भर्खरै :

नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना

नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना

यो नेपाली जनतालाई भारतीय पक्षको दान हो कि भारतको निम्ति नेपाली पक्षको त्याग ? कोसी नदी बगिरहेसम्म भारतीय पक्षले नेपाललाई थिचोमिचो गरेको र नेपाल ठगिएको कुरो प्रमाणित गरिरहने छ । संसारको कुनै पनि उपनिवेशवादीहरूले थोपरेको असमान सन्धिहरू भन्दा यो कम छैन । नेपालको निम्ति यो ‘नेपाल–भारत मित्रताको गाँठो’ वा ‘बरदान’ हो वा नेपाली जनतामाथि यो औपनिवेशिक कलङ्कको चिनो हो, संसारका सबै चेतनशील जनतालाई थाहा हुनेछ ।
ब्रिटिस भारतले नै सन् १९२८ तिर नेपालका सबै नदीहरूको सर्भे गरी कोसीमा बाँध बाँध्ने योजना बनाएको थियो । तर, भारतमा बढ्दै गएको स्वतन्त्रता आन्दोलन देखेर बेलायती सरकारले भारतमा बढी पुँजी लगाउने योजनालाई त्यागेको थियो । त्यही बेलायती योजनालाई भारतको काङ्ग्रेसी सरकारले केही हेरफेरका साथ कोसी योजनामा लागू गरेको देखिन्छ । कोसी योजनाको सम्झनाले संरा. अमेरिकाले पानामा नहरबारे गरेको सन्धि र बेलायतले हङकङबारे गरेको सम्झौतालाई स्मरण गराउँछ ।
तर, भारतीय राजनेता र प्रचार–साधनहरूले बरोबर नेपाललाई भारतले दिएका सहयोग, सहायता र निर्माण कार्यहरूको उल्लेख गरेर नेपाली जनताको स्वतन्त्रता, गौरव र प्रतिष्ठामाथि ठेस पु¥याउने गर्दै आएका छन् । कृतज्ञताको निहुँमा भारतले नेपालका सार्वभौमिकतामाथि थिचोमिचो गर्ने व्यवहार गर्दै आएको छ । भारतले नेपाललाई दिएका सहायता र ‘अनुग्रह’ मा कोसी योजनालाई पनि बरोबर उल्लेख गर्ने गरेको छ । यसकारण, हामी यसबारे केही तथ्यलाई अगाडि सारेर कसले कसलाई सहायता गरेको छ भन्ने कुरो छानबिन गरौँ ।
भारतीय पक्षले गरेको प्रचारअनुसार कोसी योजना नेपाललाई भारतको बरदान हो । त्यसमा लागेको सम्पूर्ण खर्च भारतकै आफ्नो निजी हो, यसले नेपाललाई धेरै फाइदा भएको छ । के यो सत्य हो ? तथ्यले के बताउँछ भने, पहिलो कुरा, कोसी योजनाको निर्माणमा लागेको सबै पैसा भारतको होइन । दोस्रो, यसले नेपाललाई होइन, भारतलाई बढी फाइदा छ । तेस्रो, नेपाललाई यसले ड्याक पारेको छ । तथ्य यी हुन् –
१) कोसी योजनाको निर्माणको निम्ति भारतलाई अमेरिकाले झण्डै ५० करोड ने.रु. आर्थिक सहायता दिएको थियो । यो कुरा राजा महेन्द्र र भारतका तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले कोसीको पश्चिम नहरको शिलान्यास गरेको बेलामा वाशिङटनस्थित भारतीय दूतावासको आफ्नो एउटा सूचनामा प्रस्ट गरिदिएको थियो । (समीक्षा, २७ सेप्टेम्बर १९७४)
२) कोसी योजनाको निर्माणको क्रममा नेपालले करोडौँ रूपैयाँका काठ र ढुङ्गाहरूबिना पैसाले भारतलाई दिएको थियो ।
कोसी योजनाको नहर निर्माणले नेपाललाई हुने फाइदाबारे पनि हेरिहालौँ –
१) कोसी बाँधको निर्माणले भारतको बिहार राज्यमा हरेक वर्ष बाढीबाट हुने ठुलो धनजनको क्षतिलाई रोकेको छ ।
२) पूर्वी नहरले भारतको १८ लाख ३४ हजार एकड जमिन सिँचाइ हुन्छ । यसले बिहार राज्यको कृषि उत्पादनको आम्दानीमा धेरै ठुलो वृद्धि गरेको छ ।
३) पश्चिम नहरबाट भारतको ९ लाख ४० हजार एकड जमिन सिँचाइ हुन्छ । (नयाँ समाज दैनिक, १७ सेप्टेम्बर १९७४)
यस हिसाबले त्यस योजनाबाट के नेपाललाई एक प्रतिशत पनि फाइदा भएको छ ? कोसी योजनाबाट कोसी बाँध मात्रै बनेन बरु त्यसको सामानले भारतमा हजारौँ घरहरू पनि बनेका थिए । सबैजसो ज्यामी भारतबाट ल्याइएका थिए । तर, फाइदाको नाम भने नेपालकै छ ।
भारतलाई फाइदा भएकोमा नेपाली जनता खुसी छन् । तर, नेपाललाई बेफाइदा भएकोमा त्यस्तै दुःखी र असन्तुष्ट छन् ।
नेपाललाई यसले अनेक बेफाइदा भएका छन्, जस्तै :–
१) पश्चिमी नहरको लगभग ३३ किलोमिटर जति भाग नेपालको उब्जाउ सरहदभित्र पर्दछ ।
२) बाँध बाँध्ने ठाउँमा लगभग २७ किलोमिटर अथवा ४०० बिघा जमिन नेपालकै परेको छ ।
३) कोसी बाँध (ब्यारेज) ले गर्दा बाढी आउँदा दायाँबायाँका हजारौँ विघा जग्गा जलमग्न हुन्छ । (नयाँ समाज, १७ सेप्टेम्बर १९७४)
सरल हिसाबले पनि नेपालको १६,००० बिघा जग्गा कोसीको दुबार क्षेत्रमा पर्दछ र १६,००० कोलनी बनाउनमा परेको छ ।
कोसीको बाँधले गर्दा वर्सेनि नेपालको ६०,००० टन अन्न आउने जग्गा बाढीले खान्छ र १०,००० टन अन्न आउने जग्गा योजनामा परेको छ । यसप्रकार नेपालले वर्षको ७० हजार टन अन्न चोखै ड्याक सहनुपरेको छ । (एभरेस्ट साप्ताहिक, पेकिचङ रिभ्यू, ३ जनवरी १९७४)
वर्षको ३०–४० लाख रूपैयाँको कृषि उत्पादन दिन सक्ने नेपाली जमिन कोसी योजनाले जलमग्न भएको हुन्छ । (समीक्षा, २७ सेप्टेम्बर १९७४)
योजनाबाट नेपाललाई वार्षिक ७०,००० टन अन्न मात्रै क्षति भएको हिसाब लगाएमा पनि एक मनको ५० भा.रु.को दरले वर्षमा नेपालले सवा नौ करोड भा.रु. अथवा ने.रु. १२–१३ करोड क्षति भोगेको छ । २० वर्षभित्र नेपालले यसबाट २ अरब ५० करोडभन्दा बढी क्षति भोगेको छ । यो रकम भारतले नेपाललाई २० वर्षभित्र दिएको सहायताभन्दा दोब्बर छ ।
कोसीको पश्चिमी नहरबाट भारतलाई जहाँ ९ लाख ४० हजार एकड जमिन सिँचाइ हुन्छ भने नेपालको ३५ हजार एकड जमिन सिँचाइ हुन्छ । सम्झौताअनुसार ३५ हजार एकड जमिनको सिँचाइको निम्ति चतरा नहर भारतले नै बनाइदिनुपर्दथ्यो । त्यो राम्रोसँग पूरा गरिदिएको थिएन र भारततर्फ बनेको नहरको तुलनामा नेपालको नहर एकदमै कच्चा र काम नलाग्ने किसिमले बनाइएको थियो । अर्कोतिर यो नहर कच्चा र अपूरै नेपाललाई हस्तान्तरण गरेर भारतीय पक्षले नेपाललाई वर्षको लाखौँ रूपैयाँको मर्मतको बोझ बोकाएको छ ।
फेरि सम्झौताअनुसार योजनाभित्र परेको जग्गाको मुआब्जा भारतले बेहोर्नु पर्दथ्यो । तर, भारतले नेपाली उब्जनी जग्गाको मुआब्जा भारतीय जग्गाको मुआब्जाभन्दा धेरै कम दिनुको साथै नदिने नियतले आलटाल गरेको थियो ।
सम्झौताअनुसार नेपाललाई भारतले १० हजार किलोवाट बिजुली दिनुपर्दथ्यो किनभने यो बिजुली नेपालको जग्गाभित्र पर्दथ्यो । यो बिजुली भारतले नेपाललाई सित्तै दिने होइन बरु नेपालले आफ्नै देशमा उत्पादन भएको बिजुली भारतसँग पैसा तिरेर लिन्छ ।
यस विषयमा पनि भारतीय पक्षले नेपाललाई ठुलो गुण गरेको जस्तो बखान गर्दछ । तर अन्तर्राष्टिय सम्झौताले के देखाउँछ भने नेपाल र भारतको बिचको यो सम्झौताले उल्टो बाटो लिएको छ ।
कोलोम्बिया नदी योजनाबारे संरा अमेरिका र क्यानाडाको बिचमा एक सम्झौता छ । कोलोम्बिया योजना क्यानाडाको भूभागमा पर्दछ र संरा अमेरिकाले त्यसमा बिजुली उत्पादन गर्छ । अमेरिकाले उत्पादन गर्ने त्यस बिजुलीलाई अमेरिकाले क्यानाडासँग पूरा मोल तिरेर किनेको मात्रै होइन कि पचास वर्षसम्म अमेरिकाले किन्ने बिजुलीको पूरा मूल्य बैनाको रूपमा क्यानाडालाई दिएको थियो । (समीक्षा, २७ सेप्टेम्बर १९७४)
तर कोसी योजनाबाट उत्पादन हुने बिजुलीबारे कुरो उल्टो छ । नेपालमा उत्पादन हुने बिजुली नेपालले भारतसँग उसकै मूल्य र निगाहामा किन्नुपर्छ । बिजुलीको पूर्तिको अनियमितताले नेपालका स्थानीय कलकारखाना बन्द हुन्छन् । भारतले नेपाललाई बैना दिने र किन्ने कुरा त झन् परको कुरा हो ।
यसरी हामी देख्छौँ– कोसी योजनाले नेपाललाई होइन, भारतलाई बढी फाइदा छ । यस योजनाबाट भारतलाई बाढीबाट बचाएको छ, लाखौँ एकड जमिन सिँचेर उत्पादनमा ठुलो वृद्धि गरेको छ, नेपालकै जग्गाबाट सस्तो बिजुली पनि उत्पादन गर्न पाएको छ, साथ–साथै बिजुलीको पैसा पनि पाएको छ । जब कि योजनामा नेपालको पनि धन–जन त्यसमा लगानी गरिएको थियो । तापनि, नेपालले बाढीको मार सहनु परेकै छ, आफ्नै देशमा उत्पादित बिजुली पनि विदेशसँग पैसा दिएर किन्नु परेको छ । यी सब कुराले प्रस्ट गर्छ कि कोसी योजनाले नेपाललाई लाभ छ कि भारतलाई ?
यो नेपाली जनतालाई भारतीय पक्षको दान हो कि भारतको निम्ति नेपाली पक्षको त्याग ? कोसी नदी बगिरहेसम्म भारतीय पक्षले नेपाललाई थिचोमिचो गरेको र नेपाल ठगिएको कुरो प्रमाणित गरिरहने छ । संसारको कुनै पनि उपनिवेशवादीहरूले थोपरेको असमान सन्धिहरू भन्दा यो कम छैन । नेपालको निम्ति यो ‘नेपाल–भारत मित्रताको गाँठो’ वा ‘बरदान’ हो वा नेपाली जनतामाथि यो औपनिवेशिक कलङ्कको चिनो हो, संसारका सबै चेतनशील जनतालाई थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *