भर्खरै :

भारत–पाकिस्तान तनावलाई कसरी सोच्दैछ चीन ?

ली छिङछिङ
यतिबेला पाकिस्तान र भारतबीचको सम्बन्ध तिक्ततापूर्ण बनेको छ । यति नै बेला चीनका उपविदेशमन्त्री कोङ सुआनयुले गएको बुधबार पाकिस्तानको भ्रमण गरे । त्यहाँ उनले अवस्थालाई अझ खराब बनाउन मद्दत पुग्ने कुनै पनि कदम नचाल्न पाकिस्तान र भारतलाई आग्रह गरेका छन् । पाकिस्तानले चीनको वस्तुगत र निष्पक्ष मतको लागि आभार व्यक्त गर्दै दुई देशबीचको तनाव कम गर्न चीनले खेलेको भूमिकाको लागि धन्यवाद दियो ।
चीनलगायत सम्बद्ध केही देशको सहयोगमा पाकिस्तानको लागि भारतका उच्च कमिसनर अजय बिसारिया शनिबार इस्लामाबाद फर्केका छन् । पाकिस्तान र भारतबीच सम्बन्ध चिसिएसँगै भारतले आफ्ना उच्च कमिसनरलाई स्वदेश फिर्ता बोलाएका थिए । यसले दुई देशबीचको सम्भावित द्वन्द्व तरेको छ ।
पाकिस्तान र भारतले यो द्वन्द्वको समाधान कसरी गर्नु उपयुक्त होला ? यो प्रश्नको कुनै मूर्त समाधान नभएको कारण यसले लामो समयदेखि दुवै देशलाई अलमलमा पारेको छ । दुई देशबीच सैनिक भिडन्त हुनसक्ने र अझ लडाइँसमेत चर्किन सक्ने अवस्थामा आजको अवस्था निकै खतरनाक हो । पाकिस्तान र भारत दुवै आणविक हतियार सम्पन्न देशहरू हुन् । त्यसकारण दुई देशबीच कथित आणविक सन्तुलन छ । तत्कालै कुनै ठूलो आकारको युद्धको सम्भावना नभए पनि दीर्घकालीन रुपमा आणविक सन्तुलन नै सुरक्षित समाधान भने पक्कै होइन ।
त्यसो भए दुई देशले के गर्नुपर्छ ? आपसी राजनीतिक सरसल्लाह नै दुई देशबीचको द्वन्द्व समाधान गर्ने एउटैमात्र बाटो हुनसक्छ । दुवै देशका छिमेकी देश चीनको यो नै दिगो नीति हो । भारत र पाकिस्तानबीच शान्तिपूर्ण संवादमार्फत आपसी सम्बन्ध सुमधुर बनाउनुपर्छ भन्ने चीनको नीतिमा कुनै पनि परिवर्तन भएको छैन ।
तथापि केही भारतीयहरू भने चीनको मतप्रति आशङ्काको दुष्टिले हेर्ने गरेका छन् । भारतका केही विज्ञहरू चीनले पाकिस्तानका आतङ्कवादीहरूलाई ‘लगातार संरक्षण’ गर्दै आएको बताउँछन् । फेब्रुअरी महिनामा भारतको पुलवामामा भएको आतङ्कवादी हमला गर्ने समूहलाई पनि चीनको संरक्षण रहेको उनीहरू सोच्ने गर्छन् । धेरै भारतीय विश्लेषकहरू चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) लाई भूराजनीतिक खतराको रुपमा विश्लेषण गर्ने गर्छन् ।
यस्ता गैरजिम्मेवार भनाइलाई कदापि स्वीकार्न सकिन्न । गएको फेब्रुअरीमा चीन, रुस र भारतका विदेशमन्त्रीहरूबीच त्रिपक्षीय बैठक बस्यो । बैठकको क्रममा उनीहरूले आतङ्कवाद र अतिवादको लागि मलिलो माटो निर्मूलन गर्ने प्रतिबद्धता व्यक्त गरे । वास्तवमा आतङ्कवादको प्रतिकारमा चीन, पाकिस्तान र भारतको साझा हित निहित छ । अब भारतले निराधार आरोप लगाउन बन्द गर्नुपर्छ ।
भारतले बुझ्नुपर्ने कुरा के हो भने, चीनले पाकिस्तानमा गरिबी हटाउन र आतङ्कवादलाई निर्मूलन गर्न सहयोग गरिरहेको कुरा सत्य भए पनि पेइचिङ नयाँ दिल्लीको शत्रु होइन । बरु सत्य ठीकविपरीत छः चीनले बीआरआई प्रस्ताव राख्नुका साथै कार्यान्वयनमा पनि लगिसकेको छ । यो परियोजनाले पूर्वाधार निर्माणमा भारतका आवश्यकता पूरा गर्नेमात्र होइन, बरु भारत र पाकिस्तानबीचको सम्बन्ध सुधारमा पनि मद्दत गर्नेछ । बीआरआईप्रति भारतले आफ्नो दुराग्रह त्याग्नुपर्छ र यसलाई आपसमा सहकार्य अभिवृद्धि गर्ने र क्षेत्रीय स्थायित्व ल्याउने कार्यक्रमको रुपमा ग्रहण गर्नुपर्छ ।
विवादस्पद कास्मिर क्षेत्र गरिबी र पछौटेपनमा बस्नु नियति होइन । कास्मिरलाई त्यो अवस्थाबाट उकास्नु चीनसँगै पाकिस्तान र भारतको लक्ष्य बन्नुपर्छ । अहिलेको अवस्थामा दुई देशबीच भेट्ने अवस्था रहे त्यसले उनीहरूबीच आपसी विश्वास बढाउने, शान्तिपूर्ण वार्ताको आधार बनाउने र विशेषतः आतङ्कवादविरुद्ध चीनसमेतको सहकार्यलाई बलियो बनाउन मद्दत गर्नुपर्छ ।
भारत र पाकिस्तानबीचको द्वन्द्वमा चीनले कुनै पनि पक्ष लिनेछैन । दुई देशबीचको द्वन्द्व सहज बनाउन र आतङ्कवादविरोधी अवस्थामा सुधार ल्याउन चीनले मध्यस्थकर्ता र सहजकर्ताको भूमिका चालू तनावबीच पनि निभाउन सक्छ ।
ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *