भर्खरै :

प्रम ओली किन बरबराउँदै छन् ?

गोपाल नगरकोटी
जनताले ५ वर्षको लागि सरकारको नेतृत्व गर्न नेकपालाई जिम्मा दिए । ५ वर्षसम्म एउटै दलको एकै नेताले सरकारको नेतृत्व गरून् भन्ने जनताको अभिमत हो । सरकार ढाल्न नेपालमा कुनै देशी शक्ति लागेको देखिंदैन । तर प्रधानमन्त्री केपी ओली बारम्बार कुनै पनि शक्तिले वर्तमान सरकारलाई ढाल्न नसक्ने ठोकुवा गर्छन् । प्रम ओली कुनै पनि शक्तिले सरकार ढाल्न नसक्ने भनी किन बरबराउँदै छन् ? ओलीको सरकार ढाल्न कुन शक्ति लाग्दैछ ? सरकारले जानकारी दिए जनता सुसूचित हुनेछन् ।
सरकार ढाल्ने अप्रत्यक्ष सङ्केत त एक समय आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दिएका थिए । पालैपालो शासन गर्ने भद्र सहमति भएको विचार व्यक्त दाहालले नै गरेका हुन् । के प्रम ओलीको सरकार ढाल्न सकिने विचार आफ्नै दलका अध्यक्ष दाहालप्रति इङ्गित हो ? कि सरकार परिवर्तनमा विदेशी शक्ति राष्ट्रको चलखेल भइरहेको छ ? सरकारको नेतृत्व परिवर्तनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चलखेल गर्ने शक्ति राष्ट्र भनेको भारतीय शासक वर्ग हो ? कि प्रमको आरोप भारतीय सरकारप्रति लक्षित हो ? यदि होइन भने बेला न कुबेला सरकार ढाल्ने चलखेल भइरहेको छ भनेर किन बेलाबखत बरबराइरहेका हुन् ?
सरकारको नेतृत्व गरेको दलले पार्टीको घोषणापत्र, जनतामाझ गरेको वाचा र प्रतिबद्धता पूरा गर्नुपर्छ । त्यो वाचा पूरा गर्नेतर्फ यस वर्षदेखि नै थालनी गर्नुपर्ने हो । सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय सरकारको नेतृत्व गरेलगत्तै गर्नुपर्ने हो तर गरिएन । देशको ढुकुटी रित्तिएकोले सामाजिक सुरक्षा भत्ता दिन नसकेको स्पष्टीकरण सरकारले दिइरहेको छ । प्रधानमन्त्री ओलीले एउटा खुला सभामा भनेका थिए – देशमा बजेटको अभाव छैन, विकासको योजनामात्र ल्याऊ, काम भकाभक हुन्छ । आज तिनै प्रम ओली ढुकुटी रित्तिएकोले विकास कार्य अघि बढ्न नसकेको भनी लाज छोप्दैछन् । देश हाँक्ने नेताहरू किन द्वैधचरित्रका बन्दैछन् ? झूटको खेती गर्न खप्पिस नेता दाहालपछि नेता ओली किन अर्का झूटको खेती गर्ने पात्र बन्दैछन् ? नेकपाका अध्यक्षद्वय ओली र दाहाललाई झूटको खेती नगरी मन प्रसन्न हुँदैन कि ! खाएको पच्दैन कि !
ढुकुटी कसले रित्यायो, किन रित्यायो ? सरकारले जवाफ दिनुपर्छ । देशमा पालैपालो शासन गर्ने दल एमाले, माओवादी केन्द्र र नेका नै हुन् । ढुकुटी रित्याउनेमा तिनै दलका नेताहरू जिम्मेवार छन् । गणतन्त्र स्थापनापछि बढी शासन गर्ने दल एमाले र माओवादी केन्द्र नै हुन् । ढुकुटी रित्याएकोले विकास नभएको भन्नु लाजमर्दो कुरा हो । लगातार शासन गरिरहेका दलले विकसको वाधक ढुकुटी रित्तिएको भन्नु आफ्नो गल्तीलाई ढाकछोप गर्ने कुचालमात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *