देश जलाउने र जलाइँदा बेखबर हुनेहरू देश र जनताका शत्रु
- मंसिर १०, २०८३
भक्तपुर, १२ मङ्सिर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा संस्थाका असल बचतकर्ता, असल ऋणी सदस्य र विद्यार्थीहरूलाई बधाई एवं प्रशंसा–पत्र वितरण तथा मार्गनिर्देशन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले वित्तीय अनुशासन, बचतको महत्व, खर्च र बचतको सन्तुलन मिलाउनुपर्ने बताउनुभयो ।
उहाँले घरमा थन्किएर रहने रकम निष्क्रिय रहने तर वित्तीय संस्थामा जम्मा भएको रकम पुँजीले उत्पादन, कर्जा प्रवाह र रोजगारी सिर्जनामा प्रयोग भई देशको आर्थिक विकासमा योगदान पु¥याउने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय परिवेश, आर्थिक नीति तथा बजारको अवस्थाबारे जानकारी राखेर मात्र खर्च र लगानीको निर्णय गर्नुपर्नेमा जोड दिँदै पदमा पुगेपछि पनि पढ्ने, समाचार तथा पत्रपत्रिका हेर्ने र समसामयिक विषयमा सामूहिक छलफल गर्ने बानी छोड्न नहुने उल्लेख गर्नुभयो ।
उहाँले विषयवस्तुको गहिराइ बुझ्न विद्यार्थी तथा युवापुस्तालाई प्रेरित गर्नुपर्ने, स्वास्थ्य सचेतना, व्यायाम तथा खानपानमा सतर्कता अपनाउनुपर्ने र समय–समयमा स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले शिक्षित, दक्ष तथा सचेत नागरिक राजनीति र नीति निर्माणबाट टाढा रहन नहुने बताउँदै योग्य व्यक्तिहरू अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले सहकारी संस्थाको गतिविधि आर्थिक कारोबारमा मात्र सीमित नभई शिक्षा, सचेतना र सामाजिक उत्तरदायित्वसँग जोडिनुपर्ने बताउनुभयो । उहाँले संस्थाका असल बचतकर्ता, असल ऋणी सदस्य र विद्यार्थीलाई प्रशंसा–पत्र र मायाको चिनो वितरण गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एवं सभापति विष्णुराम दुमरूले संस्थालाई बचत र ऋणको कारोबारमा मात्र सीमित नराखी शिक्षा, सीप विकास, स्वास्थ्य सेवा र नागरिक सचेतनासँग जोडेर अघि बढाइरहेको जानकारी दिनुभयो ।
उहाँले संस्थाले विद्यार्थीलाई मार्गदर्शन कार्यक्रम, स्नातक तथा प्लस टु तह पूरा गरेका विद्यार्थी र सदस्यहरूलाई स्वदेशमै अध्ययनमा प्रोत्साहन गर्नका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै आएको र स्वदेशमै अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न विदेशमा पढ्ने विद्यार्थीको तुलनामा ब्याजदरमा सहुलियत दरमा शैक्षिक ऋण उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
उहाँले सिलाइ, साबुन बनाउने, मोटरसाइकल मर्मतसम्बन्धी सीपमूलक तालिम प्रदान गरी सदस्यहरूलाई अत्मनिर्भर बनाउन निरन्तर लागिरहेको बताउनुभयो ।
मुटुरोग विशेषज्ञ डा. किसनकुमार कुशवाहले बदलिँदो जीवनशैली र खानपानका कारण मुटु तथा अन्य रोगको जोखिम बढ्दै गएकोले समयमै सचेतना, नियमित स्वास्थ्य जाँच र सन्तुलित आहारमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय मुटु रोगको जोखिम बढ्दै गएको उल्लेख गर्दै मुटु शरीरको ‘इन्जिन’ सरह भएकोले यसमा समस्या आए जीवनकै जोखिम हुनसक्ने भन्दै प्रारम्भिक अवस्थामै रोग पहिचान र रोकथाम गर्नुपर्ने बताउनुभयो ।
उहाँले कमाएको पैसाको सही सदुपयोग गर्न पनि स्वस्थ जीवन अपरिहार्य रहेको उल्लेख गर्नुयो ।
संस्थाका निवर्तमान अध्यक्ष रुद्रनारायण लाखाले नियमन निकायले ल्याएका कतिपय नयाँ नियमले लामो समयदेखि सहकारी क्षेत्रमा लागेका अनुभवी व्यक्तिहरूलाई समेत सहकारी सञ्चालन गर्न समस्या पु¥याएको उल्लेख गर्नुभयो ।
संस्थाका उपाध्यक्ष ईश्वरमान दुमरुले विद्यार्थी जीवन भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै आजको मिहिनेत, अनुशासन, लगनशीलता र निरन्तर प्रयासले नै भोलिको सफल जीवन सम्भव हुने बताउनुभयो ।
संस्थाका सचिव रमेश दुमरूले संस्था सामाजिक क्रियाकलाप निरन्तर अग्रसर रहेको बताउँदै आजको कार्यक्रम सोही शृङ्खलाको निरन्तरता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामप्रसाद लाखाजुले संस्थाको वित्तीय जानकारी दिँदै संस्थाले सदस्यहरूको आम्दानी, आवश्यकता र सहजतालाई ध्यानमा राख्दै नौ प्रकारका बचत योजना सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पहिले आम्दानीबाट बचत छुट्याएर बाँकी रहेको रकम मात्र खर्च गर्नुपर्ने बताउनुभयो ।
Leave a Reply