भर्खरै :

चितवनमा चिनियाँ हाइब्रीड धान परियोजनाको सफल परीक्षण

चितवनमा चिनियाँ हाइब्रीड धान परियोजनाको सफल परीक्षण

चीनको छोङछोङ र नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)ले सञ्चालन गरेको धान परियोजना सफल भएको छ । चितवनस्थित ’छोङछिङ–समर्थित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क’मा सञ्चालन गरिएको परियोजनामा प्रतिहेक्टर ६ टनभन्दा बढी धान उत्पादन भएको नेपाल खबर अनलाइनले लेखेको छ ।
परियोजना सफल भएसँगै चीन–नेपाल सहकार्यमा तयार पारिएको हाइब्रीड धानको प्रयोगात्मक प्रदर्शन गरिएको छ । यो कार्यक्रमले चीन र नेपालबिच कृषि विज्ञान तथा प्रविधि सहयोगको क्षेत्रमा अर्को एउटा महत्वपूर्ण कोसेढुङ्गा खडा गरेको छ ।
उक्त समारोहमा छोङछोङ कृषि विज्ञान प्रतिष्ठानका उपाध्यक्ष थान फिङ† राष्ट्रिय स्वतन्त्र पार्टी, चितवन जिल्ला सभापति मिनीमाधव खनाल† एएफयूका रजिस्ट्रार प्राध्यापक सुन्दर तिवारी, उपकुलपति प्राध्यापक ऋषि राम कट्टेल† नेपालस्थित चीनको दूतावासका निर्देशक यु फङछङ, चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) नेपाल कार्यालयकी कन्ट्री डाइरेक्टर चोउ चिखियाङ† छोङछोङ कृषि प्रतिनिधिमण्डलका सदस्यहरू तथा कृषि विज्ञहरू† ग्लोबल डेभलपमेन्ट एसोसिएसन अफ नेपालका अध्यक्ष मुक्ति मरासिनी, चीन–नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजना टोलीका सदस्यहरू र करिब १०० जना स्थानीय किसानहरूको उपस्थिति थियो ।
कार्यक्रममा छोङछोङका कृषि विज्ञहरूले धानका बाला एएफयूका धान विज्ञहरूलाई हस्तान्तरण गर्नुभएको थियो । छोङछोङ कृषि विज्ञान प्रतिष्ठानका निर्देशक तथा धान विज्ञ वाङ छियानले चिनियाँ धान विज्ञहरूको प्राविधिक मार्गदर्शन र चिनियाँ तथा नेपाली विशेषज्ञहरूको संयुक्त प्रयासबाट ‘चीन–नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क’ मा रहेको हाइब्रीड धानको प्रदर्शन खेतमा प्रतिहेक्टर ६.८६० टन उत्पादन हासिल भएको बताउनुभयो ।
एएफयूका उपकुलपति प्राध्यापक ऋषि राम कट्टेलले छोङछोङबाट आएका धान विज्ञहरूप्रति आभार व्यक्त गर्नुभयो । उहाँले प्राविधिक ज्ञान तथा सीप बाँड्ने उनीहरूको तत्परता र नेपाली धान विज्ञहरूसँग मिलेर संयुक्त प्रजनन अनुसन्धान तथा वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्न नेपाल आउने उनीहरूको प्रतिबद्धताको विशेष चर्चा गर्नुभयो ।
८ सय दिनभन्दा बढी समयको समर्पित अनुसन्धान, बारम्बार गरिएका परीक्षणहरू र बालीको सावधानीपूर्वक गरिएको व्यवस्थापनपश्चात् यो सहकार्य सफल भएको उहाँको भनाइ थियो । यो पार्कमा हाइब्रीड धानको उत्पादन प्रतिहेक्टर ६,००० किलोग्रामभन्दा बढी हुनुले चीन र नेपालबिच भविष्यमा हुने कृषि प्रविधि सहयोग तथा संयुक्त वैज्ञानिक अनुसन्धानका लागि नयाँ सम्भावनाहरू प्रस्तुत गरेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा छोङछोङ कृषि विज्ञान प्रतिष्ठानका उपाध्यक्ष थान फिङले प्राविधिक चुनौतीहरूको सामना गर्ने सन्दर्भमा चिनियाँ र नेपाली वैज्ञानिकहरूले प्रदर्शन गरेको ऐक्यबद्धता, सहकार्य र समर्पणको भावनाको उच्च प्रशंसा गर्नुभयो ।
सन् २०२३ को जुलाईमा, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा सीपीसी छोङछोङ नगर समितिका सचिव युआन चियाचुनको नेपाल भ्रमणका क्रममा, छोङछोङको सहयोगमा सञ्चालित ‘भविष्य उज्यालो पार्ने, जीवन्त ग्रामीण क्षेत्र’ नामक दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजनाको सुरुवात गरिएको थियो । विगत तीन वर्षमा परियोजनाअन्तर्गत दुवै देशका कृषि वैज्ञानिकहरूले नेपालमा धान खेती, भैंसी पालन र तरकारी उत्पादनमा केन्द्रित तीनवटा कृषि प्रविधि प्रदर्शन केन्द्रहरू स्थापना गरेका छन् । तरकारी प्रदर्शन परियोजनाले लगातार दुई वर्षसम्म सफल बाली उत्पादन गरेको छ । यसमा सहभागी किसानहरूलाई कतार तथा मध्यपूर्वका अन्य मुलुकहरूमा तरकारी निर्यात गर्न सहयोग पु¥याएको छ ।
कार्यक्रममा सीएफआरडी नेपाल कार्यालयकी कन्ट्री डाइरेक्टर चोउ चिखियाङले छोङछोङको सहयोगमा सञ्चालित ’दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क’ अन्तर्गतको सहयोगात्मक हाइब्रीड धान परियोजनामा संलग्न हुन पाउनुलाई आफ्नो लागि सम्मानको विषय भएको बताउनुभयो ।
उहाँले यो कठिन परिश्रमबाट प्राप्त सफलता हासिल गर्न दुवै देशका वैज्ञानिकहरूले कसरी भाषागत, सांस्कृतिक तथा अन्य चुनौतीहरूलाई सँगै मिलेर पार गरे र संयुक्त रूपमा प्राविधिक अनुसन्धान तथा व्यावहारिक गतिविधिहरू सञ्चालन गरे भन्ने कुरामा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *