भर्खरै :

डाक्टर रोगीको निम्ति बाँच्छ

– डा. नर्मन बेथुन
नर्मन बेथुन एक क्यानाडेली डाक्टर हुन् । उनी क्यानाडेली कम्युनिष्ट पार्टीले स्पेनको गृहयुद्धमा फासीवादको विरोधमा जनताको पक्षमा लडेका सङ्घर्षशील गुरिलाहरूको उपचारको निम्ति पठाइएका एक नाउँ चलेका सर्जन थिए । स्पेनको गृहयुद्धमा छिमेकी देशहरूले मद्दत गर्नसक्ने सम्भावना थिएन भने तल्लो वर्ग एक्लै लडाइँमा होमिएका थिए – जनताको प्रजातन्त्रको निम्ति । संसारको जनमत स्पेनको पक्षमा थियो । संसदका प्रगतिशील शक्ति फासीवाद र नाजीवादको विरोधमा जीवन–मरणको सङ्घर्षमा थियो । अन्ततः एक प्रगतिशील र न्यायोचित युद्ध भएर पनि विभिन्न कारणले स्पेनको गृहयुद्धमा जनताले हार व्यहोरे ।
डा. बेथुन स्पेनबाट जापानी सैन्यवादी आक्रमणको विरोधमा चीनको मुक्ति सङ्घर्षमा सामेल भए । जापानको बर्बर हमला उचाइमा थियो, चिनियाँ जनमुक्ति सेना र गुरिल्ला योद्धाहरू मातृभूमिको मुक्तिको निम्ति आफूलाई बलिदान दिंदै थिए । अचानक साइरन बज्यो, घाइते जवानहरूलाई उपचार गर्न अस्पताल बनाइएका मन्दिरमा जापानको आक्रमण हुने सूचना पुग्यो । चिनियाँ मुक्ति सेनाका जवानहरू आदेशअनुसार डा. बेथुनलाई बचाउन सुरक्षित क्षेत्रमा लान खोज्दै थिए ।
‘‘डा. बेथुन ! तपाईंलाई सुरक्षित क्षेत्रमा लान हामीलाई पार्टीको आदेश छ ।’’
‘‘अहँ, म जान्न ! म आफ्ना घाइतेहरूलाई छोड्दिनँ ।’ – डा बेथुनले आफू सुरक्षित ठाउँमा जान अस्वीकार गरे ।
‘किन ?’
‘‘डाक्टर रोगीको निम्ति बाँच्छ ।’’ – बेथुनले भने ।
पार्टीको अर्को आदेश त्यहाँ पुग्यो –‘‘सारा घाइतेलाई तत्काल सुरक्षित ठाउँमा पु¥याऊ  ।’’
इस्टेचर बोकेका जवानहरू खटिए । त्यो लडाइँ थियो । एकै क्षणमा सबै घाइतेहरू सुरक्षित ठाउँमा पु¥याइए । अनिमात्रै डा. बेथुनले त्यो ठाउँ छोडे । घाइतेहरु र डा. बेथुनले छोडेको केही समयमै त्यो ठाउँ जापानी बमले ध्वस्त भयो ।
घाइतेहरू भन्दै थिए –‘‘डाक्टर, तपाईं जानुहोस् ।’’ बेथुनले पुनः जोड दिएर भने –‘‘डाक्टर रोगीको निम्ति बाँच्छ, डाक्टर भाग्दैन, डाक्टर कर्तव्यच्युत हुँदैन ।’’ अन्तमा शत्रु पराजित भयो । डाक्टर र घाइतेहरू बाँचे ।
…….
एक सम्पन्न परिवार र देशको डाक्टर, एसियाको एक दुर्गम गाउँको गुरिल्ला युद्धमा कार्यरत छ । दुःख भयो होला भनी चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना डाक्टरहरूलाई भन्दा बढी रकम डा. बेथुनलाई भत्ताको रूपमा दिने निर्णय ग¥यो । त्यो खबरले डा. बेथुन खुसी भएनन् बरू दुःखी भए । उनले भने –‘‘म पैसाको निम्ति यहाँ सेवा गर्न आएको होइन । म यहाँ काम गर्न पाएकोमा खुसी छु । म थप सहुलियत लिन्नँ ।’’
‘‘डाक्टर ! पार्टीको निर्णय बदल्न गा¥हो होला, सम्झौता गरौँ !’’
‘‘थप पैसा सबै बिरामीको उपचार सामग्रीमा खर्च गरौं ।’’ – डा. बेथुनको प्रस्ताव लागू भयो ।
डा. बेथुन मात्रै होइन, भारतका डा. बसुको नेतृत्वमा पनि भारतीय सर्जनहरूको एक टोली चीन पुगेको थियो । त्यसमध्ये डा. कोटनिश जापानविरोधी सङ्घर्षको सिलसिलामै सहिद भए । अमर भए !
×––– ––– –––
आऔँ, हाम्रा नेपाली चिकित्सकहरू जनताकै निम्ति काम गरौं ! नेपाली जनताकै सेवामा समर्पित होऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *