‘भक्तपुर काण्ड’ र राइखस्टाग आगलागी मुद्दाबारे एक चर्चा
- भाद्र ८, २०८३
अन्तर्राष्ट्रिय युवा दिवस
हरेक वर्ष अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारी नेपालमा पनि युवा दिवस मनाउने गरेको छ । युवा दिवसको मुख्य उद्देश्य युवाको भूमिका, नेतृत्व, सहभागिता, रोजगारी, उद्यमशीलता र अधिकारलाई प्राथमिकतामा ल्याउनु रहेको बताइन्छ ।
यस वर्ष नेपालमा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने मूल नाराका साथ युवा दिवस मनाइँदै छ । अझ नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय युवा नीति २०८२’ पनि छलफलको मुख्य विषय बनेको छ ।
नेपालमा युवाका मुख्य चुनौती रोजगारी र विदेश पलायन रहेको देखिन्छ । करिब ८० लाख युवा विभिन्न बहानामा वैदेशिक रोजगारीमा रहेको अवस्था छ । युवाहरूको पहिलो विकल्प नै विदेश जानु बन्न पुगेको छ । समस्या विदेश जानु परेको भन्दा पनि देशभित्र आफ्नो क्षमता प्रयोग गर्ने पर्याप्त अवसर नहुनु हो ।
दोस्रो, शिक्षालाई श्रमसँग जोड्न नसक्नु ठुलो चुनौती बनेको छ । उच्च शिक्षा हासिल गरेका युवाहरूले रोजगारी नपाउनु भनेको उनीहरूले प्राप्त गरेको शिक्षा अर्थात् ज्ञानको प्रयोग श्रम बजार अथवा रोजगारसँग तालमेल नखानु नै हो । त्यसैले शिक्षा श्रम र सीपपसँग जोड्नुको अर्को विकल्प छैन ।
नेपालको संविधानको धारा ४२
(१) ले सामाजिक न्यायको हकअन्तर्गत राष्ट्र विकासमा युवा सहभागिता अभिवृद्धि गर्ने र युवाले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको पूर्ण उपयोग गर्न सक्ने वातावरण सृजना गर्ने राज्यको नीति स्पष्ट गरेको छ । शिक्षा, स्वास्थ्य उपचार र रोजगारीलगायत क्षेत्रमा युवालाई विशेष अवसर दिने कुरा पनि उल्लेख छ ।
त्यस्तै संविधानको धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक हुने र रोजगारी रोज्ने स्वतन्त्रता पनि सुनिश्चित गरेको पाइन्छ ।
त्यसैले युवा दिवसको अवसरमा युवाका विषयमा छलफल मात्र नभई युवाको अधिकार, राज्यको दायित्व र त्यसको कार्यान्वयनको अवस्थालाई कानुनी दृष्टिले समिक्षा गर्नु आवश्यक छ ।
यदि नेपालको संविधानले रोजगारीको हक सुनिश्चित गरेको छ भने आज ठुलो सङ्ख्यामा नेपाली युवा रोजगारीका लागि विभिन्न बहानामा विदेश जानुपर्ने बाध्यता किन सृजना भयो ?
युवाको अधिकारलाई रोजगारीमा मात्र नभई गुणस्तरीय शिक्षा, व्यावसायिक तथा प्राविधिक सीप, उद्यमशीलताको असर, सामाजिक सुरक्षा, समान अवसर र नीति निर्माणमा अर्थपूर्ण सहभागिताको पनि आवश्यकता रहन्छ ।
नेपालको संविधानको धारा ५१
(झ) ले राज्यले श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउँदै स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने नीति लिएको पाइन्छ ।
प्रजातान्त्रिक आन्दोलनहरूमा युवा
मनपरीतन्त्रको रूपमा रहेको राणा शासनविरुद्ध आवाज उठाउँदै नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना गर्नको लागि भएको आन्दोलनको अग्रपङ्क्तिमा युवाहरू नै थिए । युवाहरूकै जीवन बलिदानबाट देशमा प्रजातन्त्रको स्थापना भएकोमा दुईमत नहोला ।
त्यस्तै, २०४७ सालमा पञ्चायती निरङ्कुश व्यवस्थाविरुद्ध भएको आन्दोलनमा पनि युवाहरूनै अग्रपक्तिमा थिए । प्रजातन्त्र स्थापनाको लागि भएको आन्दोलनको दोस्रो दिन फागुन ८ गते बिहानै भक्तपुरको प्रसिद्ध ङातापोल्हँ मन्दिर अगाडि टौमढी टोलमा निरङ्कुश पञ्चायती सरकारले चलाएको गोली लागी भक्तपुरका युवाहरूले सहादत प्राप्त गरेका थिए ।
त्यसैगरी २०५९ सालदेखि सुरु भएको प्रतिगमनविरोधी आन्दोलन र २०६२/६३ मा भएको राजाको प्रत्यक्ष शासन व्यवस्थाविरुद्धको आन्दोलनहरूमा पनि युवाहरूको महत्वपूर्ण भूमिका रह्यो । १९ जना युवाहरूले ज्यान बलिदान गरेपछि जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको पुनस्र्थापना भयो । सोही प्रतिनिधिसभाले देशमा राजतन्त्रको अन्त्य र लोकतन्त्र/गणतन्त्र स्थापनाको उदघोष गरे ।
हालै गत वर्ष भएको युवाहरूको प्रदर्शनीपछि विकसित घटनाक्रमले नेपालमा सत्तामा परिवर्तन, निर्वाचन र निर्वाचनपछि युवाहरूको सरकार बनेको छ ।
भदौ ९ अर्थात् कालो दिनको सम्झना
नेपालको राजनीतिक इतिहासमा नेपाल मजदुर किसान सङ्गठन (पछि नेपाल मजदुर किसान पार्टी) तथा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।
आजको दिनमा नारायणमान बिजुक्छेँ नेपाल मजदुर किसान पार्टीको मात्रै नेता होइनन् । उहाँ सम्पूर्ण नेपाली जनताको लागि इमान र वर्गीय हितका लागि जीवनभर निरन्तर सङ्घर्ष गर्दै आउने सादगी नेताका रूपमा देशभित्र र दक्षिण एसियामा प्रख्यात हुनुहुन्छ ।
उहाँले २०१३ सालदेखि राजनीति गरेको र २०१९ सालदेखि नेतृत्व गरेको भक्तपुरलाई भ्रष्टाचाररहित इमानदारीताको टापुको रूपमा विकसित गर्दै अहिले शिक्षा र स्थास्थ्य उपचारको नमुना एवं सांस्कृतिक केन्द्रको रूपमा विकास गर्नुभएको छ ।
२०१३ सालदेखि गरिब किसान र मजदुर अर्थात् काम गरी खाने वर्गका जनताका पक्षमा पञ्चायती सरकारभित्र पनि गएर वर्गीय रूपमा किसान र मजदुरको हितमा भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, सहकारी ठगी, भ्रष्टाचारविरुद्धको आन्दोलन, देशको सिमानासँग सम्बन्धित सुस्तामा भारतीय अतिक्रमणविरुद्ध आन्दोलनलगायतका काम गर्दै आएका अध्यक्ष रोहितले करिब १० वर्ष निर्वासित जीवन बिताउनुभयो । निर्वासनको समयमा अध्यक्ष रोहितमाथि गोली प्रहार गरी हत्याको प्रयास पनि भएको थियो ।
अध्यक्ष रोहितले २०३१ साल माघ १० गते नेपाल मजदुर सङ्गठनको स्थापना गर्नुभयो । यसैबिच उनले २०३६ सालको जनमतसङ्ग्रहका लागि नेपालमा आई पञ्चायती व्यवस्थाको विरोध गर्दै प्रजातन्त्रको पक्षमा वकालत गर्नुभयो ।
लेनिनवादी सिद्धान्तबमोजिम प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसङ्गठनभित्र रहेर वर्गीय रूपमा गरिब तथा काम गरी खाने जनताको पक्षमा उहाँले निरन्तर सङ्घर्ष गर्दै आउनुभयो ।
यसैबिच २०४५ भदौ ५ गते बिहान करिब ५ बजे उदयपुर केन्द्रबिन्दु भएको भूकम्प आयो । शक्तिशाली भूकम्पले भक्तपुरमा ठुलो क्षति भएको थियो ।
भदौ ९ गते राहत वितरणको नाममा भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको ठाउँमा पूर्वराष्ट्रिय पञ्चायत सदस्य कर्णप्रसाद ह्योजुलाई खाद्यान्नका कुपन वितरण गर्ने जिम्मेवारी दिइएको थियो । ह्योजुले पक्षपात गरेको भन्दै उनलाई बजार परिक्रमा गराएका थिए । ह्योजुलाई सकुशल प्रहरीको गाडीमा राखेका थिए । तर, पञ्चायत सरकारकै निर्देशनमा पुनः गाडीबाट निकालेर थप केही सय मिटर अगाडि प्रहरीले नियन्त्रणमा लिएर वीर अस्पताल पु¥याए । समयमै उपचार नगरी राति अबेर मृत्यु भएको घोषणा गरियो ।
सोही रातिबाट नै नेपाल मजदुर किसान सङ्गठनका अध्यक्ष रोहितलगायतका नेता, कार्यकर्ताहरूलाई पञ्चायती व्यवस्थाले अमानवीय रूपमा कुटपिट, थुनछेक, पक्राउ सुरु ग¥यो ।
भक्तपुर नगर केही महिना मसानघाटझैँ सुनसान बन्यो । भक्तपुर नगरभित्र महिला, बालबालिका र वृद्धहरूबाहेक अरू कोही थिएनन् ।
युवाहरूलाई देख्नेबित्तिकै पक्राउ, कुटपिट, अमानवीय व्यवहार हुने हुँदा पञ्चायती सरकारले घटनामा पक्राउ परेका व्यक्तिहरूलाई चरम अमानवीय यातना दिनुका साथै भक्तपुरका अधिकांश युवाहरू भूमिगत हुन बाध्य पारिएको थियो । धेरै युवाहरू पक्राउ परेको, पञ्चायती प्रहरीको दमन र अमानवीय रूपमा शारीरिक तथा मानसिक यातना भोग्न बाध्य भएका थिए ।
नेपाल मजदुर किसान सङ्गठनका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) लगायत ६७ जनाविरुद्ध तत्कालीन मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३
(क) को ६ नं. अनुसार कारबाही माग गरी मुद्दा चलाइयो ।
ह्योजूको शवयात्रा पनि सामान्य अन्त्येष्टिजस्तो देखिएन । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ, राष्ट्रिय पञ्चायतका अध्यक्षलगायत उच्च सरकारी व्यक्तिहरूसमेत सहभागी भएको शवयात्रामा ‘रोहितलाई फाँसी दे’ भन्ने नारा लागेको थियो ।
उक्त मुद्दा करिब २० महिनासम्म ठुलो राजनीतिक तनावको विषय बन्यो । अन्ततः २०४६ सालको जनआन्दोलनको सफलतापछि पञ्चायती व्यवस्था समाप्त भयो र बहुदलीय व्यवस्था पुनःस्थापित भयो । त्यसपछि २०४७ वैशाख ५ गते भक्तपुर काण्डसम्बन्धी मुद्दा सरकारले फिर्ता लियो । रोहितलगायत थुनामा रहेका व्यक्तिहरू रिहा भएका थिए ।
भक्तपुर काण्डमा तत्कालीन पञ्चायती सरकारले ह्योजुको हत्या राजनीतिक कार्यकर्ताहरूको भिडले गरेको मिथ्या आरोप लगाएको थियो । वास्तविकता अर्कै थियो । वास्तवमा प्रमुख जिल्ला अधिकारीले वितरण गर्नुपर्ने भूकम्प पीडित राहत कुपन पूर्वराष्ट्रिय पञ्चायत सदस्य ह्योजुलाई वितरण गर्न लगाइयो । ह्योजुलाई प्रयोग गरेर रोहित र नेपाल मजदुर किसान पार्टीलाई समाप्त पार्ने राज्यस्तरको षड्यन्त्र पञ्चायती सरकारले गरेको थियो ।
त्यही कालो दिनको स्मरणमा हरेक वर्ष कालो दिवस मनाउँदै आएको पाइन्छ । इतिहास दोहोरिन्छ तर फरक तरिकाले भन्ने भनाइजस्तै वर्गीय समाजमा व्यापक काम गरी खाने जनता, किसान, मजदुर, श्रमिकको शोषण गर्न पल्केकाहरूले जुनसुकै बखत नयाँ नयाँ बहानामा भक्तपुर काण्डजस्ता षड्यन्त्र गर्न सक्ने सम्भावना रहने भएकोले हरपल सचेत र सुसुक्षित हुन र निरन्तर वर्गीय शिक्षा, अध्ययन र सङ्घर्षलाई चालु राख्न आवश्यक रहेको अध्यक्ष रोहितले बताउँदै आउनुभएको स्मरण गर्न चाहन्छौँ ।
२०८३ भदौ ७
Leave a Reply