१२ औँ उद्योग दिवस विविध कार्यक्रम गरी सम्पन्न
- मंसिर ११, २०८३
भक्तपुर, १० मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन गरिने आधारभूत सिलाइ, एड्भान्स सिलाइ, बुटिक (फेसन डिजाइन), आधारभूत हेयर कटिङ (सैलुन), आधारभूत प्लम्बिङ, आधारभूत हाउस वायरिङ र आधारभूत पाक शिक्षा (कुक) तालिमका प्रशिक्षार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रशिक्षार्थीहरू आफूले तालिम लिनुको उद्देश्यप्रति स्पष्ट हुनुपर्ने बताउँदै नगरपालिकाले नगरवासीलाई दक्ष र आत्मनिर्भर बनाउने उद्देश्यले सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले सीप भएको व्यक्ति बेरोजगार बस्नुपर्ने अवस्था नआउने उल्लेख गर्दै विश्वविद्यालयको प्रमाणपत्रसँगै कुनै व्यावसायिक सीपको प्रमाणपत्र पनि हासिल गर्न सके जीवनमा आर्थिक समस्या भोग्नुपर्ने अवस्था कम हुने बताउनुभयो ।
काम गरेर खान लाज मान्न नहुने बताउँदै उहाँले श्रम गर्ने व्यक्तिलाई सम्मान गर्न जान्नुपर्ने र कुनै पनि काम सानोठुलो नहुने धारणा व्यक्त गर्नुभयो । विशेष गरी महिलाहरूका लागि यस्ता सीपमूलक तालिम निकै उपयोगी हुने बताउँदै तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न उहाँले प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले आफू पनि प्रशिक्षकको भूमिका निर्वाह गर्न सक्ने गरी प्रशिक्षण लिन आग्रह गर्दै प्रशिक्षार्थीहरूलाई अनुशासित भई लगनशीलताका साथ सीप सिक्न आग्रह गर्नुभयो । सबै प्रशिक्षार्थीलाई अनुकूल हुने गरी तालिम सञ्चालनका लागि बिहान, दिउँसो र साँझ गरी विभिन्न सिफ्टको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं महिला तथा बालबालिका तथा समाज कल्यण समितिका संयोजक रोशनमैया सुवालले तालिममा सहभागी भई दक्षता हासिल गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो । नगरवासीहरू पनि नगर विकासमा उत्तरदायी बन्नुपर्ने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले निःशुल्क नभई अत्यन्त न्यून शुल्कमा यस्ता तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा सदस्यहरू हेरा ख्याजु र सुमित्रा बोहजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply