केका लागि हो वास्तवमा इरान युद्ध ?
- मंसिर ११, २०८३
एङ्गेल्सको प्रसिद्ध कृति ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ को सार सङ्क्षेप
परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति लुइस हेनरी मोर्गनको शोधअनुसार फ्रेडरिख एङ्गेल्सद्वारा सन् १८८४ मा लेखिएको एक ऐतिहासिक भौतिकवादी ग्रन्थ हो । यो पुस्तकलाई एक प्रारम्भिक मानवशास्त्रीय कार्य भनिन्छ र यसलाई पारिवारिक अर्थशास्त्रमा पहिलो प्रमुख कार्यहरूमध्ये एक महत्वपूर्ण कार्य मानिन्छ । यो पुस्तक तत्कालीन समाजको आधारभूत नारीवादी आलोचना हो तथा समतापरक साम्यवादी समाजको सपना हो । यही वैचारिक ऊर्जासँगै बीसौँ शताब्दीमा एङ्गेल्सको यो पुस्तक महत्वपूर्ण साबित भयो ।
सन् १८८३ मा आफ्ना परममित्र र सह विचारक कार्ल माक्र्सको मृत्यु भएपछि एङ्गेल्स उनका रचनाहरूलाई पूर्ण गर्ने कार्यमा लागे । उनी आफ्ना विद्वान् मित्रका विभिन्न रचनाहरूको प्रकाशनको लागि सक्रिय रूपले व्यवस्थापकीय काममा लागे । यससँगै उनले आफ्नो अध्ययन कार्यलाई पनि निरन्तरता दिए । यद्यपि, सन् १८८३ को उनको एक महत्वपूर्ण पुस्तकको पाण्डुलिपि प्रकृतिको द्वन्द्वात्मकता अधुरो रह्यो र अप्रकाशित नै रह्यो ।
परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्तिको लेखन एङ्गेल्सले अप्रिल १८८४ को सुरुआतमा गरेर यसलाई २६ मेमा पूरा गरेका थिए । एङ्गेल्सले यो विषयमा आफ्नो काम प्रसिद्ध मानव वैज्ञानिक लुइस हेनरी मोर्गनको एन्सियन्ट सोसाइटीद्वारा माक्र्सको एउटा पुस्तकको हस्तलिखित सारांश पढेपछि सुरु गरेका थिए । एङ्गेल्सले आफ्नो पुस्तकमा मोर्गनका निष्कर्षहरूलाई समकालीन वर्गसङ्घर्षका अहिलेसम्म हाम्रोसामु नभएका प्रागऐतिहासिक तथ्यात्मक आधार प्रदान गर्ने रूपमा हेरे । उनको मान्यताअनुसार यो मोर्गनका विचारहरूको लागि ऐतिहासिक भौतिकवादका सिद्धान्तको एक महत्वपूर्ण पूरक हुनेछ ।
सन् १८७७ मा प्रकाशित अमेरिकी मानवशास्त्री लुइस हेनरी मोर्गनको ‘एनसियन्ट सोसाइटी ः रिसर्चेज इन द लाइन्स अफ ह्युमन फर्म सेवेजरी थ्रु बर्बरिज्म टु सिभिलाइजेसन’ लाई पढेपछि एङ्गेल्सले काउत्स्कीलाई पत्र लेख्दै भनेका थिए – जसरी जीवन विज्ञानको लागि डार्विनको क्रान्तिकारी महत्व छ, त्यसरी नै मोर्गनको यो पुस्तकको महत्व आदिम समाजको सिलसिलामा हुनेछ । यसपछि एङ्गेल्सले यसैका आधारमा आफ्नो प्रसिद्ध पुस्तक परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति पुस्तक लेखेका थिए । यो पुस्तकमा एङ्गेल्सको क्षमतालाई राम्रोसँग बुझ्न सकिन्छ । बीसौँ शताब्दीमा माक्र्सवादी शासन स्थापित देशहरूमा महिलाहरूको सम्बन्धमा बनेका कानुनमाथि यो पुस्तकको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । यहाँसम्म कि पश्चिमी देशहरूका समाजवादी नारीवादको पछाडि पनि यो पुस्तकको स्पष्ट प्रभाव परेको देखिन्छ । यसमा लैङ्गिक विषमतामाथि प्रबल रूपमा आक्रमण गरिएको छ । परिवार संस्थाको ऐतिहासिक आलोचना गरिएको छ र उत्तर–समाजवादी देशहरूमा यो पुस्तकका मान्यताहरूको विरासत देखिन्छ । यति मात्र होइन यो पुस्तकले आधुनिक सामाजिक सम्बन्धहरूलाई बुझ्नको लागि एक आधारभूत दृष्टिकोण प्रदान गर्दछ ।
लुइस हेनरी मोर्गन अमेरिकाका विकासवादी मानवशास्त्री थिए । उनी मानव समाजको प्रगतिशील विकासको धारणामा विश्वास गर्दथे । मोर्गनका अनुसार बर्बरताबाट सभ्यतातिर सामाजिक विकासको प्रत्येक चरण प्रतिपालनबाट बढ्दै गएको स्रोतहरूको परिणाम थियो, जुन परिवारको बदलिँदो रूपमा प्रतिबिम्बित हुन्छ । मोर्गन पनि डार्विनको जीव विकासवादी सिद्धान्तबाट प्रभावित थिए । उनको मान्यता के थियो भने बर्बरताभन्दा पहिलेका मानिस बाँदर प्राणीजस्तै थिए र उनीहरू आगो, धनुष–वाण तथा ढुङ्गाका हतियारको सहाराले लामो समयसम्म विकसित भइरहे । सभ्यता प्रवेश गर्नुभन्दा पहिले मानिसले कृषि, पशुपालन र फलाम तथा कच्चा धातु गलाउने काम सिकिसकेका थिए । मोर्गनका अनुसार यिनीहरूमध्ये प्रत्येक युगका अलग–अलग पारिवारिक संरचना थिए । परिवारको ढाँचा स्थिर होइन, समाजको विकाससँगै विकासमान भएको हो । उनको मान्यताअनुसार सुरुमा अर्थात् बर्बर अवस्थामा सामूहिक विवाह व्यवस्थाको चलन थियो र यौन स्वतन्त्रता मुक्त थियो । यस अवस्थामा युग्म विवाहको सुरुआत भयो र त्यसको साथै गोत्रमा आधारित समाजको विकास भयो । विवाहित युग्म सामुदायिक वंशगत आवासहरूमा बस्थे । यसपछि नै पितृसत्तात्मक परिवारको विकास भयो, जसमा मालिक पुरुष हुन्थ्यो र त्यो परिवारमा एकाधिक पुस्ता एकसाथ रहनुपर्दथ्यो । मालिकको पत्नी, बच्चा, दास र नोकरहरूमाथि अधिकार हुन्थ्यो । बर्बरताको अन्तिम चरणमा एक–पत्नी–व्रति परिवारको उदय भयो । यसमा पुरुषको परिवारमाथि पूर्ण स्वामित्व स्थापित भयो । विभिन्न समाज यही मार्गबाट भिन्न–भिन्न गतिले अगाडि बढे । यो सम्पूर्ण शोधको क्रममा मोर्गनले के कुरामा अचम्म माने भने कैयौँपटक भाषा परिवारका विद्यमान रूपको मेल हुँदैनथ्यो । उनको आफ्नो समयमा एक–पत्नी–व्रति परिवारको बहुलता भए पनि भाषामा विचित्र यौन सम्बन्धहरूका अवशेष विद्यमान थिए । यसबाट के बुझिन्थ्यो भने भाषामा अतीतका पारिवारिक रूपहरूका अवशेष बाँकी रहेका थिए । मोर्गनले जुन चीज भाषामा पाए, त्यसैको सहाराले एङ्गेल्सले पुराना पारिवारिक स्वरूपहरूलाई खोज्ने कोशिश गरे । परिवारको यो पुरानो रूपलाई बदलिरहेको आर्थिक शक्तिसँगै बदल्नुपर्दथ्यो । मोर्गनको खोजले उत्पादनका साधनहरूको स्वामित्वमा परिवर्तनसँगै परिवारको रूपमा परिवर्तनको कुरा साबित गरिदियो । मानिसको प्राकृतिक अस्तित्वको प्रथम अवस्थामा कविला, जमिनमा उसको सामुदायिक स्वामित्व र यसप्रकारका पारवारिक संरचना थिए । मोर्गनको पुस्तक माक्र्स र एङ्गेल्सको लागि उत्कृष्ट सन्दर्भ सामग्री बन्यो किनकि आदिम इतिहासमा तिनको धेरै नै रूचि थियो ।
परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति प्राचीन समाजको व्यापक चर्चासँगै सुरु हुन्छ । यसले मानव विकासका प्रमुख चरणहरूको वर्णन गर्दछ जस्तो कि एङ्गेल्सको समयमा आम रूपमा बुझिन्थ्यो । यहाँ दिइएको तर्कअनुसार मानव इतिहासमा पहिलो घरेलु संस्था मातृवंशीय कविला थियो । एङ्गेल्सको विशेष रूचिको एउटा कारण महिलाको समस्याको बारेमा प्रकाशित अगस्ट बेबेलको पुस्तक थियो, जसमा बेबेलले भनेका थिए – इतिहासको आरम्भदेखि नै महिला र मजदुरहरूको दमन उत्पीडन सामान्य कुरा रहेको छ । बेबेलका अनुसार परिवारको विकासभन्दा पहिले नै महिलाहरूलाई कविलाका सम्पत्ति मानिन्थे र उनीहरूलाई अस्वीकार गर्ने अधिकार हुँदैनथ्यो । यही कुरा कार्ल काउत्स्कीले पनि आदिम यौन सम्बन्धमाथि लेखिएको एक लेखसङ्ग्रहमा दोहो¥याएका थिए । यसमा एङ्गेल्सलाई भू–स्वामित्वको प्रारम्भिक तरीका र विवाह पद्धतिको बिचको सम्बन्ध ज्ञात भयो । अगस्ट बेबेल र काउत्स्कीको विपरीत एङ्गेल्सको भनाइ के थियो भने आदिम मानव समाजमा पितृसत्ता थिएन, बरू सामुदायिक यौन सम्बन्धहरूको व्यवस्था रहेको हुनुपर्दछ । आदिम समाजमा महिला उत्पीडनले उनीहरूलाई आधुनिक विकारको प्रक्षेपण महसुस भयो । आधुनिक समाजमा आएर यौन स्वच्छन्दता पुरुषको विशेषाधिकार बन्यो, अतीतमा यो सुविधा पुरूषसँगै स्त्रीलाई पनि प्राप्त थियो । मोर्गनको पुस्तकको बारेमा माक्र्सका टिप्पणीहरूबाट एङ्गेल्सलाई आफ्ना मान्यताहरूको पुस्टि प्राप्त हुनलाग्यो । यसको आधारमा उनले अगस्ट बेबेल र काउत्स्कीका अनैतिहासिक मान्यताहरूको विरोधमा लेख्ने निश्चय गरे । किनभने, मोर्गनको किताब पढ्ने मौका सबैलाई मिल्न सक्दैनथ्यो । त्यसपछि एङ्गेल्सले काउत्स्कीलाई पत्र लेखेर के कुरा भनेका थिए भने मोर्गनको खोजबाट इतिहासको भौतिकवादी दृष्टिकोणको पुष्टि हुन्छ । विगतलाई बुझ्ने यो दृष्टिकोण माक्र्स र एङ्गेल्सले सुरुमा नै विकसित गरेका थिए, जसमा धर्म, वर्ग, राजनीतिक प्रणाली आदि सामाजिक संरचनाहरूलाई आर्थिक र प्राविधिक शक्तिहरूको उत्पादन मानिएको थियो । यसमा सबभन्दा महत्वपूर्ण तत्व सम्पत्ति सम्बन्ध थियो । यसैको आधारमा सबभन्दा बढी औपचारिक हुने तत्व राज्य थियो । सम्पत्ति सम्बन्धअनुरूप राजनीतिक व्यवस्थाको रूपान्तरण हुँदै जान्छ । यो रूपान्तरणको सञ्चालक वर्गसङ्घर्ष हुन्छ । यी त माक्र्स–एङ्गेल्सका सामान्य ऐतिहासिक भौतिकवादी दृष्टिकोण थिए । मोर्गनको खोजबाट परिवार पनि उपरिसंरचनाका विभिन्न पक्षहरूमा सामेल भए, जुन उत्पादनमा हुने परिवर्तनअनुरूप बदलिएको देखिन्छ । एङ्गेल्सले आफ्नो पुस्तकको पहिलो संस्करणको भूमिकामा यो कुरामाथि विशेष जोड दिएको देखिन्छ ।
एङ्गेल्सले मोर्गनको परिवार पनि धर्म, राजनीति र संस्कृति जसरी नै उत्पादन पद्धतिबाट प्रकट भएको हो भन्ने कुरालाई ग्रहण गरे । अत्यन्त आदिम अवस्थापछि जसरी–जसरी श्रमको उत्पादकता बढ्दै गयो, त्यसरी नै विनिमय, निजी सम्पत्ति, प्रविधि र विषमतामा पनि बढोत्तरी भयो । यसको साथै पहिलेदेखि विद्यमान सामाजिक संरचनाहरूमा दबाब तीव्र हुनलाग्यो । उत्पादन पद्धतिहरूमा परिवर्तनसँगै बदलिएको परिवारको स्वरूप आज निजी सम्पत्तिको प्रभुता अनुरूप एक–पत्नी–व्रति आधुनिक परिवारमा प्रकट भएको छ । यसको विकास, प्राकृतिक सामुदायिक सम्पत्तिमाथि निजी सम्पत्तिको समानान्तर भएको छ । एङ्गेल्सले मोर्गनको खोजसँग माक्र्सको ऐतिहासिक भौतिकवादलाई जोड्नुको अलावा एउटा आधारभूत कुरा भनेका छन् । उनका अनुसार कुनै पनि समय र देशका सामाजिक सङ्गठनको निर्धारणमा एकातिर मजदुरको विकासको अवस्था त अर्कोतिर परिवारको विकासको अवस्था निर्णायक हुन्छन् । यो मान्यताको साथै माक्र्सवादी सिद्धान्तमा महिलाको प्रश्न धेरै माथि उठेको छ । उत्पादन सम्बन्धसँगै मानिसको पुनरूत्पादन र परिवारको सञ्चालनमा महिलाहरूको भूमिकालाई पनि महत्व दिइएको छ । यही आधारमा एङ्गेल्सले मानव समाजको इतिहासमा महिलाको सम्प्रभुतामा कमी भएको कुरा उठाए । पहिले नै एङ्गेल्स कुन कुरालाई मान्थे भने आदिम समाजमा सन्तानकी आमा मात्र निश्चित गर्न सकिन्थ्यो । यससँगै महिलाको सम्मान त हुन्थ्यो नै, तिनको सामाजिक प्राधिकार पनि बलियो थियो । मोर्गनले जुन कविलाको अध्ययन गरेका थिए, त्यहाँ महिलाहरूलाई बुर्जुवा समाजको विरुद्धमा बढी स्वतन्त्रता हासिल थियो । तर, एकल परिवारमा सङ्क्रमणसँगै महिलाको स्वतन्त्रताको क्षय किन भयो ? यसको उत्तरमा एङ्गेल्स भन्छन् – श्रम–विभाजन र निजी सम्पत्तिमाथि आधारित पुँजीवादी उत्पादन सम्बन्धहरूमा आगमनसँगै आएको एकल परिवारमा उत्तराधिकारको हस्तान्तरण पिताबाट पुत्रलाई हुन सुरु भयो । यसको लागि पुत्रको जैविक पिताको निश्चय र महिला स्वच्छन्दतामा बन्धन आवश्यक थियो । त्यसपछि महिलाको ऐतिहासिक हार भयो । घरमा पनि पुरूषको स्वामित्व कायम भयो र महिला दास समान बने । उसलाई केवल पुरुषको वासना सन्तुष्ट गर्ने र सन्तान पैदा गर्ने काममा सीमित गरियो । सन्तानको पितृत्वलाई निश्चित गर्नको लागि महिलामाथि पुरुषको स्वामित्व थोपरियो । यदि पुरुषले आफ्नो पत्नीको हत्या गरिदियो भने पनि आफ्नो अधिकारको प्रयोग गरिरहेको हुन्थ्यो । महिलाले पतिव्रता धर्म निभाउनु हुन्थ्यो, पुरुषले भने आफ्नो लागि स्वच्छन्दताको अधिकार सुरक्षित राख्यो ।
एङ्गेल्सको यस्तो गहन विश्लेषणसँगै लैङ्गिकता ऐतिहासिक र सामाजिक निर्माणजस्तो देखिन लाग्यो । जहाँ अगस्ट बेबेलले पुरुष प्रभुत्वलाई अनादिकालदेखि विद्यमान मानेका थिए, त्यहीँ एङ्गेल्सले त्यसलाई हालको परिघटना प्रमाणित गरिदिए, जसको उभार निजी सम्पत्तिको विकाससँग भयो । उनले पुरानो समाजमा महिला स्वाधीन मात्र होइन, सम्मानित पनि थिए भन्ने कुरा देखे । आदिम साम्यवादको अन्त्यसँगै महिलाको दुर्दशा सुरु हुन्छ । यसबाट के कुरा तय भयो भने पुरूष प्रभुत्व अस्थायी छ र लैङ्गिक विषमताको सम्बन्ध शरीरसँग होइन, बरु खास आर्थिक व्यवस्थासँग छ । इतिहासको गतिमा जसरी पुँजीवादको अन्त्य हुन्छ, त्यसरी नै पुरूष प्रभुत्व पनि समाप्त हुनेछ । आफ्नो यही घोषणाको कारण एङ्गेल्सको यो पुस्तक स्त्री समुदायको लागि आशाको सन्देश लिएर आएको थियो ।
माक्र्स र एङ्गेल्सले जर्मन विचारधारामा नै आधुनिक श्रम विभाजनलाई घरभित्रसम्म विस्तारित भएको देखेका थिए । उनीहरूका अनुसार निजी सम्पत्ति र विषमताको केन्द्र परिवारभित्र हुन्छ, जहाँ पत्नी र बच्चाको स्थिति दासजस्तै हुन्छ । एङ्गेल्स यसभन्दा अगाडि बढेर भन्छन् – सामाजिक वर्गका बिचमा शत्रुताको बीज आधुनिक एकल परिवारमा पुरुषद्वारा महिलाको उत्पीडनमा हुन्छ । सामाजिक उत्पादनबाट वञ्चित र घरेलु कामकाजको निजी संसारमा धकेलिएकी महिला आफ्नी पतिकी नोकर्नी बनेर रहन्छे । परिवारभित्र सम्पत्तिको मालिक हुनुसँगै पुरुष बुर्जुवा हुन्छ र पत्नी सर्वहारा हुन्छे । यसरी एङ्गेल्सको क्रोधको विषय आधुनिक बुर्जुवा परिवार हो, जसभित्र व्यापक विषमता संस्थागत हुन्छ । यसलाई उनी पुँजीवादी वर्गीय सम्बन्धहरूको लघु विश्व ठान्दथे । परिवारभित्रको नैतिकताकै पूरक बाहिरको पाखण्डपूर्ण आचरण हुन्छ । एकल परिवारको द्वन्द्वात्मक विपरीत वेश्यावृत्ति हो । मजदुरबाट पत्नीको अन्तर के हुन्छ भने मजदुर आफ्नो शरीरलाई टुक्रा–टुक्रा गरेर दैनिक बेच्दछ, जबकि पत्नी त्यसलाई एकैपटक जिन्दगीभरको लागि सुम्पिदिन्छे । यसरी, एङ्गेल्सका अनुसार वेश्यावृत्ति र विवाह बाह्य सम्बन्ध एकल विवाह संस्थाको अप्राकृतिक मागहरू र परिवारभित्र असमान शक्ति सम्बन्धहरूको परिणाम हुन्छन् । परिवारको आधुनिक संस्थाको निर्माण नै महिलाको दासताको आधारमा हुन्छ । त्यसकारण, यसमा पुँजीवादी व्यवस्थाजस्तै तनाव र अन्तर्विरोध हमेसा कायम रहन्छ । वंश परम्परालाई कायम राख्नको लागि विवाह बाह्य सम्बन्धलाई क्रूरतापूर्वक दण्डित गरिनेछ तर त्यसको अस्तित्व रहिरहनेछ । यसरी पाखण्ड के हो भने पुरूषले आफ्नो लागि यी सम्बन्धहरूको अधिकार सुरक्षित राख्यो र महिलाबाट यो खोसियो । परिवारको यो रूपले मजदुरवर्गमाथि पनि प्रभाव पा¥यो । एङ्गेल्सलाई के आशा थियो भने पुँजीवादले जसरी महिलालाई पनि कारखानाको कामदार बनाएको छ, त्यसमा मजदुर परिवारभित्र त्यसको उत्पीडनको कुनै भौतिक आधार रहन गएको छैन । एकल परिवारको आगमनसँगै जोडिएको महिलासँगको क्रूर व्यवहारको अवशेष मात्र यी परिवारमा देखिन्छन् । तर, महिलाको पराधीनता पुँजीवादको माध्यमबाट खत्तम हुँदैन, बरु साम्यवादमा मात्र यसको समाप्ति सम्भव हुन्छ । विरासतमा प्राप्त हुने सम्पत्तिलाई साझा सामाजिक सम्पदामा बदलेर मात्र परिवारको वर्तमान रूपलाई बदल्न एङ्गेल्सले काउत्स्कीलाई लेखेको एउटा पत्रमा भनेका छन् – पुरुष र महिलाको बिचमा वास्तविक समानता त्यतिखेर स्थापित हुनसक्दछ, जतिखेर पुँजीको शोषण अन्त्य हुन्छ र घरेलु कामलाई सार्वजनिक उद्योगमा बदलिन्छ । सायद चाल्र्स फूरिएसँगै एङ्गेल्सलाई साम्यवादको क्रममा यौन र पारिवारिक सम्बन्धहरूमा माक्र्ससँग बढी रुचि थियो । एङ्गेल्सलाई के लाग्दथ्यो भने विवाहको आधार आपसी रूचिको अतिरिक्त अरू केही हुनुहुँदैन र यस्तो प्रेमवश नै हुन सक्दछ । साम्यवादमा परिवारको एक नयाँ रूप स्थापित हुनेछ, जुन आदिम स्वतन्त्रताको माहौलमा विद्यमान नातासम्बन्धको उन्नत स्वरूप हुनेछ ।
यसप्रकार, विभिन्न विद्वान्हरूका अनुसार परिवारको इतिहासको सिलसिलामा जति मौलिक कुरा एङ्गेल्सले गरेका छन्, त्यति मौलिक कुरा राज्यको उत्पत्तिको सिलसिलामा गरेको देखिँदैन । यद्यपि, त्यसमा पनि माक्र्स–एङ्गेल्सका विकसित सोच देखिन्छ । यो पुस्तकमा उनले भनेका छन् – आदिम सामुदायिकताको समाप्ति र विरोधी कविला तथा वर्गहरूको उत्पत्तिसँगै राज्य एक अनिवार्य दुर्गुणको रूपमा सामुन्ने आयो । यी विरोधी वर्गका टकरावहरूबाट माथि उठेर त्यसले समाजलाई निर्देशित गर्न लाग्यो । यसको साथै यी विरोधी वर्ग हितहरूको बिचमा राज्यका विभिन्न निकायहरूमाथि कब्जाका लडाइँ सुरु भए । आर्थिक रूपले शक्तिशाली वर्गका बलिया राज्य उत्पीडित वर्गलाई दबाउन र त्यसको शोषण गर्न लागे । तैपनि, पुँजीवादी उत्पादन सम्बन्ध र एक परिवारजस्तै एङ्गेल्सले राज्य प्राधिकारको वर्तमान रूपलाई ऐतिहासिक माने । कम्युनिस्ट क्रान्तिले वर्तमान सामाजिक वर्गलाई अन्त्य गर्नेछ । यसको साथै ती वर्गहरूलाई त्यसको ठाउँमा कायम राख्ने राज्यको पनि समापन हुनेछ । अब त्यो पुरातात्विक वस्तुहरूको सङ्ग्रहालयमा पाइनेछ ।
यसरी एङ्गेल्सको यो एक महत्वपूर्ण कृति हो । यसले प्राचीन समाजदेखि आधुनिक समाजसम्मको मानव जातिको विकासक्रममा भएका घटनाक्रमहरूलाई सूक्ष्म ढङ्गले केलाएर ऐतिहासिक भौतिकवादी दृष्टिकोण प्रदान गरेको छ । शोषणको जरो मातृसत्ताबाट पितृसत्तामा समाज प्रवेश गरेपछि र परिवारमा पिताले मालिकत्व लिएपछि सुरु भएको र त्यसले व्यापक रूप लिएको कुरालाई यसमा तथ्यसङ्गत ढङ्गले पुष्टि गरिएको छ । यो पुस्तकमा परिवारको इतिहास, परिवर्तन, मातृसत्तात्मक परिवारको विशेषता, निजी सम्पत्तिको उत्पत्ति र राज्यको विकासलाई तत्कालीन समाजका विभिन्न उदाहरणसहित पुष्टि गरिएको छ । मानव जातिको शोषणको इतिहासलाई पनि यसमा सूक्ष्म ढङ्गले विश्लेषण गरिएको छ । यो पुस्तकले नारीमाथि हुने अन्यायलाई स्पष्ट रूपले उजागर गरेको छ । त्यसैगरी, यसले शोषणको आधार परिवारमा नै हुने र त्यो पुरुषले परिवारमा नारी, अन्य सन्तान र दासबाट सुरु गर्ने कुरा स्पष्ट पारिएको छ । त्यसैले यो पुस्तकलाई साम्यवादी समाज निर्माणको लागि एक महत्वपूर्ण वैचारिक आधार सामग्रीको रूपमा लिने गरेको पाइन्छ ।
–समाप्त
Leave a Reply