रास्वपा सरकारको भारत भ्रमणमा सीमा स्तम्भ मर्मत र ऊर्जामा देशघात !
- मंसिर ९, २०८३
यही मङ्सिर ६ र ७ गते भएको रास्वपा सरकार प्रमुखको भारतको औपचारिक भ्रमण ‘उपलब्धिसहित सफल’ भएको दाबी गरियो । यो भ्रमणबारे भारतका एक टेलिभिजन पत्रकारले भारतीय विदेश सचिव विक्रम मिश्रीसँग सोधे– ‘के चीन–भारतबिच व्यापारिक नाका खोलिएको लिपुलेकबारे भ्रमणमा रास्वपा सरकारले उठायो ? मिश्रीको जवाफ थियो– “रास्वपा सरकारले लिपुलेकबारे उठाएन ।”
भारतले नेपालको ७१ भन्दा बढी ठाउँमा जग्गा मिचेको पुरानो हो । नेपालको इलाममा पशुपतिनगरदेखि सप्तरीको तिलाठी र लालापट्टि, नवलपरासीको सुस्ता, कञ्चनपुरको दोधारा चाँदनी, दार्चुलाको लिपुलेक, कालापानी,लिम्पियाधुरासम्मको जग्गा भारतले मिचेको छ । यसबारे रास्वपा सरकार प्रमुखमा नपुग्दै उनले तत्कालीन शासक दलहरूप्रति व्यङ्ग्य गर्दैै ¥याप हानेका थिए– “दिल्लीतिर आँ गर्दै छन् रे पुरै देश लुटेपछि ।”
सरकार प्रमुख भएपछि उनले भनेका थिए, “हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ । हामी हाम्रा छिमेकीसँग कुरा गरेर फिर्ता ल्याउँछौँ ।” भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्न दिल्ली पुग्दा रास्वपा सरकार प्रमुखले आफूसँग भएको प्रमाण किन देखाएनन् ? आठ महिनापछि भए पनि बल्ल भारतले बोलायो, केही समय सरकारको प्रमुखमा आफ्नो आयु लम्बिने भयो भनी ढुक्क भएको हो ? भारतको ५६ अर्ब रूपैयाँ अनुदान र १८४ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋणको आश्वासनमा रास्वपा सरकार फसेको हो ?ऋणबारे सहमति गर्नुअघि रास्वपा सरकार प्रमुखले ऋणको ब्याज दर, अवधि र ऋणको पहिलो किस्ता तिर्नुपर्ने समय (ग्रेस पिरियड) आदि निश्चित नगरी १८४ अर्ब ऋण लिने सहमति किन गरे ? रास्वपा सरकारको नेपाल र नेपाली जनतामाथि यो खेलबाड नभए के हो ?
रास्वपा सरकार प्रमुखले आफ्ना २० जना सांसद चीन भ्रमणमा पठाउनुअघि बीआरआईअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत निर्माणको लागि अघिल्ला सरकारहरूले लिएको सहुलियतपूर्ण ऋण अनुदानमा परिणत गराउने विषय उठाउन निर्देशन गरे । यसको विपरीत उनले आफू भारत भ्रमणमा गएर १८४ अर्ब रूपैयाँ ऋण लिने सहमति गरे । रास्वपा सरकार प्रमुखले भारतसँग १८४ अर्ब रूपैयाँ ऋण होइन अनुदानमै दिनू भन्न किन सकेनन् ? के भारतले नेपालको जग्गा मिचेको विषय उठाउन नसक्नु र नेपालीलाई १८४ अर्ब रूपैयाँ ऋण थप बोकाउनु रास्वपा सरकारको भारत भ्रमणको उपलब्धि र सफलता हो ?
रास्वपा सरकार प्रमुखले भारतीय प्रधानमन्त्री मोदीसँग मङ्सिर ७ गते करिब डेढ घण्टा एकान्त वार्ता गरेको सार्वजनिक भयो । सो वार्तामा भैरहवा विमानस्थलको लागि भारततर्फबाट रुट लिने उधारो सहमतिबाहेक अरु बाहिर आएन । नेपाल–भारतबिचको मुख्य समस्या भारतले नेपालको जग्गा मिचेको, नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खा भर्ती, नेपालको सुरक्षा मामिला भारतको छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि नै हुन् । रास्वपा सरकार प्रमुखले मोदीसँगको एकान्त वार्तामा भारतले मिचेको नेपालको लिम्पियधुरासम्मको जग्गा फिर्ता लिने, सन् १९४७ को गोर्खा भर्ती र सन् १९५० को असमान सन्धि खारेज गर्ने विषय उठाउन सक्नुपथ्र्यो तर सकेन । के मोदीले रास्वपा सरकार प्रमुखलाई अँगालो हाल्नु भ्रमण सफलताको मापन हो ?
रास्वपा सरकार प्रमुखले मोदीसँगको एकान्त वार्तामा ‘सप्तकोसी र सुनकोसी बहुद्देश्यीय परियोजनाहरूको कार्यान्वयन तीव्रता दिने’ सहमति गरेको पनि सार्वजनिक भयो । नेपालका नदीनाला शरीरको नशाजस्तै हुन् । ३५ वर्षयता सरकारमा गएकाहरूले नेपालका नदीनाला एक एक गरी भारतीय एकाधिकार पुँजीलाई दिई नेपाललाई मरुभूमि बनाउँदै छन् ? रास्वपा सरकारले यही मौकामा तल्लो अरुण परियोजना सञ्चालन गर्न भारतलाई जिम्मा दियो । सारमा, रास्वपा सरकारको भारत भ्रमणमा विगतका सरकारको जस्तो देश हितविपरीत धेरै सहमति भए ।
Leave a Reply