भर्खरै :

फिडेलले हामीलाई जे दिनुभयो

  • भाद्र २, २०८३
  • विजय प्रसाद
  • विचार
फिडेलले हामीलाई जे दिनुभयो

फिडेल क्यास्ट्रोलाई पहिलोपल्ट देख्दा म १६ वर्षको थिएँ । सन् १९८३ मा असंलग्न आन्दोलन (नाम) को सम्मेलनमा सहभागी हुन उहाँ भारत आउनुभएको थियो । भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई भेट्दा फिडेलले शिष्टाचार उल्लङ्घन गर्दै अङ्कमाल गर्नुभयो । भारतलाई माया गर्नुहुन्थ्यो फिडेल । यो कुरा मैले १८ वर्षपछि दक्षिण अफ्रिकाको डर्बानमा थाहा पाएँ । उहाँले मसँग भन्नुभयो, “म धेरैपल्ट भारत पुगेँ । तर, कहिल्यै लामो समय बसिनँ ।” मैले डरले गर्दा उहाँलाई ‘नाम सम्मेलनमा हजुरलाई’ देखेको थिएँ भन्न सकिनँ । त्यो बेला उहाँको भव्य व्यक्तित्वले गर्दा क्युवा भन्ने देश धेरै ठुलो होला भन्ने लागेको थियो । क्युवाले जम्मा १ लाख १० हजार वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ । म जन्मेको कलकत्ता महानगरको भन्दा पनि कम जनसङ्ख्या भएको टापु देश होला भनेर मैले चिताएकै थिइनँ । त्यो बेला उहाँले हरियो सैन्य बर्दी लगाउनुभएको थियो । टाढैबाट उहाँलाई हेर्दै मैले सियरा माइस्त्राका पहाडबाट ओर्लेर हवानामा लम्किँदै गरेको जवान फिडेलको कल्पना गरेको थिएँ । उहाँले पेस्तोल बोक्नुभएको होला–नहोला भनेर पनि घोत्लिन पुगेको थिएँ म । किनभने, हत्याराहरूले यस्तो भिडमा उहाँलाई टाढैबाट गोली ठोक्न सक्छन् भन्ने पिर थियो ।
सन् २००१ मा डर्बानमा जातिवादविरुद्ध विश्व सम्मेलन भएको थियो । त्यहाँ सरकारी र गैरसरकारी दुवै मञ्चबाट सबैले उभिएर सम्मान दिने विश्वको एकमात्र नेता हुनुभयो फिडेल । त्यसैले, उहाँको विचारले राजनीतिक पक्षधरताको पर्खाल भत्काइदियो । त्यो बेला ‘मानवअधिकार’ र ‘विश्वव्यापीकरण’ को खुबै चर्चा थियो । जब कि विश्वभरि असमानताको निर्मम इन्जिन चलिरहेको बेला यी शब्दको त्यति अर्थ थिएन । सबथोक झन्झन् खस्किँदै गइरहेको बेला जातिवाद र वातावरण विनाश अथवा ऋण र महिला अधिकारबारे यी मञ्चमा गफगाफ गर्नुको के अर्थ ? दक्षिणी गोलाद्र्धका देशहरूमा सामान्य जनताको घरायसी ऋणले सीमा नाघिरहेको बेला नेताहरू चिरिच्याट्ट परेर पुरानै गफ लडाइरहेका थिए । त्यसको विपरीत देखिनुभयो, सैन्य बर्दी लगाउनुभएका फिडेल । उहाँको सिधापन र मुस्कानले सत्यलाई सर्वस्वीकार्य बनायो । त्यसले मानिसहरूलाई एक स्वाभिमानी भविष्यको निम्ति उहाँले चलाइरहनुभएको सङ्घर्षमा सँगै हिँड्न उत्प्रेरित ग¥यो । उहाँको सम्मानमा हामी उभियौँ । उहाँको विचारले गर्दा मात्र हामी उभिएका थिएनौँ । उहाँले ठ्याक्कै हाम्रो भाषा बोल्नुभयो । त्यही भएर हामी उभिएका थियौँ ।
सन् १९८३ मा भारत आउनुभन्दा दुई वर्षअघि फिडेलले ‘क्रान्ति रक्षा समिति’ (सीडीआर) को सम्मेलनमा बोल्नुभएको थियो । सन् १९६० मा स्थापना गरिएका सङ्गठनहरूको समिति थियो त्यो । क्युवाली समाज र राष्ट्रको सुरक्षामा यो सङ्गठनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सम्मेलनमा उहाँले क्युवाली क्रान्तिका आरोहअवरोह मात्र सुनाउनुभएन । बरु, अमेरिकी नाकाबन्दीले गर्दा क्युवामाथि थोपरिएका सीमाहरूबारे पनि बताउनुभयो । फिडेलले भन्नुभयो, “नाकाबन्दीले हामीलाई अघि हात नपरेका उपलब्धिहरू हासिल गर्नबाट रोक्न सकेको छैन ।” उहाँले ती उपलब्धिको विवरण दिनुभयो, “हाम्रा सबै जनता रोजगार छन्, बेरोजगारी अन्त्य भएको छ । सबैखाले दुराचार, जुवातास, दुव्र्यसनी, बेश्यावृत्ति अन्त्य भएको छ । निरक्षरता उन्मूलन भएको छ । कम्तीमा ६ कक्षासम्म शिक्षा अनिवार्य छ । यसलाई ९ कक्षासम्म पु¥याउँदै छौँ । स्वास्थ्य सेवा संसारको कुनै पनि अल्पविकसित देशको भन्दा स्तरीय छ ।”
फिडेलले भन्नुभयो, “समस्या प¥यो भन्दैमा हामी हिँड्न छोड्ने छैनौँ ।”
तेस्रो विश्वका देशहरूको लागि यो सबैभन्दा आधारभूत पाठ हो । हो, उपनिवेशवादले हाम्रा देशहरूलाई तहसनहस बनायो । नवउपनिवेशवादी विश्व व्यवस्थाले अझै हाम्रा देशका स्रोतसाधन र धनसम्पत्ति लुट्दै छ । हो, युद्ध र ऋणमा आधारित व्यवस्थाले हामीमाथि विकराल करको भार थोपरेको छ र हाम्रो सार्वभौम अधिकार नै प्रयोग गर्न खोज्छ । हो, यी सबै सत्य हुन् । समस्या यिनै हुन् । तर, समस्या प¥यो भन्दैमा हामी हिँड्न छोड्ने छैनौँ ।
फिडेल काल्पनिक समाजवादी हुनुहुन्थेन । गरिबीको खाडलबाट फ्याट्टै धनको आहालमा उक्लिन सकिन्छ भन्ने कुरामा उहाँको विश्वास थिएन । उहाँले माक्र्सलाई पढ्नुभएको थियो । खासगरी उहाँले गोथा कार्यक्रमको आलोचना (१९७५) को अध्ययन गर्नुभएको थियो । त्यस रचनामा माक्र्सले लेख्नुभयो, “अधिकार कहिल्यै समाजको आर्थिक संरचनाभन्दा माथि रहन सक्दैन । यसरी समाजको सांस्कृतिक विकास निर्देशित हुन्छ ।” अर्को शब्दमा पर्याप्त अतिरिक्त धन पैदा गर्न नसक्ने र त्यही कारण पर्याप्त फुर्सद र सांस्कृतिक संस्थाहरू बनाउन नसक्ने उत्पादक शक्ति भएको समाजले मानव मुक्तिको लागि आवश्यक परिस्थिति निर्माण गर्न सक्दैन । उदाहरणको रूपमा पुँजीवादी व्यवस्थामा सम्पत्तिको उदार हकअधिकारले प्रत्येक व्यक्तिलाई सम्पत्ति राख्ने स्वतन्त्रता दिलाउँछ । पुँजीवादभन्दा अगाडिका समाजहरूमा यो अधिकारमाथि बन्देज थियो । तर, उदारवादी हक अधिकारले सम्पत्तिबाट स्वतन्त्रता भने सुनिश्चित गर्दैनन् । अर्थात, यी हक अधिकारले सम्पत्तिविहीन रहँदा खेप्नुपर्ने अत्याचारबाट मान्छेलाई मुक्त गर्दैनन् । प्रचुर उत्पादन हुने उन्नत साम्यवादी समाजमा मात्र स्वतन्त्रताका लागि सामाजिक आधार स्थापित गर्न सकिन्छ । माक्र्सले लेख्नुभयो, “त्यसपछि मात्र पुँजीवादी हक अधिकारको साँघुरो दायरालाई पूरै पार गर्न सकिनेछ । तब, समाजमा यो नारा साकार हुनेछ – सबैबाट योग्यताअनुसार लिने सबैलाई उसको आवश्यकताअनुसार दिने !”
यही तर्कले आफ्नो परम्परालाई काल्पनिक समाजवाद र उदारवादबाट भिन्नै बनाउँछ भन्ने फिडेललाई थाहा थियो । तर, उहाँलाई अर्को मूलभूत सूत्र पनि थाहा थियो – उपनिवेशवाद र नवउपनिवेशवादको जाँतोमुनि पुँजीवादको असमान विकास हुन्छ र यसले गरिब देशहरूलाई आफ्नो उत्पादक शक्ति विकास गर्न दिन्न बरु तिनलाई आआफ्ना अल्पविकासका खाडल ठुला पार्न अलपत्र छोड्छ । यसको अर्थ राष्ट्रिय मुक्तिका लागि सङ्घर्षरत सङ्गठनहरूले आफ्ना औपनिवेशिक शासकहरूलाई जरैबाट उखेल्नुपर्छ र पछि कुशलतापूर्वक एकैपल्ट आफ्ना दुई ऐतिहासिक कार्यभार पूरा गर्नुपर्छ । पहिलो, उत्पादक शक्तिको निर्माण गर्नुपर्छ । (जब कि यो पुँजीपतिहरूको कार्यभार हुनुपथ्र्यो ।) दोस्रो, उत्पादनका साधनहरूलाई सामाजिकीकरण गर्नुपर्छ । (यो समाजवादीहरूको मिसन हो ।) गरिब मुलुकहरूमा पुँजीपति र सर्वहारावर्ग दुवैको कार्यभार समाजवादी शक्तिले पूरा गर्नुपर्ने बाध्यता आइलाग्छ । त्यो पनि ठुलो दबाबबिच । तर, समस्या प¥यो भन्दैमा हामी हिँड्न छोड्ने छैनौँ ।
सन् २००१ मा म डर्बानको एक होटलमा फिडेल र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरूसँगै थिएँ । कुराकानी चल्दै थियो । उहाँले भारतमा रहेको जातीय विभेदबारे प्रश्न सोध्नुभयो । फिडेलको जिज्ञासा मन छुने तर सचेत थियो । उहाँको जिज्ञासा शान्त पार्न र परिस्थितिको व्याख्या गर्न मैले सक्दो प्रयास गरेँ । त्यो बेला म ३४ वर्षको थिएँ र घरमा मेरी ६ महिनाकी बच्चीले के गर्दै होली भनी सोचिरहेको थिएँ ।
फिडेलले मसँग समाजवादको निर्माण गर्दा आइपरेका चुनौतीहरूबारे बताउनुभयो । सुरुसुरुमा जातीय र लैङ्गिक उचनिच मेटाउन क्युवाली क्रान्तिले छिचोल्नुपरेका पहाडको विषयमा बताउनुभयो । हो, क्युवाली क्रान्तिले सार्वजनिक स्थलमा हुने विभेदलाई जरैबाट उखेलेको थियो । तर, मान्छेमा हुने जातिवादी रवैयासँग लड्न अझै पुगेको थिएन । तीतो यथार्थलाई सम्बोधन गर्नु एकदम महत्वपूर्ण हुन्छ । कठोर तथ्यहरूबाट सुरु गरेर परिस्थिति बदल्ने विधिहरू पत्ता लगाउनुपर्छ । तथ्यहरूलाई अस्वीकार गर्नु प्रगतिको बाधक बन्नु हो । यसमा प्रस्ट हुनुहुन्थ्यो फिडेल ।
डर्बान सम्मेलनमा सम्बोधन गर्दै फिडेलले तीतो यथार्थबारे दीक्षा (मास्टर क्लास) नै दिनुभयो । उहाँले भन्नुभयो, “जातिवाद, जातीय विभेद र जातिद्वेष मानव जातिका प्राकृतिक स्वभाव होइनन् । यी त मानव समाजको इतिहासभरि गरिएका युद्ध, सैन्य कब्जा, लादिएको दासप्रथा र कमजोरमाथि सर्वशक्तिमान व्यक्ति वा समूहले गरेको शोषणबाट जन्मेका सिधै थिए ।” यो तथ्यलाई स्वीकार गरेपछि असल व्यवहार र जातिवादलाई हटाउन गरिएका उदाहरणीय अभ्यासका अनुभव साटासाट गर्ने सेमिनारहरू अपर्याप्त लाग्छन् । हामीले त्यो व्यवस्था नै बदल्नुपर्छ, जहाँ सत्ताका आडमा सामाजिक उचनिच पनि फस्टाइरहेको हुन्छ । हामीले पुँजीवादी व्यवस्थालाई नै हटाउनुपर्छ† बदल्नुपर्छ ।
फिडेलसँग बस्दै गर्दा मैले माक्र्सले ‘स्वतन्त्रताको क्षेत्र’ र ‘आवश्यकताको क्षेत्र’ बिच कोर्नुभएको रेखाबारे कुरा उप्काएँ । ‘स्वतन्त्रताको क्षेत्र’ ले विश्वका ती भूभागलाई जनाउँछ, जहाँ उत्पादक शक्तिहरू उन्नत हुनाले समाजवादमा सङ्क्रमण गर्ने पूर्वाधार निर्माण भएका छन् । (उपनिवेशवाद यसको एउटा कारण थियो ।) ‘आवश्यकताको क्षेत्र’ मा अझै मान्छेका आधारभूत आवश्यकताको समस्याबाट पार पाउन बाँकी थियो । त्यसैले त्यहाँबाट समाजवाद धेरै टाढा थियो । (यो क्षेत्र उपनिवेशवादी लुटबाट पीडित थियो ।) तैपनि, शास्त्रीय माक्र्सवादका अपेक्षाविपरीत तिनै ‘आवश्यकताका क्षेत्र’ मा क्रान्तिहरू भए, जहाँ समाजवाद ‘जवान छ र यसका आफ्नै गल्ती छन्’ (सन् १९६५ मा चे ग्वेभाराले लेखेका शब्द हुन् यी) । फिडेल क्यास्ट्रोले भन्नुभयो, “हामी हाम्रो भागको गल्ती गर्छौँ । तर, गल्तीप्रति हामी इमानदार बन्नुपर्छ । हामीले गल्ती गर्दैनौँ भनी स्वाङ पार्न सकिन्न । तर, केही निश्चितता पनि हुन्छ भनेर हामीले आफूलाई सम्झाइरहनुपर्छ । आफैले गरेको काममा हामीले सधैँ माफी माग्ने कुरा हुन्न । किनभने, यो संसारलाई अझ मानवीय बनाउन नै हामीले ती काम गरेका हुन्छौँ ।”
फिडेलजस्ता क्रान्तिकारीहरूले हामीलाई विचार मात्र दिनुभएन । ती आत्मीय क्षणमा उहाँले हामीलाई एक क्रान्तिकारीको उदाहरण दिनुभयो । यसैलाई हो चि–मिन्हले आवश्यकताको अनुकरण भन्नुभएको छ । फिडेलले बडो उत्साहित भएर आफ्ना विचारको व्याख्या गरिरहेको देखेर मलाई आफू थप उत्साहित र निश्चित भएको महसुस भयो । उहाँलाई अनुकरण गर्ने आकाङ्क्षा प्रगाढ भयो । एक व्यक्तिका रूपमा मात्र होइन, एक नृशंस व्यवस्थाबाट हाम्रो मानव जातिलाई जोगाउने सङ्घर्षमा जसरी यहाँ होमिनुभएको थियो, एउटा समाजवादी संसार निर्माण गर्न जसरी उहाँले इमानदार प्रयास गरिरहनुभएको थियो, त्यो देखेर पनि उहाँलाई अनुकरण गर्नुपर्छ भन्ने भावना बलियो भयो ।
फिडेलका अति महत्वपूर्ण मन्तव्यहरू सुन्नुभयो भने तपाईँले ती मन्तव्यहरू स्रोतालाई असान्दर्भिक लाग्ने तथ्यतथ्याङ्कले भरिएको पाउनुहुनेछ । जस्तो, उहाँले क्युवाका विभिन्न जिल्लामा उत्पादन भएका अन्नबालीको विवरण पढ्नुहुन्छ । कहिले ‘प्लाजा दे ला रिभोलुसियोँ’ मा भेला भएका स्रोताहरूलाई कर्मचारीतन्त्रमा देखिएका मसिना समस्याबारे बताउनुहुन्छ । किन त्यसो गर्नुहुन्थ्यो उहाँ ? फिडेल हाम्रा क्रान्तिकारी प्रोफेसर हुनुहुन्थ्यो । ती मन्तव्यमार्फत उहाँ हामीलाई बताउँदै हुनुहुन्थ्यो – समाजवाद भनेकै मसिना समस्याहरूको सामना गर्नु हो; उत्पादक शक्ति निर्माणको विज्ञानमा ध्यान दिनु हो† गल्ती हुन सक्ने सम्भावनाबारे प्रस्ट र इमानदार हुनु हो; विफलतालाई सफलतामा बदल्न जनसहभागिताको ढोका खोल्नु हो । हो, समस्या प¥यो भन्दैमा हामी हिँड्न छोड्ने छैनौँ ।
(विजयप्रसाद भारतीय इतिहासकार, सम्पादक तथा पत्रकार हुन् । उनी लेफ्टवर्ड बुक्सका सम्पादक हुन् भने सामाजिक अनुसन्धान संस्थान ‘ट्राइकन्टिनेन्टल’ का निर्देशक हुन् । उनी चीनको रेन्मिन विश्वविद्यालयका गैरआवासीय अध्येता पनि हुन् । उनले २० भन्दा बढी पुस्तक लेखेका छन् । ‘अँध्यारा राष्ट्रहरू’ र ‘गरिब राष्ट्रहरू’ उनका बहुचर्चित पुस्तक हुन् । ‘सङ्घर्षले हामीलाई मानव बनाउँछ’ उनको पछिल्लो पुस्तक हो । यो पुस्तक उनले नोम चोम्स्कीसँग मिलेर लेखेका थिए ।)
स्रोत : एमआर अनलाइन अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *