भर्खरै :

जब कुनै दिन सत्य पोखिएर आफैँ बोल्न थाल्छ

  • मंसिर १०, २०८३
  • इकुश्रे
  • विचार
जब कुनै दिन सत्य पोखिएर आफैँ बोल्न थाल्छ

“म जे खान्छु, जनताले त्यही खान पाउनुपर्छ । म जस्तो घरमा बस्छु जनता पनि त्यस्तै घरमा बस्न पाउनुपर्छ ।” यो भनाइ, पछिल्लो पटक चर्चामा आएको फिल्म ‘रामायण’ मा रावणले भनेका हुन् । आधुनिक फिल्ममा रावणले यस्तो भने पनि प्राचीन कथाले भन्छ–‘रामराज्य’ मा सबै कुराको सुविधा थियो । प्रजा सुखी, निरोगी र भयमुक्त थिए । न्याय र धर्मको शासन थियो । अनि शासकको सर्वोच्च प्राथमिकता जनकल्याणमा केन्द्रित थियो । रामायणमा वर्णित ‘रामराज्य’ त्याग, मर्यादा, न्याय र लोककल्याणको प्रतीक हो । तर, इतिहासका सबै शासकमा यस्तो मर्यादा र नैतिक निष्ठा देखिएन । बरु, उनीहरूमध्ये धेरैका यस्ता अनेकौँ कथा भेटिन्छन्, जसले सत्ताको बागडोर सह्मालेपछि आफूलाई नै राज्यको भाग्यविधाता र सर्वेसर्वा ठाने । उनीहरूका लागि राज्य जनताको साझा सम्पत्ति होइन, आफ्नै इच्छाअनुसार चलाउन पाउने निजी सम्पत्तिसरह बन्यो ।
सत्ता प्राप्त गर्नु एउटा उपलब्धि हुनसक्छ, तर सत्ताको उन्मादमा आफूलाई सर्वशक्तिमान् ठान्नु ठुलो दुर्भाग्य हो । जब कुनै शासक अथाह शक्ति, पद, सम्पत्ति र चाटुकारिताको घेराभित्र पुग्छ, तब उसलाई आफ्नो शासन अमर छ भन्ने भ्रम हुन थाल्छ । सत्ताको विशेषतै यस्तो हु्न्छ कि–सेना, प्रहरी, गुप्तचर निकाय र राज्यको ढुकुटी आफ्नै नियन्त्रणमा भएकोले ऊ आफूलाई अजेय ठान्न थाल्छ । जनताको असन्तोषलाई षड्यन्त्र, आलोचनालाई विरोध र जायज प्रश्नलाई देशद्रोहको संज्ञा दिन्छ । उसको वरिपरि सत्य बोल्नेभन्दा प्रशंसा गर्नेहरूको भिड बढ्दै जान्छ । बिस्तारै ऊ जनताको वास्तविक मनोभावबाट टाढिँदै जान्छ र आफ्नै जयजयकारलाई जनसमर्थन ठान्न थाल्छ । विडम्बना के छ भने शासन चलिरहेकै हुन्छ । सरकारी संयन्त्रले काम गरिरहेकै हुन्छ । आदेश पालना भइरहेकै हुन्छन् तर त्यो शासन जनताको विश्वास र नैतिक वैधताले होइन, शासकको घमण्ड, अहङ्कार, भय र शक्तिको आडमा चलिरहेको हुन्छ । बाहिरबाट राज्य सामान्य देखिए पनि भित्रभित्रै असन्तोषको आगो सल्किरहेको हुन्छ ।
विश्व इतिहासका पृष्ठहरू पल्टाउँदा यस्ता दम्भी र निरङ्कुश शासकहरूको लामो सूची भेटिन्छ । तिनले आफ्नो समयमा अपराजित ठानिरहेकै बेला आफ्नो पतनको बीउ आफैँ रोपिरहेका थिए । प्राचीन रोमका सम्राट निरो यसको एउटा चर्चित उदाहरण हुन् । ईस्वी संवत् ६४ मा रोम सहरमा भीषण आगलागी हुँदा ठुलो जनधनको क्षति भएको थियो । लोकप्रिय जनश्रुतिमा निरो रोम जलिरहँदा सङ्गीतमा मग्न थिए भन्ने कथा प्रचलित छ । तर, यो कथन ऐतिहासिक रूपमा निर्विवाद छैन । आगलागी सुरु हुँदा उनी रोमबाहिर एन्टियममा रहेको र पछि राहत तथा पुनर्निर्माणका केही कामसमेत गरेको विवरण पाइन्छ । तथापि, उनको शासनकालमा भएको क्रूरता, राजनीतिक प्रतिशोध, आफ्नै आमाको हत्या र निरङ्कुश व्यवहारले उनलाई इतिहासमा बदनाम बनायो । अन्ततः राजनीतिक समर्थन गुमाउँदै गएका निरोले इस्वी संवत् ६८ मा आत्महत्या गरे । उनको अन्तिम समयसँग जोडिएको एउटा चर्चित भनाइ छ, “मभित्रको महान् कलाकार मर्दै छ ¤’ यो कथन सत्य भए पनि नभए पनि यसले उनको आत्ममुग्ध शासकीय छविलाई राम्रैसँग प्रतिबिम्बित गर्छ ।
बीसौँ शताब्दीका कुख्यात तानाशाहमध्ये एक एडोल्फ हिटलरको पतन पनि अहङ्कार र विवेकहीन महत्वाकाङ्क्षाको परिणाम थियो । जर्मनीलाई हजार वर्षसम्म टिक्ने साम्राज्य बनाउने सपना देखेका हिटलरले विश्व विजयको उन्मादमा मानव इतिहासकै भयानक युद्धमध्ये एकलाई अघि बढाए । लाखौँ मानिसको जीवन समाप्त भयो, सहरहरू ध्वस्त भए र मानव सभ्यताले अकल्पनीय पीडा भोग्नुप¥यो । उनका वरिपरि अन्धभक्त र चाकरहरूको ठुलो घेरा थियो । असहमति राख्नेहरू दण्डित हुन्थे र वास्तविकता सुनाउनेहरू क्रमशः किनारामा धकेलिँदै जान्थे । अन्ततः मित्रराष्ट्रका सेनाले जर्मनीलाई चारैतिरबाट घेर्दै बर्लिनसम्म आइपुगे । आफ्नो पराजय निश्चित भएपछि सन् १९४५ अप्रिल ३० मा उनले बर्लिनको भूमिगत बङ्करमा आत्महत्या गरे । धेरै वर्ष टिक्ने सपना देख्ने शासकको साम्राज्य बाह्र वर्ष पनि टिकेन ।
यस्तै अहङ्कार र पतनको अर्को उदाहरण थिए, इटालीका फासीवादी शासक बेनिटो मुसोलिनी । आफूलाई ‘इल दुचे’ अर्थात् सर्वोच्च नेता कहलाउन रुचाउने मुसोलिनीले राष्ट्रवाद र शक्तिको नारामा इटालीलाई युद्धको विनाशकारी बाटोमा धकेले । उनका वरिपरि पनि विवेकपूर्ण सुझाव दिनेभन्दा उनका आदेशमा ताली बजाउनेहरूको भिड थियो । तर, सन् १९४३ मा उनको शासनसत्ता सङ्कटमा प¥यो र उनी पदच्युत भई पक्राउ परे । पछि जर्मन सेनाको सहयोगमा उत्तरी इटालीमा कठपुतली शासनको नेतृत्व गरे पनि त्यो टिक्न सकेन । सन् १९४५ अप्रिल २८ मा भाग्दै गर्दा इटालीका प्रतिरोधी लडाकुहरूले उनलाई र उनकी प्रेमिका क्लारा पेटाचीलाई गोली हानी हत्या गरे । त्यसपछि उनीहरूको शव मिलानको पियाज्जाले लोरेटोमा उल्टो झुण्ड्याइयो । कुनै समय आफ्नो आदेशमा सारा देश नचाउन खोज्ने शासकको त्यस्तो अन्त्य इतिहासमा सत्ताको उन्मादको एउटा कठोर दृष्टान्त बनेर रह्यो ।
रोमानियाका कम्युनिस्ट शासक निकोलाउ चाउचेस्कु र उनकी पत्नी एलेनाको कथा पनि उस्तै छ । सन् १९६५ देखि १९८९ सम्म शासन गरेका चाउचेस्कुले राज्यका सम्पूर्ण शक्ति र स्रोत आफ्नो नियन्त्रणमा केन्द्रित गरे । देश चरम आर्थिक सङ्कट, खाद्यान्न अभाव र गरिबीले आक्रान्त भइरहँदा शासक परिवार भने विलासितामा डुबेको थियो । गुप्तचर निकाय, प्रचार संयन्त्र र चाटुकारहरूको घेराले उनलाई जनताको वास्तविक अवस्थाबाट टाढा राखेको थियो । तर, सन् १९८९ डिसेम्बर २१ मा बुखारेस्टमा आयोजित सरकारी सभामा उनले अपेक्षा गरेजस्तो जयजयकार सुनिएन । बरु, भिडबाट विरोध र आक्रोशका आवाज गुञ्जिए । टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको सभामा चाउचेस्कुको अनुहारमा देखिएको अन्योलले उनको शासनभित्रको वास्तविक सङ्कट उजागर ग¥यो । त्यसको भोलिपल्ट उनी र उनकी पत्नी देश छाडेर भाग्न खोज्दा पक्राउ परे । अन्ततः डिसेम्बर २५ मा सैनिक अदालतको सङ्क्षिप्त सुनुवाइपछि दुवैलाई मृत्युदण्ड दिइयो । वर्षौँसम्म जनताको मुख बन्द गराएर शासन चलाएका शासकले जनताको मन जित्न नसकेको परिणाम कति भयावह हुन सक्छ भन्ने यो एउटा मार्मिक उदाहरण हो ।
यो प्रवृत्ति सुदूर देशहरूको इतिहासमा मात्र सीमित छैन । हाम्रो आफ्नै ऐतिहासिक आँगनमा पनि यसको जीवन्त उदाहरण भेटिन्छ । नेपालमा १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासनमा शासकहरूको हातमा राज्यको सम्पूर्ण शक्ति केन्द्रित थियो । प्रधानमन्त्री पदसमेत परिवारभित्र वंशानुगत रूपमा हस्तान्तरण हुने व्यवस्था थियो । जनताको राजनीतिक अधिकार, शिक्षा, अभिव्यक्ति स्वतन्त्रता र राज्य सञ्चालनमा सहभागिता अत्यन्त सीमित थियो । उनीहरूलाई आफ्नो शासन चिरस्थायी रहने भ्रम थियो । तर, समय सधैँ एउटै गतिमा चल्दैन । जनचेतना बढ्दै गयो, राजनीतिक सङ्गठनहरू सक्रिय भए र जनतामा स्वतन्त्रताको आकाङ्षा बलियो हुँदै गयो । अन्ततः २००७ सालको क्रान्तिले राणाहरूको जहानियाँ शासन अन्त्य गरिदियो । कुनै समय जनताको आवाज दबाएर शासन चलाउने शासकहरू समयको परिवर्तनसँगै सत्ताबाट बाहिरिन बाध्य भए । सिंहदरबारको वैभव र शक्तिको आडमा जनताको मन जित्न सकिँदैन भन्ने ऐतिहासिक पाठ त्यसले छाडेर गयो । पछिल्लो समयमा, पालोफेरो रजगज गरेका हाम्रा कथित ठुला राजनीतिक दलहरू पनि बढारिए ।
यहाँ एउटा महत्वपूर्ण कुरा बुझ्न आवश्यक छ, शासन चलिरहेको छ भन्दैमा शासन सफल छ भन्ने हुँदैन । कार्यालय खुलेका छन्, कर्मचारी उपस्थित छन्, सडकमा सवारी चलिरहेका छन्, प्रहरीको गस्ती भइरहेको छ र सरकारी निर्णय कार्यान्वयन भइरहेका छन् भन्दैमा जनताले सुशासनको अनुभूति गरेका छन् भन्ने प्रमाणित हुँदैन । शासकको अहङ्कारमा आधारित शासन पनि केही समय चल्न सक्छ । भूट र भ्रम पनि धेरै वर्ष सत्य ठहरिन सक्छ । भय, दबाब, प्रचार, प्रलोभन र शक्तिको प्रयोगबाट ‘अनुशासन’ पनि कायम भइरहन्छ । तर, त्यसले जनताको मनमा विश्वास पैदा गर्न सक्दैन । जुन शासनमा जनताले खुलेर प्रश्न गर्न पाउँदैनन्, कर्मचारीले निर्भिक भएर सत्य बोल्न सक्दैनन् र सल्लाहकारले शासकको निर्णयमा असहमति राख्न सक्दैनन्, त्यहाँ शासनको बाहिरी संरचना जति बलियो देखिए पनि यसको आन्तरिक जग कमजोर भइसकेको हुन्छ । शासनको वास्तविक सफलता आदेश कति छिटो पालना भयो भन्नेमा होइन, जनताको जीवन कति सहज, सुरक्षित, सम्मानित र समृद्ध बन्यो भन्नेमा मापन हुनुपर्छ ।
