भर्खरै :

तःमुंज्या कीर्तिपुरद्वारा साहित्य लेखन प्रशिक्षण

तःमुंज्या कीर्तिपुरद्वारा साहित्य लेखन प्रशिक्षण

काठमाडौँ, १२ मङ्सिर । नेपालभाषा साहित्य तःमुंज्या पाँगा कीर्तिपुरको आयोजनामा शनिबार पाँगामा जनसाहित्य लेखन प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले क्रान्तिकारीहरूले लेख्न थालेपछि मात्र जनताको साहित्य सिर्जना हुन्छ भन्नुभयो ।
जनताको साहित्य लेख्न क्रान्तिकारी साहित्य नियमित अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जनताको साहित्यमा जनतालाई परेको समस्या उजागर गर्दै जनचेतना दिने र आमूल परिवर्तनमा सहयोग हुने बताउनुभयो ।
उहाँले देशका शासक दलहरू पुँजीवादका पृष्ठपोषक भएकाले तिनीहरूबाट जनताको हितमा काम नहुने स्पष्ट पार्दै देश र जनताको पक्षमा सधैँ आवाज उठाउने नेमकिपाको सही राजनीतिक विचार अनुसरण गर्नुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबजारले साहित्य लेख्ने तरिका, साहित्यमा हुनुपर्ने गुण, साहित्य जनताले बुझ्ने हिसाबले सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले देश र जनताको पक्षमा नलेखिने साहित्य कागजको खोस्टा साबित हुने या प्रतिक्रियावादी पक्षको साहित्य हुने धारणा राख्नुभयो ।
तःमुंज्या पाँगा कीर्तिपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति श्रीकृष्ण महर्जनले देशको अवस्था र जनताको समस्यालाई लिएर साहित्य कोरेर जनचेतना उठाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तःमुंज्या पाँगा कीर्तिपुरका सचिव नारायण महर्जनले साहित्य लेखन प्र्रशिक्षण हरेक वर्ष गर्दै आएको स्मरण गर्दै यही पुस ९ गते हुने १३ औँ तःमुंज्यालाई लक्षित गरी प्रशिक्षण सञ्चालन गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *