भर्खरै :

देश जलाउने र जलाइँदा बेखबर हुनेहरू देश र जनताका शत्रु

देश जलाउने र जलाइँदा बेखबर हुनेहरू देश र जनताका शत्रु

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८३ सम्पन्न
भक्तपुर, ९ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर ३ गतेदेखि ९ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भयो । प्रतियोगिताअन्तर्गत टेबलटेनिस, भलिबल, फूटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, जिम्नास्टिक, पोर्टबल, कसिमला पाँय्, बाघचाललगायतका खेलहरू सञ्चालन भएका थिए । प्रतियोगितामा विजयी खेलाडीहरूलाई पदक तथा पुरस्कार वितरण गर्दै समापन समारोह सहिद स्मृति खेल मैदानमा सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले संविधान निर्माणको बेला खेलकुदलाई मौलिक हकमा राख्ने संशोधन राखेको थियो तर संविधानमा निर्णायक उपस्थिति भएका शासक दलहरूले हाम्रो संशोधनलाई स्वीकार गरेनन् ।”
नेमकिपाको संशोधन स्वीकार गरिएको भए देशभरिका विद्यालय र कलेजहरूमा खेल मैदान र खेल सामग्रीहरूको बन्दोबस्त हुने उल्लेख गर्दै उहाँले देश जलाउने र जलाइँदा जिम्मेवारी छोडेर बेखबर हुनेहरू देश र जनताका शत्रु हुन्; नयाँ पुस्ता देश र जनताको निःस्वार्थ सेवामा लाग्नु आवश्यक छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा सहभागी विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउने उद्देश्यले नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउँदै उहाँले यस प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र सर्वाङ्गीण विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले तीन हजारभन्दा बढी विद्यार्थीको सहभागितामा प्रतियोगिता सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । प्रतियोगितामा ५० प्रतिशतभन्दा बढी छात्राहरूको सहभागिताले समाजको विकासक्रमलाई प्रतिबिम्बित गर्ने बताउँदै उहाँले डिजिटल युगमा खेलकुदको महत्व झन् बढ्दै गएको धारणा राख्नुभयो । खेलकुदले नयाँ पुस्तालाई अनुशासित, सक्रिय र समाजप्रति समर्पित बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।
युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले प्रतियोगितामा ८४ वटा विद्यालयको सहभागिता रहेको जानकारी दिनुभयो । प्रतियोगितामा १४० वटा ट्रफी तथा १ हजार १२० वटा प्रमाणपत्र र पदकको व्यवस्था गरेको बताउँदै उहाँले विद्यार्थीहरूको चौतर्फी विकासका लागि भक्तपुर नगरपालिकाको युवा तथा खेलकुद समिति सधैँ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूको घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा सुवाललगायतका अतिथिहरूले विभिन्न खेलका उत्कृष्ट खेलाडी तथा विद्यालयहरूलाई पदक र प्रमाणपत्र वितरण गर्नुभयो । साथै, सहभागी विद्यालयहरूलाई खेलकुद सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा गणेश माध्यमिक विद्यालय, प्रभात इङलिश स्कूल र बाल विकास इङलिश स्कूलका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *