भर्खरै :

छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सुरु साहित्य, संस्कृति र स्वास्थ्य क्षेत्रका विशिष्ट तीन व्यक्तित्वको सम्मान

छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सुरु साहित्य, संस्कृति र स्वास्थ्य क्षेत्रका विशिष्ट तीन व्यक्तित्वको सम्मान

भक्तपुर, ६ कार्तिक । ‘जनता म्वासा भाषा म्वाई’ भन्ने उद्घोषका साथ सुरु भएको नेपालभाषा साहित्य तःमुंज्याको छयालीसौँ संस्करण शुक्रबार स्थानीय गोल्मढी याता टोलमा सांस्कृतिक गुरु एवं टोलकै ज्येष्ठ नागरिक सन्तानब्बे वर्षीय मोतीबहादुर खायमलीबाट पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन भयो ।
स्थानीय गणेश बाँसुरी खलःको मङ्गल धुनको पृष्ठमा उद्घाटित उक्त तःमुंज्या एवं सांस्कृतिक ब्वज्यामा एकसय एक वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले हरिबहादुर श्रेष्ठद्वारा रचित ‘नयाँ पुस्ता’ कथा सङ्ग्रह विमोचन गर्नुभयो भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले तःमुंज्याको मुखपत्र ‘तःमुंज्या’ विमोचन गर्नुभएको थियो ।
डेन्टल सर्जिकल डाक्टर त कंसाकारको सभापतित्वमा भएको उक्त तःमुंज्यामा साहित्य, संस्कृति र स्वास्थ्यको क्षेत्रमा विशेष योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरू क्रमशः युवा कवि दामोदार सुवाल, शास्त्रीय नृत्यका ज्ञाता विना जोशी राजभण्डारी, नर्सिङ क्षेत्रकी दयालक्ष्मी जोशी वैद्यलाई विशेष सम्मान गरिएको थियो ।
नेमकिपाका अध्यक्ष बिजुक्छेँले उहाँहरूलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्रबाट सम्मान गर्नुभएको थियो ।
सम्मान ग्रहण गर्दै कवि दामोदर सुवालले युवा साहित्य गोष्ठी र तःमुंज्या दबुबाटै आफूभित्रको कवित्व हुर्केको बताउँदै सम्मानले कविता लेख्ने थप ऊर्जा मिलेको बताउनुभयो ।
अर्की सम्मानित व्यक्तित्व विना जोशीले हालै मदन पुरस्कार २०८३ जितेको कृतिको परिचय दिँदै पुस्तकमा सकेसम्म नेवार समुदायको मुकुण्डो नाच समेट्ने प्रयास गरेको बताउनुभयो ।
सम्मानित अर्की व्यक्तित्व दयालक्ष्मी वैद्यले आफू स्वास्थ्यकर्मी भएको नाताले चाडबाड भोजभटेरमा विशेष ध्यान दिन आग्रह गर्दै एउटा अनुसन्धानले नेवारहरूमा ब्लडप्रेसर बढी देखाएको हुँदा परिकारमा नुन कम गर्न र अनेक नामका इनर्जी ड्रिङ्क सेवन नगर्न सुझाव दिनुभयो ।
सुर्तीजन्य पदार्थविरुद्ध निरन्तर लागेर अन्ततः त्यसको नियन्त्रण गर्न एउटा नीति बनाउन सफल भएको चर्चा गर्दै उहाँले किसानहरूले खेतमा सकेसम्म कीटनाशक औषधी प्रयोग नगर्न आग्रह गर्दै बजारबाट किनेका फलफुल तरकारी नुनपानीमा आधा घण्टा दुबाई पखाली मात्र खान सुझाव दिनुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले खानपिनमा विशेष ध्यान दिन सुझाव दिँदै न्याय क्षेत्रमा नयाँ पुस्ताको खाँचो औँल्याउनुभयो ।
विवेकी न्यायकर्मीले समाज बचाउँछ भन्दै उहाँले युवाले जहिले पनि न्यायको पक्ष लिनुपर्छ भन्नुभयो ।
नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभवबाट सिक्नुपर्ने बताउँदै न्यायको घर सबैले स्वच्छ राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
ज्येष्ठ नागरिकहरूको एउटा कोलोनी नै हुनुपर्छ भन्ने आफ्नो मान्यता भक्तपुरमा ‘आदर निकेतन’ बनाई पूरा गरेकोमा खुशी व्यक्त गर्दै उहाँले ज्येष्ठ नागरिकलाई आरामभन्दा सक्दो व्यस्त बनाउनुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले तःमुंज्याले यहाँको कला, साहित्य र संस्कृति संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउँदै आफ्नो प्रमुख पदको ४ वर्ष ५ महिनाको कार्य अवधिमा १८५ वटा सम्पदाहरूको निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो ।
व्यक्ति विशेषको हातमा रहेको भक्तपुर क्यान्सर अस्पताल सरकारीकरण गर्नु, रानी पोखरी पुनःनिर्माण गर्नुलगायतका उदाहरण दिँदै आफ्नै कार्यावधिमा थन्थु दरबारको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।
देको मिवा इटापाको आवास योजना पनि हालै सरकारबाट जारी अध्यादेशले सहज बनाइदिएको हुँदा अब गुठी जग्गाको समस्या पनि समाधान हुने आशा व्यक्त गर्दै गुठी जग्गाका किसानहरूलाई समस्या समाधानका लागि तदारुकता दिन आग्रह गर्दै उहाँले शिक्षा–स्वास्थ्य क्षेत्रमा भएका सफलताका दृष्टान्तहरू सुनाउनुभयो ।
सोही पार्टीका अर्का केन्द्रीय सदस्य नन्दबहादुर शाहीले कर्णाली क्षेत्रमा अझै पनि शिक्षा, स्वास्थ्य, यातायातलगायत हरक्षेत्रमा पिछडिएको चर्चा गर्दै आफ्नो घरमा आगो लगाई खरानीको व्यापार गर्ने शासकहरूको ध्यान दुर्गम क्षेत्रमा नगएकोमा आक्रोश पोख्नुभयो ।
प्रा.डा. सिद्धिवीर कर्माचार्यले विगत चार वर्षदेखि तःमुंज्यामा आफूले समाजमा चलेका उखान टुक्काहरू सङ्कलन गरी बुझाउँदै आएको जानकारी दिँदै ती उखानहरूको मर्म र भावनामात्र मनन गर्न सके पनि समाज धेरै सुध्रिने बताउनुभयो ।
उहाँले तडक भडक हैन बरु ‘बी सिम्पल बी साम्पल’ हुनु जरुरी छ भन्नुभयो ।
सीमा एवं जलस्रोत अध्येता रतन भण्डारीले गत वर्षको भदौ २३–२४ को घटनामा नेपाली सेना इतिहासका मिर जाफरजस्तो भएकाले नै देशव्यापी आगजनी भएको उल्लेख गर्दै वर्तमान सरकार लफङ्गातन्त्रमा चलेको बताउनुभयो ।
सरकार प्रमुखले नै नेपालले भारतको भूमि मिचेकोजस्ता देशघाती अभिव्यक्ति दिएको चर्चा गर्दै सुगौली सन्धिदेखि नै नेपाल ठगिँदै आएको र त्यसैको सिलसिलामा प्रमको उक्त अभिव्यक्ति आएको दावी गर्नुभयो ।
देशका अर्थमन्त्रीले सार्वजनिक रुपमै भारतीय प्रभुत्व स्वीकार्नुपर्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै इतिहासमा गजराज मिश्र र चन्द्रशेखर उपाध्यायहरू देशघाती सन्धिमा हस्ताक्षर गरी भारतमा अकुत सम्पत्ति जोडेको उदाहरण दिनुभयो ।
उहाँले भन्नुभयो, “महाकाली सन्धिदेखि फुकोटसम्म नै देशका सबै नदी नाला भारतको कब्जामा पारिँदै छ† देशघातको श्रृङ्खला जारी छ । अब जनता सचेत नभई हुँदैन ।”
त्रिविका सहप्राध्यापक डा. तारालाल श्रेष्ठले आफूले सल्वार्टन विषयमा विद्यावारिधि गरे पनि यथार्थमा दमितहरुको आवाजलाई सशक्त रूपमा भक्तपुरले उठाइरहेको पाउँदा आफ्नो अध्ययन सार्थक भएको बताउनुभयो ।
विश्वविद्यालयमा विश्व साहित्य पढाउँदै आएको चर्चा गर्दै विदेशमा नेपाली साहित्यको प्रतिनिधित्व विनोद चौधरीजस्ताले गर्ने गरेको बताउनुभयो । उहाँले वास्तवमा हाम्रो विश्व साहित्य तःमुंज्या भएको दावी गर्नुभयो ।
भक्तपुर बहुआयामिक सहर भन्दै उहाँले निमुखा दमितहरुलाई अनेक तरहले टुक्र्याइएको हुँदा दमितहरु अब जुरमुराउनुपर्ने बेला भएको विचार व्यक्त गर्नुभयो ।
डिग्री र प्रमाणपत्र नै बुद्धिजीवीको मानक हैन भन्दै उहाँले भक्तपुरले बौद्धिक छलफल चलाई आफ्नो सामाजिक दायित्व निर्वाह गरिरहेको पनि बताउनुभयो ।
साहित्यकारद्वय अभय श्रेष्ठ र हरिहर तिमिल्सिनाले आ–आफ्नो कविता वाचन गर्दै देशमा व्याप्त हुन्डरीको भक्तपुरले आफ्नै तरिकाले प्रतिरोध गरिरहेको र चेतनाको बत्ती बाल्ने काम गरिरहेको विचार व्यक्त गर्नुभयो ।
डा. धर्मरत्न शाक्यले समाजमा अरू विभिन्न विषयमा तालिम चलाए जस्तै मनोसामाजिक समस्या समाधानका बारेमा पनि तालिम चलाउनुपर्ने भन्दै मानसिक रोगबारे जनचेतनाको धेरै आवश्यकता रहेको बताउनुभयो ।
कवि स्नेही सायमीले ‘उपमेयर’ शीर्षकको ‘अकविता’ सुनाउनुभयो भने बुढानीलकण्ठ नपाकी उपमेयर कवयित्री अनिता लामाले उक्त अकविताको प्रशंसा गर्दै २०७७ सालमा भक्तपुर आउँदा आफूले रचेको ‘ख्वप’ शीर्षकको कविता सुनाउनुभयो ।
शताब्दीपुरुष सत्यमोहन जोशीका सुपुत्र अनुराज जोशीले आफू अनुवादक मात्र भए पनि कविता लेख्ने प्रयास गरेको भन्दै आफूले रचेको कविता सुनाउनुभयो भने डा. सरोज धितालले देशमा जलवायु सङ्कटभन्दा पनि वैचारिक सङ्कटको खतरा रहेको औँल्याउनुभयो ।
पृथ्वीमा मानव बस्न योग्य बनाउने ९ वटा प्रणालीहरूमध्ये ७ वटा प्रणाली ध्वस्त भएको चर्चा गर्दै उहाँले अब दुई वटा प्रणालीले मुस्किलले पृथ्वी धानिरहेको छ भन्नुभयो ।
सोही क्रममा उहाँले तीस वर्ष अघि रचेको ‘पहिरो’ कविता यसपालि पनि सान्दर्भिक भन्दै सुनाउनुभयो ।
साहित्यकार सुलोचना मानन्धरले भदौ १० को रसुवा बाढीबाट संयोगले मात्र आफूहरू बाँचेको उल्लेख गर्दै देशको स्थिति अत्यन्त नाजुक भएकोमा चिन्ता व्यक्त गर्नुभयो । सोही क्रममा उहाँले पनि ‘बाटो’ शीर्षकको कविता सुनाउनुभयो ।
इन्जिनियर रामबिन्दु श्रेष्ठले देशमा बाह्य सांस्कृतिक हस्तक्षेप बढिरहेको अवस्थामा यहाँ आफ्नै मौलिक संस्कृतिको संरक्षण हुनु अरूको लागि नमुना रहेको बताउँदै आफ्ना २ वटा कविता सुनाउनुभयो ।
‘जनमत’ साहित्यिक पत्रिकाका सम्पादक मोहन दुवालले सकेसम्म सरकारको सहयोग नलिई ‘जनमत’ निरन्तर प्रकाशित गर्दै आएको जानकारी दिँदै २ वटा कविता वाचन गर्नुभयो ।
कृष्णकुमार वैद्यले काभ्रेमा भएका सांस्कृतिक सम्पदाहरूको सङ्क्षिप्त चर्चा गर्दै २ वटा रचना सुनाउनुभयो ।
आयोजक समितिका अध्यक्ष उकेश कवांको स्वागत मन्तव्यबाट सुरु भएको तःमुंज्यामा जनकवि चन्द्रबहादुर उलकद्वारा रचित स्वागत गान रवि हाडा, लक्ष्मण पलिखेल र साथीहरूले राजेश हाडाको लयमा गाउनुभएको थियो ।
स्वागत गानसँगै सामुहिक बाल नृत्य पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जनगायक चन्द्रबहादुर श्रेष्ठले गीत सुनाउनुभएको थियो ।
कार्यक्रममा नालाका राजेन्द्रबहादुर बज्राचार्य, इलामका दीनानाथ पोख्रेल, काभ्रेका राजु तामाङसहित रूपकेशरी उलक, शम्भुराम प्रजापति, श्रीया पहिजु, सुवर्ण महर्जन, दिपा गोसाई, कृष्णप्रसाद सुवाल, पुण्यराम कवां, रामप्रसाद किसीलगायत दर्जनौं साहित्यकारहरूले साहित्य वाचन गर्नुभएको थियो ।
बेलुका सांस्कृतिक कार्यक्रम देखाइएको थियो भने कार्यक्रम शनिबार दिनको ११ः०० बजदेखि सुरु हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *