भर्खरै :

सिद्धान्तहीन एकताको हरिबिजोग

सत्ताभोगको स्वार्थमा आधारित एमाले र माओवादी केन्द्रको एकता यतिबेला सिद्धान्तहीनता र साङ्गठनिक अन्योलमा फसिरहेको छ । जेठ ३ गते लगनगाँठो कसेका ती दुई पार्टी यतिबेला न अलग अलग पार्टी हुन् न त एउटै पार्टी नै बन्न सकेका छन् । सत्ताको डोरी अलिकतिमात्र खुकुलो बनाउने हो भने दुवै पार्टी कुनै पनि बेला छिन्नभिन्न भए किमार्थ आश्चर्यको विषय हुनेछैन । पार्टी एकता भएको झण्डै नौ महिना बितिसक्दा पनि अझै दुवै दलले एकता प्रक्रिया पूरा गर्न नसकेको मात्र होइन, प्रक्रियालाई पूर्णता दिन झण्डै दुई महिनाअघि गठन भएको कार्यदलले समेत काम गर्न नसक्दा नेताहरूबीच एकआपसमा आरोप–प्रत्यारोप सुरू भएको छ । कार्यदलले काम गर्न नसकेको एक पक्षको आरोप छ भने अर्कोतिर स्वयम् केपी ओलीले कार्यदललाई काम गर्न नदिएको प्रतिवाद छ ।
एकजना अध्यक्ष विदेशमा रहँदा अर्का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाको राजनीतिक समस्याको सम्बन्धमा जारी वक्तव्यले नेकपाभित्रको चिरा प्रस्ट सतहमा ल्याएको छ । अनेक रसायनले यो चिरालाई नदेखिने बनाउने प्रयास भए तापनि अन्ततः यो जगतसामु छर्लङ्ग देखिएको छ । दाहालको वक्तव्यलाई पार्टी र सरकार दुवैले हरियो सड्ढेत गरेको देखाउन खोजे पनि संरा अमेरिकी राजदूतसँगको भेटमा ओलीले ‘दाहालको शब्द चिप्लिएको’ भन्ने प्रष्टीकरणले एमाले र माओवादी केन्द्रको कित्ता प्रस्ट भएको छ ।
कुनै पनि राजनीतिक पार्टीलाई एकै सूत्रमा बाँध्ने भनेको सिद्धान्त र लक्ष्यले हो । जब सिद्धान्तको लिलामी गरी सत्ताको लागि एकताको स्वाङ्ग पारिन्छ भने त्यस्तो एकता एकछिनको रमाइलोमा समाप्त हुने गर्दछ । जो पानीमा खेल्छ, पानीमै मर्छ – जो आगोमा खेल्छ, आगोमै मर्छ भनेजस्तै सत्ताको लागि बनेको कुनै पनि गठबन्धन सत्ताकै भुङ्ग्रोमा ध्वस्त हुन्छ । सत्ताको न्यानो ताप्न चिसो मौसममा जो पनि सत्ता छेउ आउनुलाई कसैले आफ्नो व्यापकता सम्झन्छ भने त्यही भ्रमको दलदलमा सिद्धिनुबाहेक ऊसँग अर्को विकल्प हुँदैन । आश्चर्य त, केही सिद्धान्तनिष्ठताको अभिनय गर्ने नेकपाभित्रका नेताहरू सिद्धान्तको कुरा पनि गरिरहने अनि सिद्धान्तहीनताको हरिबिजोग पनि लाचार बनेर हेरिरहेका छन् ।
संसारका धेरै संशोधनवादी दलहरूले सत्ताप्राप्तिलाई आफ्नो सिद्धान्त र लक्ष्य बनाउँदै सत्ताउन्मादमा एकपल्ट झिलिक्क बलेर सदाको लागि चिसो सलेदोमा सकिएका धेरै उदाहरण छन् । तिनीहरूले गरेको एउटै गल्ती थियो, सिद्धान्तको परित्याग । तर, दूध फटाउन धेरै चुकको आवश्यकता हुने गर्दैन, थोपै मनग्य हुन्छ । एमाले र माओवादी केन्द्रबीचको एकताको समस्या भनेको सिद्धान्तहीनता हो । सिद्धान्तहीनताले आज उनीहरूको एकता न निश्चित लक्ष्य प्राप्तिको लागि आन्दोलनको रूप बन्न सकेको छ न पार्टी र सरकार सञ्चालनमै एकता देखिएको छ । ‘दुवै मिलेर खाऔँ भाले’ शैलीको एकताले निश्चित लक्ष्यभेदन नहुनु आश्चर्यको विषय होइन ।
एमाले र माओवादी केन्द्रबीचको मिलेमतोले आज कसैलाई फाइदा भइरहेको छ भने सत्ता शक्ति देखाएर नाफा कमाउन पल्केका विचौलिया समूह नै हो । देशमा उत्पादनमूलक अर्थतन्त्रको विकास गर्नुभन्दा विदेशीको दलाली गरी आफ्नो स्वार्थ फत्ते गर्ने वर्गले नै यसबाट लाभ उठाइरहेको छ । यस्तो अवस्थामा उनीहरूको एकता चिरा चिरा परेको तर नटुक्रिसकेको ऐनाजस्तै एकतामा परिणत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *