अन्तर्राष्ट्रिय युवा दिवस र भदौ ९ (कालो दिन) को सम्झना
- भाद्र ८, २०८३
नेपालको संविधान लागू भएपछि २०७४ र २०७९ मा गरी स्थानीय तहका दुईपटक निर्वाचनहरू सम्पन्न भए । ती दुवै पटकको निर्वाचनमा भक्तपुर नगरपालिकामा प्रमुख, उपप्रमुख र वडाध्यक्षदेखि वडा सदस्यसम्म सबै वडामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू विजयी भए ।
निर्वाचनको बेला नेपाल मजदुर किसान पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्रमार्फत जनताबिच गरिएका प्रतिबद्धताहरू हामी निर्वाचित जनप्रतिनिधिहरूले एक एक गरी पूरा गर्दै छौँ । हामी जनप्रतिनिधिको रुपमा कार्यरत हुँदा पत्रकार, लेखक, सम्पादक, अनुसन्धानकर्ता मित्रहरूले भक्तपुर नगरपालिकाले गरेका कामहरूको सूक्ष्म अध्ययन र विश्लेषण गरी विभिन्न विषयमा खोजमूलक लेख, रचना तथा समाचारहरू प्रकाशित गरी भक्तपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउने काम गर्नुभयो । हाम्रो पहिलो कार्यकाल २०७४ सालदेखि २०७९ सालसम्म राष्ट्रिय दैनिक, साप्ताहिक र अनलाइन पत्रिकाहरूमा प्रकाशित महत्वपूर्ण लेखहरूलाई सङ्ग्रह गरी ‘सञ्चारमाध्यममा भक्तपुर नपा’ पुस्तक २०७८ चैतमा प्रकाशित गर्यौंँ । दोस्रो कार्यकालको २०७९ देखि २०८३ असारसम्ममा भक्तपुर नगरपालिकासम्बन्धी प्रकाशित विशेष लेखहरूको सङ्ग्रह गरी ‘सञ्चार माध्यममा भक्तपुर नपा २’ प्रकाशित गर्यौंँ । ती दुवै पुस्तकलाई भक्तपुर नगरपालिकाले विभिन्न क्षेत्रमा गरेका कामको तस्बिरको रूपमा लिएको छ ।
भक्तपुर नगरपालिकाका गतिविधि, अभ्यास र उपलब्धिहरूलाई पत्रकार, लेखक, अनुसन्धानकर्ताहरूको दृष्टिबाट विश्लेषण गरी यहाँहरूले आ–आफ्नो सञ्चार माध्यममार्फत जनताबिच पु¥याउन योगदान गर्नुभयो । त्यसका लागि तमाम पत्रकार, लेखक, सम्पादक र अनुसन्धानकर्ता सबैप्रति भक्तपुर नगरपालिका हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।
भक्तपुर आजको अवस्थामा सहजै आइपुगेको भने होइन । यसको आफ्नै इतिहास छ । यहाँका राजनीतिक दलका नेता, कार्यकर्ता, पूर्व र वर्तमान जनप्रतिनिधिहरू र निःस्वार्थ रूपले सेवाका भावना भएका हजारौँ स्थानीय जनताको योगदानको परिणाम आजको भक्तपुर हो । विगतमा स्थानीय निकायलाई अहिलेको जस्तो संवैधानिक र कानुनी अधिकार थिएन । त्यतिबेला हाम्रा अग्रज जनप्रतिनिधिहरूले स्वायत्तताको अभ्यास गरी देशको उदाहरणीय नगर बनाउनुभएको थियो । त्यसलाई हामी निरन्तरता दिंदै अझ अगाडि बढाउने कोशिश गर्दै छौँ । भक्तपुरको विकासका लागि प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने ती तमाम अग्रजहरूप्रति पनि उच्च सम्मान व्यक्त गर्दछौँ ।
शिशु स्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्म शिक्षाको बन्दोबस्त गर्ने, घरघरमा गएर स्वास्थ्य सेवादेखि वडा वडामा स्वास्थ्य केन्द्रको स्थापना र १०० शय्याको नगर अस्पताल सञ्चालन गरी जनतालाई स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने र मौलिक प्रविधि प्रयोग गरी फोहोरलाई कम्पोस्ट मल बनाएर आयको स्रोत बनाउने तथा मूर्त र अमूर्त सम्पदाहरू स्थानीय स्रोत र साधनहरूको प्रयोग गरी मौलिक शैलीमै निर्माण गर्ने भक्तपुर नगरपालिकाको छुट्टै पहिचान बनेको छ । पूर्ण स्वायत्तता र आत्मनिर्भरताको अभ्यास गर्ने, पारदर्शिता र भ्रष्टाचारमुक्त भक्तपुर नगरपालिकाको अर्को पहिचान हो ।
पार्टीहरू प्रतिबन्धित भएको निरङ्कुश पञ्चायती व्यवस्थाको समयमा समेत निर्वाचनलाई जनताको सेवामा उपयोग गर्ने नेपाल मजदुर किसान पार्टीको नीतिअनुसार नगर पञ्चायत निर्वाचनमा भाग लिएर हाम्रा अग्रजहरूले शिक्षा प्रचार, सफाइ अभियान सञ्चालन र नगर पञ्चायतका सबै आर्थिक गतिविधिहरू पारदर्शी गर्दै भक्तपुर नगर पञ्चायतले जनताबिच छुट्टै छवि कायम गर्न सफल भएको थियो । आजको मासिक ‘भक्तपुर’ त्यतिबेलाको पञ्चायत पत्रिकाको निरन्तरता हो ।
जनताको मौलिक र राजनीतिक अधिकारको माग र भ्रष्टाचारको विरोध गर्दै जनतामा राजनीतिक चेतना बढाउने कार्य गरेको कारण त्यतिबेला नेपाल मजदुर किसान पार्टी पञ्चहरूको तारो बन्यो । २०४५ साल भदौ ९ गते राज्यस्तरबाट षड्यन्त्र गरी भक्तपुर काण्ड रचियो । नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेँ (रोहित), रापस गोविन्द दुवाल, प्रधानपञ्च आशाकाजी बासुकलालगायत नगर पञ्चायतका अधिकांश जनप्रतिनिधि र नेमकिपाका नेता कार्यकर्ताहरूलाई ज्यान मुद्दा लगाई नगर पञ्चायत भङ्ग गरी मण्डलेहरूको हातमा सुम्पेको थियो । २०४६ सालको जनआन्दोलनबाट देशमा बहुदलीय व्यवस्था पुनःस्थापनापछिमात्रै नेमकिपाका नेता कार्यकर्ताहरू जेलबाट छुट्नुभयो । आजभन्दा ३८ वर्षअघि घटेको त्यो घटनालाई आज पनि हामीले बिर्सेका छैनौँ । फेरि पनि राज्यको तर्फबाट त्यस्ता षड्यन्त्र जालझेलहरू हुन सक्नेबारे नयाँ पुस्तालाई सचेत पार्न विभिन्न कार्यक्रमहरूका साथ भत्र्सना कार्यक्रमहरू भइरहेका छन् ।
२०५० सालमा पहिलोपटक भक्तपुर नगरपालिकाले विदेशीहरूसँग प्रवेश शुल्क लिने निर्णय गर्दा जनप्रतिनिधिहरूले तत्कालीन सरकारको ठुलो दबाब व्यहोर्नुप¥यो । भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण, शिक्षा र स्वास्थ्य तथा भौतिक पूर्वाधारहरू निर्माणमा खर्च गर्ने स्पष्ट उद्देश्यका साथ उठाउन सुरु गरेको प्रवेश शुल्क रोक्न अनेकौँ बाधा व्यवधानहरू खडा गरिएका थिए । जनप्रतिनिधिहरू अलिकति पनि विचलित नभई त्यसलाई निरन्तरता दिँदै जाँदा पर्यटन शुल्क आज भक्तपुर नपाको एउटा महत्वपूर्ण आर्थिक स्रोतमध्ये एक बनेको छ । त्यसले धेरै नगरपालिकालाई पनि आफ्नो क्षेत्रमा शुल्क लगाउने बाटो खोलिदियो । त्यसरी स्थानीय निकायको स्वायत्तताको पक्षमा आवाज उठाउँदा धेरै पत्रकार, लेखक र सम्पादक साथीहरूले नगरपालिकाको पक्षमा समाचार, लेख र सम्पादकीयहरू लेखेर सहयोग गर्नुभएको थियो । सङ्कटको बेला सहयोग गर्ने ती सबैलाई हामीले स्मरणमा राखेका छौँ ।
भक्तपुर नगरको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, पर्यटनजस्ता जनताका आधारभूत विषयहरूमा २०५६ सालबाट विकासमा फड्को मारेको पाउन सकिन्छ । जतिबेला नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘सय वर्षपछिको भक्तपुर’ लेख सार्वजनिक गर्नुभयो । २०५९ सालमा मात्र त्यो पुस्तकको रूपमा प्रकाशित भयो । बौद्धिक जगतदेखि सर्वसाधारण जनताको मनमस्तिष्कमा बस्न सफल त्यस लेख नै भक्तपुर नगरपालिकाको दीर्घकालीन विकासको आधार बन्यो । भक्तपुर नगरपालिकाले २०८२ चैतमा पुस्तकको तेस्रो संस्करण प्रकाशित गरेको छ । त्यही पुस्तकलाई आधार बनाइ नगरपालिकाले विकासको गतिलाई अगाडि बढाइरहेको छ र बढाइरहनेछ । २०५८ साल माघ २१ गते भक्तपुरका बुद्धिजीवीहरूबिच एक कार्यक्रममा भक्तपुरमा १५ वर्षभित्र एक घर एक स्नातक बनाउने अध्यक्ष बिजुक्छेँको घोषणाले भक्तपुरको शैक्षिक विकासले तिव्रता पायो ।
सय वर्षपछिको भक्तपुर लेख प्रकाशित भएकै वर्ष २०५६ सालमा ख्वप माविको जग हालियो । २०५८ सालमा ख्वप कलेज र ख्वप इ. कलेजहरूको स्थापना भयो । विकास क्रम जारी रहेकै बखत २०५९ साल साउनदेखि देशभरि स्थानीय निकायहरू जनप्रतिनिधिविहीन बनाइयो । देशभर अन्योल भइरहेको बेला अध्यक्ष बिजुक्छेँले तत्कालीन जनप्रतिनिधिहरूलाई एउटा निर्देशन दिनुभयो – अर्को निर्वाचितहरू नआएसम्म पहिलेकै जनप्रतिनिधिहरूले सेवामा निरन्तरता दिनुपर्ने । यसले अनेकौँ बाधा अड्चनबिच पनि भक्तपुरको विकासले निरन्तरता पाइरह्यो । २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ, त्यसपछि शारदा कलेज र मावि सञ्चालन भयो । अहिले २०७९ मा स्थापना भएको ख्वप कलेज अफ लसमेत गरी ७ वटा शैक्षिक संस्थाहरू सञ्चालनमा छन् । ती शैक्षिक संस्थाहरूमा देशभरका साढे सात हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । शिक्षाले सबै क्षेत्रमा परिवर्तन ल्याउँछ भन्ने भक्तपुर एक उदाहरण हो ।
‘सञ्चार माध्यममा भक्तपुर नपा’ र ‘सञ्चार माध्यममा भक्तपुर नपा २’ मा सङ्ग्रहित लेखहरूमा पनि अधिकांश लेखक, पत्रकारहरूले त्यस पुस्तकलाई सन्दर्भ सामग्रीको रूपमा लिएको पाउँदा ज्यादै खुसी लाग्यो ।
१५ वर्षसम्म देशभर स्थानीय निकायमा जनप्रतिनिधिविहीन हुँदा भक्तपुरको विकास ३०–४० वर्ष पछि प¥यो । २०७४ साल र २०७९ को निर्वाचनपछि भक्तपुरको विकासलाई अगाडि बढाउने प्रयास गर्दै छौँ । दोस्रो कार्यकालको पनि हामी अन्तिम वर्षमा छौँ । हाम्रो कार्यकाल करिब नौ महिनामात्र बाँकी छ । हामीले कार्यकालको अन्तिम दिनसम्म पनि जनताको सेवा गर्न छोड्नेछैनौँ ।
भक्तपुरलाई पत्रकार भवानी बरालले आफ्नो लेखमा भेटिकन सिटीसँग तुलना गर्नुभएको छ । उहाँ गोरखापत्रमा लेख्नुहुन्छ – ‘भ्रष्ट अनियमितताका अनुयायी, लाचार सिद्धान्तच्युत दल, तिनका प्रतिनिधिलाई भविष्यको भेटिकन भक्तपुरको बाटो नजाने गाउँ नै हो ।’ भक्तपुरलाई बाहिरी विश्वमा चिनाउने अभियन्ताको रुपमा परिचित जर्मनी वास्तुकलाविद् निल गोत्सेले संसारकै ठुलो जीवित सङ्ग्रहालयको उपमा दिनुभएको छ । उहाँ भन्नुहुन्छ – ‘यो भक्तपुरमा बाटोमै माटोको काम हुन्छ, यही गल्लीमा ढुङ्गा काट्ने काम भइरहेको हुन्छ, काठ वा कलाका अरु काम बाटैमा भइरहेका हुन्छन् । बिस्केट जात्रा भन्नुस् या नवदुर्गा पूजा, भक्तपुरभन्दा ठुलो लात् म्युजियम अर्को के हुन सक्ला ?’ अर्का पत्रकार उपेन्द्र लामिछानेले ‘नागरिक दैनिक’मा प्रकाशित लेखमा भक्तपुरलाई फूलसँग तुलना गर्नुभएको छ – ‘उपदेशक बन्नु त फूलजस्तै । जसले केही बोल्दैन तर उसलाई हेरेर सबैले सिक्छन् ।’
यस्ता थुपै्र उपमाहरू भक्तपुरलाई दिइएको छ । ती दुवै पुस्तक हाम्रा लागि एक ऐनासरह छन् । हामीले गरेका कामको स्वतन्त्र पत्रकार, लेखक, सम्पादकहरूले कसरी मूल्याङ्कन गर्नुभएको छ भन्ने बुझ्न सजिलो भएको छ । यसमा हामीले थप सुधारका लागि गर्नुपर्ने सुझाव र कमी कमजोरीहरूको आलोचनात्मक टिप्पणी पनि छन् । त्यसले यहाँका कर्मशील जनता र सही नेतृत्वको उचित मूल्याङ्कन गरेको जस्तो लाग्छ । पत्रकार, लेखक र साहित्यकारहरूको लेखहरूले हामीलाई जनताको सेवा गर्ने भावनामा हौसला र ऊर्जा प्रदान गरेको छ ।
अन्त्यमा, सबै लेखक, पत्रकार, सम्पादकहरूप्रति पुनः हामी हार्दिक आभार प्रकट गर्दछौँ । आगामी दिनमा पनि भक्तपुर नगरपालिकाको कामलाई रचनात्मक सल्लाह र सुझावहरूका साथ लेख र समाचारहरू लेखेर प्रचार प्रसार गर्नुहुने अपेक्षा गर्दछौँ ।
(२०८३ भदौ ७ गते भक्तपुर नगरपालिकाको आयोजनामा ‘सञ्चार माध्यममा भक्तपुर नपा’ र ‘सञ्चार माध्यममा भक्तपुर नपा २’ पुस्तकको परिचर्चा तथा लेखक, पत्रकार र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)
Leave a Reply