हार
- मंसिर १२, २०८३
फेरि गाउँ सहर चोकमा चुनावी बतास चलेको छ
सुस्ताएका अनुहारमा आश्वासनको रङ्ग चढेको छ ।
हिजोसम्म नचिन्नेहरूले आज नाम सोध्न थाले
धुलाम्मे आँगनमा पाइला राख्दै आफन्त बन्न थाले ।
कसैले सडक बनाउने सपना देखाउँछ,
कसैले गाउँमै समृद्धिको महल सजाउँछ ।
कसैले पानी, कसैले रोजगारीको कुरा गर्छ
कसैले विकासको नक्सा हातमा लिएर भविष्य कोर्छ ।
तर जनताको मनमा प्रश्नहरू अझै बाँकी छन्
विगतका बाचा किन अधुरा छन् ?
हाम्रो गाउँ किन अझै उस्तै छ ?
चुनावपछि हराउने ती अनुहारहरू
फेरि किन चुनावकै बेला मात्र देखिन्छन् ?
कुर्सीमा पुग्नु मात्र राजनीति होइन,
जनताको दुःख बुझ्नु पनि राजनीति हो ।
भाषणमा जनताको नाम लिनु सजिलो छ
जनताको पीडामा साथ दिनु जिम्मेवारी हो ।
अब मत बेचिने वस्तु नबनोस्
प्रलोभनमा विवेक नहराओस् ।
क्षणिक लाभका लागि भविष्य नसुम्पियोस्
नाताभन्दा नीति, नाराभन्दा नियत रोजियोस् ।
हामीलाई झन्डा बोकेर हिँड्ने भिड होइन
जनताको आवाज बोकेर हिँड्ने नेतृत्व चाहिन्छ ।
हामीलाई पदको उचाइमा रमाउने होइन
जनताको पीडामा झुक्ने प्रतिनिधि चाहिन्छ ।
गाउँको विकास कागजमा होइन, बाटोमा देखियोस्
समृद्धिको नारा भाषणमा होइन, जीवनमा भेटियोस् ।
विद्यालयमा गुणस्तरीय शिक्षा, अस्पतालमा सहज उपचार
युवाका हातमा अवसर, किसानको श्रममा सम्मान होस् ।
यो चुनाव केवल जित र हारको खेल होइन
यो त हाम्रो भविष्य लेख्ने महत्वपूर्ण अवसर हो ।
मतपेटिकामा खस्ने एउटा सानो मत
भोलिको समाज बदल्ने ठुलो शक्ति हुनसक्छ ।
त्यसैले, हे मतदाता ¤
एकछिन रोकिएर सोच, विवेकलाई जगाऊ
अनुहार होइन, चरित्र पहिचान गर
आश्वासन होइन, विगतको काम हेर
भिडको पछि होइन, सत्यको पक्षमा उभिऊ ।
Leave a Reply