के यी सत्य हुन् ?
- असार २३, २०८३
सबै भाषाको आफ्नै मौलिक व्याकरण हुन्छन् । अतः सो भाषाको बोलीचालीमात्र होइन लेखन पनि उक्त व्याकरणको नियमभित्र लेख्ने गरिन्छ, लेख्नुपर्छ पनि । त्यस्तै, एउटा भाषाको व्याकरण अर्को भाषामा लाड्न मिल्दैन, सकिँदैन पनि । नेपाली भाषामा थरको अन्तिम अक्षर दीर्घ लेख्ने नियम छ । त्यसैले, अन्य जनजाति तथा भाषाभाषीका थरहरू नेपाली भाषामा लेख्ने बेलामा नेपाली भाषाको नियमअनुसार दीर्घ लेख्छन्, जुन निमयविपरीत देखिन्छ । यसलाई भाषिक अतिक्रमण भन्नुपर्छ ।
नेवार सम्प्रदायको कति थरको अन्तिम अक्षरमा जु आएका छन्, त्यसलाई नेपाली भाषामा जू लेख्ने गरिन्छ, जुन गलत अभ्यास नै हो । अतिक्रमित संस्कार हो । नेपालभाषामा जु को अर्थ आदरार्थी हुन्छ र ह्रस्व नै हुन्छ । जस्तै कोजु, फाँजु, ब्याँजु, ध्वँजु, खिचाजु, माकजु, लाखाजु, बाताजु, फैजु, ब्वजु, बहजु, ब्वयँ्जु, साँय्जु, भजु, धन्जु, ख्वाउँजु आदि ।
त्यस्तै, स्थान विशेष लगाई कसैलाई बोलाउने बेला पनि सन्मानपूर्वक जु प्रयोग गरिन्छ जस्तै थनेजु, कोनेजु ।
त्यस्तै, व्यक्तिगत सम्बन्धमा प्रयोग गरिने आदरार्थी शब्द जु पनि ह्रस्व नै लेखिन्छ जस्तै, दाजु, तजु (तताजु), भाजु, मय्जु, पाजु, मलेजु, माजु (सासू), बजु (ससुरो), कुमारी माजु आदि ।
त्यस्तै, पेसागत कार्यले आउने पदावली शब्दमा पनि जु ह्रस्व लेखिन्छ । जस्तैः बजु, आचाजु, जुशिजु, माहाजु
(मन्त्री), त्वजुं आदि ।
त्यस्तै, नाम सम्बोधन गर्दा गोप्य देउतालाई आदर गरी तलेजु (तुलेच्वंम्हा द्यः यानि तुलजा भवानी) सम्बोधन गर्दा पनि ह्रस्व जु लेख्ने गरिन्छ ।
त्यस्तै, कुनै स्थानको मानिसलाई जनाउने बेलामा प्रयोग गरिने मि अर्थात् त्यहाँको जनतालाई सम्बोधन गर्दा प्रयोग गरिने मि पनि ह्रस्व लेखिन्छ । जस्तैः– यमि, यलमि, जनतमि, सक्वमि, भोमि, नालामि, धौख्यमि, ग्वलँमि आदि ।
त्यस्तै, मानिसको अवस्थालाई सम्बोधन गरिने शब्दमा पनि ह्रस्व मि प्रयोग गरिन्छ जस्तै तमि, चिमि, न्ह्यामि आदि ।
त्यस्तै दुई घरको सम्बन्ध जोड्न यानि बिहेवारीको लागि माध्यम व्यक्तिलाई पनि लामि (लाँय् च्वंम्हा मनू) मा पनि ह्रस्व मि लेखिन्छ ।
पेसालाई अहिले थरको रूपमा लेख्ने गरिन्छ । यसरी थरको पछाडि आउने मि पनि ह्रस्व लेखिन्छ तर यसमा विसर्गसहित लेखिएमा नकःमि (न्याकःमि), डकःमि, सिँकःमि, ल्वहँकःमि, मूनंकःमि, माधिकःमि, सःमि (साय्मि) आदि हुन्छ । प्रसिद्ध व्याकरणविद् रमापति राज शर्माका अनुसार विसर्ग हटाएमा अर्थात् कर्म (कार्य) अनुसार लेखिएमा मी दीर्घ हुन्छ । जस्तैः सिकर्मी, डकर्मी ….. आदि ।
नेपालभाषाका प्रसिद्ध कवि चित्तधर हृदयले कुनै शब्दमा अक्षर लोप भएको स्थानमा विसर्ग लेख्ने नियम बसालेका थिए । जस्तैः अतः मा पनि विसर्ग छ तर उच्चारणमा अतह हुन्छ तर ह लुप्त भएकोले अतःमा विसर्ग लगाइन्छ । त्यस्तै, पहिला पानीलाई नाख (लख) भन्ने चलन थियो । हाल नाः (लः) मात्र भन्ने गरिन्छ । यस्ता शब्दहरूको पछाडि विसर्ग लेखेर लुप्त अक्षरको सङ्केत गर्छ ।
अन्तमा, स्थानको नाम पनि मौलिक नामलाई नै पुनः स्थापना गरौँ† अरु भाषाको प्रभावबाट नलेखौँ । जस्तैः गोमारीलाई गोल्मढी लेखिएका छन्, रैथाने नाम त गोमारी नै हो, त्यसै तमारी, सूर्यमारी, गःहिती आदि नै लेख्ने चलन बसालौँ ।
त्यस्तै, कुनै पनि नामलाई अनुवाद नगरौँ । कुनै पनि नाम संसारको जुनसुकै भाषामा त्यही हुन्छ । त्यहाँको भाषामा अनुवाद गरेर प्रयोग गरिँदैन । नामलाई परिमार्जन पनि नगरौँ । त्रिपुर सुन्दरी हो, त्रिपुरासुन्दरी होइन, खिउँछेँ हो खिछेँ होइन, च्वय्छेँ हो च्वछेँ होइन । अस्तु !
Leave a Reply