गोरखापत्र नेपाली जनताको साझा पत्रिका हुनुपर्छ
- असार ५, २०८३
देशमा उद्योग, कारखाना खोल्न जनताका आधारभूत आवश्यकता पूर्ति गर्न, रोजगारका पूर्वाधारहरू तयार गर्न आवश्यक भयो भने कुनै व्यापारी, उद्योगपति, व्यवसायी या सरकारले ऋण लिन सक्छन् । ऋण लिनुको अर्थ कहीँ कतै कुनै काममा लगानी गर्न हो । लगानी देशको आवश्यकता परिपूर्ति गर्न या जनताका आधारभूत आवश्यकता पूर्ति गर्न गरिन्छ । सरकारले ऋण अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने विज्ञहरूको राय हो । सरकारले प्रत्येक वर्ष ऋण लिएको देखिन्छ । प्रत्येक वर्ष ऋण लिएको कारण नेपाल ऋणीको देश बनेको छ । आर्थिक वर्ष ०८३/८४ को लागि पनि सरकारले ६ खर्ब ५७ अर्ब २९ करोड रूपैयाँ ऋण लिने लक्ष्य राखेको छ । त्यसमध्ये वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब सङ्कलन गर्ने सरकारको लक्ष्य रहेको छ ।
अहिले नै देशको ऋण २९ खर्बभन्दा बढी पुगिसकेको छ । नेपाली ऋणीको देश बनेको छ । ऋणमाथि ऋण लिने सरकारको नीतिले देश ऋणमा डुबेको छ । अर्थविद्हरू त ऋण तिर्नकै लागि नेपाल सरकार ऋण लिन बाध्य भएको बताउँछन् । असार ५ गतेको कान्तिपुरमा ‘ऋण तिर्नकै लागि ऋण लिँदै सरकार’ शीर्षकको समाचार छापियो । सार्वजनिक ऋणको भार थप्दै गएको कारण विकास स्रोत जुटाउन समस्या परेको, राजस्वले सरकारको अनिवार्य दायित्व भुक्तानी गर्न समेत नपुगेपछि सार्वजनिक ऋणको आकार बढ्दै गएको विश्लेषण गरिएको छ । सार्वजनिक ऋणको सावाँ ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्था सत्य हो भने यो राम्रो लक्षण होइन । ऋणको ऋण तिर्न बाध्य सरकारले देश विकास कसरी गर्छ ? सरकारलाई देशका कर्मचारी पाल्न नै धौ धौ परेको छ । ऋण लिएर देश सञ्चालन गर्नुपर्ने बाध्यता कसरी भयो ? ऋण लिएर देश कहिलेसम्म सञ्चालन गर्ने ?
देश र जनताको हक, हित र विकास गर्न छोडेर जसरी भए पनि दल ठुलो बनाउने, सरकारको नेतृत्व गर्ने सत्तामुखी राजनीतिले गर्दा सङ्कट देखिएको हो; अन्योल छाएको हो । सरकारको नेतृत्व गरेर राज्यबाट बढीभन्दा बढी दलको स्वार्थ पूरा गर्ने, आफ्ना मान्छे भर्ना गर्ने, नेता तथा कार्यकर्ता पाल्ने मानसिकताले गर्दा देश विकास नभएको हो† देश विकासमा पछि परेको हो । यो रोग विगतको सत्तारूढ दलमा मात्र होइन हालको सरकारमा पनि देखिएको छ । यसकारण, सरकारको नेतृत्व परिवर्तनले मात्र देश विकास हुन्छ† बहुमत जनताको पक्षमा ऐन–कानुन बनाउँछ भन्ने कुरा सत्य होइन । देशमा भएका असमान सन्धि–सम्झौता सबै ठुलै दलको कारण भएको हो । सरकारको नेतृत्व गर्ने दलहरू देश र जनताप्रति समर्पित भएनन् या विदेशमुखी भए । सरकार विदेशमुखी या विदेशी ऋण र अनुदानको भरमा चलेसम्म देश आत्मनिर्भर हुनेछैन ।
सरकारले अनुमान गरेअनुसार विदेशी शक्ति राष्ट्रले अनुदान दिएको छैन । सरकारले वर्षमा जे जति बनाउने योजना छ त्यो पनि पूरा गर्न सकेको छैन । ऋण उत्पादनमूलक वस्तुमा प्रयोग नहुने, अनुदान सोचेअनुसार नपाउने र विकास पनि लक्ष्यअनुसार पूरा गर्न नसक्ने हुँदा सरकारले गरेको अनुमान सोचेभन्दा धेरै अधुरो र अपूरो हुन्छ । सरकारले राजस्व सङ्कलन बढाउनुपर्छ । प्रगतिशील कर नीति अपनाएर आर्थिक वृद्धि दर बढाउनुपर्छ । सरकारले उद्योग, कारखाना, मन्त्रालय या विभागमा बाँकी रहेको अनेक कर या विद्युत् शुल्क उठाउनुपर्छ । गत जेठसम्ममा नेपालले तिर्न बाँकी ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रहेको छ । गत वर्ष असारमा तिर्न बाँकी ऋण २६ खर्ब ७४ अर्ब ४ करोड थियो । देशको बजेटभन्दा ऋणको रकम बढेको छ । यो ऋणको भारले थिचेर नेपाली जनताले कहिलेसम्म सहेर बस्ने ? नेपाल ऋणमुक्त देश कहिले हुन्छ ? ऋण लिएर देश चलाउनुपर्ने यो परिस्थितिमा सरकार ‘राष्ट्रिय’ दलको नाउँमा देशको राज्यकोषबाट पैसा असुल्ने नीति ल्याउँछ । राजनीतिक दललाई पैसा बाँड्ने सरकारी नीति खोटपूर्ण छ । यो नीति नितान्त गलत छ । दल सञ्चालन सरकारले गर्ने होइन । सरकारी राज्यकोषले दल सञ्चालन गरेपछि दलले चन्दा उठाउँदैन भन्ने कुरा होइन । दलले चन्दा उठाए पनि नउठाए पनि दल सञ्चालन खर्च राज्यले व्यहोर्ने कुरा ठीक होइन । अतः सरकारले ‘राष्ट्रिय’ दलको नाउँमा निर्वाचनमा प्राप्त मतको आधारमा राज्यकोष लिने सरकारी नीति या राज्यकोष लिन दलसँग छलफलको प्रक्रिया अघि बढाउने कुरा नेपालको सन्दर्भमा एक मिल्दैन, दुई मिल्दैन । सत्तारूढ दललाई चेतना भया !
Leave a Reply