेजको प्रिन्सिपल वा शिक्षाको क्षेत्रमा ठुलो मान्छे बनेर सेवा गरेमा देशको उन्नति हुनेछ । हाम्रो देश एकातिर गरिब छ, अर्कोतिर गरिब जनतालाई उच्च शिक्षा दिने सरकारको नीति छैन, त्यसैले तल्लो वर्गको शिक्षा सेवामा काम गर्नू ।
मिस राबितकी आमा उनलाई बताउनुहुन्थ्यो रे – “हेर नानी, बैङ्क र अर्थशास्त्रको क्षेत्रमा महिलाहरू कम छन्, त्यसकारण अर्थशास्त्री वा बैङ्कका मेनेजर आदि भएर भ्रष्टाचारको निर्मूल गर्ने कार्यमा सघाउनुपर्छ ।”
अक्टो साथीलाई आमाले सिकाउनुहुन्थ्यो रे – ‘हेर बाबु नानीहरू, तिमीहरू ठुलो भएर समुद्रको पानी सफा गर्ने प्रविधि (अक्कल) जान्नुपर्छ ।
सुवर्ण : सुरुचीको ममी पनि उनलाई भन्नुहुन्थ्यो– “नानी सुरुची, विश्व वातावरणमा प्रदूषण बढ्दै गयो भने संसारमा अनेक प्रकारका रोगहरू बढ्ने छन् । त्यसले हामीजस्ता गरिब देशका जनताले झन् दुःख पाउने छन् । यसकारण, तिमी ठुली भएपछि विश्व वातावरणविद् बनी संसारको सेवा गर्नुपर्छ ।”
सुरुची : (सुवर्णको सङ्केत पाएपछि) सुवर्णकी ममी पनि मलाई भन्नुहुन्थ्यो – “देशहरू र संसारकै राजनीति नसुध्रेसम्म संसारले दुःख पाउने हो । यसकारण, ठुलठुला रुखको फल राम्रो हुन रुखको जरा र त्यहाँको माटो राम्रो र शुद्ध हुनुपर्छ । समाजलाई राम्रो बनाउन सहर र गाउँ राम्रो हुनुपर्छ । यसकारण, तिमीहरू तल्लो तहको जनप्रतिनिधि र ‘नगरपिता’ वा ‘गाउँको पिता’ अर्थात् मेयर बनेर तल्लैदेखि समाजलाई सुधार गर्नुपर्छ ।”
सुवर्ण ः सुरूची र अन्य हाम्रा बुबा र आमाहरूले एक पुस्ताअगाडि हाम्रा काका काकी, दिदी र दाजुहरूलाई अभिभावकहरूले दिनुभएको शिक्षा र जीवनको उद्देश्यको व्यापकता र उचाइमा धेरै भिन्नता भइसकेको छ । यसकारण, हाम्रो विद्यालय र टोलका साथीहरूको माझमा बारम्बार हरेक महिना छलफल, नाटक, स्वतन्त्र भाषण, साहित्य गोष्ठीजस्ता कार्यक्रमहरू हामी गर्दै जानेछौँ ।
अब म हाम्रो यो एसेम्बलीका मुख्य अतिथि हजुरबुबालाई हामी केही ज्ञान–गुणका कुराहरू बताउन आग्रह गर्छौँ ।
मुख्य अतिथि : बाबु नानीहरू, आज मलाई अत्यन्त खुसी लागेको छ । हामी तिमीहरूजस्तो सानो बेला यस्ता गोष्ठीहरू देखेका पनि थिएनौँ र गर्न जानेका पनि थिएनौँ ।
तर, तिमीहरूका बा र काकाहरूको पालामा लुकी लुकी यस्ता गोष्ठीहरू गरेको सुनेका थियौँ । सरकारले थाहा पाएपछि ती बाबुहरूलाई प्रहरी र सेनाले सा¥है कुटपिट गर्थे† जेलमा कोच्थे र टोल–टोल र गाउँ–गाउँका ठुला ठालुहरू आफैँ जासुस र गुप्तचरको काम गरी युवाहरूलाई पक्राउ गर्न सहयोग गर्थे । केटीहरू त सा¥है थोरै मात्र यस्तो बैठक गर्न र गतिविधि गर्ने गर्थे । जनताले थाहा नपाउँदा जेलबाट छुटेका तिमीहरूका बाबा र काकाहरूलाई बोल्दैनथे र अझ हेला गर्थे । ती राजनीतिक कार्यकर्ताहरूले आफ्नो निम्ति होइन देशकै निम्ति र जनताको निम्ति दुःख पाएका हुन् भन्ने थाहा थिएन ।
बाबु : नाति नातिनाहरू, हिजो कविता र गीत मात्रै लेखेको र गाएकोमा झ्यालखानामा लैजान्थे ।
सुवर्ण : मुख्य अतिथि र हजुरबुबा माफ पाउँ यो झ्यालखाना भनेको के हो ?
मुख्य अतिथि : अँ, आजकल यसलाई बन्दीगृह र जेल भन्ने गरिन्छ । जनतालाई थुन्ने ठाउँलाई आजकल झ्यालखाना कमैले मात्रै भन्छन् ।
लौ त, समय पनि धेरै गयो, नाति र नातिनाहरूलाई भोक पनि लाग्यो होला, आजको यस बैठकलाई यहीँ बिदा देऔँ । नाति–नातिनाहरूलाई धेरै–धेरै माया गर्छुं ।
सुरुची : हजुरले हामीलाई पहिलाका कुराहरू बताउनुहुँदा हाम्रा जीउ सिरिङ्ग भएको थियो । अब हामी सानै भए पनि एकएक पाइला गरेरै अगाडि बढौँला ! हजुरबुबाबाट आशीर्वाद पाऔँ र सबै साथीहरूलाई पनि धन्यवाद दिन्छु । यो बैठक यहीँ टुङ्गिएको घोषणा गर्छु ।
(हजुरबुबाले सबैलाई अँगालो हालेर माया गर्नुहुन्छ । अनि सबै नातिनातिनाहरू कोठाबाट बाहिर जान्छन् ।)
(पर्दा खस्छ)
Leave a Reply