यस समग्र शासकीय प्रवृत्तिलाई क्यान्सर रोगसँग तुलना गर्न सकिन्छ । क्यान्सर शरीरमा विकसित हुँदै गर्दा सुरुमा स्पष्ट लक्षण नदेखिन सक्छन् । बिरामी सामान्य जीवन बिताइरहेको हुन्छ तर भित्रभित्रै रोग फैलिरहेको हुनसक्छ । रोगको अवस्था गम्भीर हुँदै जाँदा उपचार जटिल बन्दै जान्छ । यद्यपि चिकित्सा विज्ञानमा तेस्रो चरणको क्यान्सरलाई सधैँ निको नहुने अवस्था मानिँदैन हरेक रोगको प्रकार र अवस्थाअनुसार उपचार सम्भव हुन्छ । यहाँ क्यान्सरको तेस्रो चरणलाई राजनीतिक रूपका रूपमा बुझ्नुपर्छ । शासनको पनि एउटा यस्तो अवस्था आउँछ, जहाँ शासकले जनताको विश्वास गुमाइसकेको हुन्छ तर आफू लोकप्रिय र शक्तिशाली नै रहेको भ्रम पालिरहेको हुन्छ । पहिलो चरणमा जनताले नेतृत्वमाथि आशा र विश्वास राखेका हुन्छन् । दोस्रो चरणमा शासकले शक्ति केन्द्रीकरण गर्न, आलोचना नियन्त्रण गर्न र आफ्नो प्रशंसकहरूको घेरा बलियो बनाउन थाल्छ । तेस्रो चरणमा पुग्दा जनताको असन्तोष गहिरो भइसकेको हुन्छ तर शासक भने आफ्नै जयजयकारमा मस्त हुन्छ । उसले बाहिर देखिने तालीलाई जनसमर्थन र भित्र दबिएको आक्रोशलाई मौन सहमति ठानिरहेको हुन्छ । जब त्यो आक्रोश विस्फोट हुन्छ तब शासकले सच्चिने अवसर धेरै हदसम्म गुमाइसकेको हुन्छ । त्यसैले सत्ताको तेस्रो स्टेज भनेको जनताको विश्वास गुमाइसकेर पनि आफ्नो लोकप्रियताको भ्रममा बाँचिरहेको अवस्था हो ।
सत्ताको सबैभन्दा ठुलो शक्ति जनताको विश्वास हो न कि शासकको कुर्सी, सुरक्षा घेरा वा प्रशासनिक नियन्त्रण । कुर्सीमा बसिरहनु र जनताको मनमा बसिरहनु दुई भिन्न कुरा हुन् । विश्व इतिहासबाटै प्रमाणित भएको कुरा के भने–आलोचना सुन्न सक्ने नेतृत्वले गल्ती सच्याउने अवसर पाउँछ । असहमति स्वीकार गर्ने नेतृत्वले सही निर्णय गर्ने सम्भावना बढाउँछ । जनताको पीडालाई आफ्नो पीडा ठान्ने नेतृत्वले मात्र सत्तालाई सेवाको माध्यम बनाउन सक्छ । अन्यथा जनतामा छाएको असन्तुष्टिको परिणाम सुखद हुँदैन । त्यसैले, शासकका लागि प्रशंसाभन्दा सत्य बोल्ने सल्लाहकार, अन्धसमर्थनभन्दा रचनात्मक आलोचना, सस्तो लोकप्रियता प्राप्त गर्ने उद्देश्त्न्दा देशको गुणात्मक विकास र शक्तिको प्रदर्शनभन्दा नैतिक आचरण धेरै महत्वपूर्ण हुन्छ ।
इतिहासले निरो, हिटलर, मुसोलिनी, चाउचेस्कु र राणाशासकहरूलाई फरकफरक समय र परिस्थितिमा उभ्याएको हो तर उनीहरूको पतनमा एउटा साझा मनोविज्ञान देखिन्छ, सत्ताको अहङ्कार, जनभावनाप्रतिको उपेक्षा र आफूलाई सर्वेसर्वा ठान्ने भ्रम । आजका शासक र उनीहरूका अन्धसमर्थकहरूले पनि इतिहासको यो पाठ आत्मसात गर्न जरुरी छ । सत्ता स्थायी हुँदैन, पदको आयु सीमित हुन्छ र जनताको धैर्यलाई कमजोरी ठान्नु सबैभन्दा ठुलो राजनीतिक भूल हो । शासकले ऐनामा आफ्नो अनुहार मात्र होइन, जनताको मनमा आफ्नो वास्तविक छवि पनि हेर्न सक्नुपर्छ । स्मरणीय छ– गलत खानपानको कारणले क्यान्सर छिट्टै तेस्रो स्टेजमा पुगेजस्तै सत्ता पनि अहङ्कारका सोही स्थितिमा पुग्यो भने उसलाई आफ्नै प्रशंसाको ठुलो आवाजले सत्य सुन्न दिँदैन । अनि जब कुनै दिन सत्य पोखिएर आफैँ बोल्न थाल्छ, त्यसको परिणाम जोसुकैले पनि अनुमान गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *