अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– सुवास दुवाल
भनिन्छ–तपस्या सफल गर्न गा¥हो छ । का.रोहितले शोभा प्रधानलाई उत्साहित बनाउन जेलबाट चिट्ठीहरू पठाउनुभएको कुरा फागुन २६ गतेको मजदुर दैनिकमा सुन्दर वासीको लेखमा पाएँ । त्यसमा उल्लेख छ–‘दिनदिनै पुलिसले खानतलासी लिन आउने, धम्की दिने र भएभरको किताब जफत गरी उठाएर लैजाने आतङ्कपूर्ण वातावरणले शोभालाई मर्माह बनायो । त्यतिमात्र होइन, भदौ १० गते ह्योजूको शवयात्रामा प्रधानमन्त्री मरिचमान, राष्ट्रिय पञ्चायत अध्यक्ष नवराज सुवेदीलगायतका पञ्चायतका हिमायतीहरू नै ‘रोहितलाई फाँसी दे !’ भन्ने नारा लगाएको थाहा पाएपछि गर्भवती शोभालाई कति मनमा चोट प¥यो होला, अनुमान गर्न सकिने कुरा हो । त्यसको प्रत्यक्ष असर त गर्भमा रहेको बच्चालाई पनि परेको हुन्छ । समयमा खाना नखान्दा, मनमा सदा चिन्ता भइरहँदा स्वाभाविकरूपले गर्भमा रहेको बच्चाको शारीरिक एवम् मस्तिष्क विकासमा नकारात्मक असर परेकै हुन्छ । जेलमा समयमा भेट्न नदिने, मातृभाषामा कुरा गर्न नदिने, श्रीमान्लाई जेलबाट गायब बनाई कहाँ छ नभन्ने र विपक्षीहरूको हेला आदिले तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरुसँग मानवीय भावना नै नभएको प्रस्ट देखियो । यस्तो अपमान सहेर निराश नबनी विभिन्न समस्याको सामना गर्दै अगाडि बढ्नसक्नु शोभामा नेतृत्वको सहयोगीमा हुनुपर्ने गुण भएको महसुस सबैले गर्नसक्छन् । यसरी का.रोहित, उहाँको परिवार, उहाँका कार्यकर्ता र भक्तपुरका जनतालाई दमन गरेकै कारण २०४६ फागुन ८ गते बन्दुक र गोलीको पर्वाह नगरी नेमकिपाका कार्यकर्ताले आन्दोलन गरे । त्यही दिन ४ जना वीर सहिदहरूले सहादत प्राप्त गरे । फलतः पञ्चायती निरङ्कुश व्यवस्थाको अन्त्य भयो । पञ्चायती व्यवस्था अन्त्यको प्रमुख कारण भक्तपुर काण्ड नै बन्न पुग्यो ।
अझै पनि सहिदहरूको निःशुल्क शिक्षा र स्वास्थ्य, स्वदेशमै रोजगार, भ्रष्टाचारको अन्त्य गर्ने सपना पूरा भएको छैन । आफ्नो घर–परिवार वा सन्तानको मात्र चिन्ता नगरी समाज परिवर्तनको लागि निरन्तर क्रान्तिकारी कार्यकर्ता भएर लाग्ने शिक्षा वा प्रेरणा सुन्दर वासीको लेखबाट प्राप्त हुन्छ । सुन्दर वासीद्वारा लिखित ‘पत्रसाहित्यमा रोहित’ बाट थप शिक्षा पाउन सकिन्छ । तसर्थ उक्त पुस्तक प्राप्त गरी अध्ययन गर्नु आवश्यक छ ।
Leave a Reply