भर्खरै :

देशघातीहरूलाई चिनौँ !

देशघातीहरूलाई चिनौँ !

बिचौलिया आरोपमा रास्वपा सरकारले प्रहरी थुनामा रहेका इनम सापकोटाको मोबाइल गत असोज १५ गते साँझ ४ः३० बजे रास्वपा सरकारको प्रधानमन्त्री कार्यालयमा पु¥याइएको, लगतै साँझ ५ः१० बजे लगेर साँझ ५ः२५ बजे रास्वपा सरकार प्रमुखको राजनीतिक सल्लाहकार कुमार बेनको घरमा पु¥याइएको सार्वजनिक भयो । सरकारी प्रहरीको थुनामा रहेका व्यक्तिको मोबाइल प्रधानमन्त्री कार्यालय हुँदै राजनीतिक सल्लाहकारको घरमा किन पु¥याइयो ? के इनमले रास्वपा सरकारका कतिपय नेतासँग मोबाइलमा सूचना आदानप्रदान गरेको हटाउन नै त्यसो गरिएको हो ? यो विषयमा रास्वपा सरकारले स्पष्टिकरण दिनु जरूरी छ ।
२०७९ सालको चुनावमा रास्वपाका सांसदहरू २१ जनामात्र थिए । अहिले रास्वपाबाट सांसद भएकाहरू त्यसबेला केही पत्रकार, उद्योगी, व्यापारी र अभियन्ता थिए । त्यसबेलाका एक पत्रकार र हाल रास्वपा सांसद भएकाले बोलेका थिए – “रास्वपाको प्रवृत्ति नालायकी र बेइमानी हो । निकृष्ट काम भएको जानकारी भइसकेपछि पनि गुपचुप हुने रास्वपाको प्रवृत्ति बेइमानी हो । नक्कली कागहरू प्रतिकार गर्न जथाभावी लेख्न तम्तयार छन् । रास्वपाले जनतासँग माफी माग्नु पर्दछ ।”
रास्वपाले के के बेइमानी गरे ? रास्वपाका २१ जना सांसद हुँदा एमाले र माओवादीसँग मिलेर उपप्रधानमन्त्री र मन्त्रीको भाग लिएर रास्वपा सरकारमा पुगेको थियो । त्यसबेला रास्वपाका मन्त्रीहरू राष्ट्रिय परिचयपत्र, भिजिट भिसालगायत काण्डमा मुछिएका थिए । रास्वपा सभापति त दोहोरो नागरिकतामा परेर उपप्रधानमन्त्री र सांसद पद नै गुमाएका व्यक्ति हुन् । यी काण्डहरूबारे रास्वपाले माफी मागेको छैन । तर कतिपय ‘बुद्धिजीवी’, ‘उद्योगी व्यापारी’, ‘अभियन्ता’ गत वर्ष भदौ २३ र २४ गतेको तोडफोड, लुटपाट र आगजनीयता रास्वपाबाट सांसद हुन पुगे ।
रास्वपा सरकार प्रमुखले हालै दुई दिनको भारत भ्रमणमा जाँदा दुई अर्ब डलर मागेको सार्वजनिक भयो । नेपालका साहित्यकार र कलाकारहरूले धेरै अगाडि नै ‘मागेको धोतीबाट लाज नछोपिने’ गीत गाएका थिए । रास्वपाका कतिपय सांसदहरू गतवर्ष भदौ २३ र २४ गतेको उपद्रवमा प्रत्यक्ष संलग्न भएको भिडिओ क्लिप सार्वजनिक भएको छ । देशको खर्बौँ रुपैयाँको सम्पदा तोडफोड र आगजनीमा संलग्नहरू विदेशीसँग केही अर्ब ऋण माग्न किन लाज मानेनन् ?
सरकारमा पुग्नुअघि रास्वपाका कतिपय व्यक्तिहरू ‘ग्रेटर नेपाल’ को नक्सा भित्तामा झुन्ड्याउँथे । नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता, भारतीय अतिक्रमणबाट फिर्ता नगरेकोमा तत्कालीन सरकारहरूसँग गुनासो गर्थे । सरकारमा दोस्रोपटक झन्डै दुईतिहाइको हाराहारीमा पु¥याइएपछि रास्वपा सरकार प्रमुख नेपालको भूमि फिर्ताबारे मौन बसे । उल्टो उनले नेपालले भारतको जग्गा मिचेको भनी बोले ।
हिजो नेका, एमाले, माओवादी भएकै कारण अनेक काण्डमा परे पनि छुट पाउँथे अहिले रास्वपा भएकै कारण छुट मिलिरहेको हो कि होइन ? यो प्रश्नको जवाफ रास्वपाले जनतालाई दिनु जरूरी छ । ३५ वर्षयता बारम्बार सरकारमा गएका, नेका, एमाले, माओवादीहरू संसद् र सडकमा कतै पनि देखिँदैनन् । शासक दलहरू सबै नाफाघाटाको गणनामा किन रुमल्लिरहेका छन् । के राज्य संयन्त्र निजी कम्पनी नै भयो ? रास्वपा सरकार भारत पुगेर सीमा स्तम्भ मर्मतमा सन्तुष्टि जनाउनुको अर्थ के लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्तालगायत भारत अतिक्रमित नेपाली जग्गा त्यागेको हो ? नेपाली जनता सचेत होऔँ । देशघातीहरू चिनौँ ।
केही भारतीय सञ्चारकर्मी रास्वपा सरकारले भारतलाई नेपाल–बङ्गलादेशबिचको १८ किमीको भूभागलाई १५० किमी बनाउन २४० अर्ब अनुदान र ऋणमा ‘बेचेको’ दाबी गर्दै छन् । यसबारे पनि रास्वपा सरकारले स्पष्टिकरण दिनु जरुरी छ । सुगौली सन्धिअनुसार महाकाली नदी पारीमात्र भारतको भूमि पर्ने विषय के रास्वपा सरकारले उठाउने साहस गर्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *