भर्खरै :

जाँचबुझ आयोगमा मृतक परिवारहरूको बयानको सार सङ्क्षेप – ४८

जाँचबुझ आयोगमा मृतक परिवारहरूको बयानको सार सङ्क्षेप – ४८

मृतक अर्जुन भट्टका दाजु अभिलाख भट्टको कागज व्यहोरा :
अध्ययनका लागि विदेश जाने तयारीमा रहेका मेरो भाइ अर्जुन भट्ट भदौ २४ गते मसँगै आन्दोलनमा थिए । कालिमाटी प्रहरी वृत्तका प्रहरीले चलाएको गोली लागेपछि साथीभाइले अस्पताल पु¥याएका हुन् । बयोधा अस्पतालमा उसको मृत्यु घोषणा भएको हो । नेपाल सरकारबाट राहत स्वरूप रु. १५ लाख पाएका छौँ । दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्दछ ।
मृतक दीपक सिंह साउदका दाजु वीरेन्द्र सिंह साउदको कागज व्यहोरा :
मेरो भाइ दीपक सिंह साउद भदौ २३ गते बानेश्वरस्थित आन्दोलनमा सँगै अध्ययनरत साथीहरूसँग सहभागी थिए । भदौ २४ गते १२–१ बजेतिर कालिमाटी चोकमा गोली लागेपछि एम्बुलेन्सले नै बयोधा अस्पताल र थप उपचारको लागि वीर अस्पताल लगिएको रहेछ । भाइको असोज २६ गते अस्पतालमा नै मृत्यु घोषणा भएको हो । नेपाल सरकारबाट राहत स्वरूप रु. १५ लाख पाएका छौँ । दोषीलाई कारबाही गरी न्याय प्रदान गर्नुपर्छ । घटनाको जिम्मेवार तत्कालीन सरकार प्रमुख, सुरक्षाकर्मी र तिनका कमान्डर हुन् । सुशासन, भ्रष्टाचारमुक्त समाज, रोजगारीको ग्यारेन्टी होस् र मौलिक हकको हनन नहोस् ।
मृतक सारकुमार राईकी श्रीमती सुनिता राईको कागज व्यहोरा :
मेरो श्रीमान् सारकुमार राई कक्षा ८ सम्मको पढाइ गरेर पेन्टर काम गर्थे । भदौ २३ र २४ गते दुवै दिन आन्दोलनमा सरिक थिए । भदौ २४ गते गोली लागेपछि अस्पतालमा नै मृत्यु घोषणा भएको हो । उपचारको क्रममा ढिलाइ वा लापरबाही भएको छैन । सुरक्षाकर्मीले बिनाचेतावनी गोली प्रहार गरेका रहेछन् । नेपाल सरकारबाट राहत स्वरूप रु.१५ लाख पाएका छौँ । घटनाको जिम्मेवार तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षकलगायत हुन् । देशमा सुशासन कायम भई दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।
मृतक धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठको कागज व्यहोरा :
मेरो कान्छो छोरा धिरज श्रेष्ठ स्नातक तहको पढाइ सकेर व्यवसाय गर्दै विदेश जाने तयारीमा थियो । तत्कालीन सरकारविरुद्ध भदौ २३ गतेको दिन जियनजेड पुस्ताले गरेको बानेश्वरस्थित आन्दोलनमा सहभागी भएका थिए । भदौ २४ गते तार्केश्वर अस्पतालले नै मृत घोषित गरेको थियो । उपचारको क्रममा ढिलाइ वा लापरबाही भएको थाहा भएन । नेपाल सरकारबाट राहत स्वरूप रु. १५ लाख पाएका छौँ । दोषीलाई न्यायिक कारबाही गर्नुपर्छ ।
मृतक योगेन्द्र न्यौपानेका भाइ सुजन न्यौपानेको कागज व्यहोरा :
मेरो दाजु योगेन्द्र न्यौपाने स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी थिए । भदौ २३ गते योगेन्द्र बानेश्वरस्थित आन्दोलनमा सहभागी थिए । उहाँले भन्नुभएको थियो, “अन्तिम पटक गोली चलाउन सुरु भयो म फर्किन लागेँ ।” घटनासम्बन्धी आन्दोलनमा हिँडेको भिडियो फुटेज प्राप्त गरेका छौँ । उपचारको क्रममा ढिलाइ वा लापरबाही भएन तर पोस्टमार्टम ढिला भयो । नेपाल सरकारबाट राहत स्वरूप रु. १५ लाख पाएका छौँ ।
मृतक योग श्रेष्ठको दाजु रामकृष्ण श्रेष्ठको कागज व्यहोरा :
मेरो भाइले भदौ २३ गते आन्दोलनमा सहभागी हुनेबारे कसैलाई जानकारी दिएका थिएनन् । सधैँजसो जिम गएर ३ः०० बजे खाना खाने मान्छे भदौ २३ गते बिहान १०ः०० बजेको समयमा ‘दिदी खाना हाल्दिनू, बाहिर जानु छ’ भनेर घरबाट निस्केका थिए । घटनासम्बन्धी आन्दोलनमा योगकै मोबाइलबाट खिचिएको भिडियो हामीसँग सुरक्षित छ । बानेश्वर चोकमा भिडियो बनाउँदै गर्दा कोखामा गोली लागेपछि को–कसले अस्पताल पु¥याएका हुन् थाहा भएन । भदौ २३ गतेको दिन नै अस्पतालमा मृत घोषणा भयो । मेरो भाइले कलिलो उमेरमै ज्यान गुमाउनुप¥यो । नेपाल सरकारबाट पाउने राहत रकम पाएका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *