भर्खरै :

संस्कृतिमा धान

-सरोज
रोपाईं दिवसको सम्झनाले केटाकेटी बेलाका यादहरू ताजा भए । आजभन्दा ३ दसक अगाडिको कुरा । विद्यालयमा खाजा के लाने भन्ने जहिले पनि अलमल हुन्थ्यो । उतिबेला आजका जस्ता अनेक स्वादका खाजा पाइन्नथे । विद्यालयमा दालमोठ चिउरा खुबै खाइन्थ्यो । कहिलेकाहीँ आमाले विद्यालय खाजाको रूपमा गहँको रोटी र तरकारी दिनुहुन्थ्यो । गहँको रोटी खाजा भएको बेला लुकाएर खाइन्थ्यो । घरबाट चिउरा र तरकारी खाजा ल्याउने विद्यार्थीको सान नै अलि माथि हुन्थ्यो । खाजाको रूपमा चर्चित चिउरा धान नै त हो । नेवारी भाषामा खाजा र चिउरालाई एउटै शब्दले पुकारिन्छ– बजी । खाजा भन्नु बजी, बजी भन्नु खाजा ।

चामलको भात खाएपछि ठूलो मान्छे हुने संस्कृतिले गर्दा जुम्ला, कालिकोट, मुगुजस्ता विकट गाउँमा चामलको निम्ति सदरमुकाम हप्तौं पालो कुर्ने र जति पनि मूल्य तिर्ने प्रवृत्ति बढ्दो छ । घरको आलु–कोदो सस्तोमा बेचेर महङ्गो चामल किन्ने प्रचलन बढेको छ । धानको राम्रो उत्पादन नै नहुने ठाउँमा चामल संस्कृति भित्रिंदा नयाँसमस्या थपिनु अस्वाभविक भएन । बरु धान दिवसमात्र होइन कोदो, फापर, मकैको दिवस मनाउने गर्नेतिर ध्यान पनि उचित हुनेछ ।

सानो बेलाकै कुरा । गरिबको घरमा पानी–रोटी (ग्वार्चा) पाक्थ्यो । ग्वार्चा खाने परिवारलाई छोरी दिन हतपती मान्दैन्थे । धानखेत कम हुनेलाई गरिब र चामलको भात खानेलाई सम्पन्न मानिन्थ्यो ।
नेवारी संस्कृतिमा भोज भनेपछि चिउरा अनिवार्य चाहिन्छ । चिउरा चामलको भातभन्दा पौष्टिक हुन्छ । चार दिनसम्म पानीमा धान भिजाएपछि तावामा धान भुटिन्छ र मिलमा कुटिन्छ । अगाडि भने ओखलमा कुटिन्थ्यो । धानको बोक्रा छोडाइन्छ, चिउरा बन्छ । आजकल चामल चम्किलो बनाउन पलिस गरिन्छ, मिलले पनि कनिका र भुस छ्याकन पाउँछ । परिणामतः चामलको पौष्टिकता कम हुन्छ । आधुनिक मिल नआउँदासम्म ढिकीमा धान कुटिन्थ्यो, धानको बोक्रामात्र निकालिन्थ्यो, चामल अत्यन्तै पौष्टिक हुन्थ्यो ।
नेवारी परिकार चटामरी, योमरी, मुटुमरी, म्हुछ्यामरीजस्ता अनेक रोटी धानै हुन् । अझ ती खानेकुरा पकाएर खाने विशेष पर्व नै छन् । कुलदेवता पूजा (देवाली) मा चटामरी विशेष पक्वानमध्येमा पर्छ । चटामरी चामलको पिठोको माडा बनाएर तावामा पकाइने रोटी हो । वाफमा पकाइने योमरी खाने चाड छुट्टै छ, योमरी पुन्हि (पूर्णिमा) को दिन । दुई वा चार वर्षको बालबालिकाको जन्मदिनमा योमरीको माला लगाएर खुशियाली साटिन्छ । भित्र चाकु भएको योमरी धानै त हो । धानको महत्व सिकाउने उपाय न हो । नेवारी संस्कृतिमा म्हः पुजा वा भाइ टिका गर्दा मुटुमरी चढाइन्छ, खाइन्छ, खुवाइन्छ । चामलको पिठोको सानो डल्लोलाई दुई चुच्चे बनाई बफाएर बनाउने मुटुमरी पनि छुट्टै स्वादको हुन्छ । जन्म दिनमा टोलभरिका केटाकेटीलाई बोलाई बोलाई मुटुमरी बाँड्ने संस्कृति अझ पनि छ ।
कडा जाँड धानैले बन्छ । चामल बफाएर नरम बनाइन्छ, मर्चा (मनापु) को धुलो मिसाइन्छ र माटोको ठूलो भाँडो (पोकः भ्यो) मा ४–५ दिन ‘फर्मेन्टेसन’ गराउन (नेवारीमा पोक बन्न) छोडिन्छ । तापक्रम त मिलाउनै पर्छ । मर्चा वा यिस्टको वृद्धिको निम्त आवश्यक तापक्रम मिलाउनै पर्ने हुन्छ । फर्मेन्टेसन गराइसकेको चामलमा पानी हाली एक दिन छोडेपछि जाँड बन्छ, जाँड छानिन्छ । यसरी धानबाट जाँड बन्छ ।
बिहान चराचुरुङ्गीलाई भात न चढाई आफू नखाने नेपाली संस्कृति छ । यसलाई प्रकृतिको मायाको रूपमा पनि व्याख्या गर्न सकिन्छ । काग, भँगेरा, परेवालाई माया गर्नु, तिनको संरक्षण गर्नु मानव स्वयम्को अस्तित्वसँग जोडिएको विषय पनि हो । वातावरणलाई स्वस्थ बनाउन यी चराले आफ्नै पाराले काम गरिरहेका हुन्छन् । यसरी भातको संस्कृति प्रकृति संरक्षणकर्ता बन्छ ।
नेपालीले सबभन्दा पहिले खाने अन्न भनेको भात नै हो । शिशुलाई ६ महिनासम्म आमाको दूध खुवाइन्छ । अन्नप्रासन गर्दा भात खुवाइन्छ । दूधले मात्र बच्चाको निम्ति आहारा नपुग्ने भएपछि अन्न खुवाउन थालिन्छ । यो संस्कृति आफैमा वैज्ञानिक छ ।
धान रोप्दा होस् वा काट्दा खुसीयालीको उत्सव नै हुन्छ । खानपानमा पनि सक्दो मिठोमसिनो पकाएर खेतीको काम हुन्छ । चिउरा, अनेक थरिका गेडागुडी, अचार, मासु, साग भएपछि काम गर्ने जागर बढ्ने नै भयो ।
हाकुवा (खैरो धान) को संस्कृति लोप भयो भन्न सकिन्छ । हाकुवा भित्र्याउँदा त मानिस बाजागाजासाथ नाच्थे । त्यसो त धान भित्र्याएपछि धानको पूजा गर्ने चलन अद्यापि छ । धान काटेर कुन्यू बनाई कम्तिमा एक हप्ता छोडेपछि हाकुवा बन्छ । कतिले ९ वा ११ दिनसम्म छोड्थे । फर्मेन्टेसन हाकुवा बन्नुको वैज्ञानिक कारण हो । हाकुवा पनि पौष्टिक खाना मानिन्छ ।
नेवारी संस्कृतिमा भातको जुठोलाई सबभन्दा कडा मानिन्छ । भातभान्छामा पुग्ने मानिस सबभन्दा नजिकको नातेदार मानिन्छ । जुठो खाएपछि अनेक रोग लागेका घटनाले गर्दा होला, जुठोको संस्कार बनाइएको । आज विज्ञानले रोगका कारण र सर्ने विधि पत्ता लगाइसकेको कारण जुठोबारेका पुराना कति नियम कमजोर हँदै गएको पाइन्छ ।
धानको महत्व आफ्नो ठाउँमा पुग्दो नै छ । महाकवि देवकोटाले दाल–भात–डुकुको प्रशस्ति गाएका छन् । तर गाउँ–पहाडमा अत्यन्तै बढी खाइने मकै, गहँ, कोदो, फापर आदिको ढिंडो होस् वा आलु, चिनु, कागुनो, भ्याकुर, तरुल आदि खानेकुरालाई तल्लो दर्जाको खानेकुरा मान्नु गलत हुन्छ । चामलको भात खाएपछि ठूलो मान्छे हुने संस्कृतिले गर्दा जुम्ला, कालिकोट, मुगुजस्ता विकट गाउँमा चामलको निम्ति सदरमुकाम हप्तौं पालो कुर्ने र जति पनि मूल्य तिर्ने प्रवृत्ति बढ्दो छ । घरको आलु–कोदो सस्तोमा बेचेर महङ्गो चामल किन्ने प्रचलन बढेको छ । धानको राम्रो उत्पादन नै नहुने ठाउँमा चामल संस्कृति भित्रिंदा नयाँसमस्या थपिनु अस्वाभविक भएन । बरु धान दिवसमात्र होइन कोदो, फापर, मकैको दिवस मनाउने गर्नेतिर ध्यान पनि उचित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *