भर्खरै :

प्रेमनारायण प्रेमीका कविताहरु

प्रेमनारायण प्रेमी
(विसं १९९७ साल मंसिर ९ गते ओखलढुङ्गाको तुलुवा, कुडुलेमा जन्मनुभएका लेखक तथा समाजसेवी प्रेमनारायण प्रेमीको कवितासङ्ग्रह ‘नओथारिएका चल्लाहरू’ (२०७१) प्रकाशित छ । पछिल्लो समय भक्तपुरको नपली सल्लाघारीमा बस्नुहुने कवि प्रेमीको गएको मंसिर ७ गते दुःखद् निधन भयो । कवि प्रेमीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै ‘नओथारिएका चल्लाहरू’ मा समावेश तीन कविता यहाँ प्रकाशित छन्–सम्पादक)
स्वदेशी बन, स्वदेश भन, सम्हाल नेपाल
हिउँ अडाएर राख्छ र नै
हिमालयले सेतो हुन पाएको छ
जो जे छ, आफू त्यही जति बन्छ
अस्तित्वले उति त्यसको पाउ छोएको हुन्छ
रङ्गेरै काग परेवा बन्ने भए
बर्मेली नेपाली बन्थे
चिनियाँ इन्डोनी बन्थे
अमेरिकाको दनदनिएको आगोमा
कि काला बन्थे, कि गोरा बन्थे
यो दुनियाँ एक मेला हो
यहाँ त आफू बनेर चिनिनुपर्दछ
त्यसैले त
मानिसले आफ्नो मनमा
विश्व शान्ति खोज्नुपर्छ
सपना–जपना–कल्पनाले
मानिस स्वदेशी बन्नुपर्छ
धरतीले जूनसँग प्रीत लगाएर के गर्नु ?
जूनले औंसीमा झुल्कनै जानेन
विश्व आफ्नो सम्झेर मानवले के गर्नु र !
तेरो मेरो भन्न छाडेन
परदेशीले पुस्तौनीपछि
पुर्खाको जन्मस्थान केलाउनुप¥यो
विदेसिएका लाखौं लाखले
आफ्नो देश सम्झनुप¥यो
यो त धरती हो
यहाँ तेरो मेरो चलिरहन्छ
त्यसैले त
मानिसले सोचेर सम्झेर
आफ्नो धरतीमा आर्जन गर्नुप¥यो
पहाड, कन्दरा, खोंच जे होस्
स्वदेश मेरो भन्नुप¥यो ।
धरतीमा ठडिएको बूढो रुख सर्दैन
ढुकुरको गुँडमा जुरेली बस्दैन
अर्को स्वप्न, आफू सत्य
यो सत्य–सत्य दुनियाँको
यस धरतीको प्राण पनि
हामीसँगै कतै अल्झिएको हुन्छ
हाम्रो जन्म–मरणको नाता पनि
यसै धरतीसँग गाँसिएको हुन्छ
यहाँको रीति नै यस्तो
अर्काकोमा जोडै छैन
त्यसैले त
हामीविना यो धरती छैन
धरतीविना हामी छैनौँ
हाम्रो प्राण अडिएको धरतीलाई
मान, सान, स्वाभिमानका लागि
प्यास मेट्न आफ्नाको पसिना खोज्ने
सबैको आफ्नो आफ्नो धरती हुन्छ
त्यही धरतीका लागि मर्ने, गर्ने
नेपालीले पनि गर्नुपर्छ
स्वदेशी बन, स्वदेश भन, सम्हाल नेपाल
एकअर्कामा यही मन्त्र, नेपालीले सुुन्नुपर्छ ।
रित्तो पेट मान्छेको
नपर्खे पनि हुन्छ
छहारीको बटुवाले
प्रचण्ड धूप बर्सेकै हुन्छ
नचिच्च्याए पनि हुन्छ
कुकुरका छाउराझैँ मान्छेले
चन्द्र र सूर्यको प्रकाश उघ्रेकै हुन्छ ।
त्यसैले त यहाँ
अतीतको अर्तीको न अस्तित्व हुन्छ
न त अतीतलाई सराप्ने अधिकार हुन्छ
वर्तमानले भोलिलाई नबिर्सनु किन ?
भविष्यले मुख नमिठ्याए हुन्छ
किनकि, सृष्टिको सुरुआतमै
रित्तो पेट मान्छेको ।
रित्तो पेटभित्रको मान्छेमा
कसैको अस्तित्व पच्न बाँकी छैन
हामी बाँचेर पनि कति पटक मरेका
यहाँ त सबै पुनःजन्मका हामी
धर्म र नियमको पुस्तैपिच्छे
काँचुलीमा रङ्ग भरिएको हुन्छ
त्यसैले त यहाँ
परिवर्तनको बिगुल निरन्तर बजेकै हुन्छ
भोकको होडबाजीमा
क्रान्तिको आगोले मान्छेलाई पोलेकै हुन्छ
बेला हो यो बेलाले
मान्छेलाई नरमांशबाट नै
आगो निभाउन निम्त्याएको हुन्छ
किनकि तिम्रो र मेरो आवश्यकता
रित्तो पेट मान्छेको ।
राम, कृष्ण, बुद्धजस्ता थुप्रै थुप्रा पुर्खाहरू
पिण्डको आसमा बसिरहेका छन्
भरिएको पेटका तागतले
जाग्ने भोकतिर लम्केका लाखौँ भक्तलाई
आशीर्वादको भ्रम छर्दै छर्दै
त्यसैले त यहाँ
सबैभन्दा ठूलो, ठूलोभन्दा ठूलो प्राण
त्यही प्राणका लागि विश्वयुद्ध र शान्ति वार्ता
प्राणका लागि बेफुर्सदिला यी जीवहरू
धपेडी गरिरहेछन् एकअर्कालाई जित्न
पहिले पहिले त स्वजन र आफन्त पनि भन्ने गर्छन्
तर अन्तिम त आफ्नै सन्तानकै हत्या हुन्छ
के छैन यहाँ
दाउपेच, जालझेल, षड्यन्त्र
किनकि यो संसार सधैँ यस्तै
रित्तो पेट मान्छेको ।
युवा, तिमी सृष्टिको सुन्दर रचना हौ
सृष्टि र प्रेम त सुन्दर वृत्त हुन्
जसको कुनै किनारै हुँदैन
यी त निरञ्जन निराकार
यिनको अथाह अस्तित्वको पत्तै हुँदैन ।
सृष्टिसँगै प्रेम, प्रेमसँगै युवा जन्मन्छ
युवाबाटै विश्व प्रेमको जगेर्ना हुन्छ
पे्रम मीठो रचनाको प्रतीक
युवा सशक्त साधनाको प्रतीक हुन्छ ।
सृष्टिको पालनामात्र हैन, संरक्षणकै लागि
युवा जोस, होस र माया चाहिन्छ
विश्वको सिङ्गो सग्लो अस्तित्वको लागि
युवाको तातो, रातो, राम्रो रगत चाहिन्छ ।
त्यसैले प्रेम र अस्तित्वकै खातिर
युवा ! तिमी सृष्टिका सुन्दर रचना हौ ।
शिखरको उच्चता, सागरको गहिराइमात्र हैन
पानीको सङ्लो थोपा सागरको मणि हौ
चन्द्र–सूर्यको शीतल र न्यानो
शान्ति र सभ्यताका द्योतक हौ ।
तिम्रै मेहनत, भक्ति जाँगरले
विश्व हाँक्न, हाँस्न, फुल्न सक्छ
कलिलो कलिलो भै गो, पुरानो मासिने सुरमा छ
सृष्टिको सर्वस्व त युवामात्र हुनसक्छ ।
परिवर्तनका पहिला प्रहर, आँटमात्र युवा
बुद्ध, इसु, महम्मद हुन सक्छौ
आगो पानीको रमाइलो खेलमा
महाशक्ति सीता सावित्री हुनसक्छौ ।
त्यसैले रचना रच्न, रचिएका रचना
युवा तिमी सृष्टिका सुन्दर रचना हौ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *