होर्मुज जलडमरू मध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी
- भाद्र २२, २०८३
प्योङयाङ, ७ सेप्टेम्बर (केसिएनए/एपी) । अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु गरेकै दिन प्रजग कोरियाले दोस्रो अत्याधुनिक नौसैनिक विध्वंसक युद्धपोत सेवामा प्रवेश गराउँदै आणविक प्रतिरोध क्षमता थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रजग कोरियाली नेता किम जोङ उनले आइतबार पूर्वी बन्दरगाह सहर बोनसनमा आयोजित समारोहमा ‘काङ कोन’ नामक विध्वंसक युद्धपोतलाई नौसेनामा समावेश गर्नुभएको राज्य सञ्चारमाध्यमले जनाएको छ । समारोहमा उहाँकी किशोरी छोरी पनि सहभागी हुनुभएको थियो । उहाँकी छोरीलाई दक्षिण कोरियाली जासुसी सेवाले सम्भावित उत्तराधिकारीका रूपमा हेर्दै आएको छ ।
समारोहमा किमले आणविक हतियारसहितका युद्धपोतले प्रजग कोरियाको आणविक प्रतिरोधलाई अझ विविध र व्यावहारिक बनाउने बताउँदै समुद्री रक्षा तथा युद्ध प्रतिरोधका लागि शक्तिशाली र भरपर्दो आणविक क्षमता निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । “शत्रुहरूको चिन्ता निश्चित रूपमा गहिरो हुनेछ,” उहाँले भन्नुभयो ।
गत जूनमा सेवामा प्रवेश गरेको ‘चो ह्योन’ र नयाँ ‘काङ कोन’ दुवै करिब पाँच हजार टनका विध्वंसक हुन् । प्रजग कोरियाका अनुसार दुवै आणविक क्षमता भएका क्षेप्यास्त्रले सुसज्जित छन् ।
यसैबिच अमेरिका, दक्षिण कोरिया र जापानले दक्षिण कोरियाको जेजु टापुनजिक पाँचदिने ‘फ्रिडम एज’ सैन्य अभ्यास सुरु गरेका छन् । दक्षिण कोरियाले अभ्यास रक्षात्मक रहेको र प्रजग कोरियाको आणविक खतराविरुद्ध संयुक्त प्रतिक्रिया क्षमता बढाउनु यसको उद्देश्य भएको जनाएको छ ।
प्रजग कोरियाले उक्त अभ्यासलाई अमेरिकाको शत्रुतापूर्ण नीतिको निरन्तरता भन्दै आलोचना गरेको छ । यसअघि अमेरिका र दक्षिण कोरियाले वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास निर्धारित समत्न्दा छ दिनअघि समाप्त गरेका थिए ।
तर, नेता किमकी बहिनी तथा वरिष्ठ अधिकारी किम यो जोङले अभ्यास छोट्याउँदैमा यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ नबदलिने बताउनुभएको थियो । त्यसपछि प्रजग कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।
किमले अमेरिकाले आफ्नो ‘शत्रुतापूर्ण नीति’ त्यागेर प्रजग कोरियाको आणविक राष्ट्रको हैसियतलाई सम्मान गरे वार्तामा फर्कन सक्ने बताउँदै आउनुभएको छ । सन् २०१९ मा सीमित आणविक निःशस्त्रीकरणका बदलामा आर्थिक लाभ दिने विषयमा सहमति नहुँदा दुई देशबिचको कूटनीति विफल भएको थियो । अहिले प्रजग कोरियाको विकसित आणविक कार्यक्रम तथा रुस र चीनसँगको बढ्दो सम्बन्धले किमलाई वार्तामा थप लाभको अवस्थामा पु¥याएको विज्ञहरूको भनाइ छ ।
Leave a Reply