भर्खरै :

बेनाम दाइ

चिन्मय
उनको काम मोटामोटी थाहा भयो । फेरि उनको नाम सोध्न आवश्यक पनि ठानिनँ । त्यसैले उनलाई बेनाम दाइ भनी लेख्दैछु ।
साँझको बस । बाहिर अँध्यारोमा रङ्गीन चमकधमकले झल्किरहेछ काठमाडौँ । मिनीबसभित्र निलो प्रकाशले कुनै चलायमान रङ्गमञ्चको झल्को दिइरहेको थियो । कति पात्रहरू छन् यहाँ । सबैका अनेकन् कथा–व्यथा होलान् । सबैसँग बात मार्न समय पनि त छैन । केही कथा त कसो सुन्न नभ्याइएला ? म कोसिसमा छु ।
मेरो बगलमै थिए बेनाम दाइ । उनको मुखबाट ह्वास्स रक्सीको गन्ध आयो । यसको दुई अर्थ हुनसक्छ । कि उनी रक्स्याहा होलान् अथवा घर फिर्दै गरेको मजदुर । म उनका हाततिर नजर लाउँछु । उनका औँला सिमेन्टले घिस्रिएका थिए । नङका कापकापमा सिमेन्टले सेता रेखी बसालेका थिए । पक्का मजदुर, म ढुक्क हुन्छु । शारीरिक कष्ट गर्ने मजदुरले रक्सी पिएकैले मलाई गफ्फिन उतिसारो छेक्दैन । म उनीसँग कुराकानीको लागि उत्साहित हुन्छु ।
कामदारहरूसँग कुरा गर्न सकस हुँदैन । यिनमा आग्रह र कुण्ठाजस्ता मानवीय दुर्बलता हुँदैनन् । त्यसमा फरासिलो मिजासका छन् भने झन् काइदा । फरासिलाहरूको ओठ देखेरै थाहा हुन्छ । उनीहरू मधुरो मुस्कान लिएर तपाईँतिर फर्किहाल्छन् । बेनाम दाइ ठीक यस्तै थिए । बीस पच्चीस मिनेटको बसाइमा उनको कुरासँगै म धेरै ठाउँपुगेँ । उनको ठूलो छोराले काम गर्ने मलेसियाको कारखानामा पुगेँ । कन्स्ट्रक्सन कम्पनीमा ट्रिपर चलाउने उनको कान्छो छोरालाई देखेँ । उनकी जेठी छोरी पढ्न बस्ने काठमाडौँको कोठामा पुगेँ । उनी एक्लै बस्ने ललितपुरको चिसो कोठामा बसेँ र पुगेँ आगो ताप्न अँगेनानजिक बसी उनी र आफ्ना लालाबालाहरूलाई पर्खिबसेकी भाउजू भेट्न अर्थात् फापरबारी गाउँमा ।
“पहिले–पहिले हाम्रा दनुवारहरू अरू खेती गर्दैनथे रे । खाली फापरको खेती गर्ने भएकोले हाम्रो गाउँको नामै फापरबारी भएछ ।” घरबाट टाढा बसेका मानिसहरू आफ्नो गाउँ ठाउँको कुरा आयो कि फुरुङ्ग भइहाल्छन् । उनी पुरानो गाउँले जीवनशैलीतिर आफ्नो कुराको फेरो घुमाउँछन् । उनको गाउँबाट तीन घण्टाजति उत्तरतिर ओरालो लागेपछि आइपुगिन्छ बाग्मती नदी । बाग्मती नदीमा ऊबेला गाई धपाएर माछा मार्थे रे । चौपाया चराउन गएकाहरू सबै मिलेर गाई डिँगाहरूलाई एकैचोटि नदीमा खेदेपछि गाईकै खुरले कुल्चिएर प्रशस्तै माछा मर्थे । अनि मरेका माछा टिप्ने हतारो हुन्थ्यो रे । कतिपल्ट त प्रत्येकले एक–एक डोका माछा बोकेर फापरबारी फर्केको बेनाम दाइ कुनै किम्बदन्तीजस्तो सुनाउँछन् । कति दिन अरू खाना नखाएर माछैमाछा खाएको सम्झिँदा उनको अनुहार फैलिन्छ । निमा रुम्बाजस्तै मुस्काएको नजिकै उभिएको भाइका दाँत चम्किन्छन् ।
कुराकानी भनेको लहरो तान्दा पहरो गर्जिन्छ भनेजस्तै हो । हाम्रो अघिल्तिर बसेका सज्जनले कुनैबेला फापरबारी घुमेर आएका रहेछन् । उनी भन्छन्, “काठमाडौँको ढलजति बाग्मतीमा मिसिएपछि अब के हुनु त्यति माछा ।” बेनाम दाइले आँखाका कुना खुम्चाए । अम्बर गुरुङको भाकामा ‘कहाँगए ती दिन ?’ भन्दा फरक पर्दैन आजभोलि । बेनाम दाइलाई राम्रै सम्झना छ, ०५०–०५१ सालपछि सबै फेरियो । काठमाडौँमै बाग्मतीमा मिसिने फोहरमैला, ढल सबैले नदीलाई दुषित बनाइदियो । “आजभोलि त बाग्मतीमा खुट्टा डुबाउन पनि घिन लाग्छ,” कुनैबेला बाग्मतीको पानी मनै अघाउञ्जेल पिएका बेनाम दाइ भन्छन् । आजभोलि पहिलो भेल आयो भने कता कति माछा पाइन्छ रे । त्यसमा पनि कुनैको पखेटा सडेको, कुनैको पुच्छर सडेको हुन्छ । “हेर्नुहोस् आजभोलि बाग्मतीको पानीले माछालाई समेत क्यान्सर लगाइदिएको छ,” दाइ भन्छन् । हिजो बाग्मतीका माछा समाएर सुकाउने र तिनलाई सहरमा लगेर बेच्ने बाग्मती किनारका बासिन्दा आजभोलि फोहर पानीले खेत सिँचाइ गरी अन्न फलाउँछन् । “के गर्ने ? बाँच्नुप¥यो । केही त गर्नैप¥यो ।”
अघिल्तिर बस्ने सज्जन हामीतिर टाउको फर्काउने चेष्टा गर्दै भन्छन्, “६० करोड झ्वाम्म पारे क्यारे ! बाग्मती सफा गर्ने कुरा खै कता गयो, गयो । त्यो सरसफाइ पशुपतिनाथभन्दा तल आउन सकेको छैन । खै कहिले हो तपार्इँको गाउँ पुग्ने ?” बेनाम दाइ जवाफ फर्काउँछन्, “यो यतै हराउँछ । सरकारको धन्दा रहेछ यो सरसफाइ । पैसा छुट्टायो । अलिअलि फोटो खिच्यो, कुचो समात्यो । अनि पैसा झ्वाम पा¥यो ।”
अब तपाईँलाई बेनाम दाइको परिवारतिर मोड्न चाहन्छु । दाइको कान्छो छोरो नाचगानमा फुर्तिला । माइकल ज्याक्सन बन्ने सपना बुन्दो हो । तर, तालिम अति सारो महँगो हुन्छ नाचगानको । अनि ऊ गाउँका अन्य दाजुभाइजस्तै एउटा काम समाउने ध्याउन्नमा ड्रात्रहरूको सङ्गतमा लाग्यो । अहिले ट्रिपरको चालक भएको छ । नागरिकता त छैन तर निस्केपछि ट्रिपरको लाइसेन्स निकाली डोजर चलाउन सिक्ने मनसाय राखेको छ । उसको दाइ खेलकुदमा रुचि राख्थ्यो । केहीवर्ष कराँते र तेक्वान्दो सिक्यो । ग्रीनबेल्टसम्म पुगेर पढाइ बिग्रिएपछि छोडिदियो । पढाइ बिग्रिएपछि एक आफन्तको सल्लाहमा मलेसिया लाग्यो । दुवै छोराले ८ कक्षामात्र पढेका छन् । दुई भाइ माथिकी जेठी छोरीले भने गाउँमै १२ कक्षा पास गरिन् । हाल उनी काठमाडौँमा ठूला बुबापट्टिका दाजुभाउजूसँग बसी शिक्षा सड्ढायमा स्नातक गर्दैछिन् । जाँड, रक्सी खाने अथवा जस्ता पनि बाबाका साथीहरू आउन सक्छन् भनी उनी उता बसेकी रे । गाउँमा जागिर खाने प्रस्ताव पनि आएको थियो । उनले भनिछन्, “यस्तो अस्थायी जागिर त मागेर खाएजस्तो हुन्छ । आफू त कुस्ती खेलेर खाइन्छ ।” अलि खुलाएर भन्दा उनी स्नातक पढेर शिक्षा सेवा आयोगको परीक्षा पास गरी शिक्षकको जागिर खाने सुरमा छिन् । बेनाम दाइ आफ्नी छोरीको प्रगतिमा गर्व गर्छन् । उनको मुखले नभने पनि उनका चम्किला आँखाले यस्तै भनिरहेथे ।
बेनाम दाइ बेला मौकामा राजधानी आउने गरेका छन् । गाउँघरमा खेतीपातीको उब्जनी स्याहारेर उनी यता हानिन्छन् । “यता नुन–भुटून जुटाउन आइन्छ,” उनले खुलाए । अझै पनि छोराहरूको भन्दा आफ्नै कमाइमा जिउने रहर छ उनमा । उनको यस्तो चर्या कतिबेला सुरु भयो होला, म जिज्ञासा राख्छु । उनी भन्छन्, “हाम्रो पालामा पढाइ–लेखाइ थिएन । सानैमा दाइहरूसँग बेलाबेला काठमाडौँ आइन्थ्यो । सिमेन्टका भारी बोक्नुपरेन । दाइहरूबाटै डकर्मी काम सिकियो ।” यिनी डकर्मी हुन् सिजनका । आजभोलि अनेकथरि अन्नपात उब्जने फापरबारीका किसान हुन् खासमा । उनकी श्रीमती घरखेत सम्हालेर गाउँमै बस्छिन् । अबका केही दिनमै उनी गाउँ फकिँर्दैछन् ।
बेनाम दाइहरू राजधानीमा अनगिन्ती छन् । रोजीरोटी चलाउन यहाँ धाइरहन्छन् । यहाँका अग्लाअग्ला भवन र घरमा यिनै दाइदिदीहरूको रगत र पसिना मिसिएको छ । उनीहरूको जीवनकालमै काठमाडौँका घरहरू धेरै बाक्लिसकेका छन्, अग्लिसकेका छन् । पुरानो शैलीका घरहरू आधुनिक बनेका छन् । ती घरबाट निस्कने ढलले बेनाम दाइका सुनौला बाल्यकालीन दिनलाई एकादेशको कथा तुल्याइदिएका किन नहून् । भूकम्पले भत्काएको काठमाडौँलाई फेरि मर्मत गर्नु, बनाउनु पनि त छ । आखिर बेनाम दाइहरू काम नगरी बस्न सक्दैनन् । सिर्जना र निर्माण दुवै यिनका हातका रेखामा छन् । यो छोटो लेख पनि बेनाम दाइहरूकै सिर्जना हो । यो हात त निमित्तमात्र न हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *