इनम र सुशील भट्टबारे अनुसन्धान गर्न एसपीको नेतृत्वमा विशेष समिति
- कार्तिक ११, २०८३
भक्तपुर, १० कार्तिक । पठन संस्कृतिको प्रवद्र्धन तथा बालबालिका र विद्यार्थीमा अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्यले भक्तपुरमा ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ आयोजना हुने भएको छ ।
विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा कार्तिक १२ देखि १४ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने तीनदिने पुस्तक प्रदर्शनी रोटरी क्लब अफ भक्तपुरले आयोजना गर्न लागेको हो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्ने प्रदर्शनीको पहिलो दिन कार्तिक १२ गते बिहीबार पुस्तक विमोचन, ‘दरबारको दुःखान्त’ पुस्तकका लेखकसँग प्रत्यक्ष अन्तरक्रिया तथा डेट पोएट सोसाइटीको संयोजनमा ‘शून्य’ भाग ५ अन्तर्गत विशेष कविता वाचन कार्यक्रम हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीको दोस्रो दिन कार्तिक १३ गते शुक्रबार आरएसी भक्तपुरको आयोजनामा जिल्लाव्यापी अन्तरविद्यालय चित्रकला प्रतियोगिता तथा पुरस्कार र प्रमाणपत्र वितरण कार्यक्रम हुनेछ । त्यस्तै, भक्तपुर साहित्यिक समाजको संयोजनमा ‘ख्वपमा गजल’ वाचन सत्र र बुक क्लब भक्तपुरको संयोजनमा ‘भक्तपुर ः हिजो, आज र भोलि’ विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
तेस्रो दिन, कार्तिक १४ गते शनिबार ‘नेपालमा शिक्षक शिक्षा र आधुनिकीकरणमा नयाँ आयाम’ विषयमा विचारविमर्श हुनेछ । साथै, बुक क्लब भक्तपुरको संयोजनमा ‘पठन संस्कृति ः किन र कसरी ?’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
प्रदर्शनीमा विभिन्न विधा र भाषाका पुस्तकका स्टलसँगै पुस्तक विमोचन, साहित्य वाचन, चित्रकला प्रतियोगिता, पुरस्कार वितरण तथा अन्तरक्रियाका कार्यक्रम समावेश गरिनेछन् । साथै, परम्परागत नेवारी मौलिक परिकारका स्टलसमेत राखिने आयोजकले जनाएको छ ।
विभिन्न विद्यालय, कलेज, पुस्तकालयकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक, साहित्यप्रेमी तथा सम्पूर्ण पुस्तकप्रेमीलाई यस बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवमा सहभागी भई पठन संस्कृतिको विकासमा हातेमालो गर्न आयोजक रोटरी क्लब अफ भक्तपुरले हार्दिक निमन्त्रणा गरेको छ ।
Leave a Reply