चाँगुमा पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम
- भाद्र ७, २०८३
भक्तपुर, ७ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा ‘भक्तपुर काण्ड’को भत्र्सना गर्दै आइतबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष तथा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले ‘भक्तपुर काण्ड’ बारे नयाँ पुस्तालाई प्रशिक्षित गर्नु जरुरी रहेको चर्चा गर्दै इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने कार्यकर्ताहरूलाई फसाउन प्रतिक्रियावादीहरूबाट अनेक जालझेल गर्नेतर्फ सचेत हुनु जरुरी छ भन्नुभयो ।
जनतालाई राजनीतिक ंपमा सचेत र सङ्गठित गर्दै देशको सार्वभौमिकता रक्षार्थ भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दा पञ्चायतले नेमकिपालाई नष्ट गर्न बद्नियतपूर्वक ‘भक्तपुर काण्ड’ को षड्यन्त्र रचिएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यकर्ताहरूले पार्टी प्रकाशनलाई अध्ययन गरी सांस्कृतिक स्तर उकास्नुपर्ने र आफूले सिकेको ज्ञानलाई जनतालाई बाँड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जीआर सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा कुमारप्रसाद सुवाल, टङ्कप्रसाद कट्टेल, तारानाथ कट्टेल र सूर्यबहादुर फोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply