भर्खरै :

कोमामा सामाजिक व्यवहार (सुधार) ऐन

–सुरज सिंह
विवाह र व्रतबन्धजस्ता सामाजिक संस्कारहरू भद्र र मितव्ययीरूपमा गर्नुपर्छ र सर्वसाधारणको आम्दानी उत्पादनमूलक क्षेत्रमा र सिङ्गो समाजको हितमा लगानी गर्नुपर्छ भन्ने मान्यता छँदैछ । अहिले नेपाली समाजमा उपभोक्तावादी सोच र प्रवृत्ति यति धेरै व्यापक बनेको छ कि सामाजिक व्यवहारमा प्रतिस्पर्धात्मक तडकभडक र फजुल खर्च बढ्दो छ । विवाह र व्रतबन्धमात्र होइन, पास्नी, बेलविवाह, गुफा निकाल्ने र जन्मदिनको भोजसमेत लाखौँलाख खर्च हुने गरी देखासिकी बढ्दै गएको छ । समाजका उदाहरण मानिएका राजनीतिक दलका नेता–कार्यकर्ताहरु, सामाजिक सङ्घ संस्थाका अगुवाहरु, कलाकारहरु, सरकारी कर्मचारीहरुले समेत अत्यधिक खर्च गर्दा समाजमा भोजभतेरमा असीमित खर्च गर्ने प्रवृत्ति बढ्दै गएको हो भन्न अप्ठ्यारो छैन ।
सामाजिक व्यवहारमा भइरहेको बढ्दो प्रतिस्पर्धात्मक तडकभडक र फजुल खर्चमा नियन्त्रण गरी सुधार ल्याउन सामाजिक व्यवहार (सुधार) ऐन–२०३३ जारी भएको थियो । प्रजातन्त्र स्थापनापछि २०४८ मा र गणतन्त्र स्थापनापछि २०६६ र २०७२ मा समयोचितरूपमा ऐन संशोधन र परिमार्जन पनि भइसकेको छ । ऐनमा विवाहको जन्तमा बाजावाललगायत ५१ जनाभन्दा बढी जन्त वा बरियात लान नहुने, जन्तमा कुनै प्रकारको भाडावाल नाच लान नहुने, जन्तमा आतसबाजी गर्न नहुने र जन्तमा एघार जनाभन्दा बढी वाजावाल राख्न नहुने प्रावधान छ । त्यस्तै विवाहमा दुलहा तथा दुलही पक्षबाट आयोजित भोजमा नजिकको नातेदारबाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्येबाट एकाउन्न जनाभन्दा बढी व्यक्तिलाई आमन्त्रण गर्न नहुने प्रावधान छ । छैठी, न्वारान, जन्म दिवस, पास्नी, चुडाकर्म, व्रतबन्ध, बुढो–पास्नी गर्दा सो कर्मकाण्डसँग सम्बन्धित नजिकको नातेदारबाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्ये वा पच्चीस जनाभन्दा बढी व्यक्तिलाई भोजमा आमन्त्रण गर्न नहुने बन्दोबस्त छ । ऐनमा भएका यी सबै प्रावधानको खुलमखुला उल्लङ्घन भइरहेका छन् । तर, न कतै रोकतोक गरिन्छ न कसैमाथि ऐनबमोजिम कारबाही भइरहेको छ । परिणामतः सामाजिक व्यवहार (सुधार) ऐन कोमामा पुगेको वा पु¥याइएको छ । सामाजिक व्यवहारमा तडकभडक र फजुल खर्च गर्न ठाउँमा पुगेका हरेक व्यक्तिले भ्रष्टाचार र अनियमितता गर्ने, घूस खाने, व्यवसायीहरुले कर छल्ने, ठेकेदारहरुले कमसल निर्माण सामग्री प्रयोग गरी नाफा खाने, व्यापारीले सक्कली वस्तुमा नक्कली वस्तु मिसावट गर्ने, अत्यावश्यक उपभोग्य वस्तुमा कालोबजारी गर्ने, विचौलिया बनेर ठग्ने प्रवृत्ति चरमरूपमा बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *