भर्खरै :

महत्तोजीको ‘भारतीय कम्युनिष्ट नेताहरू’ ले दिएको सन्देश

जमिला
आजको भारतमा वडाराष्ट्र अहङ्कारवाद, फासीवाद, सामन्तवाद र पुँजीवादको हालिमुहाली चलिरहेकोे कसैबाट लुकेको छैन । भारतीय विस्तारवाद र एकाधिकार पुँजीले गर्ने ठाडो हस्तक्षेपको पीडा, दुःख नेपालजस्तो भौगोलिकरुपमा सानो र विकासोन्मुख दक्षिण एसियाली देशहरूले भोगिरहेको जगजाहेर नै छ । हिजो बेलायती उपनिवेशवादको थिलथिलोमा जसरी भारत प¥यो आज त्यसरी नै कमजोर देशहरूमा आर्थिक, सांस्कृतिक, राजनीतिक दबदबा कायम गर्न खोजिरहनु मोदीको वर्तमान भारतको औपनिवेशिक मानसिकताको उपज हो ।
भारतमा भएका साम्राज्यवादविरोधी, उपनिवेशवादविरोधी तथा कामदार जनताको मुक्तिको आन्दोलन र सङ्घर्षका श्रृङ्खलाहरूलाई भारतका शासकहरूले सधंै छायामा राख्ने गरेको यथार्थ हो । विभिन्न कालखण्डमा भएका स्वतन्त्रता आन्दोलन, कामदार जनताको वास्तविक प्रजातन्त्र, समाजवादी भारतको निम्ति डटेर लडेका कम्युनिष्ट नेताहरूको चर्चा त हुने गरेकै छैन । त्यो ओझेलमा पारिएको या लुकाउन खोजिएको भारतको इतिहास उजागर गरी त्यहाँको चिन्तन, विचार, सङ्घर्ष, साहित्य र अत्यन्त बहुमत जनताको सपना प्रतिबिम्बित गर्ने सशक्त पुस्तकको नाम हो – ‘भारतीय कम्युनिष्ट नेताहरू’ । भारतीय कम्युनिष्ट नेताहरूको समालोचनात्मक सङ्क्षिप्त जीवनी सङ्ग्रह नेपाली साहित्याकाशमै यो पहिलो भन्दा अतिशयुक्ति नहोला । नेपाली पाठकहरूको निम्ति भारतीय कम्युनिष्ट आन्दोलनको नागबेली बाटोबारे जानकारी राख्न महत्तोजीद्वारा लिखित यो पुस्तक उपयोगी सिद्ध हुनेमा कुनै शङ्का छैन ।
बाइसजना भारतीय कम्युनिष्ट नेताहरूको जन्म, बाल्यकाल, अध्ययन, राजनैतिक यात्रा, योगदानको क्षेत्र, गतिविधिहरूबारे सङ्क्षिप्त विवेचना पुस्तकमा छ । ती नेताहरूको उदय र केहीको पतनसम्म, समर्पणदेखि विश्वासघातसम्म, इमानदारीदेखि बेइमानीसम्मको चर्चा पुस्तकले गरेको छ । सँगसँगै कम्युनिष्ट पार्टीको स्थापना, आन्दोलन र कम्युनिष्ट पार्टीभित्रको सैद्धान्तिक बेमेल, फुटको तथ्यपरक विश्लेषण पुस्तकले समेटेको छ ।
लेखक महत्तोले नेपालको कम्युनिष्ट आन्दोलनका कार्यकर्ता र कम्युनिष्ट विचारका अनुयायीहरूका निम्ति एउटा अध्ययन सामाग्रीको रुपमा यस पुस्तक प्रस्तुत गर्नुभएको अनुभूत हुन्छ ।
मानवेन्द्रनाथ राय अर्थात् नरेन्द्रनाथ भट्टाचार्यलाई लेखकले आलोचनात्मक दृष्टिले अध्ययन गर्नुपर्ने एक भारतीय नेताको रुपमा चित्रण गर्नुभएको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा समेत चिनिने एम. एन. राय बौद्धिकरुपले प्रखर भएपनि धार्मिक र आतङ्कवादी विचारबाट प्रभावित हुनाले उनमा भावुकता र अराजकता, माक्र्सवादको व्यवस्थित अध्ययन नहुँदा व्यक्तिवादी प्रवृत्ति देखापर्नु, मनोगतवादी कमी–कमजोरीहरू आदि कालान्तरमा देखापरेको लेखक चर्चा गर्नुहुन्छ ।
सङ्घर्षको जटिलताबारे अनविज्ञ रहनु, क्रान्ति, पार्टी र अनुशासनभन्दा पनि आफ्नो जिद्दीलाई प्राथमिकता दिनु, बुखारिन, कामेनेभ र त्रोत्स्कीजस्ता अराजकतावादी र लेनिनवादविरोधीहरूको शिविरमा पुग्नु रायको पतनको कारक बनेको सन्दर्भ पुस्तकमा छ । रायको विषयमा लेखक भन्नुहुन्छ– ‘‘उनको बौद्धिक प्रखरताले उनलाई बौद्धिक व्यक्तिवादी र अहङ्कारी बनायो । जीवनमा उनको असफलताको कारण उनकै बौद्धिक अराजकता र अहङ्कार बन्यो ।’’
कुनैपनि कम्युनिष्ट पार्टी भित्रका ‘मै हुँ’, पढालिखा बौद्धिक शक्ति भनी दम्भ गर्ने, व्यक्तिवादी, सानातिना काम नगर्ने, पार्टीभन्दा माथि उठेर कुरा र काम गर्नेहरूलाई शत्रुले आफ्नो जालोमा कसरी पार्दो रहेछ भन्ने पाठ बनेको छ एम. एन.रायको जीवनी । सबैभन्दा महत्वपूर्ण कुरा विचार र सिद्धान्तमा स्पष्टता हो, पार्टी र नेताहरूप्रतिको श्रद्धा एवं वफादारिता नै हो भन्ने शिक्षा मिल्छ रायको जीवनीबाट ।
गरिबी र दुःखकष्टमा हुर्केका भारतीय कम्युनिष्ट आन्दोलनका एक हस्ती मुजफ्फर अहमद एक सच्चा कम्युनिष्ट थिए । जसले भारतीय भूमिमा कम्युनिष्ट पार्टीको स्थापना गरे । अध्ययनशील र तीक्ष्ण अहमदले जस्तै अभावमा पनि अध्ययन छोडेनन् । भाषा, इतिहास, तर्कशास्त्र, साहित्य उनको विशेष रुचिका विषय थिए । उनले साहित्यको माध्यमबाटै राजनीतिको सेवा गर्ने अठोट गरेको प्रस· पुस्तकमा छ । नयाँ युग, भारतीय स्वतन्त्रताका अग्रदूत, इम्प्रेकोर, मजदुर किसानको पत्र, प्रोलेटेरियट आदि पत्रिकामा उनले काम गरे । माक्र्सवादी साहित्य अध्ययन, माक्र्स, एंगेल्सका कृतिहरूको अध्ययनले उनी अझ परिपक्व भएको देखिन्छ ।
लेखक महत्तो भन्नुहुन्छ– ‘‘बम पड््काउने र पेस्तोल चलाउनेहरू मात्रै क्रान्तिकारी र देशभक्त सम्झने त्यसबेलाका शोषक वर्गको निम्ति तिनीहरूभन्दा डरलाग्दा कम्युनिष्ट भए मुजफ्फर ।’’
थुप्रै कम्युनिष्ट हृदयहरूमा राजनैतिक ज्ञानबाट आलोकित गर्ने तथा भारतका जनता र स्वतन्त्रताको निम्ति सङ्घर्ष गर्ने, संसारका जनतालाई सम्मान गर्न सिकाउने एक नेता हुन् रजनी पाम दत्त । उनले ‘आधुनिक भारत’ पुस्तक लेखे जसलाई बेलायती साम्राज्यवादले प्रतिबन्ध लगायो । त्यस पुस्तकलाई भारतको निम्ति माक्र्सवादी व्याख्या भएको पहिलो पुस्तकको रुपमा लिइन्छ । भारतीय राष्ट्रिय स्वतन्त्रता आन्दोलनताकाको सामाजिक, आर्थिक र राजनीतिक बनावटको विश्लेषण, भारतमा बेलायती उपनिवेशवादको चिरफार, माल्थसको सिद्धान्तलाई माक्र्सवादी आँखाले विवेचना गरिएको सो पुस्तकको चर्चा आज पनि उत्तिकै हुनेगरेको प्रसङ्ग पुस्तकमा प्रस्तुत छ । नेता दत्तले थुप्रै बौद्धिक र वैचारिक खुराक नयाँ पुस्तालाई सुम्पेका छन् । अध्ययन र लेखन उनीबाट नयाँ पुस्ताले अनुसरण गर्नुपर्ने गुण हुन् ।
सम्भवतः भारतका सबभन्दा बढी उमेर बाँचेका माक्र्सवादी नेता श्रीपाद अमृत डांगे ६ दसकसम्म कम्युनिष्ट डबलीमा छाइरहे । मजदुर सङ्घका संस्थापक नेता समेत रहेका र जनताले बुझ्ने भाषा बोल्न सिपालु डांगे अन्ततः जनताबाटै कसरी टाढिए ? समाजवादी साहित्यको अध्ययनसम्म पुगेका डांगे, वेल्स, लान्सवरी र बर्टेन्ड रस्सेल एवं माक्र्स, एंगेल्स र लेनिनका विचारसम्म पुगेका र ‘गान्धीको विरोधमा लेनिन’ भन्ने पुस्तक लेख्न सफल डांगे कसरी संशोधनवादी विचारमा पतन भए भन्ने विश्लेषणात्मक पुष्ट्याईं पुस्तकमा छ । उनले माक्र्सवादको अध्ययन अत्यन्त अवैज्ञानिक ढ·ले गरेको समयक्रमले प्रमाणित ग¥यो ।
लेखक महत्तो डांगेका विषयमा प्रस्ट लेख्नुहुन्छ– ‘‘नेहरू र भारतीय राष्ट्रिय काङ्ग्रेसलाई छोड्नै नसक्ने, भारतमा स्वतन्त्र कम्युनिष्ट आन्दोलनको सफलताको कल्पनै गर्न नसक्ने डांगेको असफलता स्वाभाविक थियो । संशोधनवादी दृष्टिकोण, रुसी सामाजिक साम्राज्यवादप्रतिको विश्वास तथा नेहरू भक्तिसंगै उनी सति गए ।’’
पी.कृष्णा पिल्लाई केरालाका एक क्रान्तिकारी कम्युनिष्टका रुपमा चर्चित छन् । जातिवादले ग्रस्त, ब्राम्हणवाद शिखरमा पुगेको केरालामा कठोरतापूर्वक दबाइएका कामदार जनतालाई आफ्नो सामाजिक, आर्थिक र राजनैतिक अधिकारको निम्ति स·ठित र सचेत पार्न अहोरात्र लड्ने सिपाही थिए पी. कृष्णा पिल्लाई । केराला पहिलो कम्युनिष्ट सरकार भएको राज्य थियो र उनी कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व थिए । उनको सरल र जनताको सेवामा समर्पित जीवनबाट पाठकलाई अभिप्रेरित गर्छ ।
माक्र्सवाद आतङ्कवादको विपरित हो भन्ने विचारबाट प्रभावित नेता हुन् अजय घोष । केरालामा लागू गरिएको समाजवादी पाठ्यक्रमबाट नयाँ पुस्ता कम्युनिष्ट हुने डर पँुजीपति वर्ग र प्रतिक्रियावादीहरूमा उत्पन्न हुनु र नेहरू समेत केराला सरकारको विरोधमा उत्रनु र राष्ट्रपति शासन लागू गरी केराला सरकार र विधानसभा समेत भ· गरिएको प्रस·ले कम्युनिष्ट आन्दोलनले नयाँ अनुभव तथा नकारात्मक शिक्षा हासिल ग¥यो । केरलाको कम्युनिष्ट सरकारको पहिलो मुख्यमन्त्री हुन् – नम्बूदिरिपाद ।
ज्योति बसु सबभन्दा लामो अवधिसम्म बंगाली विधानसभामा भाकपा (माक्र्सवादी) को बहुमत पाई मुख्यमन्त्री बनेका एक नेता थिए । उनी बौद्धिकरुपमा मात्र सबल नभएर उनको सांस्कृतिक स्तर, शिष्टता, सदाचार र व्यवहारको प्रशंसा बंगाली बुद्धिजीवीहरू आज पनि गर्छन् ।
उनले एक समय विश्वासका साथ दिएको अभिव्यक्ति मननीय छ– ‘‘मानिस, मानिसले मात्र इतिहासको रचना गर्छ, अनेक दुःख–कष्ट सहेर पनि एक दिन जनता विजयी हुनेछन्, वर्गविहीन समाजमा स्वतन्त्रता पाउनेछन् र सबै प्रकारको शोषणबाट जनता मुक्त हुनेछन् ।’’
दादा अमिर हैदर खानको साम्राज्यवादविरोधी भावना र समाजमा शैक्षिक योगदान, शौकात उस्मानिको अन्तर्राष्ट्रवादी भावना र सैनिक कुशलता, बालचन्द्र त्रिम्बाक रणदिबेको समाजवादप्रतिको विश्वास र माक्र्सवाद र लेनिनवादप्रतिको दृढ विश्वास तथा क्रान्ति र स्वतन्त्रताको निम्ति नथाक्ने चरित्र नै नयाँ पुस्ताको निम्ति ठूलो शिक्षा हो । नृपेन चक्रवर्तीको समतामुलक समाज निर्माणार्थ दृढ समर्पित र सरल आचरण, जनताको बीचमा गई जनतालाई स·ठित र क्रान्तिप्रति उत्साहित गर्ने कला, आडम्बरहीन, सरल, अनुशासित र मितब्ययी चरित्र अनुकरणीय छ । सज्जाद जहीरको अध्ययनशीलता र साहित्यिक योगदान, पुरनचन्द जोशीको संघर्ष र ई.एम.एस नम्बूदिरिपाद, पुचलापल्लि सुन्दरैयाको स्पष्ट दृष्टिकोण र वैचारिक संघर्ष शिक्षाप्रद छ ।
पी. रामामूर्ति भारतीय वाम आन्दोलनका प्रकाशस्तम्भ मानिन्छन् । एक जननेता, मजदुर आन्दोलनका संस्थापक एवं नेता, सशक्त वक्ता र प्रतिभावान सांसद, प्रभावशाली पत्रकार, राजनैतिक पर्चा र सैद्धान्तिक दस्तावेजहरूका लेखक, एक स्वतन्त्रता संग्रामी मात्रै नभएर नीति र सिद्धान्तमा सम्झौता नगर्ने एक प्रतिबद्ध व्यक्तित्वका रुपमा पी. रामामूर्ति चिनिन्छन् ।
माकिनेनि बासुपुनैयाको स्वाधीनता र जनताको प्रजातन्त्रप्रतिको आस्था, हरिकिशन सिंह सुरजीतले आसामको समस्या मिलाउन, साम्राज्यवादविरोधी संघर्ष तथा धर्मनिरपेक्षताका पक्षमा गरेका योगदान स्मरणयोग्य छ ।
टी. नागि रेड्डीको वामपन्थी दुस्साहसवादी नीतिविरुद्धको आवाज, चारु मजुम्दार र कानु सन्यालले सुरु गरेको नक्सलवारी किसान विद्रोहको आलोचना, अराजकतावाद र माक्र्सवादबीचको भिन्नताका विषयमा पुस्तकले चर्चा गरेको छ ।
नागभूषण पटनायक भारतीय कम्युनिष्ट पार्टी ‘माक्र्सवादी–लेनिनवादी’ का चर्चित नेता हुन् । उनले व्यक्तिगत आतङ्कवाद, कोरा सिद्धान्तवाद र दक्षिणपन्थी अवसरवादको सदैव विरोध गरे ।
यसरी भारतीय कम्युनिष्ट नेताहरूको सङ्क्षिप्त जीवनीको अध्ययनबाट हरेक पाठकले भारतको कम्युनिष्ट आन्दोलनको नालीबेलीबारे जानकारी पाउने छन् । भारतीय कम्युनिष्ट आन्दोलन र नेताहरूबारे आलोचनात्मक दृष्टिकोण निर्माणमा टेवा पु¥याउन सहयोगी सिद्ध यस पुस्तक निकै सङ्ग्रहणीय र पठनीय छ । यस्तो महत्वपूर्ण र ऐतिहासिक पुस्तकको गाता आकर्षक, मूल्य पाठकमैत्री, मुद्रण स्तरीय छ । भारतको नक्सा र नेताहरूको तस्बिरले पुस्तकको शोभा बढाएको छ । सरस र सशक्त भाषाशैलीमा लेखिएको यस पुस्तकका लेखक महत्तोजीप्रति हार्दिक कृतज्ञता । आजभन्दा ६ वर्षअघि अर्थात् विसं २०६९ मा प्रकाशित विशिष्ट महत्व बोकेको यो पुस्तकको प्रकाशक वर्कर्स पब्लिकेसन्स्, नेपालप्रति साधुवाद । आउँदा दिनहरूमा पनि खोजमूलक र सैद्धान्तिक पुस्तक प्रकाशनको निम्ति शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *