भर्खरै :

नमुना फाउन्डेसनको आयोजनामा ‘मलाई घर फर्काऊ’ प्रदर्शनी

नमुना फाउन्डेसनको आयोजनामा ‘मलाई घर फर्काऊ’ प्रदर्शनी

भक्तपुर, १२ मङ्सिर (सेतोपाटी) । विदेशका सङ्ग्रहालयको सिसाभित्र थुनिएका ‘भगवान्’हरूले ‘मलाई घर फर्काऊ’ भन्दै गरेको चित्कार हामीले सुन्न सकिरहेका छैनौँ ।
यो यथार्थ विदेशका सङ्ग्रहालयको मात्र होइन । नेपालकै सङ्ग्रहालयदेखि प्रहरी चौकी, नगरपालिका भवन, अदालत र सरकारी कार्यालयहरूमा समेत विभिन्न ठाउँबाट भेटिएका सम्पदाहरू थलिएको अवस्थामा भेटिन्छन् ।
भक्तपुरमा यतिबेला ‘मलाई घर फर्काऊ’ प्रदर्शनी सञ्चालन भइरहेको छ । प्रदर्शनीमा राखिएका सामग्रीमार्फत देवताहरू मन्दिरमै पुजिन्छन्, अन्यत्र होइन भन्ने सन्देश दिन खोजिएको छ ।
प्रदर्शनीमा दुईवटा बुद्धका प्रतिमूर्ति राखिएका छन् । एउटा नियमित पूजा गरिएको जीवन्त मूर्ति हो भने अर्को सिसाभित्र थुनिएको । यसले नेपाली समाजले भगवान्लाई कसरी हेर्छ भन्ने यथार्थ देखाउन खोजेको छ । सिसाभित्र राखिएको बुद्धमूर्तिबारे लैनसिंह बाङ्देलले आफ्नो पुस्तक ‘स्टोलेन इमेजेज अफ नेपाल’ मा उल्लेख गरेका थिए । उनका अनुसार पाँचौँ शताब्दीमा बनेको यो मूर्ति चाबहिलको चारूमति विहारबाट सन् १९८५ को जुलाईमा हराएको थियो ।
प्रदर्शनीमा रवीन्द्र पुरीले सन् २०२७ मा सुरू गर्ने भनेको ‘म्युजियम अफ स्टोलेन आर्ट’ का लागि बनाइएका केही प्रतिमूर्ति पनि राखिएका छन् । बाङ्देलको ‘स्टोलेन इमेजेज अफ नेपाल’ बाट प्रतिलिपि उतारेर ढुङ्गामा आकार दिई बनाउन थालिएका यस्ता ५० वटा प्रतिमूर्ति तयार पारेर सङ्ग्रहालय खोल्ने पुरीको ध्येय छ ।
प्रदर्शनीमा आगन्तुकबिच नेपालमा भइरहेको चोरीनिकासीमार्फत गैरकानुनी ढङ्गले हराएका मूर्ति देश–विदेशमा कसरी पुग्छन्, तिनलाई फर्काउन कसरी पहल गर्न सकिन्छ र हामीले आफ्नो सम्पदा संरक्षण कसरी गर्नुपर्छ भन्ने विषयमा छलफल गरेर चेतना जगाउने उद्देश्य राखिएको छ ।
प्रदर्शनीको एउटा कोठामा नेपाल फर्किएर समुदायलाई हस्तान्तरण गरिएका केही उदाहरणीय पुनस्र्थापनाका फोटो प्रदर्शित छन् । एउटा भित्तामा विश्वको नक्सा राखेर नेपालका सम्पदा हालसम्म कुन–कुन देशमा पुगेका छन् भन्ने देखाइएको छ ।
सम्पदाको उत्पत्ति–स्रोत कसरी खोज्ने, कतै हाम्रो सम्पदा देखिए खोजीनीति कसरी गर्नेजस्ता कुरा सिकाउन त्यहीँ अन्तरक्रियात्मक गतिविधि पनि राखिएको छ ।
आयोजकका अनुसार, ‘मलाई घर फर्काऊ’ मा एउटा भगवान्को चित्कार जसरी अभिव्यक्त गर्न खोजिएको छ । यसले विश्वभरका सङ्ग्रहालय र निजी सङ्ग्रहमा रहेका देवीदेवताले आफ्नो पवित्र थलोमा फर्कन चाहेको इच्छा जनाउँछ, जहाँ उनीहरूको पहिचान अझै जीवित छ ।
प्रदर्शनीकी संयोजक श्रीना नेपालका अनुसार यसले सांस्कृतिक सम्पदाको फिर्ती बुझ्नुको महत्व उजागर गर्छ ।
नमुना फाउन्डेसनले आयोजना गरेको प्रदर्शनी नोभेम्बर ३० सम्म लम्ब्याइएको छ । प्रदर्शनी हरेक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिन्छ । प्रदर्शनी भक्तपुरको कमलविनायकस्थित नमुना फाउन्डेसनमा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *