एङ्गेल्सको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ बारे – १
- मंसिर १०, २०८३
चार दशकअघि पश्चिम बङ्गालको एक दुर्गम गाउँको कुरा हो । म स्थानीय निकाय (पञ्चायत) को कार्यालयमा थिएँ । ढोकामा एक महिला देखापरिन् । उनले जनप्रतिनिधिलाई झपारिन् । उनी कृषि मजदुर थिइन् । पञ्चायतमा आफ्नो पीडा पोख्दा पनि कुनै सुनुवाइ नभएकोमा उनले आलोचना गरिन् । (धेरै पहिलेको घटना हुनाले मैले उनको समस्या बिर्सेँ ।) उनीसँग कृषि मजदुर युनियनका स्थानीय सदस्य पनि सँगै थिए । त्यो एउटा कम्युनिस्ट सङ्गठन थियो । दुवै मिलेर जनप्रतिनिधिलाई गाली गरे । निर्वाचित जनप्रतिनिधि नरम मिजासका कम्युनिस्ट थिए । उनले माफी मागे र समस्याको समाधान निकाल्ने बताए । महिला खुसी हुँदै त्यहाँबाट निस्किन् । ती जनप्रतिनिधिले हामीसँग आफ्ना समस्या बताए । उनले कार्यालयमा थोरै कर्मचारी हुनाले आफ्नो कर्तव्य पूरा गर्न नसकेको बताए । ती महिलाको गुनासो जायज भएको र तुरुन्तै त्यो समस्या समाधान गरिहाल्ने पनि बताए ।
यहाँ मेरो रुचि त्यो कार्यालयका अप्ठ्यारा वा जनप्रतिनिधिको वचनमा होइन । मेरो रुचि दुई कुरामा हो । पहिलो, ती महिलाले जनप्रतिनिधिका अगाडि गएर निर्धक्क आफ्नो गुनासो पोख्न सक्नु । दोस्रो, उनीसँगै सङ्गठनका प्रतिनिधि पनि उपस्थित हुनु । अरुको आदेश पालन गर्नुपर्ने महिला आफ्ना कामरेडसँगै जनप्रतिनिधिको आलोचना गर्न जानु आफैमा रोचक प्रसङ्ग हो । उनले आफ्नो पीडामा भाग्यलाई सरापेर एक्लैएक्लै रुनु परेन । बरु उनको निजी पीडा समूह वा सङ्गठनको पीडा बन्यो । उनी पीडामा पर्दा सारा सङ्गठन उनको पछाडि उभियो । आज पनि म त्यो घटना सम्झिरहन्छु । किनभने, त्यो घटनामा समाजवादी शक्तिको जगको झलक पाइन्छ । सामाजिक शक्ति/सत्ताको मर्म त्यही हो ।
पछिल्लो अनुसन्धानमा हामीले तीन प्रकारका शक्ति छुट्याएका थियौँ ।
१. सामाजिक शक्ति : यो शक्ति सङ्गठनबाट आउँछ । श्रमजीवी जनताको सामूहिक सामथ्र्यबाट पैदा हुन्छ ।
२. सरकारी शक्ति : यो शक्तिले सरकारी निकायका साथै नीति निर्माणमा पहुँच प्रदान गर्छ । यो पहुँचमार्फत कुनै पनि कार्यक्रम अघि बढाउन सकिन्छ ।
३. व्यवस्थाजन्य शक्ति : यो शक्तिमार्फत राज्यको वर्गचरित्र बदलिन्छ । उत्पादन, सम्पत्ति तथा सामाजिक जीवनको व्यवस्थापन गर्ने आधारभूत सम्बन्ध बदलिन्छ ।
शक्ति/सत्ताको यो पत्रैपत्र परेको अर्थ बुझेपछि हामीले समाजवादी रणनीतिको मूल प्रश्न गर्न सक्छौँ – सङ्गठनमार्फत जनता कसरी आफ्नै जीवनमाथि शासन गर्न र समाजलाई बदल्न सक्ने गरी सबल बन्छन् ?
आज भारतदेखि युरोपसम्म ठुलठुला आन्दोलन भइरहेका छन् । जनताको आक्रोश सडकमा पोखिएको छ । तर, धीर–गम्भीर सङ्गठनबिना यी आन्दोलन हात्ती आयो हात्ती आयो फुस्स हुनेछन् । अरब वसन्तको बेला पनि त्यस्तै भएको थियो । आज हामीलाई बेग्लै किसिमको सङ्गठन, संस्था र राजनीतिक क्षमता चाहिएको छ । तब मात्र हामीले यो जनलहरलाई दिगो सामाजिक शक्तिमा बदल्न सक्नेछौँ† त्यो शक्तिलाई सरकार र व्यवस्थाका लागि हुने सङ्घर्षसँग जोड्न सक्नेछौँ । मुक्तिको यही साङ्गठनिक पूर्वाधारबारे हामीले यहाँ चर्चा गर्नेछौँ । अलिबेर सोचविचार गरौँ ।
हामी सामाजिक शक्तिको ठोस रूपहरूबारे अध्ययन गरिरहेका छौँ । केरलाका कम्युनिस्टहरूले नेतृत्व गरिरहेका सहकारी आन्दोलन, ब्राजिलका भूमिहीन मजदुर आन्दोलन (MST) केही उदाहरण हुन् । यी उदाहरणले के देखाउँछन् भने सामाजिक शक्ति समाजबाट पृथक रहेर गरिने गतिविधिबाट आउँदैन । सामाजिक शक्तिका लागि सामाजिक परिवर्तनको सिद्धान्तमा जरा गाडेका सङ्गठनहरू चाहिन्छन् । सामाजिक परिवर्तनका यस्ता सिद्धान्तले जनअभियानहरू चलाउनुपर्छ र जनताका बलिया संस्थाहरू निर्माण गर्नुपर्छ । यी संस्थाहरूको माध्यमबाट थिचोमिचो र शोषणको सिकार भइरहेका जनताको क्षमता अभिवृद्धि गर्नुपर्छ । भौतिक आवश्यकता पूरा गर्ने, सबैसँग मिलेर कुनै काम फत्ते गर्ने, सामूहिक शक्ति अभ्यास गर्ने, सङ्घर्षलाई लामो समयसम्म लग्ने उनीहरूको क्षमता बढ्नुपर्छ । केरलाको उदाहरणले प्रस्ट पार्छ – वर्गसङ्घर्षमा जरा गाडिएको समाजिक शक्तिले सरकारी शक्तिसँग मिलेर सामाजिक संस्थाहरूलाई टिकाउ बनाउन र फैलाउन काम गर्न सक्छ । ब्राजिलको उदाहरणले पनि यही निष्कर्षमा बल लिन्छ । साथै, यसले सामाजिक शक्ति कसरी निर्माण हुन्छ तथा सामूहिक निर्णय, राजनीतिक शिक्षा र अविच्छिन्न सङ्घर्षमार्फत त्यसलाई कसरी पुनरुत्पादन गरिन्छ भन्ने देखाउँछ । ब्राजिलमा भूमिमा स्वामित्व ग्रहण गरिसकेपछि पनि आन्दोलनरत परिवारहरूलाई सङ्गठित राख्ने गजबको अभ्यास पाइन्छ । आन्दोलन विजयी भइसकेपछि पनि आफ्ना विचार राख्ने, अरुका विचार सुन्ने र सामूहिक रूपमा निर्णयसम्म पुग्ने लोकतान्त्रिक बानीलाई मलजल गरिन्छ । सहकारी स्थापना गर्नु वा बस्ती निर्माण गर्नु आफैमा लक्ष्य होइन, बरु एउटा लामो प्रक्रियाको हिस्सा हो । एउटा विजय सङ्गठनलाई थप बढाउँदै लग्ने बिन्दु बन्छ । कहिले एउटा विजयका कारण सामाजिक शक्ति अझ गहिरो बन्छ । कहिले सरकारी शक्तिमाथि दाबी बढाउने कारण बन्छ । एकएक भौतिक उपलब्धिले अर्को सङ्घर्ष जित्ने जनताको क्षमता अझ बढेर जान्छ । जस्तो, जतिबेला जनताले भूमिअधिकार हासिल गर्छन्, त्यतिबेला उनीहरू आआफ्नै निजी जग्गाजमिनमा फर्किन सक्छन् । त्यसैले सङ्गठित गतिविधिलाई चलाइराख्न जनतामा भिजेका सङ्गठनहरू चाहिन्छ । साथमा राजनीतिक शिक्षा र निरन्तरता पनि उत्तिकै आवश्यक छ । ब्राजिलको भूमिहीन मजदुर आन्दोलन (MST) का आधार समूहहरू यसका उदाहरण हुन् । यी समूहमा सदस्यहरूले आफै निर्णय लिन्छन् र आफ्ना बस्तीहरूका गतिविधिमा संयोजन मिलाउँछन् । केरलाको सहकारी आन्दोलनलाई पनि जनसङ्गठनहरूले जोगाइरहेका छन् । पुँजीवादले मजदुर र किसानहरूलाई उल्टो पाठ पढाउँछ । छिमेकीसँग घाँटी रेट्ने प्रतिस्पर्धा गरेर मात्र बाँच्न सकिन्छ भनेर सिकाउँछ । तर, उनीहरूको आफ्नै अनुभवले भन्छ – दिनदिनै सहकार्य अति आवश्यक हुन्छ । ब्राजिलका बस्ती र केरलाका सहकारीहरूले संस्थागत रूपमा यही पाठ पढाइरहेका छन् । सामूहिक गतिविधिले कामदार जनताका आवश्यकताहरू पूरा गर्दै र दैनिक जीवनमा समाजवादी मूल्यमान्यता स्थापित गरेर आपसी ऐक्यबद्धताको भौतिक जग हाल्छ । पुँजीवादले जबरजस्ती सामाजिक भरोसा पातलो पार्छ । तर, साझा जिम्मेवारी र प्रत्यक्ष प्रतिबद्धताले सामाजिक भरोसालाई थप सबल बनाउँछ ।
हामीले यही दिशामा अफ्रिकी कम्युनिस्ट पार्टीहरूको पनि अध्ययन गर्दै छौँ । उनीहरू ‘जनताको लाल लस्कर’ कार्यक्रम चलाइरहेका छन् । तान्जानियामा ‘साना किसान समूहको राष्ट्रिय सञ्जाल’ (MVIWATA) सक्रिय छ । त्यस्तै हामीले भेनेजुयलाका कम्युनहरू र चीनमा ग्रामीण पुनर्जागरण परियोजनाको पनि अध्ययन गर्दै छौँ ।
यी उदाहरणले कसरी सरकारी शक्तिले सामाजिक शक्तिलाई सुदृढ बनाउन सक्छन् भन्ने उजागर गर्छन् । वामपन्थी सरकार सत्तामा आएपछि त्यसले जनताका संस्थाहरूको रक्षा र सम्वद्र्धन गर्नुका साथै तिनको दायरा बढाउनका लागि सरकारी स्रोतसाधनको प्रयोग गर्छन् । (जस्तो, नेपालमा सत्तामा पुगेका वामपन्थीहरूले यस्तो गरेनन् । त्यसैले, उनीहरू कम्युनिस्ट त परको कुरा वामपन्थी पनि होइनन् । अनु.) यस्तो बेला सरकारी शक्तिको बाटोमा तगारा आउन सक्छन् । यस्ता तगारा आफ्नो नियन्त्रणबाहिरका राज्य र अर्थतन्त्रका संरचनाका कारण आउँछन् । यस्ता नियन्त्रणबाहिर जाने तत्वहरू वित्त र कर्पोरेसनहरूको असीम शक्तिमार्फत देशभित्र र बाहिर सक्रिय हुन सक्छन् । यसबारे हामीले अर्कै लेखमा विस्तृत रूपमा चर्चा गरेका छौँ । अन्तर्राष्ट्रिय सङ्घसंस्था र उग्र–साम्राज्यवादका विभिन्न निकायमार्फत यस्तो नियन्त्रण गरिएको हुन सक्छ ।
पुँजीवादमा यस्ता संरचनाहरूले सत्ताधारी वर्गको शक्तिलाई पुनरुत्पादन गर्छन् । लोकतान्त्रिक अधिकारको अभ्यास गर्ने बहुसङ्ख्यक जनताको क्षमता घटाउँछन् । दक्षिणी गोलाद्र्धका देशहरूमा आफ्नै देशको सार्वभौम सरकारी शक्ति प्रयोग गर्न खोज्दा अन्तर्राष्ट्रिय र नवउपनिवेशवादी दबाब झेल्नुपरेका धेरै उदाहरण छन् । दबाब बाहिरबाट मात्र आउँदैन देशभित्रकै शासक वर्गको पनि दबाब झेल्नुपर्छ । किनभने, देशको परनिर्भरताबाट यिनीहरू लाभान्वित हुन्छन् । त्यसकारण, सामाजिक शक्तिका जरा गहिरा हुनुपर्छ । तब मात्र व्यवस्था बदल्नका लागि लामो सङ्घर्ष गर्न सकिन्छ ।
पश्चिम बङ्गालमा कृषि मजदुर युनियनले आफ्नै जनप्रतिनिधिलाई चुनौती दिनका लागि एक महिला कामदारलाई साथ दियो । जनप्रतिनिधि र युनियन एउटै विचारधाराका भए पनि महिलाले आफ्नो माग राख्न अप्ठ्यारो मानिनन् । बरु उनले आफ्नो मागलाई जोडदार ढङ्गले उठाउन र त्यसमा जनप्रतिनिधिलाई मनाउन सकिन् । महिलाको मनोबल र जनप्रतिनिधिको तत्परताले हामीलाई एउटा पाठ पढाउँछ । त्यो के भने कामदार जनता र तिनले निर्वाचित गर्ने प्रतिनिधिहरूको सम्बन्धलाई लगातार नवीकरण गर्दै लग्नुपर्छ । कामदार जनतालाई सङ्गठन चाहिन्छ । सङ्गठनबाट मात्र उनीहरूले आफ्नो सामूहिक अधिकारको अभ्यास गर्न र आफ्ना प्रतिनिधिहरूलाई उत्तरदायी बनाउन सक्छन् ।
कहिलेकाहीँ यस्तो सम्बन्ध कमजोर पनि हुन सक्छ । सरकारी दबाबका कारण अनुभवी सङ्गठकहरूलाई उनीहरू हुर्केको इलाकाभन्दा टाढा लगेर जनप्रतिनिधि बनाउँदा यस्तो सम्बन्ध कायम हुन पाउँदैन । दक्षिणपन्थीहरूविरुद्ध आफ्ना जनप्रतिनिधिलाई जोगाउने प्रवृत्तिले आलोचना कमजोर हुन सक्छ । हरेक आलोचनालाई खतरनाक मानिन सक्छ । यसले गर्दा परनिर्भरता र उँचनीचको बानी फस्टाउन सक्छ । कामदार जनतालाई भोट दिन, ताली पड्काउन र पर्खिन मात्र लगाइन्छ भने ती जनप्रतिनिधिलाई सत्तामा पु¥याउने सामाजिक शक्ति कमजोर बन्दै जान्छ । त्यसैले वामपन्थी सरकारलाई जनताको सङ्गठित पहलकदमीको आवश्यकता पर्छ । गल्ती चिन्ने जनताको क्षमता र तिनलाई सच्याउने जनताको माग चाहिन्छ ।
सामाजिक शक्ति र सरकारी शक्ति बढ्दै जाँदा व्यवस्था बदल्ने अभियान अघि बढ्छ । त्यो अभियानमा नयाँ–नयाँ जिम्मेवारी र नयाँ अन्तर्विरोध पनि आउँछन् । राजनीतिक शिक्षा, आलोचना र इमानदार विश्लेषणले अन्तर्विरोधहरूबीच पनि आन्दोलनलाई सही दिशामा लग्न मद्दत गर्छ । यसबीच जनसत्ता जनताकै हातमा रहन्छ । दैनिक अभ्यासबाट सङ्गठनको धीर–गम्भीर कार्यले आकार लिन्छ । त्यसले दिनदिनै ज्ञान निर्माण गर्नुपर्छ र ठुला जिम्मेवारीहरू वहन गर्ने गरी कामदार जनताको मनोबल बढाउनुपर्छ । श्रमजीवी जनताले आफ्नो जीवनलाई आकार दिने सर्तहरू र सरकारी निकायहरूमाथि आफ्नो अधिकारको अभ्यास गर्ने क्षमता हासिल गरेपछि नयाँ संसारको निर्माण हुन्छ ।
चार दशकपछि पनि म त्यो कार्यालय र ती महिलालाई सम्झिरहन्छु । उनीसँग पीडा थियो, साथ दिने सङ्गठन थियो र जनप्रतिनिधिसँग जवाफ माग्ने मनोबल थियो । ती महिलाको मनोबललाई कसरी लाखौँजनको सङ्गठित शक्तिमा फुलाउन सकिन्छ ? अरबौँ जनतालाई सताउने यस्ता पीडा जन्माउने (शोषणकारी) अवस्थालाई तिनको क्षमता लाखौँजनको सङ्गठित शक्तिमा कसरी बढाउन सकिन्छ ? समाजवादी रणनीतिको प्रश्न यही हो ।
ती महिलाको मनोबल हावाबाट आएको थिएन । त्यो मनोबलको पछाडि उनको सङ्गठन थियो† आफ्नो पीडालाई भाग्यको रूपमा लिनुपर्दैन भन्ने ज्ञान थियो । ग्वाटेमालाका क्रान्तिकारी कवि ओत्तो रेने कास्तिल्लोले यस्तै केही भनेका छन् । उनको पीडा अझ चर्को थियो । उनको देशमा रेल मजदुरहरूले थप रोटीको माग गरेर हडताल गरेका थिए । देशको सेनाले उनीहरूलाई निर्दयतापूर्वक त्यो हडताल दबायो । कतिपय मजदुरहरूले पराजय स्वीकारेर काम छोडे । तर, एक मजदुरले भाग्यवादसामु घुँडा टेक्न अस्वीकार गरे । तिनै मजदुर थिए ओत्तो रेने कास्तियो । उनले कविता लेखे – सबैभन्दा मूल्यवान सन्देश । उनको क्रान्तिकारी आशावाद सामान्य आशा मात्र थिएन । उनको आशावाद सामूहिक सङ्घर्षको अनुभवबाट जन्मिएको थियो । एउटा हारले सङ्गठित हुने र फेरि लड्ने हाम्रो क्षमतालाई निभाउन सक्दैन । कविता भन्छ –
“नबिर्सनु
कामरेडहरू
समयले छर्नेछ
एउटा लाल मुस्कान
सँगै हुनेछ
जनस्वीकारको सुवास ।
आज नभए, भोलि
भोलि नभए, पछि ।
प्रत्येक हारपछि पनि
केही रहन्छ सधैँ ।
आज जसले सजाय पाउँदै छन्
भोलि तिनैले निसाफ गर्नेछन् ।
अनि यही छ त्यो मूल्यवान सन्देश –
सधैँ जनतासँग बोल ।
एकदम तितो पराजयमा पनि
एकदम चरम निराशामा पनि
कहिल्यै नबिर्सनु
कामरेडहरू –
क्रान्तिसँग आशा
आशासँग क्रान्ति
सधैँ जोडिएर आउँछ ।”
(विजय प्रसाद भारतीय इतिहासकार, सम्पादक तथा पत्रकार हुन् । उनी लेफ्टवर्ड बुक्सका सम्पादक हुन् भने सामाजिक अनुसन्धान संस्थान ‘ट्राइकन्टिनेन्टल’ निर्देशक हुन् । उनी चीनको रेन्मिन विश्वविद्यालयका गैरआवासीय अध्येता पनि हुन् । उनले २० भन्दा बढी पुस्तक लेखेका छन् । ‘अँध्यारा राष्ट्रहरू’ र ‘गरिब राष्ट्रहरू’ उनका बहुचर्चित पुस्तक हुन् । ‘सङ्घर्षले हामीलाई मानव बनाउँछ’ उनको पछिल्लो पुस्तक हो । यो पुस्तक उनले नोम चोम्स्कीसँग मिलेर लेखेका थिए ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply