‘युक्रेनमा नवनाजीवाद : रुसविरुद्ध अमेरिकी छद्म युद्ध’ पुस्तकबारे एक चर्चा
- भाद्र १, २०८३
समय आजभन्दा ३८ वर्ष अगाडिको हो । तत्कालीन निरङ्कुश पञ्चायती राज्यसत्ताले नेपाल मजदुर किसान पार्टीको तेजोबध गर्न एउटा राजनीतिक षड्यन्त्र रचेको थियो । नेपालको राजनीतिक इतिहासमा त्यो घटनालाई ‘भक्तपुर काण्ड’को रूपमा स्मरण गरिन्छ । २०४५ भदौ ९ को त्यो घटनालाई कालो दिनको रूपमा भत्र्सना गरिन्छ ।
‘भक्तपुर काण्ड’ नेपालको राजनीतिक इतिहासमा कामदार जनतामाथि राज्यसत्ताको दमन, अत्याचार, क्रुरता निरङ्कुशताको इतिहास हो । भक्तपुर काण्ड नेमकिपाको राजनीतिक विचार, वर्गीय आन्दोलन र जनसेवाको राजनीति दबाउन पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र थियो । प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर देश र जनताको निःस्वार्थ सेवा गर्ने र चुनावको उपयोग गर्ने नेमकिपाको नीति र सिद्धान्तविरुद्ध निर्मम प्रहार थियो ‘भक्तपुर काण्ड’ । नेमकिपाले २०१९ सालदेखि नै राजनीतिक, शैक्षिक, सांस्कृतिक गतिविधि सघन बनाइसकेको थियो । विशेषतः भक्तपुरमा नेपाल मजदुर किसान सङ्गठनको जनताकेन्द्रित गतिविधि पञ्चहरूलाई मन परेको थिएन । नेमकिपा भने जनतामाझ दिनप्रतिदिन लोकप्रिय बन्दै थियो । भक्तपुरको हकमा त्यो लोकप्रियता निर्वाचनको मतमा बदलिँदै गयो । नेमकिपाका जनप्रतिनिधिहरू निर्वाचित हुँदै थिए । भक्तपुरमा बहुदलवादीहरू जित्दै थिए । पञ्चायती व्यवस्थाभित्र गई व्यवस्थाविरुद्ध लडेर जनताको सेवा गर्ने नेमकिपाको आन्दोलन सशक्त बन्दै थियो । २०४५ सालको पृष्ठभूमि हेर्ने हो भने भक्तपुरमा पञ्चायतइतर अर्थात् फरक राजनीतिक विचारको जग बनिसकेको थियो । देशैभरि पञ्च, राजावादीहरूले चुनाव जितेको बेलामा भक्तपुरमा सत प्रतिशत बहुदलवादीहरू जितेका थिए । यो राजनीतिक परिवर्तनका लागि नेमकिपाले थालेको किसान आन्दोलन, मोहियानी हक सुरक्षण आन्दोलन, भर्पाई आन्दोलनसँगै सफाइ आन्दोलनको योगदान ठुलो छ । ती आन्दोलनहरूले जनतामा निकै सकारात्मक छाप छोेड्यो । वास्तवमा ती आन्दोलनहरूले जनताको आर्थिक जनजीविकामै महत्वपूर्ण परिवर्तन ल्यायो । नेमकिपाले थालेको शैक्षिक आन्दोलन अर्को महत्वपूर्ण पाइला थियो । २०१९ सालअघिबाटै नेमकिपाले स्कूल जीवन नपाएका किसानलाई साक्षरता कक्षा सुरु गरिसकेको थियो भने २०२०–२१ तिरबाट महिलाहरूलाई प्रौढकक्षा र साक्षरता कक्षा थालेको थियो । स्थानीय निकायमा नेमकिपाका जनप्रतिनिधिहरू निर्वाचित भइसकेपछि परीक्षाहरू चिट चोर्ने विकृति रोक्यो, निमावि तहसम्मको विद्यालय शिक्षा निःशुल्क ग¥यो । त्यतिमात्र होइन विद्यालय र कलेज सञ्चालनको आधार तयार गर्यो । पञ्चायती राज्यसत्ता एवम् शासकहरूलाई त्यो स्वीकार्य थिएन । त्योभन्दा बढी पञ्चायती शासकलाई नेमकिपाको कम्युनिस्ट विचार सह्य थिएन । राजा, राणा र पञ्चहरूको दमनको त्यो व्यवस्थाविरुद्ध कम्युनिस्टहरूको गतिविधि तिनका लागि ठुलो टाउको दुखाइ बनेको थियो । त्यसकारण, नेमकिपाको कम्युनिस्ट विचार र सिद्धान्तनिष्ठ राजनीति दबाउने दाउ खोज्दै थिए पञ्चहरू । यतिकैमा २०४५ सालमा प्राकृतिक भूकम्प भयो । त्यसैलाई राजनीतिक भूकम्पमा बदल्ने षड्यन्त्र पञ्चहरूले गरे । नेमकिपाले कारबाही गरिसकेका एक कुपात्रलाई बलिको बोका बनाई नेमकिपाको समूल नष्ट गर्ने कुत्सित प्रयत्न गरे ।
‘भक्तपुर काण्ड’ जस्तो घटना विश्व राजनीतिमा के पहिलो थियो ? विश्व राजनीतिको इतिहास पल्टाउने हो भने सदैव सत्य र राम्रो काम गर्ने, जनपक्षीय काम गर्नेहरूमाथि खराब पक्ष अर्थात् शासकहरूले आक्रमण, षड्यन्त्र र अत्याचार गरेको भेटिन्छ । कम्युनिस्ट आन्दोलनको कुरा गर्ने हो भने त झन् प्रतिक्रियावादी तत्वहरू हरदम कम्युनिस्ट आन्दोलन कमजोर पार्न र दबाउन षड्यन्त्र गरिरहेका हुन्छन् । समाजवादी क्रान्ति सफल भइसकेका देशहरूमा समेत पुँजीवादको पुनः स्थापनाका निम्ति भएका षड्यन्त्रहरू पेरिसकम्युन र सोभियत रुसको इतिहासबाट थाहा हुन्छ । कम्युनिस्ट आन्दोलन दबाउन साम्राज्यवादी शक्तिहरू कति उद्यत्त हुन्छन् भन्ने बुझ्न ल्याटिन अमेरिका, अफ्रिकाको इतिहास र वर्तमानतिर दृष्टि लगाए पुग्छ । कम्युनिस्टहरूलाई समाप्त पार्न जर्मनीमा भएको एउटा घटना भने ‘भक्तपुर काण्ड’सँग मिल्दोजुल्दो छ ।
आजभन्दा ९ दशकअघि हिटलर नाजीहरूले जर्मनीका कम्युनिस्टविरुद्ध रचेको त्यो षडयन्त्रको नाम हो, राइखस्टाग आगलागी मुद्दा । सन् १९३० मा विश्वले एउटा ठुलो आर्थिक मन्दी अर्थात् ग्रेट डिप्रेसनको सामना गर्नुपर्यो । जर्मनी त्यो आर्थिक सङ्कटमा नराम्ररी कमजोर बन्यो । कठिन र कठोर आर्थिक निर्णयहरूले पनि त्यहाँको सरकार जोगाउन सकिएन र नाजीहरूले त्यसको फाइदा उठाए । त्यसपछि सन् १९३३ जनवरी ३० मा नाजी हिटलर चान्सलरको रूपमा नियुक्त भए । सन् १९२० को संसदीय चुनावमा करिब ६ प्रतिशत मात्र मत ल्याएका नाजीहरूले १९३२ सम्ममा एकतिहाइ मत ल्याए । तर, नाजीहरूको उदयले जनता खुसी थिएनन् । हिटलरको धार्मिक साम्प्रदायिकता र कट्टर राष्ट्रवादी व्यवहारले जनता आक्रान्त थिए । हिटलर नाजीले धमाधम यहुदी, समाजवादी, ट्रेडयुनियनवादीहरू लखेट्न थाले । ‘हाम्रो रगत भनेको आर्य रगत हो जहाँ जहाँ आर्य रगत छ त्यहाँ हामी हुन्छौँ । आर्य रगत पवित्र रगत हो’ भन्ने फासीवादी विचार प्रचार गरियो । जसरी नेपालमा पञ्चहरूले ‘सबै पञ्च नेपाली सबै नेपाली पञ्च’ भन्ने नारा लगाउँथे । यहाँ पञ्चहरूको बर्बरता र जर्मनीमा फासीवादी हिटलर नाजीहरूको बर्बरता उस्तै उस्तै थियो । यहाँ पञ्चायती व्यवस्थाविरुद्ध नेमकिपाले सङ्घर्ष थालेजस्तै जर्मनीमा हिटलरको ज्यादतीविरुद्ध कम्युनिस्टहरू उठ्न थाले । कम्युनिस्टहरूले आप्mनो शक्ति विस्तारमा जोडतोड मेहेनत गरे । हिटलर भने कम्युनिस्टविरुद्ध जालसाजीमात्रै गर्दै थिएनन् बरु संसद््बाटै कानुन र अध्यादेश जारी गर्दै थिए । यद्यपि, निर्वाचनमा कम्युनिस्टहरूको लोकप्रियता देखियो । संसदीय चुनावमा ८१ कम्युनिस्ट नेताहरू निर्वाचित भए । कम्युनिस्टहरूको त्यो जीत नाजीहरूको निम्ति ठुलो चुनौती थियो । यसै परिवेशमा सन् १९३३ फब्रुअरी ७ को राति ९ः३० बजे संसद् भवनमा आगलागी भयो । त्यसको दोष कम्युनिस्टहरूमाथि थोपियो । आरोपको पुष्टिविना तत्कालै निर्वाचित सांसदहरू बर्खास्त गरियो । संसद्मा नाजीहरूले बहुमत देखाए ।
वास्तवमा नाजीहरू कम्युनिस्ट नेता रोजा लक्जेम्वर्ग र कार्ल लिब्नेख्तको हत्यापछि उदाएका हुन् । आक्रमण र नरसंहारको युद्धतिर जर्मनीलाई धकेल्नका लागि नाजीहरू सुरुदेखि उद्यत थिए । आप्mनो प्रभुत्व बलियो बनाउन तिनले समाजवादी र कम्युनिस्टहरू सिध्याउनतिर ध्यान केन्द्रित गरे । त्यतिबेला जर्मनीमा नाजीतर्फका संसदीय दलका नेता गोयरिङलाई प्रसिया राज्यको आन्तरिक मामिला मन्त्री बनाउनु पनि नाजीहरूको षड्यन्त्र थियो । प्रसियाली प्रहरी आप्mनो लगाममा ल्याउने चाल थियो ।
देशभित्र नाजीहरूको आतङ्क सुरु भइसकेको थियो । राज्यसत्ताको एउटा अङ्ग प्रहरी मोर्चा सम्हाल्ने गोयरिङ यसो भन्थे – “प्रहरीको बन्दुकको नालबाट निस्केको प्रत्येक गोली मेरो गोली हो । यदि त्यसलाई हत्या भनिन्छ भने म हत्यारा हुँ । मलाई दुई थरी कानुन थाहा छ किनभने यहाँ दुईथरी नै मानिस छन् । एकथरी हाम्रा समर्थक र अर्कोथरी हाम्रा विरोधी” । यो अभिव्यक्तिले नाजी शासन नाजीविरोधीप्रति कति क्रुर र निर्मम थियो भन्ने अनुमान गर्न सकिन्छ । हजारौँ लाखौँ सङ्ख्यामा युवाहरूलाई नाजी युवा सङ्गठन ‘आँधीबेहरी दस्ता’ मा संलग्न गराईँदै थियो । कम्युनिस्टहरूविरुद्ध त्यो युवा दस्ताको प्रयोग गरियो । नाजी सरकारले राइखस्टाग आगलागीको दोषारोपण गरी कम्युनिस्टहरूमाथि चारैतिर धरपकड गर्न थालेको थियो । निकै पहिले नै तयार गरिएको सूचीबमोजिम कम्युनिस्ट नेताहरू, सांसद, थुप्रै सामाजिक प्रजातन्त्रवादी नेताहरू वामपन्थी बुद्धिजीवीहरू र मजदुर नेताहरू पक्राउ गरिए । आगलागीको पहिलो रात नै ४०० भन्दा बढीलाई पक्राउ गरी ‘आँँधीबेहरी दस्ता’ को व्यारेकमा लगेर यातना दिइएको थियो । त्यतिमात्र होइन संसदीय भवनको आगलागी जर्मनीभरि विद्रोह र आतङ्कवादी क्रियाकलापको सुरुआत भन्दै नाजी गोयरिङले भाषण दिएका थिए र कम्युनिस्टविरुद्ध ‘राज्यविरुद्धको कम्युनिस्ट हिंसाबाट राज्य र जनताको सुरक्षा अध्यादेश’ जारी गरेका थिए ।

जर्मनीमा जस्तै यता पनि ह्योजुको हत्यापछि छापामार शैलीमा नेमकिपाका नेता, कार्यकर्तााको घरघरमा धरपकड सुरु गरेका थिए । कुनै खोज र अनुसन्धानबिना नेमकिपालाई आरोप लगाई देशको प्रधानमन्त्री मरीचमान सिंहसहित सम्पूर्ण व्यवस्थापिका र कार्यपालिका सडकमा ओर्लेर व्यक्तिको नामै किटेर ‘हत्यारालाई फाँसी दे’ को नारा लगाइएको थियो । पञ्चहरूले सुनियोजित ढङ्गले सम्पूर्ण नेता कार्यकर्ताको घरमा एकैचोटि धरपकड गरेका थिए । देशैभरि जहाँजहाँ नेमकिपाको सङ्गठन छ त्यहाँ प्रहरीले निर्ममतापूर्वक नेमकिपाका नेता कार्यकर्तालाई दुःख दिए । ६७ जना नेता र कार्यकर्ताविरुद्ध ज्यानमुद्दासमेत चलाइयो । सयौँ नेता कार्यकर्ता भूमिगत भए । केही नेताहरूले झूटा आरोपविरुद्ध प्रवासबाट सङ्घर्ष गरे ।
वास्तवमा भूकम्पपछि राहत वितरणको लागि गैरसहकारी संस्था पठाउनु र त्यसकोे नेतृत्व हिजो नेमकिपाबाट प्रधानपञ्च बनिसकेका तर जनतालाई धोखा दिइसकेका ह्योजूलाई पठाउनु शङ्कास्पद थियो । ह्योजु अवसरवादी र पैसाको लोभी थिए, धाँधली गरी धनी बन्ने स्वार्थ ऊसँग थियो । त्यसकारण, उनले भूकम्प पीडितलाई राहत नदिई पक्षपात गर्यो । जनता आक्रोशित भए । त्यो आक्रोसित भिडमा ह्योजुलाई सुम्पने पञ्चायती प्रहरी नै थियो । नेमकिपाका नेता कार्यकर्ताले ह्योजुलाई सुरक्षा दिइरहँदा प्रहरी मूकदर्शक बन्यो । नेमकिपाका जनप्रतिनिधिहरू प्रहरी चौकीमा ह्योजुको सुरक्षाका लागि आग्रह गर्न जाँदा फोर्स पुग्दैन भनी फर्काउनु पनि षड्यन्त्र थियो । ह्योजुलाई अस्पताल त पु¥याइयो तर औषधिउपचार र खानपिन गराइएन । त्यसकारण, उनको मृत्यु भएको तथ्य पछि बाहिरियो । त्यो पञ्च शासकहरूको चाल थियो भन्ने प्रमाण खुल्दै गयो । नेमकिपाले झूटो आरोपविरुद्ध राजनीतिसँगै कानुनी सङ्घर्ष गर्यो ।
जर्मनीको संसद् भवन आगलागीको अभियोग लगाइएका मुख्य अभियुक्त डच अराजकतावादी मारिनस भानडेर लुब थिए जो घटनास्थल मै अर्धनग्न अवस्थामा भेटिएका थिए । उनीसँगै अन्य चार जनालाई अभियोग लगाइएको थियो । ती सबै भने कम्युनिस्टहरू थिए । तर, ती चारै जना आगलागीको समयमा घटना स्थलमा थिएनन् । यता पञ्चहरूले पार्टी अध्यक्षले घरको झ्याल, चोकबाट ‘ह्योजुलाई मार मार’ भनेको दाबी गरेका थिए तर वास्तवमा अध्यक्ष टाइफाइड ज्वरोका कारण कोठामै हुनुहुन्थ्यो । कोठा मूल सडकभन्दा भित्र थियो । यसले पनि पञ्चहरूको झूट प्रस्टिन्थ्यो ।
‘भक्तपुर काण्ड’ मा पञ्चहरूले गरेको धाँधलीपूर्ण एकतर्फी सरजमिनजस्तै जर्मनी प्रहरी र आयोगहरूको छानबिन पनि एकतर्फी देखियो । सत्यतथ्य छानबिन हुँदा आगलागीमा नाजीहरूकै षड्यन्त्र पुष्टि हुँदै गयो । अध्ययनले भन्यो भानडेर लुब एक्लैले त्यति ठुलो संसद् भवन आगलागी गर्न नसक्ने सत्य पुष्टि भयो । संसद् भवन बाहिरका सबै ढोकाहरू बन्द अवस्थामा हुँदा संसद्भित्र भान डेर लुब कसरी प्रवेश गरे ? भन्ने शङ्का उब्जियो । नाजी मन्त्री गोयरिङको कक्षबाट संसद्् भवन जाने गोप्य मार्ग थियो । त्यहीबाट प्रवेश गरेको प्रमाण बलियो बन्यो । आगलागीमा प्रज्वलनशील पदार्थसहित १० नाजी युवा दस्ताको प्रयोग भएको देखियो । आगलागी आरोपमा परेका कम्युनिस्ट नेताहरू डिमिट्रोभ, पोपोभ र टातेमसँग घटनाको समयमा आफू घटनास्थलमा नभएको पक्का प्रमाण थियो ।
भान डोर लुबलाई कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित देखाउने राज्यको प्रयास फितलो थियो । लुबसँग राष्ट्रिय समाजवादी पार्टी (नाजी) को परिचयपत्र थियो । कुनै बेला कम्युनिस्ट आन्दोलनमा हिँडेको बताउने लुबलाई नाजीहरूले कम्युनिस्ट सिध्याउने हतियार बनाउन खोजेको पुष्टि भयो जसरी कर्णप्रसाद ह्योजु पञ्चहरूका निम्ति एउटा हतियार बनेको थियो ।
भान डेर लुबबाहेकका चार आरोपीहरू कम्युनिस्ट थिए तर आरोप पुष्टि गर्ने कुनै प्रमाण भेटिएन । सरकारी वकिलहरू नलिई डिमिट्रोमहरू आपैmले आप्mनो पक्षमा वकालत गरे । तिनको भावना र नेमकिपाका नेता कार्यकर्ताहरूले गरेको बहस पैरवीबिच समानता अनुभव हुन्छ । नेमकिपाका नेता कार्यकर्ताहरू जस्तै डिमिट्रोभहरू पनि कत्ति पनि विचलित नभई आप्mनो अडानमा बसे । नाजीतिर फर्केर अदालतमा बहसको क्रममा उनले बोलेका थिए – “कम्युनिस्ट पार्टीविरुद्ध लड्ने तिमीहरूको अधिकारजस्तै तिमीहरूको सरकारविरुद्ध भूमिगत भएर लड्ने अधिकार जर्मन कम्युनिस्ट पार्टीलाई छ ।” उनले आफू कम्युनिस्ट हुँ भन्ने जिकिर धेरै पटक गरे तर कम्युनिस्ट भएकै कारण आफू दोषी नभएको तर्क राखे ।
आगलागीमा नाजीहरूको हात रहेको थुप्रै प्रमाणहरू भएको ‘खैरो किताब’ ले पनि गोयरिङ र गोयबल्सले नै आगलागी गराएको दाबी गरेको छ । राइखस्टाग आगलागीको विषयमा अलेक्ज्यान्डर बआर र विल्फ्रेड कुगेलको पुस्तक ‘इतिहास कसरी बनाइन्छ’ ले निर्णायक सत्य बताउँछ । ती विद्वानहरूले आगलागीमा नाजी संलग्नता मात्र होइन नाजीको पक्षमा न्यायालयको भूमिकासमेतलाई उजिल्याएको छ । नाजी सरकारले आप्mनो सत्ता जोगाउनकै निम्ति आगलागीमा भान डेर लुबको दोष पुष्टि गरी जेलमा हाल्यो र टाउको काटेर ज्यान सजाय दियो । यसरी राइखस्टाग आगलागी मुद्दाका धेरै तथ्य र घटनाहरूसँग ‘भक्तपुर काण्ड’को समानता अध्ययन गर्न सकिन्छ ।
२०६७ फागुनमा प्रकाशित पुस्तक ‘राइखस्टाग आगलागी मुद्दा’ ले जर्मनीको इतिहासको एउटा कालखण्ड अवगत गराउनुका साथै ‘भक्तपुर काण्ड’ को तुलनात्मक अध्ययनमा सघाउँछ । त्यतिमात्र होइन विश्वको कुनै पनि भूगोलमा कम्युनिस्ट अर्थात् जनताका सेवकहरूविरुद्ध राज्यसत्ताबाट षड्यन्त्र हुनसक्छ भन्नेमा सचेत गराउँछ । आजको विश्वमा पुँजीवादी र साम्राज्यवादी तत्वहरूले कम्युनिस्टविरुद्ध गरिरहेको हमला र षड्यन्त्रको सूक्ष्म अध्ययनमा पुस्तकले सघाउँछ । यस पुस्तकमा सङ्ग्रहित अन्तर्राष्ट्रवादी नेता जर्जी डिमिट्रोभको सङ्क्षिप्त जीवन चर्चा निकै पठनीय छ । राइखस्टाग आगलागी मुद्दाबारे सत्य तथ्य जानकारी दिने यस पुस्तकका लेखक र अुनवादकप्रति आभार छ । पठनीय एवम् सङ्ग्रहनीय पुस्तकका लागि प्रकाशकप्रति साधुवाद छ ।
Leave a Reply