तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्थाको एघारौं स्थापना दिवसको अवसरमा संस्थाको शिक्षा समितिको आयोजनामा बाल चित्रकला प्रतियोगितामा विजयी भाइ–बहिनीहरूलाई पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सदस्य सुरेन्दराज गोसाईको प्रमुख आतिथ्यतमा भएको उक्त कार्यक्रममा अतिथि गोसाईंले स–साना नानीहरूलाई उत्प्रेरणा दिने उद्देश्यले विविध कार्यक्रमहरू सहकारी संस्थाले सञ्चालन गर्दै लानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
स–साना नानीहरूलाई हुकुमी पाराले सिकाउनुभन्दा मायालु वातावरणमा सिकाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले भन्नुभयो, ‘‘बालबालिकालाई हुकुमी पारामा नगर भनेर सिकाउने होइन राम्रो कामको उदाहरण दिएर सिकाउन आवश्यक छ । हरेक आमा–बाबुले असल अभिभावकत्व ग्रहण गरी आफ्नो नानीहरूलाई राम्रो समय दिनुपर्छ ।’’
आफ्नो छोरोछोरीका साथै छोराछोरीको साथीसङ्गीलाई राम्रो संस्कार दिनुपर्ने आवश्यकता औंल्याउनुहुँदै सांसद गोसाईंले भन्नुभयो, ‘‘असल अभिभावका साथसाथै समाजकै असल सदस्य बन्न सकेमात्र समाज अगाडि बढ्छ ।’’
प्रदेशसभाका गतिविधिबारे जानकारी दिनुहुँदै उहाँले नेमकिपाले मात्र प्रदेशसभामा प्रखर प्रतिपक्षको कर्तव्य पूरा गर्न सकेको बताउनुभयो ।
नेमकिपालाई खेलकुदबारे सत्तासीन पार्टीहरूले सिकाउन आवश्यक नरहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने नाउँमा भक्तपुरका जनतालाई उठीबास गर्ने दुष्प्रयास गर्दैछन् । साँच्चिकै खेलकुदको विकास गर्ने हो भने हरेक जिल्ला–नगर–वडा–वडामा कभर्ड हलको स्थापना गर्नु आवश्यक छ । काठमाडौंको दशरथ रङ्गशालालाई व्यवस्थित गर्न नसक्ने सरकारले अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउने भनेर कमिसनको चङ्गुलमा फस्दैछ ।’’
वडा नं. २ का वडाअध्यक्ष एवं संस्थाका अध्यक्ष हरिप्रसाद बासुकलाले बालबालिकाको व्यक्तित्व विकासको लागि संस्थाले गतिविधिहरू गर्दै जाने बताउनुभयो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको परिकल्पनाजस्तै भक्तपुर नगर बनाउन भक्तपुर नगरपालिका लागिपरेको छ, उहाँले भन्नुभयो ।
संस्थाको शिक्षा समितिका सभापति राजकुमार लघूको सभापतित्वमा भएको उक्त कार्यक्रममा बासु माविका प्राचार्य अम्बिका न्याइच्याई, संस्थाका कोषाध्यक्ष अमर बासुकला, सितालक्ष्मी याकामी र राजाराम सुवालले पनि बोल्नुभएको थियो ।
प्रतियोगिताको नतिजा निर्णायक बालकृष्ण वनमालाले घोषणा गर्नुभएको थियो । कार्यक्रममा अतिथि गोसाईंले परस्कृत हुन सफल नानीहरूलाई शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply