भर्खरै :

इनम र सुशील भट्टबारे अनुसन्धान गर्न एसपीको नेतृत्वमा विशेष समिति

इनम र सुशील भट्टबारे अनुसन्धान गर्न एसपीको नेतृत्वमा विशेष समिति

काठमाडौँ, १० कार्तिक (रातोपाटी) । पूर्वप्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत
(सीईओ) सुशील भट्टमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सापकोटासँग सम्पर्क देखिएपछि भट्टलाई असोज ३१ मा जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो । सापकोटा भने असोज १४ मा नयाँ दिल्ली जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
काठमाडौँ प्रहरीले यी दुवैमाथि राष्ट्र बैङ्क ऐन २०५८ अन्तर्गत कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरी उपरीक्षक नरहरि रेग्मीको नेतृत्वमा विशेष अनुसन्धान समिति गठन गरेको छ । रेग्मी उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् । विशेष समितिले जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूलाई सहयोग गर्नेछ ।
सुशील भट्ट व्यवसायी दिपक भट्टका दाजु हुन् । व्यवसायी भट्ट अहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागी सिन्धुपाल्चोक कारागारमा छन् । चोलेन्द्रले सापकोटालाई परिचालन गरेर व्यवसायी भट्ट र सुलभ अग्रवालको मुद्दामा चलखेल गरेको आशंका गरिएको छ । चोलेन्द्रलाई पक्राउ गरेर उपत्यका अपराध अनुसन्धान कार्यालयले असोज ११ को मध्याह्नमा रिहा गरेको थियो । अग्रवाल पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामा छन् ।
प्रहरीले सापकोटाको मोबाइलको फरेन्सिक जाँच गरेको छ । लगानी बोर्डका पूर्वसीइओ भट्ट र सापकोटाबिच तारन्तार मोबाइल नम्बर र ह्वाट्स एपमार्फत सम्पर्क हुने गरेको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । प्रहरीका अधिकृतहरू, व्यवसायी र अदालतका उच्च अधिकृतहरूसँगको सापकोटाको सम्पर्कबारे पनि अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न ती अधिकृतले जानकारी दिए ।
चोलेन्द्रसँग कनेक्सन देखिएपछि सापकोटा अनुसन्धानको दायरामा आएका हुन् । झापा घर भएका ३१ वर्षीय उनको परिवार बुढानिलकण्ठमा बस्छ । प्रहरीले उनको अपार्टमेन्टमा छापा मारेर त्यहाँ भेटिएका कागजात र डिजिटल सामग्री नियन्त्रणमा लिएको छ । सापकोटाले जलवायु परिवर्तनको विषयमा पीएचडी गरेका छन् । उनको सम्पर्क नेपाली काङ्ग्रेसका केही नेताहरूसँग पनि देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
यो प्रकरणमा सशस्त्रका एआईजी वंशीराज दाहाल बर्खास्तीमा परिसकेका छन् । चोलेन्द्रलाई प्रहरीको कार्यालयमा भेटेसँगै दाहाल बर्खास्तीमा परेका थिए । सापकोटाको सम्पर्क दाहालसँग पनि देखिएको छ । सशस्त्रका अर्का एआईजी अन्जनीकुमार पोखरेलले गरेको जाँचबुझ प्रतिवेदनअनुसार दाहाल र सापकोटबिच सम्पर्क देखिएको हो । जाँचबुझ समितिसँगको बयानमा पनि दाहालले सापकोटासँग संवाद हुने गरेको स्वीकार गरेका छन् ।
यही प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चोलेन्द्रका भाइ प्रभुशमशेर जबरा, नवराज थपलिया, दिपक तिमल्सिना, नारायण दाहाल र नवीन बस्नेतको घरमा छापा मारेको थियो । उनीहरू चोलेन्द्रका निकटस्थ मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *