भर्खरै :

थ्रेसहोल्ड- प्रतिगामी कदम

भक्तपुर, २२ माघ ।
नेपाल मजदुर किसान पार्टीको ४३ औं स्थापना दिवसको अवसरमा शनिबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाण्डौ–जुम्ला सम्पर्क समितिको आयोजनामा एकदिने प्रशिक्षण कार्यक्रम भयो । कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले देशका अव्यवस्थाविरुद्ध लड्न नै राजनीति गर्नुपर्ने र देशमा आमुल परिवर्तन गर्न वा बिगार्न राजनीतिकै प्रमुख भूमिका रहने बताउनुभयो ।
समसामयिक राजनीतिक अवस्थाबारे बोल्दै उहाँले चुनावमा थ्रेसहोल्डको बन्दोबस्त गर्नु प्रतिगामी कदम हुने र हिजोको निर्दलीय बन्दोबस्तभन्दा आजको गणतन्त्र फरक नहुने बताउनुभयो ।
उहाँले संविधान कार्यान्वयन गर्न र प्रजातन्त्र बलियो बनाउन सरकारले चाँडोभन्दा चाँडो स्थानीय निकायको निर्वाचन गर्नुपर्ने विचार राख्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालले राजनीतिक र सामाजिक सम्बन्धको विषयमा प्रशिक्षण दिनुभयो । उहाँले कुनै पनि सम्बन्धको आधार समाजको व्यापक हितमा आधारित हुनुपर्ने धारणा राख्नुभयो ।
नेक्राशिसङ्घ जुम्ला जिल्ला समितिका अध्यक्ष दिर्घबहादुर शाहीले अनुशासन बिनाको कुनै पनि संगठनले समाज परिवर्तनमा योगदान गर्न नसक्ने बताउनुभयो ।
नेक्राविसङ्घका अध्यक्ष नीरज लवजूले नेपालको विद्यार्थी आन्दोलनलाई सिद्धान्तनिष्ठ र अनुशासित बनाउन नेक्राविसङ्घले महत्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष जगत अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा धमेन्द्र अधिकारी, शङ्कर धिताल, शारदा प्याकुरेल, कमला शाहीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *